‘फर्केर हेर्दा’ प्राध्यापक कृष्ण पोखरेलको आत्मालाप कृति हो । वर्तमानमा उभिएर विगततिर हेर्दा देखिएको जीवनको संस्मरणात्मक कैरन हो । शिखा बुक्सद्वारा २०८० माघमा साँच्ची नै प्रकाशन भएको कृति हो । नत्र त ‘मामाको घोडी मेरो हीही’ मा रमाएका हुन्छन् प्रकाशन गृह । झलक सुवेदीको ‘व्यक्तिको कथा इतिहासको कहानी’ शीर्षकको शुभकामनाले सिँगारिएको छ । विराटनगरमा मुकाम बनाएकी कवि सीमा आभाषको ‘कृष्ण पोखरेल सरप्रति सम्मानका केही हरफ’ शीर्षकको भूमिकामा कृति अन्तर्यको आभाष अनुभूत हुन्छ । यसपछि कृतिकार पोखरेलको ‘मेरो भन्नु’ शीर्षकमा सनातनी धन्यवाद छ । ३३२ पृष्टमा पुस्तक समेटिएको छ, जसमा २६ पृष्ठको तस्वीर र खण्ड छ । पुस्तकको भौतिक स्वरूप यही हो ।

कृतिभित्र खोजिरहँदा नारायणप्रसाद पोखरेल तथा तीर्थकुमारी पोखरेलका सन्तानका रूपमा २००४ सालमा हरिनगरा, सुनसरीमा जन्मेका हुन् कृष्ण पोखरेल । अध्ययनमूलक कालखण्डको उकाली ओह्रालीलाई हेर्दा उनले २०१९ सालमा आदर्श विद्यालय, विराटनगरबाट एसएलसी; मोरङ कलेजबाट आइए र बीए तथा २०२७ सालमा त्रिविबाट राजनीति शास्त्रमा एमए गरेका हुन् । २०२८ असारदेखि मेची महाविद्यालयबाट प्राध्यापन जीवनको शुरूवात गरे । २०३२ साउनमा ममोआब क्याम्पस, विराटनगरमा सरुवा भएर जागीरको थातथलो फेरे । छोटो समयको लागि (२०३४–०३६ साल) जनप्रशासन क्याम्पस काडमाडौंमा पढाए ।

२०३६–०४७ पुनः ममोआ क्याम्पसमा सरुवा भए । २०४७ मा एक वर्ष विराटनगरकै डिग्री क्याम्पसमा प्रमुख भए । २०५२–०५४ अनुगमन महाशाखा त्रिविमा कार्यरत भए । सोही वेला प्रकाश साप्ताहिकको प्रधान सम्पादक भए । पूर्वाञ्चल विश्वविद्यालयको सेवाआयोगको अध्यक्ष (२०५४–२०५८), सहप्राध्यापक (२०४३), प्राध्यापक (२०५९) तथा लोक सेवाआयोगको सदस्य (२०६४–०६८) उनका जीवनका घुम्तीहरू हुन् । यही सिलसिलामा अष्ट्रेलिया, चीन, नर्वे, जापान, मलेसिया, सिङ्गापुर, दक्षिण अफ्रिकाआदि देशको भ्रमण गरे । आइए देखि एमए सम्मका राजनीतिशास्त्रका पाठ्यपुस्तक लेखन गरे । हाल विराटनगरमा बस्छन् । उनको छोटो चिनारी यही हो । कृति पनि यही विषयसन्दर्भका परिवृत्तमा उनिएको छ ।

कृति गवेषणका क्रममा मेरा मनमा त्यसैत्यसै जब्बर ज्वार उम्लेको छ । मैले व्यक्तिगत रूपमा नै असाध्य धेरै सम्मान गर्ने व्यक्ति हुन् कृष्ण पोखरेल । सँगै प्राध्यापन गरेकाले सहकर्मी हुन् । हामी दुवैले वामपन्थी कम्युनिष्ट राजनीतिलाई चेपेको हो । हामी दुवै एकै कुलका दाजुभाइ हौँ । हामी दुवैको प्राध्यापकीय जागीर संयोग थियो । दुवैको पिएचडी थालेर पनि भताभुङ्ग भयो । यसबाहेक पनि धेरै सामिप्य छ । तर मेरा नजरमा उनीसँग उचाइको आकाश छ । त्यसैले कृष्ण पोखरेलको जीवनी कृतिमाथि लेख्न बस्नु चुनौती हो मेरो । अवसर पनि हो । तर म भने चुनौती र अवसर दुवैले थरथर भएको छु । मेरो लेखनीको गति नै यही कारणले बहकिने हो कि भन्ने लागेको छ । मेरो बुताभन्दा बाहिरको वलवान विषय पनि हुनसक्छ यो ।

