नेपाली अमर साधक भैरव अर्याल जस्ता प्रसिद्ध साहित्यकारका विषयमा लेख भन्छ यो मन । तर म के लेखूँ ? न म उहाँको विषयमा धेरै जानकार छु, न उहाँको कृतिहरुको विशेषमा धेरै अध्ययन अनुसन्धान गरेकी छु । तर सोचेँ उहाँका सम्झनामा श्रद्धा सुमनको एक फूल भने मैले चढाउनै पर्छ ? किनकि मेरो साहित्य यात्राको उहाँ प्रेरक हुनुहुन्थ्यो ।
प्रसिद्ध हाँस्य व्यङ्ग्यकार श्री भैरव अर्याल ज्यूसँगको मेरो पहिलो भेट २०३१ सालमा भएको थियो । यस बेला म पद्म कन्या कलेजमा स्नातकस्तरमा पढ्थेँ । तिनताका हाम्रो कलेजमा साहित्य लेख्ने विद्यार्थी कमै थिए । साथी इल्या भट्टराई र म लेखनमा रुचि राख्ने मात्र हैन विभिन्न साहित्यिक कार्यक्रममा कलेजबाट प्रतिनिधित्व समेत गर्थ्यौं । मेरो जेठो दाजु आनन्ददेव भट्ट बजारमा आएका नयाँ पुस्तकहरु किनेर घरमा ल्याइहाल्नु हुन्थ्यो । पुस्तकका एक-दुई पाता पढदा रमाइलो लागेमा सबै पढथेँ । भैरव अर्याल ज्यूका किताब पनि घरमा फेला परेपछि मैले त्यसै गरेँ ।
एकदिन भैरव अर्यालको हाँस्य व्यग्य जयभुँडी भन्ने पुस्तक पढने मौका मिल्यो । साह्रै रमाइलो लाग्यो । उहाँका कृति पाठकलाई मस्त हँसाउने तर अश्लीलताको गन्ध कतै नभएका । पुस्तक पढ्दा रमाइलो लागेका कुरा साथी इल्या र म एकअर्कालाई सुनाउथ्यौँ । यो पुस्तकका केही अंश पनि सुनाएँ । र उसलाई समेत यो पुस्तक पढ्न दिएँ । उसले पनि पढिछ ।
अनि हामी बीच कुरा भयो, “कति रमाइलो पुस्तक जयभुँडी?.. कस्तो होला त्यो भैरव अर्याल भन्ने मान्छे ? यति रमाइलो हाँस्यव्यग्य कसरी लेख्न आएको होला त्यो मान्छेलाई ? … एकपल्ट देख्न भेट्न पाएनी हुने नि… ।”
त्यसै सालको असोज १ गते । पद्म कन्या कलेजले सदाझैँ वार्षिक उत्सव कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा कलेजको वार्षिक प्रगति विवरण, कविता वाचन, नाटक मन्चन, खेलकुद, तथा प्रतियोगितामा विजयी विभिन्न सहभागीलाई प्रमाणपत्र वितरण लगायतका गतिविधि तय भएको थियोे । कलेज प्रसासनले कार्यक्रममा विशिष्ठ अतिथिको रुपमा उनै वरिष्ठ हाँस्य व्यङ्ग्यकार तथा गोरखापत्र दैनिक सम्पादक मण्डलका प्रतिष्ठित व्यक्ति श्री भैरव अर्यालज्यूलाई निम्त्याइको रहेछ । आउनु भो उहाँ । वार्षिक उत्सवको त्यस कार्यक्रममा साथी इल्या भट्टराई र मैले ‘बैरी स्वास्नी’ नामक प्रहसन प्रस्तुत गरेका थियौँ । प्रहसनमा म बैरी स्वास्नी भएकी थिएँ भने इल्या मेरो पतिको भूभिकामा थिइन् । प्रहसन मैले आफै लेखेकी थिएँ । प्रहसनले दर्शक लगाएत मन्चमा आसिन सबैलाई मस्त हँसायो ।
