
अहिले विश्व व्यवस्था परिवर्तनको संघारमा छ । अमेरिकाको एकध्रुवीय प्रभुत्व अन्त्य भएर विश्व क्रमशः बहुध्रुवीयतातर्फ अग्रसर हुँदैछ । यस संक्रमणकालमा अनेकौं द्वन्द्वसम्भावित केन्द्रहरूमा हलचल हुन थालेको छ । मुख्य कुरा त, शक्तिराष्ट्रहरूबीच संघर्षको सम्भावना बढेकाले विश्व नै संकटमा पर्ने स्थिति आएको छ ।
अहिलेको यही निराशाजनक समयलाई विश्लेषण गर्दै प्रख्यात भूराजनीतिक विचारक रोबर्ट डी काप्लानले नयाँ पुस्तक ल्याएका छन् । “वेस्ट ल्यान्डः ए वर्ल्ड इन पर्मानेन्ट क्राइसिस” शीर्षकको उक्त पुस्तकले वर्तमान विश्वव्यापी अस्थिरतामा योगदान गर्ने बहुआयामिक विषयलाई इतिहाससँग तुलना गरी केलाएको छ ।
विशेषगरी पहिलो विश्वयुद्धको अन्त्यपछि जर्मनीमा वेमार गणतन्त्रको उदय र त्यसको कमजोरीका कारण हिटलरको सत्ताकब्जा सम्भव भएको इतिहास अहिलेको स्थितिसँग मिल्दोजुल्दो रहेको काप्लानको तर्क छ ।
वेमार गणतन्त्र कमजोर संवैधानिक धरातलमा उभिएको थियो र त्यसमा शक्तिका अनेकौं केन्द्रहरू थिए । राजतन्त्रको उन्मूलन भएर गणतन्त्र आएको थियो तर त्यसलाई व्यवस्थित गर्ने केन्द्रीय शक्ति थिएन । त्यसले गर्दा राजनीतिक अस्थिरता, सांस्कृतिक विचलन तथा आर्थिक अव्यवस्थाको स्थिति थियो । अहिले नेपालमा पनि ठ्याक्कै त्यही अवस्था विद्यमान छ ।
काप्लानका अनुसार, वेमारकालीन जर्मनीको कमजोरी अहिलेको विश्व व्यवस्थासँग मेल खान्छ किनकि अहिले केन्द्रीय शक्ति क्षीण भइरहेको छ र पश्चिमा समाज अव्यवस्थाको भुमरीमा फस्न थालेको छ । निर्णायक नेतृत्व तथा सुव्यवस्था कायम गर्ने उसको प्रतिबद्धताको अभावमा समकालीन विश्वले इतिहासको त्रुटि दोहो-याउन सक्ने खतरा रहेको काप्लान लेख्छन् ।
पुस्तकमा काप्लान निराशावादी देखिएका छन् । उनले मानव प्रकृति संघर्षमय र युद्धप्रेमी भएको उल्लेख गर्दै शिक्षा एवं प्रविधिको विकास भए पनि मानवलाई शान्त बनाउन नसकिएको दाबी गरेका छन् । यसक्रममा उनी वर्तमान समयमा युद्धमा कमी आएको भनी दाबी गर्ने क्यानडाली चिन्तक स्टिभन पिंकरको पुस्तक ‘द बेटर एन्जल्स अफ आवर नेचर’ को आलोचना गर्न पुग्छन् । प्रविधिमाथिको महारथ हासिल गरी मानिसले विनाशकारी विश्वयुद्ध र जलवायु परिवर्तन जस्ता कुरालाई सम्भव बनाएको काप्लानको भनाइ छ ।
विश्वको जनसंख्या दिनप्रतिदिन बढ्दै गइरहेको तर प्राकृतिक स्रोत खुम्चिँदै गइरहेको वर्तमान स्थितिले खतरा निम्त्याइरहेको काप्लानको दाबी छ । अत्यन्त गरीब मानिसहरू बस्ने सबसहारान अफ्रिकामा झुपडपट्टीहरू व्यापक रूपमा बढिरहेको उनी उल्लेख गर्छन् । जनसंख्यामा अभिवृद्धि, चरम गरीबी, बढ्दो शहरीकरण र जलवायु परिवर्तनले निम्त्याएको संकटका कारण कुनै पनि बेलामा भयानक विस्फोट हुन सक्ने उनको प्रक्षेपण छ । खानेपानीको अभाव र माटोको ऊर्वराशक्तिमा ह्रासले अस्थिरता चर्काउने मात्र नभई सामुदायिक द्वन्द्व पनि बढाउन सक्ने काप्लानको भनाइ छ ।
