कहिल्यै ख्याल गरेका छौँ? हामीले आफ्नोबारे जे सोच या विश्वास राख्छौँ, त्यो पछि वास्तविकतामा परिणत हुन जान्छ। जे भविष्यवाणी गर्छौँ, त्यो सही हुन जान्छ। उदाहरणको लागि, आफू अन्तरवार्तामा फालिने विश्वास राख्यौँ वा भविष्यवाणी गर्यौँ भने अन्ततः फालिन पुग्छौँ नै। त्यसैगरी हामीले अरुबारे जे सोच या विश्वास राख्छौँ, त्यो पनि वास्तविकतामा परिणत हुन जान्छ। उनीहरुबारे जे भविष्यवाणी गर्छौँ, त्यो सही हुन जान्छ। उदाहरणको लागि, सहकर्मी साथीको कार्यशैली सही नभएको विश्वास राख्यौँ वा साथीले काम बिगार्न सक्ने भविष्यवाणी गर्यौँ भने अन्ततः ती साथीले कार्यक्षेत्रमा कुनै न कुनै काम बिगारेकै हुन्छ। यस्तो हुनुमा सेल्फ फुलफिलिङ्ग प्रफेसी अर्थात् आत्म-पूर्ति भविष्यवाणीको ठूलो भूमिका रहेको हुन्छ।
अमेरिकी समाजशास्त्री रोवर्ट मर्टन अनुसार कुनैपनि अवस्थाबारे गलत बुझाइ राख्दा नयाँ व्यवहार सुचारु भइ सो गलत बुझाइ यथार्थमा परिणत हुने चक्रीय प्रक्रियालाई आत्म-पूर्ति भविष्यवाणीको रुपमा व्याख्या गर्न, बुझ्न सकिन्छ। सरल भाषामा भन्नुपर्दा, हामीले जस्तोसुकै सोच/धारणा/विश्वास राख्दा र जे भविष्यवाणी गर्दा पनि, त्यो आंशिक वा पूर्ण रुपमा वास्तविकतामा परिणत हुने चक्रीय प्रक्रियालाई नै आत्म-पूर्ति भविष्यवाणी भनिन्छ। यसबाट आफू र अरुबारे निश्चित सोच, धारणा र विश्वास राख्दा जीवन परिस्थिति कतिसम्म प्रभावित हुनसक्छ भन्ने प्रस्टसँग बुझ्न सकिन्छ।
आत्म–पूर्ति भविष्यवाणीको कार्यविधि
आत्म-पूर्ति भविष्यवाणीले चक्रीय रुपमा काम गर्छ, जुन चित्र मार्फत प्रस्टसँग व्याख्या गर्न सकिन्छ। सर्वप्रथम तपाईं हाम्रो मनमा विविध सोचहरु उत्पन्न हुने गर्छन्। हामी आफू लगायत अरुबारे अनेकन् धारणा र विश्वासहरु तय गर्छौँ। यीनै सोच, धारणा र विश्वासहरुको प्रभाव हाम्रा व्यवहार, गतिविधि र कार्यहरुमा देखिन थाल्छ। हामीले गर्ने निश्चित व्यवहार, गतिविधि र कार्यहरुको प्रत्यक्ष असर अरुको विश्वास प्रणालीमा पर्न जान्छ। अरुका सोच, धारणा र विश्वासहरु परिवर्तन हुन थाल्छन्। जसकारण अरुका व्यवहार, गतिविधि र कार्यहरु परिवर्तन हुन थाल्छन्। ती व्यवहार, गतिविधि र कार्यहरु यस्ता प्रकृतिका हुने गर्छन् जसले हाम्रा सोच, धारणा र विश्वासहरु सही पुष्टि गरिदिन्छन्। भनाइको तात्पर्य, हाम्रा विश्वास प्रणालीहरू अझ बलियो हुँदै जान्छन्।
आत्म–पूर्ति भविष्यवाणीको प्रभाव