जब जब म ‘फर्केर हेर्दा’ को पातो फर्काउँछु, त्यहाँ म आफैँ बाँचेको संसार पनि खुलस्त भेट्छु । उही धेरथोर परिवेश, उही चेतना, उनी मनोविज्ञान, उही अवसर, उही चुनौती । अर्को सन्दर्भ पनि छ मेरो कृष्ण पोखरेलसँग । मेरो गाउँघरको नाम कृष्ण पोखरेल हो । अहिले पनि म आफन्त र गाउँलेका नजरमा कृष्ण पोखरेल हुँ । कृष्ण पोखरेलले राजनीतिक शास्त्रका पाठ्यपुस्तक लेख्ने तर गाउँमा मैले पुस्तक लेखेर विद्वानको पगरी गुथ्नु पर्ने हुन्थ्यो । ‘म त्यो कृष्ण पोखरेल होइन’ भनेर प्रष्ट पारिरहनु पर्थ्यो । अझै पर्छ ।

अब प्रवेश गरौँ पुस्तकसन्दर्भमा । यद्यपि जाहिर कुरा भनेको ‘फर्केर हेर्दा’ कृष्ण पोखरेलको आफ्नै जीवनलाई आँखीझ्यालबाट चियाएको आत्मालाप कृति हो । मान्छेको जीवनले भोगेको परिवेश, तथ्य, अवस्था तथा पौरखका झिल्काले समस्त समाज प्रभावित हुन्छ । युग बुझाउँछ । युग बुझ्नु भनेको जीवन बुझ्नु हो ।

मैले व्यक्तिगत रूपमा चिने÷जाने÷बुझेका कृष्ण पोखरेल व्यक्तिगत जीवनमा प्रेमिल छन् । ‘फर्केर हेर्दा’मा पनि त्यस्तै प्रेमिल देखिन्छन् । उनको स्वभाव, बोलीचाली तथा कुराकानीकै प्रस्तुति पनि प्रेमिल हुन्छन् । यसका प्रमाणका रूपमा उनले आफ्ना मातापिताप्रति गरेको प्रेमिल सम्मान, आफ्नै प्रेम सम्बन्ध तथा बिहेका स्मरण पनि प्रेमिल रहेका छन् । उनी आफैँ सरुलाई भन्छन्, “तिमी मसँगै मेरो कोठामा गयौ भने भद्रपुर नै हल्लिन्छ नि । … एउटा संयोगले भेटेको दिन जीवनभरि नछोड्ने सम्बन्धमा विकसित भयो ।”

यसो भएकाले उनी प्रेमको मामलामा अलि फराकिलो दायरा राख्छन् । सानिमा सँगको आत्मीयता, छोराछोरी प्रतिको स्पष्टता, भाइबुहारी प्रतिको सदाशयता, साथीभाइ सँगको उदारता उनका प्रेमिल चरित्रका गुण हुन् । छोरा तथा छोरीसँगका अनेकन रोचक र प्रेमिल प्रसङ्गहरू कृतिभित्र छन् । आफ्नी प्रेमिका सरस्वतीलाई बिहे गरेर सरु बनाउने भाग्यमानीमा पर्छन् उनी । नत्र त त्यो जमानामा प्रेम गर्नु अपराध नै मानिन्थ्यो र त्यसमाथि पारिवारिक सहमतिमा बिहे हुनु त झन् आकाशका फल हुन्थ्यो । कृतिभित्र उनी आफ्नो मात्र होइन, सरु याने उनकी श्रीमतीको माइती पट्टीका नालीबेली पनि केलाउँछन् । छोरो सुदिनले गरेको प्रेम विवाहमा रोमाञ्चित बन्छन् ।