बढ्दो शहरीकरणका चुनौतीहरूको चर्चा गर्ने क्रममा काप्लानले परम्परागत समुदायको लोप हुँदै गएको र विविधता मासिएको दुखेसो पोखेका छन् । जर्मन चिन्तक ओस्वाल्ड स्पेंगलरले पश्चिमको पतनका विषयमा लेखेको पुस्तक ‘द डिक्लाइन अफ द वेस्ट’लाई सन्दर्भ बनाउँदै काप्लानले सञ्चारमाध्यमको कुप्रभाव तथा शहरीकरणमा वृद्धिका कारण यस्तो पतन भइरहेको दाबी गरेका छन् । सांस्कृतिक परम्पराको क्षयीकरण, गम्भीर पुस्तक र शास्त्रीय संगीतको अभाव तथा सभ्य/शिष्ट पहिरनको अभावमा पश्चिमको सभ्यता नष्ट हुँदै गएको उनले गुनासो गरेका छन् ।
काप्लानले अघिल्ला पुस्तकहरूमा जस्तो भूराजनीतिक विश्लेषण भन्दा पनि पश्चिमको पतनका कारण केलाएर अन्तरदृष्टि (इन्ट्रोस्पेक्शन) मा जोड दिएको देखिन्छ । परम्परालाई तिलाञ्जलि दिँदै कठोर पहिचानवादी दृष्टिकोण अपनाएका आधुनिक पश्चिमाहरूले पश्चिमको पतनमा भूमिका खेलिरहेको उनको मनसाय देखिन्छ । यस अर्थमा उनी (‘द स्ट्रेन्ज डेथ अफ युरोप’का लेखक) बेलायती कन्जर्भेटिभ विश्लेषक डग्लस मरेको विचारसँग निकट देखिन्छन् ।
अहिले अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पको नेतृत्वमा पहिचानवादी वोकहरूविरुद्ध सांस्कृतिक लडाइँ चलिरहेको स्थितिमा काप्लान नजानिँदो किसिमले ट्रम्पवादी रिपब्लिकन जस्तो प्रतीत हुन्छन् पुस्तकमा । तर भूराजनीतिको सवालमा काप्लानले ट्रम्पको विरोध गरेका छन् । ट्रम्पको पहिलो कार्यकाल अमेरिका तथा विश्वका लागि विनाशकारी भएको उनको दाबी छ ।
पतनकै विश्लेषण गर्दै गर्दा काप्लानले विश्वका तीन महाशक्तिहरू अमेरिका, रुस र चीन पतनको बाटोमा हिँडिरहेको उल्लेख गरेका छन् । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि आक्रमण गरी रुसलाई पतनतर्फ डोहो-याएको अनि अमेरिकाले अफगानिस्तान र इराकमा अनावश्यक युद्ध लम्ब्याएर पतनको बाटो खनेको उनको भनाइ छ । त्यसैगरी चीनका राष्ट्रपति सी चिनपिङले ताइवानलाई जसरी भए पनि चीनमा मिसाउने उद्घोष गरेर चीनको पतनको रूपरेखा कोरेको काप्लानको दाबी छ ।
