श्रीलंकामा दशकौंसम्म चलेको गृहयुद्ध तथा त्यसले सर्वसाधारणलाई पारेको असरका विषयमा अनेकौं पुस्तकहरू लेखिएका छन् । तर त्यस युद्धले विशेषगरी महिलालाई पारेको असरका विषयमा सहानुभूतिपूर्ण रूपमा लेखिएका किताब कमै पाइन्छन् । भीभी गणेशनाथनको उपन्यास ब्रदरलेस नाइटले त्यो कमीलाई पूरा गर्ने जमर्को गरेको छ ।
बेलायतको प्रतिष्ठित द विमेन्स प्राइज फर फिक्सन २०२४ को विजेता यस उपन्यासले तमिल समुदायकी शशीकला कुलन्तिरन र उनको परिवारले गृहयुद्धका समयमा बेहोरेको त्रासदीको कथा भन्छ । गृहयुद्धको केन्द्रमा रहेको जाफ्ना शहरमा बस्ने कुलन्तिरन परिवारमा शशीका अलावा उनका चार दाजुभाइ र आमाबुवा छन् । मेडिकल डक्टर बन्नका लागि पढाइ गरिरहेकी शशीले सन् १९८१ मा गृहयुद्ध शुरू भएलगत्तै हिंसाको अनुभव गर्छिन् जब अल्पसंख्यक तमिलहरूका विरुद्ध बहुसंख्यक सिंहलीहरूको घृणा जाफ्नामा रहेको पुस्तकालयको आगजनीका रूपमा प्रकट हुन्छ । दिनदिनै जहाँ गएर शशी र उनका दाजुभाइले ज्ञान आर्जन गरिरहेका थिए, त्यही पवित्र स्थान जलाइएपछि शशीको जीवनमा पीडाको दौर शुरू हुन्छ र पछिसम्म कायम रहन्छ ।
त्यसको केही समयपछि शशी आफ्ना जेठा दाजु निरञ्जनसँग राजधानी कोलम्बोमा हजुरआमालाई भेट्न जाँदा आफ्नै आँखाअगाडि तमिलहरूमाथिको कुटपिट र आगजनी देख्न पुग्छिन् । उनी जसोतसो ज्यान जोगाएर भाग्न सफल हुन्छिन् र जाफ्ना फर्किन्छिन् । पछि निरञ्जनलाई कोलम्बोमै गाडीमा बसिरहेको बेलामा उत्तेजित भीडले आगो लगाएर मारिदिन्छ ।
हिंसाका घटनाहरूको निरन्तरतालाई उपन्यासमा वर्णन गरिएको छ । यसबीचमा शशीका अरू दुई दाजुहरू दयालन र सीलन तमिल लडाकू समूह लिबरेशन टाइगर्स अफ तमिल इलमको लडाकू हुन पुग्छन् । शशीले भित्रभित्रै मन पराउने गरेको व्यक्ति के (पूरा नाम दिइएको छैन) पनि टाइगरको ठूलो नेता बन्छन् । शशी र केबीचको अव्यक्त प्रेमलाई उपन्यासकारले सुमधुरताका साथ प्रस्तुत गरेकी छन् ।
शशीका बुवा सरकारी कामको सिलसिलामा प्रायः घरबाहिरै हुन्छन् भने उनी आमासँग डरको माहोलमा बस्न बाध्य हुन्छिन् । तमाम प्रतिकूलताका बावजूद उनी आफ्नो पढाइ कायम राख्दछिन् ।
तमिल परिवारको सदस्यको दृष्टिकोणबाट कथा भनिएपनि लेखिका गणेशनाथनले गृहयुद्धको समयमा तमिलहरूले गरेको अत्याचारलाई पनि इमान्दारिताका साथ प्रस्तुत गरेकी छन् । यस उपन्यासमा बरू श्रीलंकाली सेनाको अत्याचारलाई अलिक सुदूर परिप्रेक्ष्यका साथ ब्रोड स्ट्रोकमा प्रस्तुत गरिएको छ भने तमिल टाइगरले गरेको हिंसाको सुस्पष्ट चित्र कोरिएको छ । टाइगरहरूले शशीलाई मेडिकल लाइसेन्स नलिइसकेको भए पनि आफ्ना घाइते लडाकूहरूको उपचार गराउनका लागि बाध्य पारेका थिए ।
द्वन्द्व चर्किँदै गएपछि शशी र उनका भाइलाई अनेकौं जुगाड गरेर बेलायत पठाइन्छ । तर कोलम्बो अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुगेकी शशी विमान नचढी फर्किन्छिन् । उनले जाफ्ना मेडिकल युनिभर्सिटीकी प्राध्यापक र उनका पतिसँग मिलेर तमिल टाइगरहरूको अत्याचारको अभिलेखीकरण गरिरहेकी हुन्छिन् र त्यस कामलाई अघि बढाउन खोज्छिन् । यही कारणले ती प्राध्यापकलाई तमिल टाइगरहरूले हत्या गर्छन् ।
यसबीचमा शशीका एक दाइ युद्धमा गोली लागेर मर्छन् भने शशीका प्रियपात्र के श्रीलंकाली सरकारविरुद्धको भोकहडतालमा कैयौं दिनसम्म बसेपछि तड्पेर मर्छन् ।
