यी पत्थरका ईश्वर
अनि कर्कटजस्तै मान्छे
डढेलोले छोपेको आकाश

रुमानी सपनाहरूको कारखाना
ओ प्रिय
मसँग प्रेमका कुरा नगर
म त बहुलाएको छु
जुनदिन म काठमाडौँ हिँडेको थेँ
रातो टीका र फूल दिएर
बहिनीले भनेकी थिइन्-
दाइ ठूलो मान्छे बनेस् है
काठमाडौँको भूगोलमा मैले
जीवनका गोरेटा खन्नु थियो
बहिनीले भनेजस्तै ठूलो
र बाबाले भनेजस्तै
असल मान्छे बन्नु थियो
अनि जितेर ल्याउनु थियो
आमाका सपनाहरू

सुनेको थेँ काठमाडौँमा
सपनाको किनबेच हुन्छ
एकमुठी सास र
एक मुस्कान हाँसोमा
मान्छेले काठमाडौँमा
जिन्दगी उधारोमा दिन्छ
बेतोडले बत्तिएको माइक्रोमा
हुइकिँदै गर्दा देखेँ
राजमार्ग छेवैमा मकै पोल्ने आमाहरू
देखेँ
त्रिशूलीको बालुवामा जीवन जिउनेहरू
अनि देखेँ
चार कप चिया बेच्न
सारा रात आफ्नो निद बेच्ने दिदीहरू
च्यात्तिएको गुन्द्रीमा
मैलो जमेको तन्ना ओछ्याएर
एक जिन्दगी जिएको
मलाई मेरै जीवन
गर्भपतन गरी फालेको
भ्रूणजस्तै लाग्यो
काठमाडौँमा भगवान् छन् भन्थे
ठूला मान्छे बस्छन् भन्थे
खै मान्छे बस्छन् कि केही अरू
ढोका ढोकामा लेखेको देख्छु
कुकुरदेखि सावधान
सोच्छु
मान्छेदेखि सावधान किन नलेखेको होला ?

अहो त्यो रत्नपार्क !
मूतको पहाडमाथि
थेगी नसक्नु बेरोजगारहरूको भिड
भिडमै कसैले बेच्दैछ
बदाम, भट्टमास, कन्डम र शिलाजित
सोच्छु
अपरिभाषित समयका
नामर्द मानिसहरू
कति चाँडै स्खलित हुन्छन् हँ ?

जब काठमाडौँलाई बुझ्दै गएँ
काठमाडौँ काठमाडौँजस्तै लागेन
नेपाल नेपालजस्तै लागेन
यहाँका मान्छे मान्छेजस्तै लागेनन्
बिस्तारामा उत्तानो परेर सुतेकी
बेश्या जस्तै
काठमाडौँ निर्वस्त्र छ
निर्लज्ज छ
जो आएर भोगे नि हुने
जो आएर ढोगे नि हुने
देख्छु
योनिच्छेदले मुर्छित युवतीजस्तै
टुकुचा खोला दुर्गन्धले
भित्रभित्रै मरिरहेकी छ
आफैँलाई हेर्न लाज लाग्छ
आफ्नै अनुहार
र बेचिदिन्छु ऐना कवाडीलाई

यो भिड यो कोलाहल
र यो दुर्गन्ध
प्रिय टुकुचा मलाई माफ गर
क्याबिन रेस्टुराँबाट मातेर
फर्कँदै गर्दा
थुप्रै पटक मैले मुतेको छु
तिम्रो वक्षमा
ओ टुकुचा
मलाई माफ गर बहुलाएको छु
काठमाडौँ देखेर म अघाएको छु ।

काठमाडौँ