कृतिभित्र कृष्ण पोखरेलले देखेको, भोगेको तथा अनुभूत गरेको तत्कालीन समाजको चित्र छ । तत्कालीन समाजभित्रको परिवेश, राजनीति, सभ्यता, संस्कृतिको उल्लेख भएको छ । यसबाट वर्तमान पुस्ता लाभान्वित हुने कुरा पक्का छ । उनका पिताले छोराछोरीको जन्म कुण्डली बनाउनु भएन । चेतना हो कि अफापवाला मान्यता हो ? उनको पुर्खा आर्थिक तथा शैक्षिक रूपले सम्पन्न भएको देखिन्छ । त्यो समयमा घडी बाँध्ने एक्का दुक्कामा पर्नु हुन्थ्यो । दशैंको टीका मुछ्दा पर्फुयम मिसाउनु हुन्थ्यो ।

समाज पनि अचम्मको हुन्छ । कृतिकार कृष्ण पोखरेलले प्रेम बिहे गरेको एउटै समयमा विपर्यास चित्र पनि छ समाजको । उनकै मित्र मोहनलाल मेहताले घरधनीकी बहिनीसँग प्रेम बिहे गरेर सन्तान पनि भइसकेको अवस्थामा केटीका दाजुले डाका पठाएर मोहन, उनकी पत्नी तथा दूधमुखे बालख सबैलाई एकै चिहान बनाइदिएको वीभत्स यथार्थ पनि सोही समयका अगाडि नै छ । यस्तो पीडादायक घटना बिहेमा जात नमिलेकै कारणले भएको थियो । तत्कालीन समाजमा १४ वर्षकी कन्या र ४५ वर्षको वरका बीचमा बिहे भएको यथार्थ पनि पस्किएको छ । त्यो वेलाको सामन्ती चलन, हबेली सभ्यता, घुम्टो हाल्नुपर्ने परम्पराका बारेमा पनि कृतिले उजागर गरेको छ । तत्कालीन समाजमा रहेको अन्धविश्वासमाथि पनि कृतिले उजागर गरेको छ । रजस्वला नभएकी नातिनीको कन्यादान गर्न पाए दश हजार गाई दान गरेको पुण्य मिल्छ भनेर बिहे गरिदिने चलन, पतिका सामु मर्न पाउनु अहो भाग्य ठानिने समाजको चित्रण पनि छ । ट्युटवेल कलको वासरमा छाला हुन्छ भनेर पानी नखाइएको सन्दर्भ पनि कृतिभित्र छ । कृतिकारको आफ्नै भाइको मृत्युमा ५ दिनमा काम सकेको, बुहारीले परिवारको सहयोगमा सिँदुरपोते परित्याग नगरेको युगान्तकारी कदम तथा परिघटना पनि कृतिभित्र परेको छ । अर्थात् तत्कालीन समाजलाई विविध पाटोबाट हेरिएको छ ।

कृष्ण पोखरेलको यो कृतिबाट नेपालमा बसाइँसराइको प्रवृत्तिका बारेमा पनि धेरथोर जानकारी पाइन्छ । पहाडबाट तराई, तराईबाट सुविधासम्पन्न शहर, शहरबाट राजधानी, राजधानीबाट विदेश बसाइँ सर्ने परिपाटी वर्तमान यथार्थ हो । कृष्ण पोखरेलका बराजु ओखलढुङ्गाको माम्खाबाट सप्तरीमा बिर्ता पाएर बसाइँ सरे । कोशी डुबानमा परेर सुरक्षित ठाउँ हरिनगरा बसाइँ सरे । अध्ययनको लागि पायक पर्ने भएर विराटनगर बसाइँ सरे । कृष्ण पोखरेल भने विराटनगरसँग नोस्टाल्जिक भएर बसाइँ सर्न सकेका छैनन् अहिलेसम्म । तर उनको आफ्नै छोराछोरी भने अष्ट्रेलियामा बसाइँ सरेको अवस्था छ । यस्तो परिवेश कृष्ण पोखरेलको निजी मात्र होइन, यसले वर्तमान नेपालको धेरै परिवारको बसाइँ सराइको प्रवृत्तिका बारेमा अवगत गराएको छ । यो कुराले प्रष्ट हुन्छ कि मान्छे भनेको यायावरीय प्राणी हो । ऊ सुरक्षा, सुविधा, सहजता खोज्दै बसाइँ सर्छ । मानव सभ्यताको विकास पनि यही प्रणाली अन्तर्गत भएको हो ।

