उनले संस्कृत सामन्तहरूको विद्या हो
च्यातच्युत पार भने
मैले मानेँ

उनले क्याम्पस प्रमुख शोषक हो
कालो मोसो दल भने
मैले मानेँ

उनले प्रहरी दुश्मन हो
बम पड्काऊ भने
मैले मानेँ

उनले यो शिक्षा बुर्जुवा हो
सर्टिपिकेट च्यात भने
यो आदेश भने मैले “माने जस्तो” मात्र गरेँ

आज उनले च्यात भनेको त्यही बुर्जुवा सर्टिफिकेट
मेरो परिवार धान्ने साधन बनेको छ
मेरा छोराछोरीको फि तिर्ने माध्यम बनेको छ
उनको त्यो आदेश पनि मानेको भए
त्यो बुर्जुवा सर्टिफिकेट पनि च्यातेको भए
म आज उनको हली हुन्थेँ

उनी सिंहासनमा बसेर उपहारमा पाएको “रोलेक्स घडी” हेर्दै
यो देश दश वर्षमा एसियाकै धनी बनाउने गफ चुटिरहेका हुन्थे
र,
म, तल चौकोटमा बसेर उनका गफ पत्याए जस्तो गरी
ताली मारिरहेको हुन्थेँ ।

गठ्ठाघर, भक्तपुर