‘छुनुमुनु छुनुमुनु गर्दै आइन् आँगनमा छोरी,
कहिले भन्छे हात्ती ल्याऊ कहिले भन्छे घोडी’
२०३३।३४ सालतिर, यो बालगीत रेडियोमा खूब बजेको सुन्थे । आमाहरू यो गीत गाउँदै आफ्ना बच्चाहरूलाई खाना खुवाउँथे, बाबुहरू यही गीतमै आफ्ना नानीहरू नचाउँथे । केटाकेटीहरू माझ मात्र नभई वयस्कहरूको जिब्रो जिब्रोमा समेत झुन्डिएको हुन्थ्यो यो गीत ।
२०४६ सालको राजनीतिक परिवर्तनपछि नेपाल टेलिभिजनबाट निक्कै घतलाग्दा, जीवन्त जनचेतनाका सन्देशहरू प्रसारण हुनथाले । त्यस्ता सन्देशहरू हेर्दैगर्दा कुन क्षमता र प्रेरणाले यति मन छुने रचना रच्न सक्छन् होला श्रष्टाले भन्ने तर्कना मेरो मनमा आउँथ्यो ।
सन् १९९६ मा जोन हप्पकिन्स् युनिभरसिटी पपुलेशन कम्निकेशन सविर्सेज् नेपालले राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रसँगको सहकार्यमा शिक्षामूलक रेडियो नाटक लेखन सम्बन्धी २ हप्ते तालिम (International Workshop on Serial Drama for Social Development) को आयोजना गरेको थियो ।
भरतपुरमा सम्पन्न सो कार्यक्रममा कुबेर गर्तौला लगायत देश विदेशका करीब ३० रेडियो नाटक लेखक, उत्पादक, तथा प्रचार प्रसारमा संलग्न संघसंस्थाका प्रतिनिधिहरू सहभागी थिए । ती सहभागीहरू बीच म पनि थिएँ । कार्यक्रममा परिचय आदानप्रदान हुँदाहुँदै थाहा भयो, ‘छुनुमुन छुनुमुनु..’ गीत लेख्ने र त्यसवेला टिभीमा प्रसारण हुने लोकप्रिय जनचेतनाका सन्देशहरूका लेखक श्रष्टा त यिनै कुबेर गर्तौला हुन् भन्ने कुरा थाहा भयो । र उहाँलाई हृदयदेखि सम्मान गरें ।
बुवा डोर बहादुर गर्तौला तथा माता ईश्वरी देवी गर्तौलाको कोखबाट कुबेर गर्तौलाको जन्म विसं १९९३ साल वैशाख १३ गते काठमाडौंको विशाल नगरमा भएको थियो । २०११ सालतिर उनको परिवार ज्ञानेश्वरमा बसाइँ सर्यो । उनका बाबुबाजे सबै सेनामा जन्मे–हुर्केका सम्भ्रान्त भए पनि उनी सामान्य र सरल स्वभावका थिए । सामन्ती सोचको उनी सधैं विरोध गर्थे ।
कुबेर गर्तौलाको प्रारम्भिक शिक्षा काठमाडौंको जुद्धोदय हाईस्कूल भएको थियो । स्कूल पढ्दा देखि नै उनी साथीहरूलाई अभिनय देखाउने, ठट्टा मजाक, हाँस्ने-हसाँउने गर्थे । २००९।१० सालतिर महाकवि लक्ष्मीप्रसाद देवकोटा प्रमुख अतिथि रहनुभएको एउटा कार्यक्रममा कुबेर गर्तौलाले आफूले लेखेको कविता वाचन गरेर फर्किन लाग्दा महाकवि ज्यूले उनको नाडी समातेर …राम्रो छ बाबु तिम्रो कविता, लेख्न नछोड है’ भन्दै मञ्चमा आफूसँगै बसेका अर्को व्यक्तिसँग बिस्तारै ‘यो केटाले भविष्यमा केही गर्छ’ भनेका थिए । यो कुरा नै कुबेर दाइकाको लागि लेखन कार्यमा प्रेरणा सिद्ध भयो ।