जीवनमा कृष्ण पोखरेलले जे जस्तो भूमिका निभाएका भए पनि मूलतः उनी शिक्षक हुन् । उनको आदर्श शिक्षण हो । त्यसैले उनको कृतिमा तत्कालीन शैक्षिक अवस्थाको मिहीन चित्र उघारिएको छ । उनका बाबु, बाजे, बराजु शिक्षित छन् । उनका हजुर्बाले भोजपुर दिङ्गलामा षडानन्द अधिकारीको पाठशालामा अध्ययन गरेका छन् ।

आफ्नो पुस्तकमा कृष्ण पोखरेलले स्कूललाई यातनागृहको संज्ञा दिएका छन् । उनकै शब्द ‘बक्खोले काट्नका लागि जबरजस्ती घिस्याएर लग्दैगरेको खसी जस्तो’लाई सापट लिने हो भने तत्कालीन शैक्षिक मनोविज्ञान अभिव्यक्त भएको प्रमाण मान्न सकिन्छ । शिक्षासम्बन्धी दर्शन नै ‘ताडयत’ फर्मुलामा थियो । तिनताक सकभर नेपालभरि नत्र भए पनि तराई क्षेत्रमा मास्टरहरू कि त बिहारबाट आएका हुन्थे, कि त मधेसी समुदायका हुन्थे । सिद्धान्तमा ‘पढ्ने पढ्ने र फेरि पढ्ने’ भए पनि चोरी, चलाखी, चान्स र चर्पी जस्ता  चार ‘च’ को प्रभाव थियो । सेमेस्टर पद्धतिमा शिक्षकलाई अनेकन तरीकाले प्रभावमा पारेर अङ्क प्राप्त गर्ने गरिन्थ्यो । यही यथार्थलाई उनले कृतिभित्र इमानदार भएर अभिव्यक्त गरेका छन् । खास गरेर मोरङ कलेजकै पियन त्रिलोक कामतको स्थानीय अखबारमा प्रकाशित अन्तर्वार्ता ‘यस्तै परीक्षा हुने हो भने म पनि एमए पास भएर प्राध्यापक हुन सक्छु’ले तत्कालीन परीक्षा प्रणालीको धज्जी मात्र उडाएको छैन, शैक्षिक इतिहासको विपर्यास तथा लाजमर्दो पाटो पनि उजागर गरेको छ ।

जागीर खानका लागि सक्कल प्रमाणपत्रलाई हातले लेखेर नक्कल प्रति बनाउनु पर्थ्यो । फोटोकपी आइपुगेको थिएन । कलेजका प्रिन्सिपल सानले साइकल चढेर सरर कलेज जान्थे । प्राध्यापकहरूले झगडा गर्ने, तास खेल्ने, रक्सी खाने र जथाभाबी बोलेको-गरेको देखेर कृष्ण पोखरेललाई लाग्दथ्यो ‘के मैले सोचेको प्राध्यापकको जीवन यही हो ?’

तिनताक शिक्षक र विद्यार्थी बीच दूरी हुनुपर्छ भनिन्थ्यो । दूरी कायम राख्न दण्डको सहारा लिइन्थ्यो ।

पदोन्नति योग्यताका बलमा होइन, चाकडी र भनसुनका आधारमा हुन्थ्यो । अहिले पनि लगभग यो कुरा निमिट्यान्न भएको छैन । यसरी कृतिले तत्कालीन समाजको शिक्षा प्रणालीको यथार्थ चित्र कोरेको छ ।

