सङ्गीत महर्षि अम्बर गुरुङका छोरा किशोर गुरुङ अमेरिकाको हावाईमा सङ्गीत पढ्दा एक जान प्राध्यापकले नेपाली साहित्य बारेमा बुझ्न कुन पुस्तक पढ्ने भनेर जिज्ञासा राखे । किशोर गुरुङले पनि कुमार प्रधानको ‘अ हिस्ट्रि अफ नेपाली लिटिरेचर’ (सन् १९८४ मा भारतीय साहित्य एकादमीले प्रकाशित गरेको) अंग्रेजीमा लेखेको पुस्तक दिएछन् ।
ती प्राध्यापकले कुमार सरको पुस्तक पढेपछि उहाँको भाषा शिल्प र लेखन शैलीको खुलेरै प्रशंसा गरेको कुरा वेलावेलामा सुनाउँछन् किशोरजी । यो थियो कुमार सरको अंग्रेजी भाषा माथिको कमाल । सरले पाभ्लो नेरुदाको एउटा कविता (नेपालीमा अनुवाद हुँदा ‘घोडा’ शीर्षक थियो) उत्कृष्ट अनुवादले मलाई ल्याटिन अमेरिकाको साहित्यमा रुचि जगाएको थियो ।
त्यो कविता दार्जीलिङबाट प्रकाशित हुने दियालोमा छोपेको याद छ । कुमार सरको सम्पादनमा सन् १९७१ मा प्रकाशित भएको समसामयिक लेखहरूको संगालो ‘वार्ताहरू’मा छापिएको इलियटको काव्य सिद्धान्त माथि लेखिएको लेख उहाँको बौद्धिकताको द्योतक थियो, शायद इलियट माथि लेखिएको त्यति राम्रो लेख नेपाली भाषामा कमै लेखिएको होला । कुमार सरको अंग्रेजी भाषा माथिको पकडलाई तारानाथ शर्माले खुलेर प्रशंसा गरेको सुनेको छु मैले । दुवै भाषामा निपुनताको साथ कलम चलाउनु चानचुने कुरा थिएन ।
सरको छोरा सोमेन्द्र काठमाडौंमा काम गर्दा यता आइरहनु हुन्थ्यो । सरले तारानाथ शर्मासँग भेट्ने इच्छा गर्दा मेरै पहलमा साहित्यकार स्व नगेन्द्र शर्माको निवासमा भेट भएको दिन नेपाली भाषाले मान्यता पाएको दिन थियो । हामीले हर्षित भएर मनाएको थियौं त्यो क्षण । नेपाली भाषाले भारतमा मान्यता पाउनुपर्छ भन्ने भाषा आन्दोलनमा सरको ठूलो योगदान रहेकोमा कुनै दुई मत छैन ।
आन्दोलनको बौद्धिक व्यक्तित्वहरू थिए कुमार सर, आई बि राई सर, प्रेम कुमार आले । कुमार सर यस आन्दोलनबाट हतास हुँदा सिके श्रेष्ट्रसँग मिलेर यसलाई थप ऊर्जा दिन भारतीय नेपाली राष्ट्रिय परिषद् मार्फत सिक्किमको गान्तोकमा नेपाली भाषा आन्दोलनलाई सहयोग हुनेगरी भाषा सम्मेलन आयोजना गरेका थिए । त्यो सम्मेलनको प्रथम संत्रमा सभापतिको आसनबाट जुन ११, १९९० मा कुमार सरले दिएको सारगर्भित मन्तव्य मनन योग्य छ –
“यो नेपाली भाषा मेरो मायाको साउतीको भाषा हो । यो मेरो विषादको रोदनको भाषा हो । यो मैले भीमनाद गर्दा अभिव्यक्त हुने भाषा हो । मैले सुखद सपना देख्दा हाँस्ने भाषा अनि फेरि मलाई जीवनमा ऐंठन पार्दा जब चिच्याउँछु त्यो चिच्याउने भाषा पनि यही नेपाली भाषा हो । त्यसैले यो भाषा मेरो आत्मा हो ।” (सिके श्रेष्ठले सन् १९९० मा सम्पादित गरेको पत्रिका ‘आधार’ बाट साभार लिएको ।)
यो भाषा सम्मेलन कुमार सरको सक्रियतामा भएको थियो र नेपाली भाषाले भारतीय संविधानमा मान्यता पाउन कोसे ढुङ्गा साबित भएको थियो ।
म केही समयको लागि सिलगडी जाँदा सरको घरमा नै बसेको थिएँ । शान्त र सौम्य वातावरणको घर परिवेशमा एक हप्ता जति बसें । त्यही बस्दा सरले सम्पादनमा निस्किने सुनचरीमा केही लेख र समाचारहरू छाप्ने अवसर पाएका थिए ।