कर्यक्रम समापन भएपछि भैरव अर्यालज्यूले इल्या र म दुबैलाई स्टेजमा पुनः बोलाउनु भो । उहाँले हामीलाई धेरै राम्रो प्रस्तुति गर्यौ नानी हो भन्दै प्रशंसा मात्र गर्नु भएन बरु ‘लेखन कार्यलार्ई निरन्तरता देऊ’ भन्दै उत्प्रेरित गर्नुभो । यति मात्र हैन उहाँले “हास्यव्यङ्ग्य कतिवटा लेखेकी छौ ?” भनी मलाई सोध्नु भो । मैले “जम्माजम्मी २ वटा मात्र लेखेकीछु” भनेपछि “ल अरुपनि लेख्दै गर । नयाँ नयाँ रचना लेखेर ल्याऊ म गोरखापत्रमा छापिदिउँला” भन्ने बचन पनि दिनु भो । मेरो खुसीको सीमै रहेन ।
विद्युतीय संचार माध्यम त्यो समयमा थिएन । छापा संचारका माध्यम पनि न्यून संख्यामा थिए । यस्तो बेला रहर गरेर कनिकुथी लेखेका हाम्रा रचना कलेजको स्मारिकामा स्थान पाउनु बाहेक अन्य पत्रिकामा छापिएका थिएनन् । यस्तो समयमा देशभर पुग्ने गोरखापत्रमा रचना छापिनु भनेको त स्वर्ग जाने भर्याङ चढ्न पाउनु जत्तिकै हो हाम्रा लागि ।
हौसिँदै इल्यालाई भनेँ, “कस्सिएर लेखाैँ इल्या हामी पनि । हाँस्यव्यङ्ग्य नै लेखौँ । कोशिश गर्यो भने कसो नसकिएला ? २ वटा लेखेँ अब प्रयास गरेमा अरु पनि लेख्न सकिन्छ ।”
इल्याले भनी “गाह्रो छ यो विधा । उहाँको रचना पढ्दा सजिलो लाग्या हो तँलाई । अर्काको रचना पढ्नु जस्तो सजिलो आफूले लेख्दा काँ हुन्छ र?’ …
“उसो भए कथा लेखौँ त ? भैरव अर्यालले गोरखापत्रमा छापिदिनु हुन्छ ।”
इल्याले गोरखापत्रमा हामीले लेखेका कथा छापिने कुरा तेति पत्याइन ।
उसले भनी, “खासमा हौसला दिन भन्नु भा हो उहाँले । …हामी जस्ता फुच्चा फुच्चीको रचना गोरखापत्रमा काँ छापिन्छ लाटी? त्यो त देशभर पुग्ने पत्रिका हो नि ।”
समय लगाएर भएपनि गोरखापत्रमा छापिने आशमा एउटा बालकको कथा रचेँ । शीर्षक “रोदनको कारण बुझ्दा” राखेँ । रचना लिएर इल्या र म गोरखापत्र संस्थानको कार्यालयमा पुग्यौँ । भैरव अर्यालज्यूले आफनो कार्यकक्षमा हामीलाई स्वागत गर्नु भो । त्यो बेला हामीले आआफ्नो पारिवारिक परिचय पनि दियौँ ।
म आनन्द देव भट्टकी बहिनी । इल्या मदनमणी दीक्षितकी छोरी । यो परिचयले उहाँ हामीसँग अझ बढी खुसी हुनु भो ।
“आनन्ददेव जी त मेरो साथी नै हुनुहुन्छ । विकल जीकाँ भेट हुन्छ कहिलेकाहीँ ।” इल्यातिर हेर्दै उहाँले भन्नु भो, “तिमी मदनमणी माडसापकी छोरी ? यस्तायस्ता नानीहरुले त बाउ बाजेको नाम उचाल्नु पर्यो नि । …हाँस्य व्यङ्ग्य लेख्ने कोशिस गर अब तिमीहरुले । हाम्रो यहाँ महिला साहित्यकारहरुले यो विधामा कलम चलाएका छैनन् । सुरु गर तिमीहरु नै । …लेख न । छाप्ने व्यवस्थामा म मिलाउँलानी ।”
