नयाँ कामकुरा वा कार्यको सुरुवात गर्नु भनेको सहज स्थितिबाट असहज स्थितिमा जानु हो। सुनिश्चिततादेखि अनिश्चितता तर्फ मोडिनु हो। सुरक्षाको घेरा तोडेर असुरक्षाको घेराभित्र प्रवेश गर्नु हो। निश्चयनै असहज स्थितिमा, अनिश्चितताको घडीमा र असुरक्षाको घेराभित्र जीवन सुखमय होइन, अधिक कष्टपूर्ण रहन्छ नै। त्यसैले जति सजिलै नयाँ कामको सुरुवात बारेमा सोच्ने गरिन्छ, त्यति सजिलै सो काम सुरु गरिहाल्न भने सकिँदैन। अर्को शब्दमा भन्नुपर्दा, कुनै नयाँ काम सुरु गर्ने बारेमा मन बनाए पनि सो काम सुरु भने गर्दैनौं। हामीलाई नयाँ काममा आबद्ध हुन वा नयाँ काम गर्न उति गाह्रो हुने होइन, सो काम सुरुवात गर्न भने धेरै गाह्रो हुने हो।

नयाँ कामको सुरुवात गर्न जतिसुकै कठिनाइ र बाधा अड्चन आइपरे पनि सो काम रोक्नु हुँदैन । त्यसमाथि सो काम नै आफ्नो प्रमुख रुचिको काम, जीवन उद्देश्य रहेको स्पष्टता हासिल हुन सक्यो भने झन् सुरुवात रोक्नै हुँदैन । निरन्तर प्रयास गर्नैपर्छ। सरल भाषामा भन्नुपर्दा, नयाँ सुरुवात गर्नुको अर्को उचित विकल्प रहँदैन। यदि नयाँ कामको सुरुवात गर्न सकियो भने जीवनलाई गतिशील राख्न सकिन्छ। दिशा उन्मुख हुन सकिन्छ। जीवनस्तरमा आमूल परिवर्तन ल्याउन सकिन्छ। अन्यथा यथास्थितिमा रहनुपर्ने बाध्यता खडा हुन्छ। दिशाहीन भइन्छ। त्यसैगरी यदि नयाँ कामको सुरुवात गतिलो हुन सक्यो भने परिणाम पनि गतिलो नै प्राप्त हुन्छ। अन्यथा सुखद परिणाम प्राप्त गर्न सकिँदैन। त्यसैले नयाँ कामको सुरुवात गर्ने मामिलामा सचेत रहन सक्नुपर्छ। विभिन्न समय र परिस्थितिमा प्रमाणित भइसकेका सिद्धान्त, तौरतरिका र रणनीतिहरु प्रभावकारी रुपमा प्रयोग गर्न सक्नुपर्छ। यति मात्र होइन, जुनकुनै नयाँ काम विविध चरणहरुमा सम्पन्न गर्न सक्नुपर्छ।

नयाँ सुरुवातका चरणहरु

अचानक या एकैपटक नयाँ कामको सुरुवात परिकल्पना गर्न सकिँदैन। यसका लागि निश्चित सिद्धान्त, तौरतरिका, रणनीति र केही चरणहरु अवलम्बन गर्न सक्नुपर्छ। नयाँ काम सुरुवात गर्ने क्रममा प्रयोग हुने निश्चित सिद्धान्त, तौरतरिका, रणनीति र चरणहरु व्यक्तिपिच्छे फरक-फरक हुन सक्छन्। तापनि साधारणतया निम्नानुसारका सिद्धान्त, तौरतरिका र रणनीतिहरु प्रयोग गर्दै तथा विविध चरणहरु पार गर्दै नयाँ कामलाई अगाडि बढाउन सकिन्छ।

प्रारम्भिक अध्ययन गर्ने

कुनैपनि कामलाई सफलतापूर्वक पूर्णता दिन प्रारम्भिक अध्ययन र अनुसन्धानको विशेष भूमिका रहन्छ। त्यसैले प्रारम्भिक अध्ययन र अनुसन्धान बिना नयाँ काम सुरु गर्न खोज्नु बुद्धिमानी होइन। नयाँ काममा संलग्न हुनु पहिले सो काम लगायत आफू बारे गहन अध्ययन र अनुसन्धान गर्नैपर्छ। यसका लागि निम्न कार्यहरु गर्न सकिन्छ:

एक, धेरै भन्दा धेरै पुस्तकहरु अध्ययन गर्ने। यहाँ पुस्तक पढ्ने भन्दैमा जुन पायो त्यही पुस्तक पढ्ने होइन। आफूले सुरु गर्न लागेको काममा सहयोग पुर्याउने खालका वा सो काममा सफलता प्राप्त गर्नका लागि आफूलाई योग्य बनाउने खालका वा समग्र व्यक्तिगत विकास गर्न मद्दत पुर्याउने खालका पुस्तकहरु मात्र अध्ययन गर्नोस्। यसबाट कामलाई अगाडि बढाउन आवश्यक सिद्धान्त, तौरतरिका, रणनीति, ज्ञान र सीप प्राप्त गर्न सकिन्छ।

दुई, आत्म मूल्यांकन गर्ने। अर्थात् आफ्ना प्रतिभाहरु, क्षमताहरु, कमीकमजोरीहरु र चुनौतीहरु केलाउने गर्नोस्। त्यसैगरी आफ्नो व्यक्तित्व प्रकार परीक्षण गर्नोस्। यसबाट आफूले सुरु गर्न लागेको काममा सफल हुन सकिने/नसकिने तथा सो काममा सफलताका साथ सम्पन्न गर्न आफ्नो प्रमुख व्यक्तित्व प्रकारले साथ दिने/नदिने बारे जान्न सकिन्छ।

तीन, सफल व्यक्तिहरुलाई भेटेर अन्तरक्रिया गर्ने। सकेसम्म धेरै या विविध समूह र वर्गका सफल व्यक्तिहरुसँग अन्तरक्रिया गर्नोस्। एकदुई व्यक्तिहरुमा मात्र सीमित नहुनुहोस्। सफल व्यक्तिहरुसँग भेटघाट र अन्तरक्रिया गर्ने भन्दैमा जुन कुनै काममा सफल व्यक्तिहरुसँग भेटेर संवाद गर्ने होइन। आफूले जुन काम सुरु गर्न चाहेको हो सोही काममा सक्रिय, सफल र अनुभवी व्यक्तिहरुसँग मात्र संवाद गर्नोस्। असम्बन्धित व्यक्तिहरुलाई भेट गरेर अनावश्यक संवादमा समय खेर फाल्ने काम नगर्नोस्। सम्बन्धित सफल व्यक्तिहरुसँगको भेटमा यी प्रश्नहरू गर्नोस्:

  • कसरी सुरुवात गर्नुभयो?
  • कार्यविधिको खाका कस्तो थियो?
  • कसरी आफ्नो कामलाई बृहत् स्वरुप दिनसक्नु भयो?
  • कामलाई कसरी दिगो राख्न सक्नुभयो?
  • के-कस्ता चुनौती एवं समस्याहरु खडा भए र ती कसरी सामना र समाधान गर्नुभयो?