कुबेर गर्तौलाले एसएलसी सरहको म्याट्रिक परीक्षा पास गरेपछि नेशनल कलेज (हालको शंकरदेव क्याम्पस्) आइएमा भर्ना भएर सानातिना कामधाम तिर पनि व्यस्त हुनथाले । त्यसपछि २०१४ देखि २०४९ सालसम्म जनक शिक्षा सामाग्री केन्द्र, पाठ्यक्रम पाठ्यपुस्तक तथा निरीक्षण विकास केन्द्रको श्रव्यदृष्य शाखामा आफ्नो जागीरे जीवन व्यतीत गरे । सरकारी नोकरी पनि श्रव्यदृश्य सम्बन्धी नै पाइएका कारण उनी आफ्नो पेशामा खूब रमाए । उनलाई स्कूल कलेजको सर्टिफिकेटमा भन्दा कविता, नाटक लेख्न र अभिनय जस्ता कार्यमा बढी रुचि भएको कारणले आई ए पास भएपछि कलेजको पढाइ छाडे । तर बिस्तारै जागीरमा प्रमोशनका लागि शैक्षिक योग्यताको प्रमाणपत्र जरूरी हुन थालेपछि परिवारकै जोडले स्वअध्ययन गर्दै प्राइभेट परीक्षा दिएर बीए सम्मको पढाइ उत्तीर्ण गरे ।
सानै उमेरदेखि न्यायको पक्षमा बोल्ने हक्की स्वभावका गर्तौला आफ्नो विद्यार्थी कालमा प्रजातन्त्रको पक्षमा नारा लगाउँदा एकपटक प्रहरीको धरपकडमा परेको घटना पनि स्मरण गर्नुहुन्थ्यो ।
कुबेर दाइको विवाह २०१६ सालमा नवलपरासी निवासी उषादेवी भट्टका साथ भएको थियो । उनीबाट तीन सन्तान सुशील, सुनिल र सुधीर जन्मिए । यस मध्येका माइला छोरा सुनिल, आफ्नो पिताले लेखेका कविता नाटक, जनचेतनाका सन्देश तथा गीतलाई रेकर्ड गरी प्रचार प्रसारमा ल्याउने काम गर्छन् ।
कुबेर गर्तौला बारे सुनिल गर्तौला भन्छन्, ‘म बुवालाई मेरा पहिलो गुरु मान्दछु । बुवा हामी छोराहरूलाई सानो छँदा राती प्रायः भूतप्रेतका कथा सुनाउने गर्नुहुन्थ्यो । हामी त भूतसँग कुस्ती खेल्ने पुर्खाका सन्तान हौं भन्दै हामीलाई आँटिलो, निडर र इमानदार हुनुपर्छ भन्ने प्रेरणा दिनुहुन्थ्यो । सानो छँदादेखि नै बुवाबाट प्रेरणा, निर्देशन र सहयोग पाएकै कारण आज म एक सफल श्रव्यदृश्य सामाग्री उत्पादक हुन पाएको छु ।’
कुबेर गर्तौला फुर्सदमा सिनेमा हेर्ने तथा लेखपढ गर्थे । मौका मिलेको समयमा उनी स्टेज नाटक पनि हेर्न जान्थे । यसैलाई उनी आफ्नो लत भन्थे । उनलाई लेखन कार्यमा अत्यन्तै रुचि थियो । उनी हरदम नाटककै विषयवस्तु बारे सोचिरहेका हुन्थे । घरमा बस्दा वा बाटो हिंड्दा मनमा कुनै भाव आए आफू नजिक जे लेख्ने तथा कोर्ने कुरा भेटिन्छ सो समाई लेख्न थालिहाल्थे ।
कागजमा मात्र हैन उनी आफ्नो दिमागमै स्क्रिप्ट लेखिरहन्थे । उनको घरमा लेख्ने कागजको अभाव हुन्थ्यो । बेलाबखत कागज नपाउँदा उनी आफूले खाने गरेको चुरोटको बट्टामा, किनमेलबाट ल्याइएका कागजका थैलीहरूमा, पुराना पत्र पत्रिकाका खाली ठाउँमा, क्यालेन्डरमा आफ्ना भावहरू कोरिरहेका हुन्थे ।