यसरी शशीले आफ्नो वरिपरि रहेका सबै प्रियजनलाई एकएक गरी गुमाउनुपरेको हुन्छ । यो सबै सहन गाह्रो भएपछि शशीले अघिल्लोपटकको गल्ती नदोहो¥याउँदै विदेश पलायन गर्छिन् । त्यहाँ उनले संयुक्त राष्ट्रसंघका अधिकारीलाई भेटेर गृहयुद्ध अन्त्यका लागि पहल गर्नका लागि आग्रह गर्छिन् तर राष्ट्रसंघले केही गर्न सक्ने स्थिति रहँदैन ।
पछि सन् २००९ मा श्रीलंकाली सेनाको कारवाहीमा तमिल टाइगरका नेता भी प्रभाकरणको मृत्यु भएर हजारौं लडाकूहरूको हत्या हुन्छ र गृहयुद्ध पनि अन्त्य हुन्छ । तर गृहयुद्धले तमिलहरूलाई दिएको घाउ निको पार्नका लागि सरकारका तर्फबाट ठोस कदमहरू चालिएको पाइँदैन ।
ऐतिहासिक आख्यानको उम्दा नमूनाका रूपमा ब्रदरलेस नाइटलाई लिन सकिन्छ । मानवअधिकारकर्मीहरूले गरेको अभिलेखीकृत दस्तावेजहरूको गहिरो अध्ययन गरी लेखिका गणेशनाथनले साहित्यिकतालाई कायम राख्दै घटनाको आख्यानीकरण गरेकी छन् ।
उपन्यासमा प्रयुक्त कतिपय बिम्बहरू निकै शक्तिशाली छन् । श्रीलंकाली सेनाले जाफ्नामा बम बर्साउँदा आतंकित भएको कुकुर रोएको विवरण हृदयस्पर्शी छ । त्यस्तै अस्पतालमा घाइतेको अवस्था देख्दा शशीलाई फोक्सोबाट सबै हावा गएको जस्तो अनुभूति भएको भन्ने वर्णन पनि शक्तिशाली छ । अर्को एक ठाउँमा आफूलाई बलात्कारपछि गर्भवती बनाउने सिंहला अधिकारीलाई आत्मघाती बम विस्फोटमार्फत हत्या गर्ने युवतीको मनोदशा तथा विस्फोटपछिको परिदृश्य पनि पाठकको मनमा छाप छोड्न सफल छ ।
यो उपन्यास किन पनि सशक्त छ भने उपान्यासकारले प्रमुख पात्र शशीको निष्पक्षतामा जोड दिएकी छन् । युद्धमा सबै पक्ष उत्तिकै दोषी हुने गर्छन् भन्ने तथ्यलाई शशीले उजागर गरेकी छन् । त्यसैले उनी तमिल टाइगरले निर्दोष सर्वसाधारणलाई सुराकीको आरोप लगाएर गरेको हत्या, श्रीलंकाली सेनाले धरपकड गरी तमिल युवकहरूलाई गरेको यातना र जबर्जस्ती बेपत्ता अनि तमिलहरूलाई सहयोग गर्ने भनी आएका तर उनीहरूमाथि नै बलात्कार र अन्य मानवअधिकार उल्लंघन गर्न तम्सिएका भारतीय शान्तिसैनिकहरूको अत्याचारलाई तटस्थ रूपमा वर्णन गरेकी छन् । शशीको यही तटस्थता र निष्पक्षताले उनलाई विश्वासयोग्य तथा सहानुभूतिपूर्ण पात्र बनाएको छ । यसले उपन्यासको सशक्ततामा नयाँ आयाम थपेको छ ।
ब्रदरलेस नाइट वास्तविक घटनामा आधारित भए पनि गणेशनाथनको आख्यानात्मक सीपका कारण सुक्खा दस्तावेज बन्नबाट जोगिएको छ । प्रमुख पात्रको शक्तिशाली कथावाचनका साथै प्रमुख पात्रहरूको जीवनको बहुआयामिक प्रस्तुतिका कारण पाठकको ध्यान कथामा केन्द्रित रहन्छ । अझ त्यसमाथि उपन्यासकारको सुमधुर भाषाशैली तथा बिम्ब लगायतका अलंकारको उच्चकोटिको प्रयोगले यस आख्यानलाई प्रशंसनीय बनाएको छ ।
नेपालमा पनि दश वर्षे सशस्त्र द्वन्द्वका क्रममा कैयौं निर्दोष सर्वसाधारणले जघन्य मानवअधिकार उल्लंघनको शिकार हुनुपरेको थियो । युद्धका कतिपय दुर्दान्त घटनाहरूको अझै पनि अभिलेखीकरण हुन सकेको छैन भने दस्तावेजीकरण गरिएका घटनाहरूको अध्ययन गर्दा आङ सिरिंग हुन्छ । त्यसैले नेपाली पाठकहरूका लागि ब्रदरलेस नाइटको पठन आफ्नै परिवेशको कथा जस्तै लाग्न सक्छ । युद्धको विभीषिकालाई सशक्त शैलीका लागि साथ कसरी प्रस्तुत गर्ने भनी गणेशनाथनले नेपाली आख्यानकारहरूका लागि उदाहरण प्रस्तुत गरेकी छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
पुस्तक समीक्षाः युद्धको परिस्थिति निर्माण र बदलिँदो विश्व व्यवस्थाका विशेषताहरूको मिहिन विश्लेषण
विवेक रामास्वामीको ‘ट्रुथ्स’ पुस्तक समीक्षा: पतनोन्मुख अमेरिको भविष्य सुधार्ने सुझाव
‘वेस्ट ल्यान्ड’ पुस्तक समीक्षाः शक्तिराष्ट्रहरूको संघर्षले जन्माएको संकट
१२ कार्तिक २०८२, बुधबार 