एक छिनको कुराकानी पछि मेरो रचना उहाँलाई जिम्मा लगाएर हामी बाहिरियौँ ।
रचना छापिदिने उहाँका वचन झूठो सावित भएन । हामी फुच्चा फाच्चीको रचना गोरखापत्रमा छापिन्न भन्ने साथीको भनाइ पनि सत्य सावित भएन । करीब २ हप्तापछि शनिबारको दिन मेरो प्रथम रचना गोरखापत्र दैनिकमा छापियो । एसएलसीको नतिजामा आफ्नो सिम्बल नम्बर प्रथम श्रेणीमा गोरखापत्रमा देखिए सरह म खुसीले उफ्रिएँ । लेख्न सके रचना छापिने पनि रहेछ भन्ने प्रमाण हामी सामु आइपुग्यो । भैरव अर्याल ज्यूको सानो हौसलाले हामीलाई ठूलो ऊर्जा मिल्यो । तिनताका धेरै कथा कविता लेखेँ । एकदुई वटा पत्रिकामा रचना छापियो पनि । यस अर्थमा भैरव अर्याल ज्यू मेरो साहित्यिक यात्रामा औंला समाएर हिँडाउने एक पथप्रदर्शक हुनुहुन्छ ।… तर दुःखको कुरा उहाँसँग चिनजान भएको धेरै समय हुन नपाउँदै उहाँ दिवंगत हुनु भयो । समाचारले स्तब्ध बनायो ।
बरिष्ठ साहित्यकार तथा हाँस्य व्यङ्ग्यकार भैरव अर्यालका कलमले धार्मिक, संस्कृतिक, समाजिक, राजनैतिक सबै क्षेत्रको वास्तविकता काेरेका छन् । जय भूँडी, काउकुती, गलबन्द, दश औतार, टेढो ऐना, लगाएका कृति निक्कै लोकप्रिय छन् । आफू निकटका पात्र र परिवेश माथि हाँस्यपूर्ण व्यङ्ग्य गर्न सिपालु अर्यालका हरेक कृति कालजयी मानिन्छन् । उहाँको जय भुँडी नामक पुस्तक भित्रको जयभुडीँ व्यङ्ग्यलाई अहिलेको हाम्रो समय सन्दर्भसँग जोड्दा पनि निक्कै सान्दर्भिक लाग्यो । मेरो सम्झनामा रहेको जय भुँडीको एउटा रमाइलो पंक्ती,
“नमो देव्यै पेट देव्यै सर्ब देव्यै तथैबच
आन्द्रा आन्दी समेतायै भुँडी देव्यै नमो नमः”
व्यङ्ग्यकार अर्याल ज्यू भन्नु हुन्छ, “प्रत्येक प्राणीमा भुँडी देवताको अंश रहन्छ । भुँडी विश्वको सबैभन्दा ठूली देवी हुन् । मस्त खुवाइ पियाई भुँडीलाई टन्न पार्नु हरेक जीवनको धर्म नै हो । उहाँले जय भुँडीमा भुँडीलाई चार भागमा वर्गीकरण गर्नु भएको छ ।
पहिलो नम्बरको भुँडी “हाँडीघोप्टे भुँडी” हो । हाँडी घोप्टे साराको भाग आफैमा घोप्टाएर आफनै भूँडी भर्ने भुँडी हो । यो भुँडी आफू कहिल्यै अघाउँदैन तर अरुको भोक प्यास सोच्नै सक्दैन । यो भुँडीले खाने कुरा जति खाएपनि हात्तिको मुखमा जीरा सरह हुन्छ ।
देश्रो भुँडी “ध्याम्पे भुँडी” हो । यो पनि म खाऊँ मैलाऊँ सुख सयल मोज मै गरूँ भन्ने वालो भुँडी हो । यो दर्जाको भुँडीले पनि अरुका विषयमा सोच्नै सक्दैन । आफू मात्र खाछ खाछ । तर अघाउने कहिल्यै हैन ।
