रुखको कविता लेखेँ
र सुनाएँ रुखैलाई
सुनिसकेपछि उसले भन्यो,
प्रिय साथी !
तिमी पनि मजस्तै साधक हौ
मैले मौनता तोड्न सकिनँ
तिमी मौन रहन सकेनौ ।

नदीको कविता लेखेँ
र उसैलाई सुनाएँ
सुनिसकेपछि उसले भन्यो,
साथी !
तिमी पनि मजस्तै यात्री हौ
मैले
आफ्नो बाटो आफैँ बनाएँ
तिमीले बनाउन भुल्यौ
कसैले बनाइदिएको बाटो हिँड्यौ
र त पल पल धोका खाइरह्यौ ।

आकाशको कविता लेखेँ
हतारिँदै सुनाएँ उसलाई
सुनिसकेपछि उसले भन्यो,
ओ साथी !
तिमी पनि
मजस्तै खुल्ला संसार हौ
मैले केही समातिनँ
र त खाली भएँ
तिमीले
समात्यौ अनेकथोक
र त
रोगी अनि कचकच्याहा भयौ ।

फूलको कविता लेखेँ
र सुनाएँ उसलाई
सुनिसकेपछि भन्यो,
प्यारा !
मझैं
तिमी पनि ईश्वरकै प्रसाद हौ
मैले फोहोरलाई प्रेम गरेँ
बदलामा सुगन्ध र मुस्कान पाएँ
तिमीले घृणा गर्यौ
दुर्गन्ध र पीडा पायौ
मलाई शिरमा सिउरे
तिमीलाई तीरले रोपे ।

घामको कविता लेखेँ
र सुनाएँ उसलाई
सुनिसकेपछि भन्यो उसले,
ओ आत्मन् !
तिमी पनि मजस्तै प्रकाश हौ

युगदेखि चम्किरहेँ
तसर्थ
अँध्यारोलाई कतै देखिनँ
तिमी भने चम्कनै भुल्यौ
र त पाइला पाइलामा अँध्यारो देख्यौ ।