यी सम्पूर्ण प्रश्नहरुको सही उत्तर केवल सफल व्यक्तिहरुबाट उपलब्ध हुन्छ। यसर्थ सफल व्यक्तिहरुसँगको गहन संवादलाई पहिलो प्राथमिकतामा राख्नोस्। जसबाट तपाईंलाई नयाँ काम सुरु गर्नका लागि आवश्यक प्रेरणा, आड भरोसा, उर्जा र उचित मार्गनिर्देशन प्राप्त हुन्छ।

कार्यविधिको खाका कोर्ने

जसरी कुनै नयाँ गन्तव्यमा पुग्न स्पष्ट मानचित्रको आवश्यकता पर्छ त्यसरी नै कुनैपनि नयाँ काम सुरु गर्नका लागि स्पष्ट र विस्तृत  कार्यविधिको खाका कोर्नु अत्यावश्यक छ। कार्यविधिको खाका बिना कुनैपनि नयाँ काम सुरु गर्न तयार हुनु मूर्खतापूर्ण कदम हो। यस प्रकृतिको कदमले अपेक्षित परिणाम, प्रतिफल र सफलता प्राप्त गर्न सकिँदैन। त्यसैले कुनै नयाँ काम सुरु गर्ने सोचमा हुनुहुन्छ भने पहिले कार्यविधिको स्पष्ट र विस्तृत खाका कोर्ने तर्फ गम्भीर रहनोस्। अनि तपाईले तयार पारेको कार्यविधिको खाकाले निम्न उल्लेखित विषयहरुलाई सम्बोधन गरेको हुनुपर्छ:

  • के र कुन स्तरको नयाँ काम गर्न जाँदै हुनुहुन्छ?
  • कसरी वा कुन प्रणालीमा काम गर्न चाहनुहुन्छ?
  • क-कसलाई काममा सहभागी गराउने पक्षमा हुनुहुन्छ?
  • कामका लागि कति बजेट छुट्याउनु भएको छ?
  • तपाईंको लक्षित कार्यक्षेत्र वा स्थान कुन हो?
  • तपाईंका लक्षित ग्राहकहरु कुन वर्गका मानिसहरु हुन्?
  • तपाईंको विस्तृत कार्ययोजना के हो? त्यसलाई कसरी लागू गर्नुहुन्छ?
  • तपाईंको दीर्घकालीन लक्ष्य के हो?
  • कस्तो ब्राण्ड इमेज (छवि) विकास गर्न चाहनुहुन्छ?
  • तपाईंको कामबाट अलग रहने रणनीति के हो? तपाईंको वैकल्पिक योजना के हो?

जब तपाईं यी सम्पूर्ण विषयहरु बारेमा स्पष्टता हासिल गर्नुहुन्छ वा जब तपाईंसँग उच्चस्तरीय कार्यविधिको खाका उपलब्ध हुन्छ तबमात्र नयाँ काम सुरु गर्नका लागि प्रतिबद्ध रहनोस्।

दिगो योजना बुन्ने

नयाँ काम गर्दै जाने क्रममा नयाँ चुनौतीहरु थपिँदै जान्छन्। नयाँ समस्याहरु सिर्जना हुँदै जान्छन्। सिधा भन्नुपर्दा, संकटपूर्ण परिस्थितिको विकास हुनसक्छ। जसकारण नयाँ काम दिगो हुन सक्दैन। कुनैपनि बेला बन्द गर्नुपर्ने अवस्था आइलाग्न सक्छ। यस्तोमा तपाईं हामीसँग चुनौतीहरु सामना गर्न, समस्याहरु समाधान गर्नका लागि दियो/रणनीतिक/वैकल्पिक योजना छ वा छैन, जस्तो परिस्थितिमा पनि स्थिर रहन सक्ने या परिस्थिति अनुकूल आफूलाई ढाल्न सक्ने क्षमता छ वा छैन भन्नेले निकै महत्व राख्छ। यदि तपाईं हामीसँग यी सम्पूर्ण कुराहरू, विशेषताहरू छन् भने मात्र नयाँ काममा सोचेको सफलता हासिल गर्न सकिन्छ। यदि छैनन् भने तपाईं हामीले प्राप्त गर्ने सफलता शून्य नै रहन्छ। केवल बहुमूल्य समय, उर्जा र पैसाको बर्बादी हुन जान्छ। त्यसैले नयाँ काम सुरु गर्नु पूर्व दिगो योजना बुन्नुहोस्, जसले यी कुराहरुलाई सम्बोधन गरेको हुनुपर्छ:

  • नयाँ कामलाई दीर्घकालीन रुपमा अघि बढाउनका लागि तपाईंसँग रहेको ब्याकअप (दिगो/रणनीतिक/वैकल्पिक) योजना सशक्त छ या छैन?
  • काममा सफलता कसरी सुनिश्चित गराउनु हुन्छ?
  • चुनौतीपूर्ण अवस्थामा कसरी साथ र सहयोग जुटाउनु हुन्छ?
  • संकटको घडीमा कसरी स्रोत र साधनहरुको व्यवस्थापन गर्नुहुन्छ?
  • नयाँ काम बिना अबरोध अगाडि बढाउन आर्थिक सुरक्षाको सुनिश्चितता कसरी गर्नुहुन्छ?
  • नयाँ चुनौतीहरु, समस्याहरु अथवा संकटपूर्ण परिस्थितिका लागि मनोवैज्ञानिक रुपमा तयार हुनुहुन्छ?
  • परिस्थितिअनुरुप आफूलाई ढाल्न या परिमार्जित गर्न तयार हुनुहुन्छ?
  • परिस्थितिको मागअनुसार नयाँ काम गर्ने सिद्धान्त, तौरतरिका र रणनीतिहरु पूर्ण रुपमा बदल्न तयार हुनुहुन्छ?

