तपाईंले प्रेम गरिरहेको मानिस तपाईंसँग छुटेको केही समयपछि भेट्दा ऊ अर्कै व्यक्ति हो भन्ने कुरा तपाईंले थाहा पाउनुभयो । जसलाई तपाईंको बारेमा केही पनि याद छैन । चलचित्र र कथाहरूमा जस्तै वास्तविक जीवनमा एक जना मानिस फरक फरक अनुहार तथा फरक फरक जीवन लिएर बाँच्न सक्छ भन्ने कथा बोकेको उपन्यास हो – ‘अभिसार’ । यो २०८२ सालको शुरूवातसँगै बजारमा आएको थियो ।
घर पोखरा, हाल दक्षिण कोरियामा रहेका राजेश सुवेदीद्वारा लिखित यस उपन्यासलाई इन्डिगो इंक प्रकाशनले बजारमा ल्याएको हो । अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर गरेका सुवेदी कथा, कविता लेखनमा पनि सक्रिय छन् । उनी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज दक्षिण कोरिया च्याप्टरका महासचिव हुन् । दक्षिण कोरियाको विषयमा लेखेको उनको कथा “सागी प्रेमी” बाह्रखरी कथा प्रतियोगिता २०८० को कथासंग्रहमा प्रकाशन भएको छ ।
विशेषगरी ‘अभिसार’मा लेखक सुवेदीले पोखरा र यस वरपरका ठाउँहरू समेटेका छन् । निम्न वर्गीय समुदायको कथावस्तुमा आधारित यो उपन्यास सामाजिक यथार्थको धरातलमा अडिएको छ । उपन्यासको केन्द्रमा नायिकाको अभिसार यात्रा रहे तापनि ऐतिहासिक र सांस्कृतिक विषयवस्तुले पुस्तकलाई खँदिलो बनाएको छ ।
नाट्यशास्त्रका रचयिता भरत मुनिले उल्लेख गरेअनुरूप आठ प्रकारका नायिकाहरूमध्ये प्रेमीलाई भेट्न संघर्ष गरेकी नायिकालाई अभिसारीका भनिएको छ । उनै नायिकाको प्रेमी गमन यात्रालाई अभिसार भनिएको छ । सोही शब्दलाई शीर्षक राखिएको ‘अभिसार’ मूलतः सारीकाले आफ्नो प्रेमी अभिका लागि गरेको संघर्षको कथा हो । उनी पोखराको दक्षिण भेक ढुङ्गेसाँघुको एक वृद्धाश्रममा काम गर्ने युवती हो ।
सारीकाको कथामै सडकबाट उठेर सामान्य जीवन जिउन कोशिशि गरिरहेको नायक अभिको कथा जोडिएको पाइन्छ । जसबाट पठनयोग्य उपन्यास बनेको छ । दुई वटा कथा आलोपालो बगिरहेको छ । कथानक सारीका र अभीको वरपर घुमिरहे पनि गुरुङ समुदायका पुरोहित पच्चु गंगमान र उनका गुरु देउकाजीको कथाले पनि पाठकलाई बाँधिरहन्छ । गुरुङ संस्कार अन्तर्गत पुरोहित पच्चु लाई नजिकैबाट देखाउन खोजिरहेको यस उपन्यासमा ऐतिहासिक घटनाक्रमहरू पनि जोडिएका छन् । कास्की राज्यमा गुरुङलाई हराएर शाहको प्रवेश गरेको, दोस्रो विश्वयुद्धमा नेपालका गाउँहरू रित्तो बनाएर युवाहरूलाई अंग्रेजी फौजमा लगिएको ऐतिहासिक प्रसङ्गले उपन्यासलाई थप सशक्त बनाएको छ ।
लेखक सुवेदीले उपन्यासको क्यानभासमा अर्को मुख्य पात्र धनबहादुरलाई पनि उभ्याएका छन् । धनबहादुर जीवित रहँदा होस् या मृत्युपश्चात्, कथा उनको वरिपरि घुमिरहन्छ जसले पाठकलाई कौतूहल बढाउँछ ।
मानिसमा हुने फरक चेतना ट्रान्सलाई थिम बनाएर लेखिएको यस उपन्यासमा मानिस कसरी ट्रान्समा पुग्दछ ? फरक फरक ट्रान्स अवस्थाहरू के के हुन्छन् ? भन्ने कुरा बताइएको छ । उपन्यासमा रहेका झाँक्री पात्रहरूले ट्रान्स अवस्थाको प्रयोग गर्नु र नायक अभी ट्रान्स अवस्थामा पुगिरहनुले उपन्यासलाई रहस्यमय बनाएको छ । एउटै मान्छे वास्तविक जीवनमा कसरी धेरै रूप लिएर बाँच्छ होला ? अनि एक जना कलाकारले चलचित्रमा फरक फरक भूमिका खेलेझैँ मानिस आफ्नो शरीरमा धेरै मन लिएर बाँच्न सक्छ । झट्ट सुन्दा विश्वास नलाग्ने तर तपाईं हामीले नजिकैबाट देखिरहेको विषय यस उपन्यासले उठाएको छ । बहु व्यक्तित्व विकार (मल्टीपल पर्सनालिटी डिसअडर) भनेको के हो ? यसले हामीलाई कसरी भ्रमित पारिरहेको छ ? अनि हाम्रो बुझाइ कहाँनेर गलत छ भन्ने कुरा उपन्यासमा देखाइएको छ । यै विषयमा आधारित कथाहरू विदेशी साहित्य, चलचित्र तथा सृजनामा हामीले प्राय भेटिरहन्छौं । तर नेपाली साहित्यमा यो विषय सम्भवतः पहिलो पटक लेखिएको हो ।