कृष्ण पोखरेलको पारिवारिक पृष्ठभूमि धनी किसानको रहेको देखिन्छ । सप्तरीमा बिर्ता, भन्सारमा मुखियाको जागीरले यही कुरा बताउँछ । तर उनको जीवन चाहिँ सामान्य थियो भन्ने पनि सँगै बुझिन्छ । स्वयं कृष्ण पोखरेलले २०२१ सालमा ८० रुपियाँ मासिक तलबमा मुखियाको अस्थायी जागीर खाएको र जागीर खाँदै, पढ्दै गरेको प्रसङ्गले यही कुरा पुष्टि गर्छ । यस कृतिले नेपाली समाजको जागीर प्रतिको मनोवैज्ञानिक धारणा पनि प्रष्ट पारेको छ । कृतिकारकी हजुरआमाले ‘बाहिरी आम्दानी कत्तिको हुन्छ नि ?’ भनेर सोधेको प्रसङ्गले नेपाली समाजमा रहेको घुस संस्कृतिको मनोवैज्ञानिक पक्ष उजागर भएको छ ।

कृष्ण पोखरेलको व्यक्तित्व सचेत राजनीतिक पनि हो । त्यसैले पुस्तकभरि उनको राजनीतिक आस्था तथा अवस्थाका बारेमा चर्चा छन् । विद्यार्थी कालदेखि नै राजनीतिमा लागेको भनेर आदर्श विद्यालयको जागीर खोसिएको पञ्चायतकालीन निरङ्कुशताको उदाहरण पेश गरेका छन् । कार्ल मार्क्सको कम्युनिष्ट पार्टीको मेनिफेस्टो पढेपछि उनको जीवनको बाटो नै नयाँ दिशातर्फ लाग्यो । यसैको परिणाम स्वरूप बीए प्रथम वर्षको कक्षा प्रतिनिधिमा चुनाव जिते । ६ महीना जेल बसे । द्वन्द्वात्मक भौतिकवाद, ऐतिहासिक, भौतिकवाद, वर्गसङ्घर्ष, नौलो जनवाद जस्ता विषयमा गम्भीर अध्ययन गरे । मार्क्स लेनिन,  स्टालिन, माओत्सेतुङ, तथा होचिमिन्हका जीवनका बारेमा अध्ययन गरे । यो अध्ययनले उनलाई अध्येता मात्र बनाएन, समाज विकासको प्रवृत्ति पर्गेल्ने प्रज्ञाचक्षु पनि दियो ।

तत्कालीन समाजमा कम्युनिष्टहरूको जुन प्रभाव थियो, त्यसको जग बनाउन शिक्षकले भूमिका खेलेका हुन् भन्ने यथार्थ इमानदार भएर प्रस्तुत गरेका छन् । तत्कालीन नेताहरूले बुर्जवा शिक्षाको निरर्थकता बुझे र समाज मुक्तिका लागि पढाइ छोडेर भूमिगत भए । तिनताक यो एउटा यथार्थ चिन्तन थियो कम्युनिष्टमा । लेभी उठाएर पार्टी चल्थ्यो । राजनीतिमा उनी यति सक्रिय भए कि सोही कालमा एमालेका अधिकांश नेतालाई नजीकबाट जान्न पाए । झापा विद्रोहलाई नजीकबाट देखे । झापा विद्रोहको आरोपमा नेताहरूलाई समातेर जेलमा हालेको अवस्था आँखैले देखे । जेलमा हालिसकेपछि हात पछाडि पारेर मारिएको कोल्ड ब्लडेड मर्डरको मेहरो बुझे । यो कुरा पञ्चायतको निरङ्कुशताको प्रतिविम्ब हो ।

उनको राजनीतिक चेतकै कुरा गर्ने हो भने प्रगतिशील प्राध्यापक सङ्गठन निर्माणमा विश्वेश्वर मान, महेन्द्र पाण्डे, कृष्ण बहादुर थापा, चन्द्रराज ढुङ्गेल, विदुर उपाध्याय आदि जस्तै सक्रिय भए । नेकपा (माले) को जनपक्षीय हस्तक्षेप, एमालेको ९ महीने सरकारका अन्तर्य, बुद्धिजीवी परिषद्मा भूमिका आदि कुराले उनको कम्युनिष्ट राजनीति प्रतिको लगाव देखिन्छ । २०२२ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएको भए पनि नेकपा एमालेको सदस्यता भने धेरै पछि मात्र लिए ।