यदि तपाईंसँग दिगो योजना छ र यी यावत् कुराहरू, विशेषताहरु बारे सचेत हुनुहुन्छ भनेमात्रै नयाँ कामको सुरुवात गर्नोस्। नत्रभने नयाँ काम सुरुवात गर्नकै लागि भनेर धेरै हतार नगर्नोस्।

पूर्णतावादी सोच त्याग्ने

कुनैपनि नयाँ काम सुरु गर्नु पूर्व पूर्णतावादी सोच उत्पन्न हुनु अस्वाभाविक कुरा होइन। यस्तोमा सोही सोचको प्रभावमा आइ नयाँ काम सुरु गर्ने प्रक्रियामा जानु सही रणनीतिक कदम होइन। भनाइको मतलब, कुनैपनि नयाँ कामको लागि आफू योग्य या उत्कृष्ट भएपछि, कुनैपनि नयाँ काम आफ्नो लागि उचित भए/नभएको थाहा भएपछि, उत्कृष्ट कार्यविधिको खाका र वैकल्पिक योजना बनेपछि, सबै कुराहरु मिलेपछि, आफूले सोचेजस्तो हुने भएपछि या परिस्थिति अनुकूल भएपछि मात्र सो काम सुरु गरौँला भन्नु गलत रणनीतिक कदम चाल्नु हो। केही कारणहरु छोटकरीमा चर्चा गरौँ:

एक, पूर्णतावादी सोच राखेर नयाँ कामको गति बढाउन सकिँदैन। यस प्रकारको सोच कारण नयाँ काम सुरु गर्ने मिति पछि सार्दै गइन्छ। अझै म यस कामका लागि पूर्ण रुपमा तयार भइसकेको छैन, अझ मैले केही समय सोच्नुपर्छ र पर्याप्त समय लिएर आफूलाई कामका लागि योग्य बनाउनुपर्छ भन्ने भान हुन्छ। अनि भोलि सुरु गरौँला नि त, पर्सि सुरु गरौँला नि त भनेर नयाँ कामको सुरुवात बारम्बार टार्न वा पन्छाउन थालिन्छ। फलस्वरुप नयाँ काम अगाडि बढाउने मामिलामा अस्वभाविक ढिलाइ हुन जान्छ।

दुई, आफू योग्य या उत्कृष्ट भएपछि मात्र नयाँ काम सुरु गर्छु भन्नु मूर्खता हो। नयाँ काम बेवास्ता गर्न दिइने केवल एउटा बहाना न हो। कुनैपनि नयाँ काममा त्यसै योग्य या उत्कृष्ट हुन सकिँदैन। सो काममा योग्य या उत्कृष्ट प्रमाणित हुन पहिले काममा आबद्ध हुनैपर्छ। त्यसपछि मात्र कामबारे अनुभव हासिल गर्न सकिन्छ, आवश्यकता अनुसार आफूलाई परिवर्तन या विकास गर्न सकिन्छ। अन्ततः नयाँ कामका लागि योग्य या उत्कृष्ट बन्न पुगिन्छ।

तीन, सबै कामहरु हाम्रालागि उचित हुन सक्दैनन्। सीमित कामहरु हाम्रालागि उपयुक्त हुनसक्छन्। यहाँ भन्न खोजेको कुरा ती सीमित कामहरुमा अपेक्षित परिणाम या उपलब्धि हासिल गर्न सकिन्छ भन्ने हो। यद्यपि कुन काम हाम्रालागि उपयुक्त छन् भन्ने यसै पत्ता लगाउन भने सकिँदैन। कुनैपनि नयाँ कामबारे धेरै सोचेर होइन, सो काम सुरु गरेपश्चात् मात्र हाम्रालागि उचित भए/नभएको थाहा पाउन सकिन्छ।

चार, कुनैपनि कुरा सतप्रतिशत उत्कृष्ट हुन सक्दैन। सुधार गर्नुपर्ने ठाउँहरु प्रसस्तै रहन्छन्। कार्यविधिको खाका र दिगो योजना पनि सतप्रतिशत उत्कृष्ट हुन सक्दैनन्। यी कुराहरु समय र परिस्थितिको आवश्यकता अनुसार परिमार्जन गर्दै लैजानुपर्ने हुन्छ।

पाँच, सबै कुराहरु मिलेको अवस्थामा रहँदैनन्। आफैले मिलाउनुपर्ने हुन्छ। सबै कुराहरु हरक्षण आफूले सोचेजस्तो हुँदैनन्। आफ्नो सोचअनुसार ढाल्दै जानुपर्ने हुन्छ। त्यसैगरी समय र परिस्थिति परिवर्तनशील छन्। सधैँ अनुकूल हुन्छन् नै भन्ने ग्यारेन्टी हुँदैन। समय र परिस्थिति अनुसार कदम चाल्न सक्नुपर्छ।

यी यावत् कारणहरुले गर्दा नयाँ काम सुरु गर्ने अभियानमा रहँदा पूर्णतावादी सोच त्याग्नुहोस्। सकेको र सम्भव भएसम्म राम्रो गर्दै जानुहोस्। काममा आबद्ध भएपछि मात्र त्यो काम आफ्नो लागि उचित भए/नभएको निर्क्योल गर्नोस्। आफूले चाहे जसरी काम सञ्चालन होस् भन्ने ढिपी नकस्नुहोस्। कार्यविधिको खाका र आफूले बुनेको दिगो योजना निरन्तर परीक्षण गर्नोस्। आवश्यकता अनुसार परिमार्जन गर्दै जानुहोस्। लामो समयावधिका लागि अनुकूल समय र परिस्थितिको प्रतिक्षा नगर्नोस्। अनुकूलता मिलाउँदै अघि बढ्नुहोस्।

अरुलाई सचेत रुपमा सुन्ने

सुरु गरिएको काममा सफलता प्राप्त हुने/नहुने भन्ने क-कसलाई बढी सुनिन्छ, के-कति सुनिन्छ र अरुका भनाइहरुबाट कत्तिको प्रभावित भइन्छ भन्नेमा भरपर्ने कुरा हो। अब नयाँ काममा हात हाल्नु पहिले वास्तवमै अरु मानिसहरुलाई सुन्नु कत्तिको आवश्यक छ भन्ने माथि संक्षिप्तमा चर्चा गरौँ:

नयाँ कामलाई सशक्त रुपमा अगाडि बढाउनका निम्ति अरु मानिसहरुले निशुल्क दिने विचारहरु/धारणाहरु त्यति महत्वपूर्ण हुँदैनन्। उनीहरुले त्यस किसिमका विचारहरु/धारणाहरु आफ्नो स्तर, पृष्ठभूमि र विगतमा प्राप्त अनुभवका आधारमा दिएका हुन्छन्। जुन तपाईं हाम्रा लागि त्यति धेरै उचित, उपयोगी र प्रभावकारी सिद्ध नहुन सक्छन्। मुख्य कुरा त नयाँ काम सुरु गर्ने क्रममा तपाईं हामीले आफूबारे कस्ता विचारहरु/धारणाहरु राख्छौँ भन्ने नै बढी महत्वपूर्ण सिद्ध हुन्छन्।