समाजको प्रतिनिधि पात्रमा रहेकी सारीकाको जीवनबाट लेखकले महिला सशक्तीकरणको आवाज गुन्जाएका छन् । दार्शनिक पक्ष नियाल्दा नायिकाले अभिसार यात्रासँगै अस्तित्ववादको यात्रा पनि गरेको देखिन्छ । शुरूवातमा आफ्नो पहिचान र अस्तित्वसँग बेखबर रहेकी सारीका उपन्यासको अन्तमा पुग्दा आफू को हुँ, के का लागि संघर्ष गरिरहेकी छु, जस्ता प्रश्नको पहिचान गर्न सक्षम हुन्छिन् । उनीमा आस्तिकता प्रष्टैसँग देखिएको छ । तर पनि उनको विचारमा भने रूपान्तरित हुन्छ । तसर्थ ‘अभिसारा’लाई अस्तित्ववादी धारमा रहेको नारीवादी भन्न सकिन्छ ।
उपन्यासको समाख्याता २३ वर्षिय युवती सारीका नै हुन् । उनको चरित्रलाई त्रिआयाममा विकास गरिएको छ । उनको जत्तिकै भूमिका भएको २५ वर्षीय युवक अभी भने रहस्यमय पात्रको रूपमा देखिन्छन् । यसबाहेक कथामा बलियो उपस्थित जनाउने पात्रहरूमा डाक्टर राकेश, धनबहादुर, रजिया, नीलकण्ठ, गौरी, रिचा, खडकसिङ लगायत छन् । द्विआयाममा विकास भएका यी पात्रहरू अधिकांश सिनहरूमा सारीका र अभीसँग देखिएका छन् । उपकथा अन्तर्गत फ्लासब्याकमा सुनाइएको झाँक्री गुरुको कथामा देउकाजी गुरुङबाट कथा अगाडि बढेको पाइन्छ ।
उपन्यासको विशेषता भनेको सरल भाषामा सटिक बिम्बहरूको प्रयोग हो । थप यसमा प्रथम र तृतीय दृष्टिविन्दुको सम्मिश्रण प्रयोग पाइन्छ । वर्णनात्मक र दृश्यात्मक शैलीलाई अँगालेको यस उपन्यासमा आञ्चलिकता प्रशस्त पाइन्छ जसले पात्रहरूलाई विशिष्टता प्रदान गरेको छ र पाठकलाई नयाँपन दिन सफल भएको छ । विभिन्न रङहरूको संयोजनले उपन्यासलाई इन्द्रेणीसरी बनाउन लेखक सफल छन् । तापनि लेखकले नीलो रङलाई बढी महत्त्व दिएको महसूस हुन्छ जस्तै अभीका नीला आँखा, सारीकाको नीलो वानपिस, नीलो रङको पाल, नीलो रङको ट्याक्सी, नीलो अलादिन लगायत धेरै ठाउँ नीलो रङको भूमिका विशेष ढङ्गले आएको छ । यसरी नीलो रङलाई कलात्मक तवरले चलाएर उपन्यासकार सुवेदीले शान्ति, गहनता र फराकिलो सोच देखाउँदै जीवन बाँच्न प्रेरित गरेका छन् पाठकलाई ।
सामाजिक यथार्थको धरातलमा रहेर लेखकले ठाउँठाउँमा पाठकलाई पात्रसँग भावनात्मक रूपमा जोड्न जोड दिएका छन् । यसको उदाहरण उपन्यासको यस वाक्यले दिन्छ – “मनभित्र पसेको मान्छेलाई ढाँट्नु भनेको घरभित्र पसेको मानिसलाई घर छैन भन्नु जस्तै हो ।”
यसैगरी व्यावहारिक जीवनमा झेल्नुपर्ने प्रहरी सोधपुछ र कानूनी झमेलाले पनि उपन्यासमा ठाउँ पाएको छ । पात्रहरूमा कानूनको सम्मान गर्दै विद्रोह गर्नुपर्छ भन्ने भावलाई यस वाक्यले स्पष्ट पारेको छ – “कानून त्यति निरीह पनि छैन, एउटा नारीले गाँस काटेर जोगाएको पैसा र सास थामेर जोगाएको इज्जत लुटिँदा रमिते बनेर बस्नेगरी ।”
लेखकले सामाजिक आदर्श र मर्यादालाई पनि सन्तुलन गर्ने कोशिश गर्दै लेखेका छन्, “बदलाले समाज बदलिँदैन नानी । क्षमा गर्न पनि सक्नु पर्छ ।”