कुमार सर सीमान्तकृत भएको समय समयमा आभास हुन्छ तर यसले सरको लेखनमा कहिले कमी आएन । उहाँ भन्दा धेरै कनिष्ठहरूले साहित्य एकादमि पुरस्कार पाएता पनि सरलाई यो अवसर कहिले मिलेन । सरको महत्ता काठमाडौंका बौद्धिक जमातले निकै बुझेका प्रतीत हुन्छ । सोशल साइन्स बाहाद्वारा आयोजित डाक्टर महेशचन्द्र रेग्मी मेरोलियल लेक्चार दिने उहाँ दोस्रो व्यक्ति हुनुहुन्थ्यो । पहिला थिए डक्टर हर्क गुरुङ । त्यो लेक्चरमा कुमार सरले दार्जीलिङमा नेपाली जाति र जनजातीय चिनारीका नयाँ अडानहरू विषयमा ४० पृष्ठ लामो भाषण दिनुभएको थियो ।
कुमार सरको पिता माणिकलाल प्रधान काठमाडौंबाट विरक्तिएर दार्जीलिङ गएको सरकै मुखबाट सुनेको थिएँ । सितार बजाएर विहानै रियाज गर्नु पिताज्यू नित्य कर्म थियो । शायद त्यसैले होला कुमार सर आध्यात्मिकतामा चेतनाशील थिए ।
साई बाबाको अनन्य भक्त कुमार सर, उहाँले हवाड मर्फटको पुस्तकको नेपाली अनुवाद ‘औलकिक पुरुष: साई बाबा’ (श्याम ब्रद्रसले रु ५ मूल्य राखेर सन् १९७४ मा प्रकाशित गरेका थिए ।) साई साहित्यको इतिहासमा शायद प्रथम अनुवादित पुस्तक हुनसक्छ । यो पुस्तक अति नै लोकप्रिय भएता पनि दोस्रो संस्करण निस्कन सकेन । सरले साई बाबा माथिको प्रवचन जति सुन्दा पनि धित मर्दैन थिए ।
कुमार सरले सनातन सारथी, साई दर्पणमा धेरै आध्यात्मिक लेखहरू लेखे भने ‘शिरडी टु पर्ती’ उहाँको अप्रकाशित कृति हो । कवि मोहन ठकुरीले साई सान्निध्यको निम्ति लिनु भएको अन्तर्वार्तामा कुमार सरले साईप्रति जागेको आस्था, साई संगठनका क्रियाकलाप र साई प्रतिको सद्भाव प्रकट गरेका छन् । सरले दिनुभएको प्रवचन कैयौं पटक सुन्ने अवसर मैले पनि पाएको थिएँ, कति सारगर्भित, ओजपूर्ण थिए सरका सुवचनहरू ।
कलकत्ता विश्वविद्यालयबाट इतिहासमा विद्यावारिधि गर्नुहुने कुमार प्रधानको विषय थियो- पृथ्वी नारायण शाहले नेपालको विजय गरेको हो, एकीकरण होइन भन्ने थियो ।
भारतको अक्सफोड युनिभरसिटि प्रेसले छापेको थियो- Gurkha Conquest । सरले वेलावेलामा भन्नु हुन्थ्यो पृथ्वी नारायण शाहले एकीकरण गरेको होइन नेपाल किनकि कुनै हिसाबले पनि नेपालमा एक जाति, भाषा र संस्कृतिको बाहुल्य थिएन, सबै छुट्टाछुट्टै राज्य थिए ।
यस पुस्तकले गोरखाको रियासतलाई बढाउँदै आधुनिक नेपाली राज्यको सृष्टि पत्ता लगाएको छ । यसले सम्पूर्ण प्रक्रियाको राष्ट्रिय एकीकरणको रूपमा रहेको प्रमुख धारणालाई चुनौती दिएको छ र लोकप्रिय सामाजिक-सांस्कृतिक एकीकरणको अभावमा राज्यको निर्माणले राष्ट्रिय एकीकरणको अवधारणालाई अवैध बनाएको छ भन्ने मान्यता राखेको छ । धेरै वर्षसम्म यो पुस्तकले नेपाली समाजमा चर्चा पाएन । यो पुस्तकको दोस्रो संस्करण हिमाल बुक्सले प्रकाशित गरेका छन् भने नेपाली अनुवाद मञ्जरी प्रकाशनले गर्न लागेको छ भनेर सुनेको छु ।
पहिलो प्रहर कुमार सरको अर्को मौलिक पुस्तक हो जसले निकै चर्चा र प्रशंसा पाए । जातीय इतिहास लेखनको यो दस्तावेज कृति सन् १९८२ मा श्याम प्रकाशनले प्रथम संस्करण प्रकाशित गरेको हो । पहिलो पहरले दार्जीलिङमा नेपाली जाति, भाषा र साहित्यको उद्भाव र विकाशको बारेमा विमर्श गरेका छ ।