एक समयमा रेडियो नेपालबाट हरेक शनिवार अपराह्न १:३० बजे प्रसारण हुने नाटकमा केवल उहाँकै नाटक मात्र हुन्थ्यो ।
सन् ९० को दशकमा गर्तौलाकै लेखन र परिकल्पनामा गाउँसमाजको घटनालाई चित्रण गर्न त्यही कै मानिसबाट पहिलो पटक अभिनय गराइएको ‘खुर्मानेकालो बना…’, ‘एऽ बा ! बा हो ..झट्ट आउनुस् झट्ट’ लगायतका सन्देश तथा बाल विवाहको विषयवस्तु बोकेको ‘उजेली’ नामको टेलीचलचित्र निकै चर्चाको चुलीमा पुगेको थियो ।
सामन्ती समाजको ठग मनस्थिति विरुद्ध एक सानो छोरी जागरूक हुँदै आफ्नो अधिकार सुरक्षित गरेको कुरा खुर्मानेमा देखाइएको छ । रु पाँच सय रिन माग्न आएको गाउँलेलाई पाँच हजार रिन दिएको तमसुख बनाउने जाली साहूको करतुत सानी छोरीले थाहा पाउँछे र तुरुन्त अंक र अक्षर दुवैमा सच्चाउन लगाउँछे । यो सन्देश धेरै नै मार्मिक तथा लोकप्रिय बन्यो ।
त्यस्तै अर्को सामाजिक सन्देशमा शहरबाट दाइको चिठी आएपछि डाँडामाथि उभिएर सानी छोरी बालाई बोलाउँछे । बा घर आइपुगेपछि दाइको चिठी पढेर बालाई सुनाउँछे । चिठी पढ्ने मानिस खोज्दै गाउँमा दैलोदैलो चाहर्नुपर्ने झन्झट पार भएकोमा बा दङ्ग पर्छन् । उनी छोरीलाई स्कूल पठाएर बडो जाती भो भन्दै खुसी व्यक्त गर्छन् ।
यी बाहेक बाल स्वास्थ्य तथा शिक्षा लगायतका विषयमा जनचेतनामूलक उनका दर्जनौं सन्देशहरू रेडियो र टिभीबाट प्रसारित हुन्थे । उनले लेखेका सयकडौं नाटक तथा जनचेतनाका सन्देशहरूले बालबालिकाको जीवनस्तर उकास्ने प्रयासमा अत्यन्त प्रभावकारी भूमिका खेलेका छन् ।
कुबेर दाइ बाल्यकालमा आमासँग आफ्नो मामा घर दोलखा तथा सानी आमाको घर नवलपरासी तिर जानेआउने पनि गर्थे । यसो हुँदा उनलाई तराई, पहाड, हिमाल सबै ठाउँको भौगोलिक अवस्था तथा संस्कृति र परम्परा देख्ने भोग्ने अवसर र व्यावहारिक ज्ञान मिलेको थियो । जसको फलस्वरूप उनी आफ्नो रचनामा नेपाली मौलिक किसिमका पात्र, परम्परा, भेषभूषा र स्थानको परिकल्पना गर्न सफल भएका हुन् । यसैले गर्दा नै उनका सिर्जना मार्मिक तथा जीवन्त समेत बनेका छन् ।
त्यसवेला रेडियोबाट प्रसारण हुने घाँटी हेरी हाड निलौं, सेवा गरे मेवा पाइन्छ, एकता नै बल हो सेवा नै धर्म हो जस्ता जनचेतनामूलक रेडियो नाटक श्रृंखलाका लेखक कुबेर दाइ नै हुन् । चेलीबेटी बेचबिखन बिरुद्ध गर्तौलाका लेखेका एक मात्र ‘चमेली’ नामको ठूलो पर्दाको सिनेमाले नेपाल मोसन पिक्चर अवार्ड २०५७ सालमा ‘बेस्ट स्टोरी अवार्ड’ बाट सम्मानित भएको थियो ।