त्यसैगरी अरु मानिसहरुले के-कसरी सम्भव छ भन्दा पनि के-कसरी असम्भव छ भन्ने बढी सुनाउने गर्छन्। यही कुराले तपाईं हामीलाई नकारात्मक रुपमा बढी प्रभावित बनाउँछ। जसले गर्दा नयाँ काम सुरु गर्नका लागि हिम्मत जुटाउन सक्दैनौं।

त्यसैगरी नयाँ कामबारे राय, सल्लाह र सुझावहरु दिने अधिकांश मानिसहरु असफल वर्गका हुन्छन्। प्रायःजसो सफल मानिसहरु राय, सल्लाह र सुझावहरु दिने स्थानमा आउँन चाहँदैनन्। सो कामका लागि उनीहरुसँग पर्याप्त समय पनि उपलब्ध हुँदैन। विशेषतः उनीहरु आफ्नो सफलता, प्रतिष्ठा र अस्तित्व कायम राख्नमै बढी व्यस्त रहन्छन्। यस्तोमा राय, सल्लाह र सुझावहरु आउने भनेको असफल वर्गका मानिसहरुबाटै हो। उनीहरुबाट आएका अनेकन् राय, सल्लाह र सुझावहरुको प्रयोगले नयाँ कामको सफल सुरुवात सुनिश्चित गराउन सकिँदैन।

त्यसैगरी अरु मानिसहरुले नयाँ कामबारे व्यक्त गर्ने नकारात्मक टिकाटिप्पणी र धारणाहरु उति प्रेरणादायक हुन सक्दैनन्। भनाइको अर्थ, नयाँ काम सुरु गर्नका लागि प्रेरित हुन सकिँदैन। उनीहरुले व्यक्त गरेका टिकाटिप्पणी र धारणाहरु कारण ठोस निर्णय गर्न सकिँदैन। नयाँ काम सुरु गर्ने/नगर्ने पक्षमा पूर्ण यकिन हुन वा स्पष्ट हुन सकिँदैन। परिणामस्वरूप नयाँ सुरुवात गर्ने प्रक्रियामा अस्वभाविक ढिलासुस्ती हुन जान्छ।

त्यसैले नयाँ काम अघि बढाउने क्रममा अरुलाई सचेत रुपमा सुन्ने गर्नोस्। जो कोही व्यक्तिका विचारहरु/धारणाहरु सुन्नु र त्यसैलाई पूर्ण विश्वास गर्नु राम्रो होइन। यदि सुन्नै परेपनि वास्तविक व्यक्ति या आफ्ना विचारहरु/धारणाहरु इमान्दारीपूर्वक सुनिदिने व्यक्ति या आफूले छनोट गरेको काममा सफल भइसकेका व्यक्तिहरुको मात्र विचारहरु/धारणाहरु सुन्ने गर्नोस्। एउटा महत्वपूर्ण कुरा, ती विचारहरु/धारणाहरु सुनिसकेपछि पूर्ण विश्वास भने नगर्नोस्। पहिले आफ्नो हृदय वा अन्तरमनको आवाज सुन्ने गर्नोस्। र, सोही अनुसार नयाँ कामबारे आवश्यक निर्णय लिनुहोस्।

काम सुरु गरिहाल्ने

यो चरणमा आइसकेपछि उपलब्ध रहने एकमात्र विकल्प भनेको तत्काल काम सुरु गरिहाल्नु हो। कुनैपनि कार्य सुरु गर्नु भनेको आधा वा सो भन्दा बढी हिस्साको कार्य पूरा गरे सरह हो। त्यसैले नयाँ काम सुरु गर्ने प्रसंगमा धेरै विचार मन्थन गर्नु, साइत हेर्नु र साथसाथै ग्रहदशा हेर्नु ठीक होइन। तत्काल आफूले गर्न लागेको काम सुरु गरिहाल्नुहोस्। एक्लै काम सुरु गर्नुपर्ने अवस्था आइपरे पनि पछि नहट्नुहोस्। आफ्ना साथीहरु तथा अरु सम्भावित हिस्सेदारहरु कुर्ने गल्ती नगर्नोस्। उनीहरु भनेको त तपाईंले काम सुरु गरेर परिणाम दिन या आम मानिसहरुको जीवनमा प्रभाव पार्न थालिसकेपछि तपाईंसँग काम गर्न आउँछन् नै। यस अतिरिक्त, तपाईंसँग काम गर्न चाहनेहरु समेत दिन प्रतिदिन बढ्दै जान्छन्।

नयाँ काममा सक्रिय रहने क्रममा केही कुराहरुमा ध्यान दिन सक्नुपर्छ। जस्तै: काममा आबद्ध रहँदा स्थिरता कायम गर्नोस्। भनाइको तात्पर्य, लगातार रुपमा या भनौँ बिना अबरोध काम गरिरहनुहोस्। आज काम गर्ने अनि भोलि नगर्ने मनस्थितिमा नरहनुहोस्। विश्राम लिने नाममा एक हप्ता वा सो समयावधि भन्दा बढी निष्क्रिय नबस्नुहोस्। त्यसैगरी काम दौरान एकाग्रता कायम गर्नोस्। आफ्नो सम्पूर्ण ध्यान काममा लगाउनुहोस्। काममा आफूसँग उपलब्ध समय, उर्जा र पैसाको उचित लगानी गर्नोस्। त्यसैगरी सकारात्मक रहने कोसिस गर्नोस्। मानिसहरुले अनेक टिकाटिप्पणीहरु गर्न सक्छन्। तपाईंलाई कम आँक्न वा हतोत्साहित गर्न सक्छन्। यस्तोमा संयम रहने प्रयत्न गर्नोस्। यसमाथि तपाईंमा पूर्णतावादी सोचहरु हाबी हुन सक्छन्। सचेत रहने प्रयास गर्नोस्। त्यसैगरी कामलाई नै जीवनशैली या जीवनको अभिन्न पाटो बनाउनुहोस्। काम गर्न पाउनुमै खुसी/कृतज्ञता व्यक्त गर्नोस्। काम गर्दै जाँदा प्राप्त उपलब्धिहरु हेरेर सन्तुष्ट हुनोस्। अनि आफ्नो आर्थिक अवस्थाअनुसार उत्सव मनाउनुहोस्।