कुमार सर ‘सुनचरी’ दैनिक र ‘हिमालय दर्पण’ सम्पादन गरे भने नेपाली साहित्यको उच्च स्तरिय पत्रिका- मालिङ्गो र हाम्रो संसार पत्रिकाको पनि कुशल सम्पादन गरेका थिए । मालिङ्गोको सम्पादकीयहरूमा कुमार सरको सुविचारित, संयमित, स्पष्ट र वस्तुनिष्ठ प्राज्ञिक लेखनशैलीको झलकहरू पाइन्छन् । सरको फुटकर कविताहरूको संग्रह उहाँको निधन पछि रेमिका थापाको सम्पादनमा आस्थातीत नाम गरेर प्रकाशित भए ।
कवि रेमिका थापाका कविताहरूको अंग्रेजी अनुवाद गरेर कुमार सरले नयाँ पुस्तालाई हौसला प्रदान गरेका थिए । कुमार सरको नखुलेको पाटो भने कविता कर्म हो । सानैदेखि कविता लेख्ने गरेता पनि समालोचना र अनुसन्धान लेखनले कवि पक्षलाई सधै ओजेलमा पारे ।
सुधपा (सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला, पारसमणि प्रधान) पछि भारतीय नेपाली साहित्यमा धेरै प्रभाव छोडेको समूह हो इकुरा (इन्द्रबहादुर राई, कुमार प्रधान, राजनारायण प्रधान) । यो समूहले दार्जीलिङबाट शुरू भएको आयामेली आन्दोलनलाई बौद्धिक ऊर्जा दिने देखि लिएर भानुभक्तको साहित्यिक योगदानको विमर्श गर्न भ्याए ।
भाषा आन्दोलनलाई तार्किक निष्कर्ष पुर्याउने कामदेखि लिएर नेपाली पाठकहरूलाई विश्व साहित्य चिनाउने कामहरू पनि इकुराले नै गरे । इकुरा समूहको योगदानलाई समष्टिगत रूपमा मूल्याङ्कन गर्न जरूरी छ- एउटा साहित्यिक युग सम्झेर । कुनै समय इकुरा टीमको रजगज थियो दार्जीलिङको साहित्य वृत्तमा । नेपाली साहित्यलाई विदेशी पाठकहरू माझ पुर्याउने कामदेखि लेखनमा नयाँ आयाम दिनेसम्म काम गरे यो टीमले । साहित्यको वैचारिक धरातललाई निकै माथि उठाउन यो टीमको ठूलो योगदान छ ।
यही टीमले निकालेका वार्ताहरू (लेखहरूको संकलन) अहिले पनि मानक लेख संग्रहको रूपमा लिइन्छ । इकुराको सक्रियतामा भानुभक्तको शतवार्षकिमा २०२६ सालमा बृहत्तर कृति संग्रह भानुभक्तका कृतिः अध्ययनहरू प्रकाशित गरे जसको सम्पादन इन्द्रबहादुर राईले गर्नुभएको थियो । सन् १९७१ मा कुमार प्रधानको सम्पादकत्वमा निकालेको ‘वार्ताहरू’ अर्को युगिन पुस्तक थियो ।
कुमार सरको समालोचनाको उच्चतम् लेखहरू ‘अधीति केही’मा संग्रहित छ । त्यस पुस्तकमा विभिन्न समयमा लेखिएका फुटकर लेखहरू पढ्न पाइन्छ । लेखहरू निकै गहन र पेचिलो छ । भानुभक्तको रामायण र सम, देवकोटादेखि सात्र र इलियट सम्मको चर्चा गरिएको छ ।
कुमार सरको देहान्त पछि उहाँको व्यक्तित्व र कृतित्व बारेमा कवि मनप्रसाद सुब्बाको सम्पादनमा निस्केको कुमार-कीर्ति पढ्न योग्य छ । सरको विभिन्न साहित्यिक एंव बौद्धिक पाटोको अति सुन्दर तरीकाले विश्लेषण गरेका छन् लेखकहरूले ।
कुमार सर मई ७, १९३७ भा जन्मेर दिसम्बर २०, २०१३ मा देह त्याग गर्नुभएको थियो ।
(यस लेखको निम्ति स्रोत सामाग्रीहरू उपलब्ध गराइदिनु हुने कुमार प्रधानकी जेठी छोरी इन्दिरा प्रियदर्शना प्रधानलाई कृतज्ञता प्रकट गर्न चाहन्छु ।)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ जेष्ठ २०८३, बिहीबार 