कृतिभित्र कृष्ण पोखरेलको स्मरण शक्ति निकै सशक्त रहेको देखिएको छ । त्यसवेलाका घटना मात्र होइन, तिनमा संलग्न हुने साथीभाइ धेरैको नाम र वर्तमान अवस्थाका बारेमा उनलाई ज्ञात छ । अच्युत कोइराला, शम्भु उपाध्याय, मनमोहन अधिकारी, भरतमोहन अधिकारी, पदमरत्न तुलाधर, प्रा. भक्तराज आचार्य, द्रोणाचार्य क्षेत्री, कमल कोइराला, मोहनचन्द्र अधिकारीलगायत् अन्य धेरैलाई अग्घोरै सम्झेका छन् । प्रा भक्तराज आचार्यसँग निभाएको यारीदोस्ती विराटनगरमा अझै नमूनाका रूपमा लिइन्छ । फोटो खिच्न रिजाल फोटो स्टुडियो पुगेको, मोहनचन्द्रले निगेटिभ मागेको कुरालाई गजबसँग प्रस्तुत गरिएको छ । निगेटिभ फिर्ता माग्नुको कारण भने प्रहरीले फोटो फेला पार्छ भनेर हो रहेछ । त्यसरी ज्यानलाई बाजीमा राखेर मान्छेले कम्युनिष्ट पार्टीको स्थापना गरेका हुन् ।

उनले साहित्यकारको व्यक्तित्व पनि बनाएका छन् । तत्कालीन मधेसको समाजमा प्रचलित हिन्दी साहित्यिक पत्रिका सारिका, धर्मयुग आदिको प्रभाव थियो । त्यो वेलाका साहित्यकारहरू यस्तै पत्रिकाको सन्सर्गमा आएर साहित्यकार भएका प्रमाणहरू छन् । प्रारम्भमा उनी विद्रोही कवि थिए । यसैकारण उनले मोरङ्ग कलेजको मुखपत्र प्रकाशको सम्पादनमा पनि भूमिका खेले । प्रा. राजकुमार पोखरेल, प्रा. विश्वराज पाण्डेको नेतृत्वमा आयोजना गरिएको कोसी अञ्चलव्यापी कथा प्रतियोगितामा पहिलो पुरस्कार पाए । पारिजातसँग सम्पर्क भयो । सम्पर्क हरायो । स्थानीय लबज पनि मिसाएर ‘रे बौवा’ उपन्यास लेखेर नेपाली साहित्यमा योगदान दिएका छन् ।

‘फर्केर हेर्दा’ कृति परिवेशमूलक पनि छ । जीवनका क्रममा जहाँ जहाँ पुगे त्यहाँको परिवेशीय कैरन उतारेका छन् । उनको हरिनगरा तथा विराटनगरको बाल्यकालीन परिवेश, स्कूल तथा कलेज जीवनको परिवेश, प्राध्यापन जीवनको परिवेशलाई उतारेका छन् । भद्रपुर पुग्न विराटनगरको भारतीय सिमाना नजीकको जोगवनीमा रेल चढेर जानुपर्ने तत्कालीन अवस्था उजागर भएको छ ।

उनले बाल्यकालदेखि वर्तमान सम्मको कालखण्ड मूल रूपमा विराटनगरमा बिताएका छन् । बिताइरहेका छन् ।

विराटनगरमा राष्ट्रिय नेताहरूको जमघट हुने थलो एलिट क्लबको पुनर्जीवन दिएको तथ्यलाई महत्त्वका साथ उद्धृत गरेका छन् । यसैगरी महेन्द्र मोरङ क्याम्पस, डिग्री क्याम्पस, स्ववियुको निर्वाचन र फणिन्द्रको हत्या, विराट साइन्स क्याम्पसको स्थापना र अवसानका बारेका परिवेश उल्लेख गरेका छन् । विराट साइन्स क्याम्पस स्थापना गर्दा वचन दिएका साथीहरूले समयमा पाँच हजार सापटी दिन नसकेको अवस्था सम्झिएका छन् । २०४८ सालमा एउटा शिक्षकले एकमुष्ट पाँच हजा झिक्नु भनेको त्यति सजिलो थिएन । यसैगरी पूर्वाञ्चल विश्वविद्यालयको स्थापनमा खेलेको भूमिका तथा सोही विश्वविद्यालयमा सेवा आयोगको अध्यक्षको भूमिकालाई पनि परिवेशीय रूपमा उल्लेख गरेका छन् ।