तर रुस र चीन भन्दा विपरीत अमेरिका लोकतान्त्रिक मुलुक भएकाले उसको पतन ती दुई राष्ट्रको भन्दा कम गतिमा हुने काप्लानको निधो त्यति पत्यारलाग्दो छैन किनकि चीन र रुसले पश्चिमभन्दा विपरीत परम्परागत कन्जर्भेटिभ मूल्यमान्यतालाई प्रवर्धन गरिरहेका छन् । रुस र चीनप्रति बढी नै अनुदार देखिएका काप्लानले हमासको आक्रमणको पनि खुलेर आलोचना गरेका छन् अनि अमेरिकी विश्वविद्यालयहरूमा प्यालेस्टाइनीहरूको पक्षमा बोल्ने विद्यार्थीहरूको खोइरो खनेका छन् । तर हमास आक्रमणको जवाफमा इजरायली सैनिकले सर्वसाधारण प्यालेस्टाइनीहरूमाथि मच्चाएको नरसंहारका विषयमा काप्लान मौन छन् ।
पश्चिममा उत्तरआधुनिक सोचका कारण परम्परामाथि धावा बोलिएकाले अव्यवस्थाको स्थिति आएको काप्लानको निष्कर्ष देखिन्छ । पश्चिमले सुव्यवस्थाको अभावमा स्वतन्त्रतालाई पनि जगेर्ना गर्न नसक्ने उनी तर्क गर्छन् । सुव्यवस्थाका लागि परम्परागत रूपमा राजतन्त्र जस्तो व्यवस्था आवश्यक हुने तर त्यसको अभावमा अव्यवस्था छाएको उनको भनाइ छ । आफ्नो अघिल्लो पुस्तक ‘द लूम अफ टाइम’मा पनि उनले पश्चिम एसियाका मुलुकहरूलाई सन्दर्भ बनाएर त्यस्तै किसिमको तर्क गरेका थिए ।
काप्लानले आफ्नो तर्कलाई बलियो बनाउनका लागि साहित्यको पनि सहारा लिएका छन् । बेलायती कवि टी.एस. इलियटको सर्वकालीन महान् कविता ‘द वेस्ट ल्यान्ड’लाई उनले पुस्तकमा व्याख्या गरेका छन् र आफ्नो पुस्तकको शीर्षक पनि त्यसैको प्रभावमा राखेका छन् । इलियटको द वेस्ट ल्यान्डमा पहिलो विश्वयुद्धताका पश्चिमी समाजमा आएको विभाजन, संस्कृतिको विनाश तथा मानसिक समस्यालाई विषयवस्तु बनाइएको छ । समकालीन विश्वमा सभ्यताको क्षयीकरण तथा परम्पराको विनाशका कारण उत्पन्न राजनीतिक, सांस्कृतिक र मनोवैज्ञानिक संकट इलियटको कवितासँग मेल खाने उनको भनाइ छ ।
यस पुस्तकमा काप्लानले स्पेंग्लर र इलियटका अलावा बुल्गेरियाली लेखक इलियास कानेत्ती र रुसी उपन्यासकार अलेक्जेन्डर सोल्जेनित्सिनलाई पनि उद्धृत गरेका छन् । कानेत्तीको पुस्तक भीड र शक्ति (‘क्राउड्स यान्ड पावर’) ले भीडको मनोविज्ञानको विश्लेषण गरेको छ । कानेत्तीका अनुसार, एक्लोपनको अनुभव गर्ने मानिसहरू भीडको अंग हुन पाउँदा एक्लोपनको निराशाबाट मुक्त हुन्छन् र भीडले मच्चाउने तबाहीको भागिदार बन्न पनि रुचाउँछन् । भारतीय साधक ओशोले आफ्नो एक प्रवचनमा ‘भीड में आत्मा खो जाती है’ भनेको यहाँ सान्दर्भिक ठहरिन्छ ।
पश्चिममा अहिले सांस्कृतिक क्षयीकरणका कारण एक्लोपनमा रमाउने मानिसको संख्या बढेको छ र उनीहरू भीडको अंग बनेमा विनाश मच्चिन सक्ने सम्भावना रहन्छ । डिजिटल संसारमा पनि त्यस्ता एकलकाँटे मानिसले अरूलाई निर्मम तरिकाले खेद्ने गरेका छन् । द न्युयोर्क टाइम्समा कार्यरत पत्रकारहरूले रिपब्लिकन सिनेटर टम कटनको लेख छापेको भनेर दुईजना सम्पादक जेम्स बेनेट र जेम्स दाओलाई खेदो खनेर राजीनामा दिन बाध्य बनाएको उदाहरण काप्लानले दिएका छन् ।