तेश्रो भुडीँ हो “टाकन टुकन भुँडी” । यो भुँडीलाई सामान्य आहारा जुटाउन १० तिर नचाहरी हुँदैन । यो भुँडी निरिह भुँडी हो ।
चौथो हो “ठन्डाराम भुँडी” । यो भुँडी त कहीँ कतै चारा नपाएर भुँडी पाल्ने उपायमा परदेश नै लखेटिएको छ । यसमध्ये कै कतिपय भुँडी त बाकसमा बन्द भएर घर फर्केका छन् ।
भैरव अर्यालज्यू बारे लेख्न बसेकी छु , तर ध्यान घरघरी टिभीको समाचारले तानिरहेछ । वर्षौंदेखि हेर्दै आएका यस्तै हाँडीघोप्टे र ध्याम्पेभुँडी वालका समाचार । मिडियाहरु टाकन टुकन र ठन्डाराम माथिको बेवास्ता र बुझपचाइप्रति असन्तुष्टी तथा आक्रोसका झड्का त हानिरहेको छन् । तर सुनुवाइ कतै छैन । फेरि पनि हाँडीघोप्टेहरु खुट्टा हल्लाउँदै कुर्सीमा आसिन भएका छन् । बलियोले निर्धोलाई खाने संसारको नियम हो सायद । तर टाकन टुकन र ठन्डाराम भुँडीहरुलाई कहिल्यै बलियो बनाउने ? बबुराहरुकोपेट सधैँ रित्तो ।
प्रसिद्ध हाँस्य व्यङ्ग्यकार श्री भैरव अर्याल ज्यूले असमयमै देह त्याग गर्नुभो । यसको कारण उहाँ ठन्डाराम भुँडीका साथ हिँड्नु परेको बाध्यता थियो । उहाँले खेप्नु परेको चरम आर्थिक अभाव थियो । यस कुरामा राज्यका हाँडीघोप्टहरुको कत्ति ध्यान पुगेन । …सहन नसक्ने परिस्थितिले गालेपछि उहाँले आफ्नोे जीवनको दुर्भाग्यपूर्ण अन्त्य गर्नु भो । भैरव अर्याल जस्ता लेखक देशका गहना हुन् । ठन्डारामको पेटमा चारा नपुगेर अस्त हुने स्थितिमा पुग्दा पनि हाँडी घोप्टेहरुलाई कुनै कुराको सुझबुझ नहुनु देशकै दुर्भाग्य हो । शासनमा पुगेपछि सबै हाँडेघोप्टे एकै स्तरमा पुगेको देखिन्छ ।
समय फेरिएको छ । टाकन टुकन र ठन्डारामका समेत आशा पलाएका छन् । उनीहरु पनि आफ्नो भूमीमा सम्मानित भई बाँच्ने हकको रक्षा हुनु पर्ने कुरा सोच्न थालेका छन् । आफूले बोलेका बाचा पूरा गर्ने मति हाँडीघोप्टेहरुमा पनि आवोस् । भैरव अर्याल जस्ता टाकनटुकन भुँडीले आवश्यक चारा पाउन र उनीहरुको शक्ति र क्षमता देशको माटोका लागि स्थिर हुन पाओस् । अब पनि हाँडी घोप्टे र ध्याम्पे भुँडीले आफूमात्र अघाएर बस्ने हो भने समयको हावाले उनीहरुको हाँडीघोप्टे र घ्याम्पे बेलुन भुँडी नफुटाउलान् भन्न सकिन्न ।
अन्त्यमा,
नेपाली साहित्यका अमर साधक श्रद्धेय हाँस्य व्यङ्यकार श्री भैरव अर्याल ज्यू प्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्दछु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।