पच्चु गुरुलाई उपन्यासमा दार्शनिक पात्रका रूपमा चित्रण गरिएको छ । यसमार्फत शामनिजम अर्थात् धामीझाँक्री परम्पराको महत्त्वलाई दार्शनिक दृष्टिले व्याख्या गरिएको छ । यद्यपि, हिन्दु–बौद्धलगायतका धर्मका मिथकहरूलाई पनि बारम्बार प्रयोग गरिएको पाइन्छ । जस्तै, “यो कलियुग हो केटी । कुन्ती र मेरीको युग होइन कुमारी आमा बन्नलाई ।” (पृ. १९३)
त्यसैगरी, उपन्यासमा आम मानिसका साधारण सोचलाई समेत दार्शनिक आयाम दिने कोशिश गरिएको छ । उदाहरणका लागि, “गन्तव्य नभए पनि मान्छे खुसी हुने त रहेछ, हामी फेरि किन जीवनको गन्तव्य खोज्दाखोज्दै जीवन सकिएको थाहा पाउँदैनौँ ?” (पृ. १५०) यसरी निम्न वर्गका पात्रका दैनिकी संवादसँगै गुरुका दार्शनिक प्रवचनहरूलाई पनि उपन्यासमा स्थान दिइएको छ ।
प्राचीन साहित्यमा वर्णित अभिसारीझैँ यस उपन्यासकी नायिका पनि कठोर परिस्थितिहरूबाट गुज्रिरहेकी छिन् । बाहिरी संघर्षहरूमा उनले जेनतेन विजय हासिल गरे पनि आन्तरिक द्वन्द्वले उनलाई बारम्बार तड्पाएको छ । चाहे अभिसँग शारीरिक रूपमा नजिकिँदा होस् वा अफिसमा बसेर परिपक्व देखिन प्रयत्न गर्दा— उनको मनभित्र गहिरो द्वन्द्व मच्चिएको देखिन्छ । विशेषतः, उपन्यासको उत्तरार्धमा पेटमा रहेको गर्भसन्तानलाई लिएर मनमा चलेको संघर्षले उनलाई अत्यन्त शिथिल तुल्याएको छ ।
यसरी, निर्णायक क्षणहरूमा पात्रलाई आन्तरिक द्वन्द्वमार्फत गुजार्दै लेखकले कथालाई पेचिलो र प्रभावशाली बनाएका छन् ।
निम्न वर्गीय समाजको चित्र टपक्क टिपेर कथामा उन्न सक्नु उपन्यासको सबल पक्ष हो । यस उपन्यासमा नायिकालाई सशक्त रूपमा देखाउँदै महिलाहरू पुरुषका अभिभावक बन्न सक्छन् भन्ने कुरा प्रस्तुत गरेका छन् सुवेदीले । सारीकाको अभिसार यात्रा प्राचीन साहित्यहरूमा भनिएको जस्तो प्रेमी गमन मात्र नभई प्रेमीको जीवनरक्षाका लागि जोखिमहरूसँग जुधेको यात्रा पनि हो ।
उपन्यासको भाषा आकर्षक र सम्प्रेष्य खालको छ । तथापि कतिपय ठाउँमा भाषिक अशुद्धता भने पाठकले सहजै फेला पार्न सक्छन् । जसले गर्दा फरक अर्थ लाग्न गई पाठकलाई बहकाउने सक्ने देखिन्छ । साथै च्याप्टर विभाजन उपयुक्त ठाउँ र घटनाहरूमा नभएको देखिन्छ । जसले गर्दा पठनको गतिलाई खलबल्याउन सक्ने देखिन्छ । उपन्यासभित्र आएका बिम्बहरू केही ठाउँमा उही अर्थ लाग्ने गरी दोहोरिएका छन् । जसकारण बिम्बले सृजना गर्ने रसहरू खल्लो बन्न गएको देखिन्छ ।
समग्रमा ‘अभिसार’ कथावस्तु, कथानक विन्यास, चरित्रप्रतिको न्याय, परिवेशगत विश्वसनीयता र भावगत सबलता आदिका दृष्टिले उत्कृष्ट उपन्यासको सूचीमा स्थान बनाउन सफल भएको छ । स-साना विवरणलाई पनि विशेष महत्त्वसाथ प्रस्तुत गरिएको छ, जसले लेखकलाई सफल उपन्यासकारका रूपमा स्थापित गरेको छ ।
यो कृति नेपाली साहित्यको विशाल आकाशमा गहकिलो योगदानका रूपमा युगौँसम्म बाँचिरहनेमा दुई मत छैन । नेपाली भाषा–साहित्यका पाठकहरूलाई एक पटक अवश्य पढ्न अनुरोध गर्दछु ।
नेपाली साहित्यमा एक चम्किलो नक्षत्रका रूपमा उदाएका उपन्यासकार राजेश सुवेदीलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यका लागि शुभकामना !



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ फाल्गुन २०८२, बिहीबार 