नयाँ सुरुवातका उदाहरणहरु

नयाँ कामको सुरुवातबारे सैद्धान्तिक पाटो जान्नु, बुझ्नु र त्यसलाई प्रयोगमा ल्याउनु वा वास्तविक रुपमै सो नयाँ काम सुरु गर्नु फरक-फरक कुराहरु हुन्। कुनैपनि नयाँ कामको सुरुवात गर्ने प्रक्रियाबारे थप स्पष्ट रुपमा बुझ्नका लागि कामकुराका केही उदाहरणहरु लिऊँ र ती कसरी सुरुवात गर्न सकिन्छन् भन्ने माथि संक्षेपमा वर्णन गरौँ।

नयाँ व्यवसाय सञ्चालन

यदि तपाईंले व्यवसाय गर्नु नै आफ्नो जीवन उद्देश्य बनाउनु भएको छ र नयाँ व्यवसायमा आबद्ध हुने मनस्थितिमा हुनुहुन्छ भने नयाँ व्यवसाय सुरुवात गर्ने प्रक्रियालाई निम्नानुसारका चरणहरुमा पूरा गर्ने प्रयास गर्नोस्।

पहिलो चरण, प्रारम्भिक अध्ययन गर्ने। यस चरणमा सफल व्यवसायीहरुबारे लेखिएका पुस्तकहरु अध्ययन गर्नोस्। यो अलवा व्यवसाय सञ्चालनमा ठूलो मद्दत पुर्याउन सक्ने पुस्तकहरु पनि अध्ययन गर्नोस्। विशेषगरी व्यवसाय, मार्केटिङ (बजारशास्त्र), रणनीति, नेतृत्व कला, टोली निर्माण, सामूहिक कार्य, संवाद कौशल, शिष्टाचार आदि सम्बन्धित पुस्तकहरु अध्ययन गर्नोस्। त्यसैगरी आफूबारे मूल्यांकन गर्नोस्। आफू व्यवसाय गर्नका लागि उपयुक्त व्यक्ति रहे/नरहेको बारेमा यकिन गर्नोस्। त्यसैगरी सफल व्यवसायीहरुसँग समय मागेर भेट गर्नोस्। उनीहरुसँग गहन संवाद गर्नोस्। त्यस संवाद दौरान नयाँ व्यवसायिक अवसरहरु, उनीहरुले नयाँ व्यवसाय गर्ने आइडिया कहाँ र कसरी प्राप्त गरे, नयाँ व्यवसाय कसरी सुरु गरे, सुरुका दिनहरुमा उनीहरुको मनस्थिति कस्तो थियो, उनीहरुले व्यवसाय कसरी सञ्चालन गरे, कसरी ब्राण्ड स्थापित गर्न सफल भए, जटिल चुनौती र समस्याहरु माथि कसरी विजय हासिल गरे आदि जस्ता विषयहरुमा बढी केन्द्रित रहनोस्।

दोस्रो चरण, कार्यविधिको खाका कोर्ने। तपाईं सहज र प्रभावकारी रुपमा व्यवसाय सञ्चालन गर्नका लागि कार्यविधिको खाका तयार गर्नोस्। त्यसमा के र कुन स्तरको व्यवसाय गर्ने, को-को लगानीकर्ता रहने, व्यवसायको प्रमुख लक्ष्य के, व्यवसाय सञ्चालनमा लागू हुने मूल्य र मान्यताहरु के-के हुन्, व्यवसायिक योजना कस्तो रहने, लक्षित स्थान कुन हो, लक्षित ग्राहकहरु कुन वर्गका मानिसहरु हुन् आदि सम्पूर्ण कुराहरु खुलाउनुहोस्।

तेस्रो चरण, दिगो योजना बुन्ने। तपाईं आफूले सुरु गर्न लागेको व्यवसाय कसरी सुरक्षित राख्न चाहनुहुन्छ, त्यसबारे गम्भीरतापूर्वक विचार गर्नोस्। प्रतिस्पर्धी व्यवसायी साथीहरुसँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुग्दा, आर्थिक अवस्था कमजोर बन्दा, ब्राण्ड-छवि धूमिल हुँदा र व्यवसायको अस्तित्व नै मेटिने परिस्थिति सिर्जना हुँदा के-कस्ता दिगो योजनाहरु अघि सार्नुहुन्छ, त्यसबारे स्पष्ट रहनोस्। त्यसैगरी अप्ठ्यारा लगानीकर्ता, कर्मचारी र ग्राहकहरुसँग कसरी व्यवहार गर्नुहुन्छ भन्नेबारे पनि स्पष्ट रहनोस्।

चौथो चरण, पूर्णतावादी सोच त्याग्ने। स्वभाविक रुपमा तपाईं उत्कृष्ट अवस्थामा, उत्कृष्ट कार्यविधिको खाका र शैली अनुसार नै नयाँ व्यवसाय सञ्चालन होस् भन्ने चाहनुहुन्छ। यदि तपाईं नयाँ व्यवसाय सुरु गर्ने मुडमा हुनुहुन्छ भने यस्ता सोचहरु त्याग्नुहोस्। अनुकूल समय, परिस्थिति, बजार र आर्थिक अवस्थामा मात्र व्यवसाय गर्ने हठ छाड्नुहोस्। सकेसम्म वा सम्भव भएसम्म राम्रो सँग व्यवसाय सञ्चालन गर्ने, आवश्यकता अनुसार कार्यविधिको खाका परिमार्जन गर्ने, आफ्नो व्यक्तिगत विकास कार्यमा गम्भीर रहने र सफल व्यवसायी बन्नका लागि कठोर मिहिनेत गरिरहने जस्ता सोचहरुको विकास गर्नोस्।

पाँचौं चरण, अरुलाई सचेत रुपमा सुन्ने। जब तपाईं नयाँ व्यवसाय सुरुवात गर्ने प्रक्रियामा हुनुहुन्छ, त्यस क्षण धेरै मानिसहरुले थरिथरिका राय, अवधारणा र सुझावहरु दिन्छन् नै। उनीहरुले व्यवसायमा पाएका असफलताका नमिठा अनुभूतिहरु तपाईंप्रति प्रक्षेपण गर्छन् नै। यस्तोमा तपाईं धेरै सचेत रहेर सुन्ने गर्नोस्। उनीहरुबाट प्राप्त राय, अवधारणा र सुझावहरु कारण आफ्नो नयाँ व्यवसाय गर्ने जोश, जाँगर र गतिमा नकारात्मक प्रभाव पर्न नदिनुहोस्।