त्यस्तै उजेली, ‘नाङ्गिएका बनपाखा’ श्रव्यदृष्य सामाग्रीले अन्तर्राष्ट्रिय पुरस्कार पाएको थियो । ‘स्वदेश फर्किआऊ’ नामक उनको कवितासंग्रह प्रकाशित छ । आफू कार्यरत निकायले उत्पादन गर्ने शैक्षिक कार्यक्रमका मुख्य हस्ती कुबेर दाइले आफ्नो ३५ वर्षे सेवाकालमा असंख्य रेडियो नाटक लेखेका छन् ।
उनका केही रेडियो नाटकहरू अस्ट्रेलियन बोर्डकास्टिङ कर्पोरेशन तथा बीबीसी नेपाली सेवा लन्डनबाट समेत प्रसारण भएका थिए । समाजमा घट्ने दैनिक र मौलिक घटनालाई नाटकीय रूप दिनसक्ने खुबी गर्तौलामा थियो । २०३० ताका नै साहित्यकार विश्वम्भर चञ्चलका साथमा शैक्षिक जनचेतनाका थुप्रै सडकनाटक गाउँगाउँमा प्रदर्शन गरेका थिए ।
यस अर्थमा गर्तौला सडक नाटकको प्रथम जननी नै हुन् । यस बाहेक उनले लेखेका केही ऐतिहासिक पृष्ठभूमिका स्टेज नाटक पनि मञ्चन भएका छन् जसमा उनी आफैले अभिनय पनि गरेका छन् ।
कहिले पद र पैसाको पछि नलागी आफ्नो साढे छ दशक लामो समय लेखन कार्यमा व्यस्त रहेका कुबेर दाइले करीब १२।१३ हजारको संख्यामा स्क्रिप्ट लेख्नुभएको छ । आफ्नो अन्तिम समयसम्म रेडियो नाटक लेखनमा निरन्तर सेवा पुर्याइराख्ने यिनलाई ‘रेडियो नाटकका भीष्मपितामह’ पनि भन्ने गरेको सुनिन्छ । तर उनका सबै खाले रचनाहरू पुस्तकाकारमा भने आएका छैनन् ।
कुबेर दाइ जनक शिक्षा सामाग्री उत्पादन केन्द्रबाट प्रकाशित हुने स्मारिका ‘नवीन शिक्षा’ नामक पत्रिकाका उप सम्पादक पनि थिए । उनी बालसाहित्य समाजको स्थापना काल देखि नै सदस्य हुनुहुन्थ्यो । कुबेर गर्तौलाका रचनाहरू राष्ट्रप्रेमले ओतप्रोत छन् । ‘न झुक्न कहिले जाने थे, न कहिले हट्न जाने थे, नेपालका नेपाली थिए, उनै थिए उनै थिए’ नामक उनको राष्ट्रिय गीत त्यो समयमा चर्चाको चुलीमा थियो । उनले लेखेका राष्ट्रिय गीतहरू प्रेमध्वज प्रधान, गंगामल्ल राणा, प्रेम प्रकाश मल्ल, बच्चु कैलाश, नातिकाजी लगायतका वरिष्ठ कलाकारका आवाजमा स्वरवद्ध भई रेडियोबाट बज्थे । राष्ट्रप्रेमका साथै उनका रचनामा चेलीबेटीलाई सशक्त बनाउने बुलन्द आवाज रहेको देखिन्छ । रेडियो टिभीमा दिनदिनै प्रसारण हुने सन्देश पटकपटक हेर्न र सुन्न सबैलाई झर्को लाग्छ तर यसको विपरीत गर्तौलाले बनाएका जनचेतनाका सन्देश प्रसार हुँदा दर्शकहरू पटकपटक हेर्न–सुन्न रमाइलो मान्थे । उनका जनचेतनाका सन्देश यति सशक्त तथा रमाइला हुन्छन् कि यसलाई हेरेपछि दर्शक आफ्नो व्यवहारमा उतार्न स्वप्रेरित हुन्थे ।
