भक्तपुर क्यान्सर अस्पतालमा थप चेकजाँच गरेपछि थाहा भयो, आमाको ओभरीबाट शुरु भएको अर्बुद रोग सबैतिर फैलिसकेको छ, र यो अन्तिम चरण अर्थात् चौथो चरणमा पुगिसकेको छ । यसको अर्थ, आमा अब लामो समय बाँच्नुहुन्न ।
===
जीवनमा हरेक कुराहरू सापेक्षित हुन्छन्, जीव विज्ञान र समाज विज्ञान दुवैले आत्मसात् गरेको कुरा के हो । संसारमा कुनै त्यस्तो सत्य छैन जो निरपेक्ष होस् । यसर्थ नबुझ्ने उमेरमा गरिएका कर्महरूको कुरा बेग्लै हो तर बुझ्ने भैसकेपछि मैले गरेका निर्णयहरू ठिक थिए वा थिएनन् ती दुवै कुरा सापेक्षित थिए । यो अर्थमा मेरो जीवनमा मैले गरेका कर्मको परिणाम पनि सापेक्षित नै आउने भए । बीसेबाइसे उमेरमा मलाई जे सत्य लाग्यो मैले त्यही गरेँ, आज तीलचामले उमेरमा आएर मलाई ऊ बेलाका मेरा निर्णयहरूप्रति थोरै ग्लानि, अलिकता पश्चात्ताप र धेरै हाँसो लाग्छ ।
मैले थाहा पाएसम्म आमाले मलाई कहिल्यै त्यो गर्न हुन्छ अथवा त्यो गर्न हुन्न भन्नु भएन । मेरा निर्णयप्रति मैले थाहा पाउने गरी आमाले कहिल्यै सेन्सर गर्नुभएन । मैले बरु पश्चात्ताप गरेँ हुँला तर आमाले कहिल्यै पश्चात्ताप बोध गर्नु भएन । उत्तेजना र भावावेगमा गरिने जीवनका कतिपय निर्णयहरूले एउटा मान्छेको समग्र जीवनमा कति दूरगामी असर गर्छ भन्ने कुरा आज आएर मैले राम्रोसँग बुझेको छु, तर मेरा कुनै पनि निर्णयहरूमा आमा बाधक बन्नुभएन । चिकित्सा विज्ञानको खोजले मान्छेमा देखिने अधिकांश रोगहरू वंशाणुगत भन्छ, आमालाई बहत्तर वर्षको उमेरमा क्यान्सर देखियो । बायोप्सी रिपोर्टले त्यो अर्बुद रोगलाई चौथो तहको भन्ने निर्क्योल गर्यो र चिकित्सकहरूले आमालाई बचाउन नसक्ने कुरा बताए । आमालाई लागेको रोगले मलाई तत्कालै छोइहालेन र तत्कालै मलाई केही भैहालेन भने जीवनको उत्तरार्द्धमा अर्थात् आमाको उमेरसम्ममा जीवनको आत्मसमीक्षा गर्दा मेरो आजको सोचाइप्रति त्यतिबेला मलाई कस्तो लाग्ने होला ? मैले आज जान्ने कुरा भएन ।
आमाका आफ्नै बाबुआमाबाट जन्मेका ५ जना दाजुभाइ कोही पनि ५ वर्ष भन्दा बढी बाँचेनन् । आमाका बाको ६१ वर्षकै उमेरमा निधन भयो । चरम पितृसत्तात्मक अभ्यासले ग्रस्त त्यो समयमा आफूभन्दा १७ वर्ष कान्छी पत्नीलाई विधवा बनाएर, बर्सेनिका ५ वटी सानी छोरीहरूलाई टुहुरी र एउटी छोरीलाई गर्भे टुहुरी बनाउँदै हजुरबा एक महिनासम्म पहेँले रोग लागेर सदाका लागि बिदा हुनुभो ।
म कल्पना गर्छु, ती आफ्नै कोखबाट जन्मेका ५ भाइ छोरा गुमाएकी र बर्सेनिका छवटी नाबालक छोरीहरू हुर्काउन हजुरआमालाई कति सकस पर्यो होला ? परिवारको मियो गुमेपछिका ती दिनहरू कति कष्टकर थिए भन्ने कुरा हजुरआमाले मसँग कहिलेकाहीँ गर्नुभएको सम्झना आउँछ । हजुरबुवाको मृत्यु हुँदा आमा ७ वर्षकी हुनु हुन्थ्यो, उहाँपछिकी बहिनी त्योभन्दा सानी । कान्छी सानीमा त गर्भमै हुनुहुन्थ्यो ।