उनको यो आत्मवृत्तान्तमा सबैभन्दा बढी उनी रमाएको ठाउँ लोकसेवाका चार वर्ष रहेको देखिन्छ । उनको सीप प्रस्फुरण हुने ठाउँ नै लोकसेवा आयोग रहेको यथार्थ पस्केका छन् । लोकसेवाको सदस्य भएका बखत जापान, सिंगापुर, दक्षिण अफ्रिका र मलेशिया भ्रमण गरे अनुभूतिजन्य ज्ञानको क्षितिजलाई उकालो लगाएको तथ्य पुस्तकभित्र सँगेटिएको छ ।

कृष्ण पोखरेल मूलतः तराईका उपज हुन् । यसकारण कृतिकार कृष्ण पोखरेलले सम्प्रेषण गर्ने लेख्य वा कथ्य भाषामा सरलता, स्तरीयता, शालीनता, सभ्य र सुललित हुन्छन् नै, त्यसमाथि तराईका ठेट शब्दको प्रयोगको पनि पउलता पाइन्छ । खडस, चटिया, कनमचरी, थेत्थर, भुस्कौल, मोगली बाँध, मुर्गा बनाउने, सटकदम, फाउ, बक, कनीकुथी, डुकुलन्ठक जस्ता अनेकन तराईमुखी शब्दको प्रयोग भएको छ । यसले आञ्चलिकताको स्वाद मात्र दिँदैन, तत्कालीन तराईको सामाजिक जीवनको पनि उजागर गर्छ । कृति विनिर्माण गरिरहँदा यस्तो भाषा सम्प्रेष्यको स्थितिलाई अब्बल मानिन्छ ।

कृति पढिरहँदा उनको संस्मरणात्मक शक्ति अत्यन्त धेरै रहेको अनुभूत हुन्छ । लेखनीमा इमानदारिता देखिनु उनको वैशिष्ट्य हो । किनकि काम फत्ते गराउन नेताकहाँ आफू धाएको कुरा पनि स्पष्टसँग अभिव्यक्त गरिएको छ । योग्यता जतिसुकै भए पनि राजनीतिको फेर नसमाती पद पाउने कुरा सम्भव छैन नेपालमा । यो कुरा उनको जीवन आलेखबाट पनि प्रष्ट हुन्छ । तर पद र शक्तिमा पुग्दा पनि क्लिन व्यक्तित्वका रूपमा आफूलाई उभ्याउन सक्नु उनको जीवनको वैशिष्ट्य हो । पद प्राप्तिपछि पनि नुर उचालिइरहनु उनको सत्कृत्यको प्रमाण हो ।

कृतिभित्र तत्कालीन समाजको इतिहास, संस्कृति, सभ्यता, अन्धविश्वास, राजनीति, कम्युनिष्टहरूको उत्थान, गुटबन्दी, फुट आदिका बारेमा दस्तावेजीय ज्ञान प्रस्तुत गरिएको छ । कुनै पनि विषयको उठान भएपछि त्यसभित्र पस्ने क्षमता छ उनमा । घटनालाई कारण र परिणामका आधारमा मिहीन तरिकाको विश्लेषण गर्ने क्षमता देखिन्छ । यसरी हेर्दा उनी प्रारम्भदेखिनै आलोचनात्मक चेत बोकेका व्यक्ति देखिन्छन् । क्याडर बेस कम्युनिष्ट पार्टीमा बुद्धिजीवीको भूमिका बौद्धिक नै हुनुपर्छ भन्ने मान्यता राख्छन् । विद्वतवर्गमा तथा विश्वविद्यालयमा प्राज्ञिक स्वतन्त्रताका पक्षधर हुन् कृष्ण पोखरेल । यसो नहुँदा उनी ‘पार्टीलाई मैले गुँड जस्तो ठानेको त पिँजडा जस्तो पो भो’ भन्छन् ।