यिनले सन्१९६९ मा Regional course on script writing for short flim, कोकोर्श भारतको Flim and Television Institute of India, Pune मा लिएका थिए । त्यस्तै १९६७ मा Australian Broadcasting Commission अस्ट्रेलियाबाट ७ महिने Educational Broadcasting सम्बन्धी तालिम पनि लिएका थिए । कामकै सिलसिलामा यिनले भारत, श्रीलंका, अमेरिका, बेलायत सिङ्गापुर, मलेशिया, क्यानडा अस्ट्रेलिया बंगलादेश लगायतका राष्ट्रको भ्रमण गरेका छन् ।
आफ्नो सिर्जनाको सोचाइमा कुबेर दाइ कति हदसम्म मग्न हुन्थे भन्ने कुराको प्रसङ्ग यस प्रकारको छ : एक दिन उनले आफ्नो श्रीमतीलाई साथीले नमस्कार गरेपछि आफूले पनि श्रीमतीलाई नमस्कार गरेका थिए रे । त्यस्तै एकपटक आफ्नो कोही पुरानो परिचित व्यक्तिलाई बाटोमा भेटेर लामो कुराकानी गरेर छुट्टिएपछि ‘को हो त्यो मानिस ?’ भनी आफूसँगै हिंड्ने अर्को साथीसँग सोधेर, उल्टै उनलाई नै भुलक्कडको संज्ञा दिएका थिए रे ।
कुबेर गर्तौलाको साथसंगत विद्वान, साहित्यकार, लेखकहरू सँग नै बढी हुन्थ्यो । हरिप्रसाद रिमाल, खगेन्द्र नेपाली, शंकर चापागाईं, विश्वम्भर चञ्चल, बीबी सिंह, बुद्धि बहादुर श्रेष्ठ, कुमार घले, सागर उप्रेती लगायत व्यक्तिसँग यिनको घनिष्ठ संगत थियो । विद्वान तथा लेखकहरूकै संगत मन पराउने हुँदा उनको जीवन, लेखन र राष्ट्र सेवामै समर्पित भएको स्पष्ट हुन्छ ।
यहाँ कुबेर दाइले लेखेको एक कथाको चर्चा गर्न सान्दर्भिक ठान्छु । ‘को ठूलो ?’ भन्ने उनको कथामा झ्याल, ढोका, भित्ता, छाना, भर्याङ तँ भन्दा म ठूलो, मेरो अस्तित्व बलियो भन्दै झगडा गर्छन् । यिनका मपाईं झगडा सुन्दासुन्दा जगलाई वाक्कदिक्क लाग्छ र ऊ कोल्टे फर्कन्छ । जग हल्लनासाथ सिङ्गो घर गर्लमगुर्लुम ढल्छ । कथाले हामी बसेको घरको जग याने देश सबैभन्दा ठूलो हो । देश नरहे हामी सबैको अस्तित्व समाप्त हुन्छ भन्ने दरो सन्देश दिएको छ । यी र यस्ता सुन्दर कृतिहरू जीवनभर रच्ने कुबेर दाइ राष्ट्रका एक उज्ज्वल नक्षत्र हुन् ।
उनको जीवनी कृति निस्कन सके नयाँ पिंढीका लागि ठूलो प्रेरणा हुने थियो । यसतर्फ राष्ट्रले सोच पुर्याउन जरुरी छ ।
आफ्नो अभूतपूर्व लेखनकला मार्फत सम्पूर्ण जीवन समाज र देश प्रति समर्पित गरेका कुबेर गर्तौला २०७६ फागुन ५ गते ८३ वर्षको उमेरमा मनमैजु सांस्कृतिक समाजको कार्यक्रममा प्रमुख अतिथिको आसनमा तीन घण्टा बसेर आमन्त्रित पाहुनाहरूलाई रोचक र उत्प्रेरक आफ्ना अन्तिम शब्दहरू सुनाई घर फर्केको करीब २ घण्टा पछि आफ्ना अनगिन्ती अधुरा कृतिहरूलाई काख च्यापेर चीर निद्रामा लुटुक्क निदाए ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 