छैठौं चरण, काम सुरु गरिहाल्ने। यस चरणमा आइसकेपछि धेरै सोच्न नथाल्नुहोस्। काम सुरु गरिहाल्नुहोस्। कत्तिपनि ढिलासुस्ती नगर्नोस्। नयाँ व्यवसाय सुरु गर्नका लागि आवश्यक कानूनी प्रक्रिया पूरा गर्नोस्। त्यसपछि आफ्नो व्यवसायिक गतिविधि अगाडि बढाइहाल्नुहोस्। सबैले तपाईंको व्यवसायमा रुचिपूर्वक साथ र सहयोग दिन्छन् भन्ने अपेक्षा नराख्नोस्। जसले साथ र सहयोग दिन्छन् उसैलाई आफ्नो व्यवसायमा सहभागी गराउनुहोस्। व्यवसाय सुरु गरेपछि पछि फर्केर नहेर्नुहोस्। सकारात्मक मानसिकता कायम राखेर निरन्तर अगाडि बढिरहनुहोस्। आफूले व्यवसायिक सफलता हात पार्नेमा आत्मविश्वासी रहनोस्।

युट्युब च्यानल सञ्चालन

यदि तपाईंले युट्युब च्यानल सञ्चालन गरेरै जीवन बाँच्ने सोच्नु भएको छ भने नयाँ युट्युब च्यानल खोल्ने या युट्युब करिअर सुरु गर्ने प्रक्रियालाई निम्नानुसारका चरणहरुमा पूरा गर्ने प्रयत्न गर्नोस्।

पहिलो चरण, प्रारम्भिक अध्ययन गर्ने। यस चरणमा स्थापित भइसकेका युट्युब च्यानलहरु, युट्युबरहरु बारेमा खोज अनुसन्धान गर्नोस्। कुन विषयवस्तुका भिडियोहरु युट्युबमा बढी हेरिएका छन्, त्यसबारे अनुसन्धान गर्नोस्। त्यसैगरी कसरी आफ्ना कुराहरु फोटो, भिडियो र शब्दहरु मार्फत आकर्षक एवं प्रभावकारी रुपमा प्रस्तुत गर्न सकिन्छ भन्नेमा पनि गहन अध्ययन गर्नोस्। यसका लागि स्क्रिप्ट लेखन, फोटो र भिडियो सम्पादन गर्ने सीप सिक्नुहोस्। सार्वजनिक भाषण कला, सचेत संवाद कला र प्रस्तुतिकरण सम्बन्धित धेरैभन्दा धेरै पुस्तकहरु अध्ययन गर्नुका साथै उच्चस्तरीय तालिमहरुमा सहभागी हुनोस्।

त्यसैगरी आत्म मूल्यांकन गर्नोस्। तपाईंमा सफल युट्युबर बन्न सक्ने क्षमता र विशेषताहरु भए/नभएको, युट्युब च्यानल सञ्चालन गरेकै भरमा आफ्नो भविष्य सुनिश्चित हुने/नहुने, तपाईंले युट्युब च्यानलको माध्यमबाट समाजमा सकारात्मक प्रभाव छोड्न र युवा पुस्ताका लागि विरासत छोड्न सक्ने/नसक्ने जस्ता विषयहरुमा प्रस्ट रहनोस्।

त्यसैगरी सफल युट्युबरहरु भेटेर अन्तरक्रिया गर्नोस्। त्यस अन्तरक्रियामा उनीहरुले कसरी युट्युब च्यानल सुरुवात गरे, सब्स्क्राइबरको संख्या कसरी बढाए, भिडियो हेर्ने दर्शकहरु कसरी बढाए, युट्युब च्यानलले बजार नलिँदा के गरे, युट्युबबाट कमाई नहुँदा कसरी बाँचे, युट्युबबाट कमाउने हैसियत कसरी निर्माण गरे आदि जस्ता विषयहरुमा बढी केन्द्रित रहनोस्।

दोस्रो चरण, कार्यविधिको खाका कोर्ने। तपाईंले के-कसरी युट्युब च्यानल सञ्चालन गर्न चाहनुभएको हो, त्यसबारे कार्यविधिको खाका तयार गर्नोस्। त्यसमा कस्ता प्रकृतिका भिडियोहरु बनाउने, कुनै उत्पादन/चलचित्र/पुस्तक बारेमा समीक्षात्मक टिप्पणी दिने खाले भिडियो हो या आलोचना र गालीगलौज गर्ने खाले, अन्तरवार्ता सम्बन्धित भिडियो हो या व्यक्तिगत विकास सम्बन्धित या अरु कुनै, त्यसबारे खुलाउनुहोस्। त्यसैगरी कति अवधिको भिडियो बनाउने, हप्ता दिनमा कतिवटा भिडियो अपलोड गर्ने, भिडियोहरु कुन वर्गका मानिसहरुलाई समर्पित गर्ने, व्यवसायिक रुपमा युट्युब च्यानल कसरी सञ्चालन गर्ने आदि सम्पूर्ण कुराहरु खुलस्त पार्नुहोस्।

तेस्रो चरण, दिगो योजना बुन्ने। युट्युब च्यानल खोल्ने बित्तिकै आम्दानीको सुनिश्चितता हुँदैन। यस्तोमा निश्चित अर्थोपार्जनका लागि वा जीवन धान्नका लागि कुन काम गर्नुहुन्छ, त्यसबारे स्पष्ट रहनोस्। त्यसैगरी युट्युब च्यानललाई मुद्रीकरण गराउन वा युट्युबबाटै आम्दानीको स्रोत खुलाउन केही मापदण्डहरु पूरा गर्नैपर्छ। जस्तै: कम्तीमा हजार वा सोभन्दा बढी सब्स्क्राइबर संख्या र एक वर्षभित्र भिडियो हेरिएको समयावधि चार हजार घण्टा पुगेकै हुनुपर्छ। यस्तोमा तपाईं सब्स्क्राइबरको संख्या र भिडियो हेरिने समयावधि कसरी बृद्धि गर्नुहुन्छ, केहीजानी युट्युब सञ्चालनमा सोचेको उपलब्धि मिलेन भने के-कस्ता रणनीतिक योजनाहरु प्रयोगमा ल्याउनुहुन्छ आदि बारेमा पनि उत्तिकै स्पष्ट रहनोस्।

