पुतलीजस्तै रंगीन सपनाहरूको
बगैंचा सुकिसकेपछि
रहरका पुतलीहरू
पनि बसाइँ सरेर जाने रहेछन्
समाउन, सजाउन नसकिने
पुतली सपनाहरू
भुर्रर उडिदिन्छ
कहिले झुसिलकिरा बन्छ
कहिले मैनशिखामा जल्छ
बसन्त विनाकै राजनीतिक फूलबारीमा
पुतलीहरू नाचेको
मौरी डुलेको
उल्लास छाएको
कत्ती नसुहाएको !
अचेल पुतलीहरू
गुनासो गर्छन्
निष्पट्ट रातमा
मधुरो क्यानभास उज्यालो दिने
जूनकिरीहरूले
आशाको धिपधिपे बत्ती बाल्न छोडे
फोहोर भए मालीहरू
गायब भए पुतलीहरू
विलुप्त भए आशको उज्यालो दिने जूनकिरीहरू !
बल्ल महशुस भयो मनसरा
पुतली सपनाहरूको
न हुन्छ पुनरावृत्ति
न भरपाई नै हुन्छ !
दोहा, कतार ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२८ जेष्ठ २०८३, बिहीबार 