असारको २ गते बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको आमाको घाँटीको बायप्सी रिपोर्ट आएपछि मैले उक्त रिपोर्ट तुरुन्तै झापामा रहेको पूर्वाञ्चल क्यान्सर अस्पतालका निर्देशक डा. वीरेन्द्र यादवलाई ह्वाट्सएप गरेँ । मलाई समेत अनुकूल हुने गरी डा. यादवले भक्तपुर क्यान्सर अस्पतालका कार्यवाहक निर्देशक डा. उज्ज्वल चालिसेसँग भेटेर आमालाई उतै उपचार गर्न सुझाए । बिपीले डिस्चार्ज गरेपछि मोरङको उर्लाबारीमा आराम गरिरहेकी आमालाई तुरुन्तै भक्तपुर क्यान्सर अस्पताल लिएर आएँ । जीर्ण शरीर, सहनै नसकिने र निरन्तरको दुखाइ, चिकित्सकहरूका अनुसार क्यान्सरको दुखाइलाई प्रसव पीडासँग तुलना गर्न सकिन्छ । भक्तपुर क्यान्सर अस्पतालमा थप चेकजाँच गरेपछि थाहा भयो, आमाको ओभरीबाट शुरु भएको अर्बुद रोग सबैतिर फैलिसकेको छ, र यो अन्तिम चरण अर्थात् चौथो चरणमा पुगिसकेको छ । यसको अर्थ, आमा अब लामो समय बाँच्नुहुन्न । चिकित्सकले प्यालिएटिभ वार्डमा राखेर दुखाइ व्यवस्थापन गर्नुबाहेक अब कुनै विकल्प छैन भनेपछि मसँग विकल्प रहने कुरै भएन । कुनै पनि बेला जे पनि हुन सक्ने भएपछि बाबुआमालाई अलग राख्नु ठिक थिएन । मैले बुबालाई बोलाएँ ।
जब बुबा अस्पताल पुग्नुभयो – म एउटा कारुणिक दृश्यको साक्षी बनेँ । आमाले बुबाका हात च्याप्प समात्नुभयो, क्यान्सरको असरले डोबिल्का परेका आमाका आँखा आँशुले टम्म भरिए । आमाले मधुरो स्वरमा भन्नुभो – बुबा, तपाईँका हात कति चिसा ?
बुबाले आमाको प्रश्नको कुनै उत्तर नै नदिई आफ्नै सुरमा प्रश्न गर्नुभो – केटी, तेरो र मेरो भेट भएको कति वर्ष भयो हँ ?
आमाले प्रश्न भुईँमा खस्न नपाउँदै उत्तर दिनुभो – बिहे गर्दा म साढे एघार वर्षकी थिएँ, आज म त्रिहत्तरमा हिँड्दै छु । भएछ नि ६१।६२ वर्ष ।
माहौल एकदमै भावुक थियो, प्रेमिल थियो । खासमा मेरा लागि अवस्था सम्हाली नसक्नु थियो । बुवालाई कस्तो लाग्यो, म अनुमान गर्नेगरी होसमै थिइनँ । बुबालाई थाहा थियो, बयसट्ठी वर्षको दाम्पत्य जीवन अब लामो समय रहनेछैन । आमालाई त्यो सबै थाहा हुने कुरै थिएन । उहाँसँग जीवनप्रतिको जिजीविषा बाँकी नै थियो । जो व्यक्ति जाँदै थियो उसलाई जाँदै छु भन्ने अनुमानै थिएन । जबकि उसका वरिपरिकालाई अब उनीहरूको प्रियजन रहनेछैन भन्ने कुरा प्रस्ट हुने अवस्थाको साक्षी बन्नुपर्दा एउटा छोरो हुनुको नाताले मेरो पीडा म आफैं मात्र बुझ्न सक्थेँ ।
आमाका धेरै गुणहरू वंशगत हिसाबले स्वभावतः म सँग छन्, त्यो म महसूस गर्न सक्छु । सबैभन्दा बढी आमामा रहेको विद्रोही चेतको प्रत्यक्ष अप्रत्यक्ष प्रभाव मभित्र परेको छ । मावलको हजुरबाको निधनपश्चात् हजुरआमा हामीसँगै रहनुभयो अर्थात् हजुरआमा काइँली छोरी ज्वाइँसँग रहनुभयो । हजुरआमाको ०४८ सालमा आमासँगै रहेका बखतमा निधन भयो । सामाजिक सञ्जाल र डिजिटल मिडियाको आजको जस्तो विकास हुँदो हो त त्यो घटना पितृसत्ताविरुद्धको एउटा भयानक विद्रोहको घटना हुन्थ्यो । आमाले मावलतर्फका दाजुभाइहरूले हजुरआमाको काजकिरिया बन्धुहरूले गर्नुपर्ने अनुरोधको भद्र-अवज्ञा गर्दै हजुरआमाको अन्तिम संस्कार आफैं गर्नुभयो । हिन्दु परम्परा अनुसार कोरामा आफैं बस्नुभयो । आफैं दागबत्ती दिनुभयो । कैयन् वर्षअघि हजुरबुबाको मृत्युसँगै अमिलिएको मावलीपट्टिका आफन्तहरूसँगको औपचारिक नाता हजुरआमाको मृत्यु संस्कारमा “माइती छोरा”हरुको भूमिकालाई आमाले निषेध गरेसँगै लगभग टुङ्गियो । आमाले कुनै पश्चात्ताप गर्नुभएन । बरु समाजमा हाबी पितृसत्ताविरुद्ध आफूले विजय प्राप्त गरे झैँ महसूस भयो सायद, आमाले गर्व गर्नुभयो ।
