विचार बोल्न चाहन्छ, कवि संवाद थाल्दछ ।
जमेको भावनालाई कल्पनाले पगाल्दछ ।। १
अनुभूति छचल्किन्छ उन्मुक्त भावसम्मुख ।
कवित्व पोखिँदा बन्छ एक्कसि बिरुवा–रुख ।। २
अदृश्य दृश्यझैँ लाग्छ, दृश्य अदृश्य बन्दछ ।
चामत्कारिक शैलीमा कविले जब भन्दछ ।। ३
आफ्ना भोगाइका विम्ब शब्दमा व्यक्त गर्दछ ।
कविले खेत–बारीमा आक्षरी बीज छर्दछ ।। ४
दार्शनिकहरू जस्तै लाग्दछ कहिले कवि ।
कहिले तर्कशास्त्रीझैँ लाग्दछ कविको छवि ।। ५
नसुनेका कुरालाई सुनेको झैँ बनाउँछ ।
कविमा क्षमता हुन्छ नौला भाव सुनाउँछ ।। ६
जसै उन्मुक्त–आकाश बिचमा उड्न पाउँछ ।
कविले र्सिजनाद्वारा सृष्टिका गीत गाउँछ ।। ७
शब्दका चित्रमा रङ्ग भर्न कुची समाउँदा ।
कविले भोक बिर्सन्छ र्सिजनामा रमाउँदा ।। ८
अव्यवस्थाहरूमाथि व्यङ्गय–गोली चलाउँछ ।
कविले शब्द बालेर विद्रूपता जलाउँछ ।। ९
कवि कारक हो आफैँ, कवि आफैँ विभक्ति हो ।
कलाको लोकमा पक्कै कवि अद्भुत शक्ति हो ।। १०
कवि सारथि भाषाको आराध्य पात्र एक हो ।
कवि चिन्तन–भण्डार एकभित्र अनेक हो ।। ११
नाङ्गा पाखाहरूलाई हरियोले सजाउँछ ।
कविले झोपडीलाई दरबार बनाउँछ ।। १२
छन्द– अनुष्टुप्



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 