चौथो चरण, पूर्णतावादी सोच त्याग्ने। कडा रुपमा बोल्न सक्ने भएपछि, अत्याधुनिक क्यामेरा उपलब्ध भएपछि, सुव्यवस्थित स्टुडियो तयार भएपछि, फोटो र भिडियो सम्पादनमा विशेषज्ञता हासिल गरिसकेपछि मात्र युट्युब च्यानल खोल्ने पक्षमा नबस्नुहोस्। तपाईं जुन अवस्थामा हुनुहुन्छ, त्यही अवस्थामा युट्युब च्यानल खोल्ने आँट गर्नोस्। तपाईं सँग जे जति मात्रामा स्रोत, साधन र सुविधाहरु उपलब्ध छन्, त्यसैको सदुपयोग गरि युट्युब च्यानल खोल्नुहोस्। यसैका लागि भिडियो सामाग्रीहरु निर्माण गर्ने क्रममा सतप्रतिशत उत्कृष्ट हुने कोसिस गर्नुभन्दा पनि आफ्नो विशिष्टता, मौलिकता र वास्तविक व्यक्तित्व प्रकार देखाउनमा सक्रिय रहनोस्।

पाँचौं चरण, अरुलाई सचेत रुपमा सुन्ने। तपाईंले अरु मानिसहरुलाई युट्युब च्यानल खोल्ने योजना सार्वजनिक गर्दा उनीहरुले तपाईंलाई धेरै कुराहरु सुनाउन र उल्लेख गर्न सक्छन्। विभिन्न धारणा, सङ्कुचित सोच तथा नकारात्मक टिकाटिप्पणीहरु व्यक्त गर्न सक्छन्। तपाईं यी कुराहरुलाई उतिसारो महत्व नदिनुहोस्। युट्युब च्यानल सञ्चालनमा बहुमूल्य राय, अवधारणा र सुझावहरु दिएर मद्दत गर्न सक्ने योग्य व्यक्ति वा सफल युट्युबरलाई मात्र ध्यानपूर्वक सुन्नुहोस्।

छैठौं चरण, काम सुरु गरिहाल्ने। यो चरणमा आइसकेपछि धेरै सोच्ने काम बन्द गर्नोस्। तत्काल नयाँ युट्युब च्यानल खोल्नुहोस्। कुनै एक विषयमाथि स्क्रिप्ट या रुपरेखा तयार गर्नोस्। अनि सोही स्क्रिप्ट या रुपरेखाअनुरुप भिडियो बनाएर आफ्नो युट्युब च्यानलमा अपलोड गरिहाल्नुहोस्। त्यसपछि कस्ता प्रतिक्रियाहरु आउँछन् हेर्नोस्। सकारात्मक प्रतिक्रिया आए? खुसी हुनुहोस् तर चाहिनेभन्दा धेरै उत्साहित नहुनुहोस्। आफ्नो क्षमताको विषयलाई लिएर अति घमण्ड पनि नगर्नोस्। नकारात्मक प्रतिक्रिया आए? नआत्तिनुहोस्। संयम रहनोस्। प्रतिक्रियाको सम्मान स्वरुप गुणस्तरीय भिडियो निर्माण गरि युट्युबमा नियमित अपलोड गर्नोस्। तपाईंले समेट्ने विषयवस्तुमा विविधता ल्याउनुहोस्। भरसक सकारात्मक मनस्थितिमा रहनोस्। सानाठूला लक्ष्यहरु पूरा हुँदा उत्सव मनाउनुहोस्। जस्तो कि एक हजार, पचास हजार, एक लाख, पाँच लाख या एक मिलियन सब्स्क्राइबर संख्या पुग्दा, कुनै एक भिडियो निकै भाइरल हुँदा आफ्ना परिवार सदस्यहरु लगायत साथीभाइहरु सँग खुसी साट्नुहोस्।

पुस्तक लेखन

यदि पुस्तक लेखन तपाईंको प्राथमिक रुचिमा पर्छ भने नयाँ पुस्तक लेखन सुरुवात गर्ने प्रक्रियालाई निम्नानुसारका चरणहरुमा पूरा गर्न जोड दिनुहोस्।

पहिलो चरण, प्रारम्भिक अध्ययन गर्ने। यस चरणमा धरै भन्दा धेरै पुस्तकहरु अध्ययन गर्नोस्। कहिल्यै पनि एकै किसिमका पुस्तकहरु अध्ययन नगर्नोस्। सकेसम्म आफूले पढ्ने पुस्तकहरुमा विविधता कायम गर्नोस्। यसो गर्दा तपाईंले विविध लेखनशैली बारे ज्ञान र सीप प्राप्त गर्न सक्नुहुन्छ।

त्यसैगरी आफूबारे मूल्यांकन गर्नोस्। तपाईंमा सोच्न, फरक दृष्टिकोण राख्न, विश्लेषण गर्न र लेख्न सक्ने क्षमता रहे/नरहेको बारेमा यकिन गर्नोस्। यसका लागि आफ्ना सशक्त पक्षहरु, कमीकमजोरीहरु, अवसरहरु र साथसाथै चुनौतीहरु सूक्ष्म रुपमा केलाउनुहोस्। सम्भव भएसम्म आफ्नो व्यक्तित्व प्रकार पनि परीक्षण गर्नोस्। अनि यही अनुसार लेखन कार्यमा लाग्ने/नलाग्ने बारे निर्णय गर्नोस्।

त्यसैगरी सफल लेखकहरु सँग अन्तरक्रिया गर्नोस्। त्यस अन्तरक्रियामा लेखन कार्यमा भविष्य कस्तो छ, उनीहरुले कसरी लेख्न सुरु गरे, उनीहरुको वास्तविक लेखनशैली के हो, संघर्षरत लेखकको हैसियतमा रहँदा कसरी जीवन अगाडि बढाए, लेखन कार्यलाई कसरी पेशामा परिवर्तन गर्न सफल भए आदि जस्ता विषयहरुमा बढी केन्द्रित रहनोस्।

दोस्रो चरण, कार्यविधिको खाका कोर्ने। के-कसरी पुस्तक लेखन कार्यमा संलग्न हुने सोच्नु भएको छ, त्यसबारे स्तरीय कार्यविधिको खाका तयारी अवस्थामा राख्नोस्। त्यसमा कुन विषयवस्तुमा आधारित रहेर पुस्तक लेख्न चाहनुहुन्छ, सोही विषयवस्तुमा पुस्तक लेखनका लागि विचारहरु कसरी उत्पन्न गराउनुहुन्छ, लेख्ने मुडमा कसरी रहनुहुन्छ वा सही मनोवृत्ति/मनस्थिति कसरी कायम राख्नुहुन्छ, पुस्तकको रुपरेखा कस्तो रहने, कुन स्तरको पुस्तक लेख्नुहुन्छ, कुन भाषा र शैलीको प्रयोग गर्नुहुन्छ, हरेक दिन कति पृष्ठ लेख्नुहुन्छ, प्रत्येक वर्ष वा प्रत्येक दुई वर्षमा कतिवटा पुस्तक लेखेर पूरा गर्नुहुन्छ, कुन प्रकाशनगृहबाट पुस्तक प्रकाशन गराउन चाहनुहुन्छ आदि सम्पूर्ण कुराहरु खुलाउनुहोस्।