२०५२ सालमा माओवादी विद्रोह शुरु भयो । रोल्पा रुकुम, गोरखा आदि जिल्लाबाट शुरु भएको विद्रोह पूर्वसम्म आइपुग्न केही वर्ष लाग्यो । अवचेतन मनमा सामाजिक असमानताका अनेकन् रूपहरू गढेर बसेको मेरो तन्नेरी मनलाई सायद जुन सुकै हिसाबले होस्, अरूको नजरमा पर्नुपर्छ भन्ने लाग्यो । नेता भन्ने शब्दको ओज र गरिमा नबुझ्दै, आफू नेता बन्नपर्छ भन्ने लाग्यो । हो, मलाई धेरै थोक लाग्यो । म जनयुद्धको नाममा शुरु गरिएको आन्दोलनमा लागेँ । आमाले मेरो निर्णयको प्रतिवाद गर्नुभएन । २०५९ बाट म माओवादी पार्टीबाट पूर्ण रूपमा निष्क्रिय भएँ तर आमाले माओवादी कहिल्यै छोड्नुभएन । ममार्फत् परिचय भएका कतिपय मेरा साथीहरू मेरा साथी रहेनन् तर उनीहरूमध्ये धेरै जसो आमाका साथी रहिरहे ।
मान्छेको मनोविज्ञान अचम्मको हुँदो रहेछ भन्ने कुराको अनुभव मैले आमाको १३ दिने मृत्युकर्मको समयमा बुझेँ । त्यो समयमा मान्छे एक हिसाबले अत्यन्तै निरीह र एक्लो महसुस गर्दो रहेछ । एक हिसाबले मान्छे त्यो बेलामा एटेन्शनसिकर हुँदो रहेछ । आफू किरिया बसेको समयमा को आए को आएनन्, कसले सम्झे, कसले सम्झेनन् जस्ता अति सामान्य जस्ता लाग्ने प्रश्नहरूले मान्छेलाई नराम्ररी घोच्दो रहेछ । मैले तेह्र दिनको आमाको कामको शिलशिलामा कैयन् फोन कलहरू मिस गरेँ, भ्याएसम्म पछि मिस गरेका कलहरूलाई रेस्पोन्स गरेँ, कल मिस गरेकोमा माफी मागेँ ।
हरेक घटनाले मान्छेलाई सिकाएर जाँदो रहेछ । आमाको मृत्युसँगै मैले सिकेको अर्को कटुसत्य के रह्यो भने, बाँचुन्जेल अनेकन् अलङ्कारसहित मित्रताको औपचारिकता निभाएको अभिनय गर्ने तर दुःखमा सम्झिए जस्तो समेत गर्न नभ्याउने मान्छेहरू पनि हुँदा रहेछन् हाम्रा वरिपरि । आमाको मृत्युले मलाई मेरा आफन्त जस्ता लाग्ने पराइहरूसँग समेत परिचित हुने मौका दियो र पराई जस्ता लाग्ने आफन्तहरू समेत चिनाएर गयो । आफन्त जस्ता लाग्ने तर कहिल्यै आफन्त बन्न नसकेका मान्छेहरूप्रतिको भ्रम तोडिएकोमा म ब्रह्माण्डलाई धन्यवाद दिन चाहन्छु ।
मान्छे सपनाहरूको पुञ्ज न हो । आमाका केही अति सामान्य सपनाहरू थिए जो उहाँले पूरा गर्ने समय पाउनुभएन । ती सपनाहरू मेरा लागि सामान्य थिए तर आमाका लागि सायद असामान्य । सपनाहरू पनि त सापेक्ष नै त हुँदा हुन् । हरेक मान्छेहरू मेरी आमाले जस्तै आफ्ना कुनै न कुनै पूरा नभएका सपनाहरू छोडेरै बिदा हुन्छन् । आज आमाको पैंतालीसौं पुण्यतिथि – आमाप्रति सप्रेम श्रद्धाञ्जली !



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ मंसिर २०८२, आईतवार 