‘फर्केर हेर्दा’ कृति कृष्ण पोखरेलको आफ्नै विगत जिन्दगीसँगको निजत्व अनुभूति हो । यसमा यसो गरिनु पर्थ्यो, उसो गरिनु पर्थ्यो भन्नुको केही अर्थ छैन । तथापि कृति प्रकाशन भएपछि समाजमा पुग्ने भएकाले पाठकका मनमा केही थपथापका गुन्जाइस खोजिनु अनर्थ चाहिँ होइन । कृति पढिरहँदा कृतिकारको पुर्ख्यौलीको उपस्थितिको अभाव खड्किएको अनुभूत भएको छ । किनकि पुर्ख्यौली भन्नु पहिचान पनि हो । जरो पनि हो । सामाजिक सांस्कृतिक इतिहास पनि हो । एकै पल्ट ‘मेरा बाबाका हजुर्बा अर्कलाल पूर्वी पहाडको माम्खाबाट सप्तरीको आफ्नो बिर्ता पर्साहीमा १९०० को पहिलो दशकमा बसाइँ सरेको’ कुरा उल्लेख छ । यहाँ सम्म कि माम्खा भनेको नेपालको कुन जिल्लामा पर्छ भन्ने सम्मको पनि सूचना छैन ।

छोरा सुदिनको बिहेमा उपस्थित हुन नसकेको कारण दिइएको छैन । त्यसो त सो कारण दिनु नै पर्छ भन्ने पनि होइन ।

प्रष्ट छ ‘फर्केर हेर्दा’ जीवनी इतिहास भएकाले जीवनको कालखण्डलाई आधार बनाएर कृति प्रस्तुत भएको भए इतिहासका प्रति पनि न्याय हुन्थ्यो भन्ने लाग्छ मलाई । पाठकलाई पनि बुझ्न सजिलो हुन्थ्यो । कृतिभित्र धेरै ठाउँमा एउटै कुराको पुनरावृत्ति भएको छ । तथ्य तथा सूचनाको पुनरावृत्ति कृतिको लागि सरस नहुन पनि सक्छ । कृतिको स्वरूपीकरणको कुरा गर्दा विषयसूची छैन । विषयसूची भएको भए पाठकको निजात्मक स्वादमा छानेर पढ्न सजिलो हुने थियो । अर्कोतिर पाठ विभाजनले पनि पर्याप्त ध्यान केन्द्रित नगराएको जस्तो लाग्छ । जहाँसम्म कृतिकार कृष्ण पोखरेलले कृतिभित्र प्रयोग गरेको भाषात्मक प्रस्तुति छ त्यो शालीन छ । तर जब पार्टीभित्रका उनको वैचारिक परिवृत्तभन्दा बाहिरका नेताहरूको प्रसङ्ग आउँछ, उनको भाषा मधुमय हुन्न । शायद त्यो विपर्यास सम्बन्धलाई भाषागत् माध्यमबाट प्रकटीकरण गरिएको हो । उनको लोकसेवा आयोगको संस्मरण तुलनात्मक रूपमा अलि विस्तार भएको हो कि भन्ने पनि लागेको छ ।

कृष्ण पोखरेलसँग मैले २०४७ सालदेखि २०५७ सम्म प्रत्यक्ष सत्सङ्ग गरेँ । त्यसबाहेक उनका बारेमा लोकजगतले गर्ने गरेको मूल्याङ्कनका बारेमा पनि धेरथोर जानकार भएँ । यी सबै कुराका आधारमा भन्दा तत्कालीन अवस्थामा कृष्ण पोखरेल वामपन्थी प्राध्यापकका अभिभावक हुन् । तर्कशील हुन् । मान्छेका लागि शालीन र प्रिय हुन् । त्यसै रूपमा मैले बुझेँ उनलाई । मैले जसरी कृष्ण पोखरेललाई भोगेँ, त्यही रूपमा उनी ‘फर्केर हेर्दा’ मा जस्ताको तस्तै इमानदारिताका साथ पोखिएका छन् । कृतिभित्र लप्पनछप्पन छैन । इमानदारिता उनको कृतिको वैशिष्ट्य हो ।

कृति जीवनबोधी छ । सन्देशबोधी पनि छ । र, पठनीय छ ।

धन्यवाद !

सान मार्कोस, अमेरिका