काप्लानले पुस्तकमा सोल्जेनित्सिनको पनि विशद चर्चा गरेका छन् । बोल्शेभिक क्रान्तिअघिको रुस र त्यसपछिको सोभियत संघमा सुव्यवस्था कायम गर्नका लागि गरिएका व्यापक दमनलाई सोल्जेनित्सिनले आफ्ना उपन्यासहरूमा चित्रित गरेका छन् ।
अव्यवस्थामाथि विजय पाउनका लागि लेनिन र स्टालिनले गरेका क्रूर ज्यादतीहरूले व्यक्तिको हातमा सत्ताको सम्पूर्ण शक्ति सुम्पिँदा हुने खतरालाई सोल्जेनित्सिनका कृतिहरूले उजागर गरेको काप्लानको भनाइ छ । यसरी हेर्दा काप्लान परम्परागत राजतन्त्र जस्ता शक्तिहरूले व्यवस्था कायम गरेकोलाई सकारात्मक रूपमा लिन्छन् तर कम्युनिस्ट तानाशाहीले व्यवस्था कायम गर्नका लागि गरेको प्रयासलाई नकारात्मक रूपमा लिन्छन् ।
काप्लानको यो पुस्तक समकालीन विश्वका चुनौतीहरूको विश्लेषण गर्न समर्थ छ । तर यसले पश्चिमी समाजको विस्तृत मूल्यांकन गरेको छ भने पूर्वीय समाजका बारेमा खासै चर्चा गरेको छैन । यो संसार पश्चिमाहरू मात्र हैन । पूर्व अहिले क्रमशः उत्थान भइरहेको छ र यसले विश्व व्यवस्थालाई समतामूलक तथा न्यायपूर्ण बनाउनका लागि प्रयत्न गरिरहेको छ । आफूलाई पूर्वले उछिन्न लाग्यो भनेर पश्चिमले संसारभरि द्वन्द्व चर्काउने प्रयास गरिरहेकाले वर्तमान अव्यवस्था देखिएको हो । एक पश्चिमा भएको नाताले काप्लानले यो कटुसत्यलाई अंगीकार गर्न नसकेको देखिन्छ ।
काप्लानको लेखनशैली उनले वर्णन गरेको अव्यवस्थित विश्व जस्तै विकेन्द्रित प्रतीत हुन्छ । एउटा सारमा केन्द्रित भएर गरिएको विश्लेषण भन्दा पनि काप्लानले विविध विषयमा राखेका धारणाहरूको संकलन जस्तो बन्न पुगेको छ पुस्तक । घरिघरि त यो काप्लानले पढेका पुस्तकहरूको समीक्षा संग्रह मात्र हो कि जस्तो पनि लाग्छ पाठकलाई । ‘द रिभेन्ज अफ ज्योग्राफी’, ‘मनसून’, ‘एसियाज कल्ड्रन’ र ‘द कमिङ एनार्की’ जस्ता सशक्त पुस्तकका लेखक काप्लानको यो किताब तिनीहरू जति शक्तिशाली छैन ।
तर यी कमजोरीका बावजूद आधुनिक विश्व (अ)व्यवस्थाका कारकतत्त्वहरू बुझ्नका लागि पुस्तक महत्त्वपूर्ण छ । विशेषगरी कतिपय विश्लेषकहरूले अब राज्य र गैरराज्य आतंकवादीहरूबीचको युद्ध अन्त्य भएर शक्तिराष्ट्रहरूबीचको संघर्षको युग शुरू भएको भनी गरेको दाबीलाई खारेज गर्दै आतंकवादविरुद्धको युद्ध र शक्तिराष्ट्रहरूबीचको युद्ध दुवै समानान्तर रूपमा अघि बढ्ने काप्लानको प्रक्षेपण तर्कसम्मत छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...

‘वेस्ट ल्यान्ड’ पुस्तक समीक्षाः शक्तिराष्ट्रहरूको संघर्षले जन्माएको संकट