तेस्रो चरण, दिगो योजना बुन्ने। लेखन कार्यमा लाग्ने बित्तिकै पैसा छाप्न सकिने सम्भावना रहँदैन। त्यसमाथि लेखन कार्यमा सक्रिय भएपछि झन् अरु कार्यहरुबारे राम्रो सँग सोच्न सकिँदैन। यसको सिधा अर्थ, आर्थिक अवस्था सुधार्नका लागि तुरुन्तै पैसा कमाउन सकिने कार्यमा सक्रिय हुन सकिँदैन भन्ने हो। यस्तोमा सहज जीवनयापनका लागि कस्ता रणनीतिक योजनाहरु अगाडि सार्नुहुन्छ, लेखन कार्यलाई कुन प्राथमिकतामा राख्नुहुन्छ र आर्थिक पाटो मजबुत बनाउन कुन कार्य गर्नुहुन्छ भन्ने बारेमा स्पष्ट रहनोस्। त्यसैगरी पुस्तक प्रकाशित भएपनि बजारमा त्यति चर्चा कमाउन सकेन भने? एक गुणस्तरहीन पुस्तक पुष्टि हुन गयो भने? अब तपाईं यो असफलतालाई कसरी ग्रहण गर्नुहुन्छ, आफ्नो लेखन क्षमताको विकास कसरी गर्नुहुन्छ र आफूलाई एक सफल व्यवसायिक लेखकका रुपमा कसरी स्थापित गर्नुहुन्छ भन्ने बारेमा पनि त्यतिनै स्पष्ट रहनोस्।

चौथो चरण, पूर्णतावादी सोच त्याग्ने। आम मानिसहरु लेख्नु जटिल काम हो, नलेख्नु लेखेपछि गहन विषयवस्तुमा उत्कृष्ट शैलीमा नै लेख्नुपर्छ र लेखन कार्यमा निपूर्णता/विशेषज्ञता हासिल गरेपछि या उत्कृष्ट लेख्न सक्ने भएपछि मात्र पुस्तक लेखनमा संलग्न हुनुपर्छ भन्ने जस्ता सोचहरु राख्ने गर्छन्। तपाईं यी खाले सोचहरु पूर्ण रुपमा त्याग्नुहोस्। जस्तोसुकै अवस्था र वातावरणमा पनि पुस्तक लेख्न तयार रहने, दबाबमा आएर वा कनिकुथी नलेख्ने, स्वतःस्फूर्त रुपमा विचारहरु आए लेख्ने, नआएको खण्डमा लेख्नकै लागि आफूलाई दबाब नदिने, प्रवाहमा सकेको राम्रो लेख्न कोसिस गर्ने, लेखाइ अतिनै खराब भएपनि बढी चिन्तित नरहने, लगातार लेखिरहने र लेख्दै गएपछि लेखाइ/लेखनशैली उत्कृष्ट हुँदै जाने जस्ता सोचहरुको विकास गर्नोस्।

पाँचौं चरण, अरुलाई सचेत रुपमा सुन्ने। प्रायः तपाईं हामी वरिपरि रहने व्यक्तिहरु लेखेर के नै हुन्छ, आजकल कसलाई पढ्ने फुर्सद छ, लेखेर पैसा कमाउन सकिँदैन, लेखन कार्यमा भविष्य छैन आदि भन्ने गर्छन्।  यदि तपाईं लेखन कार्यप्रति गम्भीर हुनुहुन्छ, लेखक बन्ने सपना देख्नुभएको छ र सो कार्य सुरु गर्ने सोचमा हुनुहुन्छ भने आफू वरिपरि रहने व्यक्तिहरुलाई सचेत रुपमा सुन्नुहोस्। उनीहरुका भनाइ, धारणा र सुझावहरु त्यति महत्वसाथ नलिनुहोस्। सकेसम्म लेखन कार्यमा सफल भइसकेका, सकारात्मक व्यक्तित्व र तपाईंलाई खुला मनले लेखन कार्यमा मार्गनिर्देशन दिनसक्ने योग्य व्यक्तिहरुलाई मात्र ध्यानपूर्वक सुन्ने गर्नोस्। अनि उनीहरुले भनेअनुसार लेखन कार्यलाई गति दिनुहोस्।

छैठौं चरण, काम सुरु गरिहाल्ने। यो चरणमा आइसकेपछि लेख्ने/नलेख्ने बारेमा धेरै दुबिधामा नबस्नुहोस्। उचित समय, स्थान र लेख्ने वातावरण व्यवस्था गरि लेखन कार्य सुरु गरिहाल्नुहोस्। सकभर हरेक दिन लेख्न बस्नुहोस्। कुनैपनि बहानामा लेख्ने काम लामो अवधिका लागि स्थगीत नगर्नोस्। चाहिने भन्दा बढी विश्राम पनि नलिनुहोस्। आफूले छनोट गरेको विषयवस्तु माथि नियमित रुपमा लेख्नुहोस्। जति लेख्नुहुन्छ त्यसमा पूर्णता वा सर्वोत्कृष्टता नखोज्नुहोस्। आफ्नो गतिमा निरन्तर लेख्नुहोस्। अनि तपाईंको लेखनशैली, लेखन सामग्रीहरुमा स्वतः पूर्णता वा सर्वोत्कृष्टता देखिन थाल्छ। त्यसैगरी आफ्ना केही लेखन सामग्रीहरु पत्रपत्रिकाहरुमा प्रकाशित गर्नोस्। पाठक तथा साधारण मानिसहरुको प्रतिक्रिया सुन्ने र पढ्ने गर्नोस्। सबैले तपाईंको विषयवस्तु छनोट, लेखनशैली र लेखन सामग्रीहरु रुचाउँछन् नै भन्ने छैन। नकारात्मक प्रतिक्रिया जनाउन, क्रूर आलोचना गर्न र लेखन क्षेत्रमा नलाग्न सम्मका सुझावहरु दिन सक्छन्।  यस्तोमा उनीहरुका भनाइ, धारणा र सुझावहरु मनमा नराख्नोस्। यदि ती भनाइ, धारणा र सुझावहरु वास्तविक पाठक वा लेखकबाट आएका हुन् भने सजगता साथ आत्मसात गर्नोस्। हैनभने  अविचलित भई आफ्नो पूरै समय, उर्जा, ध्यान र स्रोतसाधन लेखन कार्यमा केन्द्रित गर्नोस्।