आत्म-पूर्ति भविष्यवाणीको प्रभाव, असर या त्यसले के-कसरी परिणाम निम्त्याउन सक्छ भन्ने सूक्ष्म रुपमा बुझ्न केही जीवन परिस्थितिहरु तथा उदाहरणहरू लिन सकिन्छ:
पहिलो, बर्खास्तीमा पर्नु या निलम्बित हुनु। मानौँ, तपाईं एक प्रतिष्ठित संस्थामा नयाँ कर्मचारीका रुपमा नियुक्त हुनुभयो। महिना दिन काम गरेपछि आफ्नो जागिर सुरक्षित नभएको संकेत पाउनुभयो भने? कोही व्यक्ति पनि संस्थामा टिक्न नसक्ने, आफू कुनैपनि बेला बर्खास्तीमा पर्न सकिने या निलम्बित हुन सकिने कुरामा विश्वस्त हुनुभयो भने? यस्तोमा तपाईं कामप्रति गम्भीर हुन सक्नुहुन्न। कामलाई आफ्नो होइन, अरुको कामका रुपमा लिन थाल्नुहुन्छ। केवल जागिर पकाउने उद्देश्य साथ काम गर्न थाल्नुहुन्छ। जसकारण तपाईं ठोस परिणाम दिन वा संस्थाको उत्पादकता बढाउने मामिलामा उल्लेख्य भूमिका निर्वाह गर्न सक्नुहुन्न। कार्यक्षेत्रमा तपाईंको यस किसिमको व्यवहार, गतिविधि र कार्यशैलीले संस्थापक समिति सशंकित हुन थाल्छन्। उनीहरुमा तपाईं प्रतिको विश्वास हराएर जान्छ। उनीहरुले तपाईं संस्थाको प्रगति र विकासका निम्ति हानिकारक तथा बाधक हुनेमा दुईमत राख्दैनन्। अन्ततः तपाईंलाई बर्खास्त गर्ने या निलम्बन गर्ने पक्षमा निर्णय लिन पुग्छन्। अब तपाईं भन्नुहोला, ‘मैले भनेकै थिएँ नि। त्यो संस्थामा कोही टिक्न सक्दैन भनेर। आखिर मैले सोचेको पूरा भएरै छाड्यो।’ यहाँ तपाईं बर्खास्तीमा पर्नु या निलम्बित हुनुमा संस्थाको कुनै दोष छैन। यसमा तपाईं आफैं बढी जिम्मेवार हुनुहुन्छ। तपाईंले आफू बर्खास्तीमा पर्ने या निलम्बित हुने कुरामा विश्वास गर्नुभयो। सोही अनुसार कार्य गर्नुभयो। तपाईंको कार्यशैलीको असर संस्थापक समितिको विश्वास प्रणालीमा पर्न गयो। अनि उनीहरुले सोहीअनुसार तपाईंलाई बर्खास्त गर्ने या निलम्बन गर्ने कार्य गरेका हुन्। यसरी तपाईंको आफू बर्खास्तीमा या निलम्बनमा पर्छु भन्ने सोच वास्तविकतामा परिणत हुन गएको मात्र हो।
दोस्रो, परीक्षा बिग्रनु। मानौँ, तपाईं स्नातक तहको परीक्षा दिने तयारीमा हुनुहुन्छ। तपाईंले स्नातक तहको परीक्षाको प्रश्न पत्र अति कठिन हुने, जतिसुकै तयारी गरे पनि त्यो पर्याप्त नहुने र सोही कारण सोचे जस्तो उत्कृष्ट नतिजा ल्याउन नसकिने भविष्यवाणी गर्नुभयो भने ?
यस्तोमा तपाईं परीक्षाको पूर्ण तयारीमा जुट्न सक्नुहुन्न। विषयबस्तुको गहन अध्ययन गर्नुको सट्टा सतही अध्ययन छनोट गर्नुहुन्छ। सम्भावित प्रश्नहरू मात्रै तयारी गर्न थाल्नुहुन्छ। यति मात्र होइन, परीक्षा केन्द्र कत्तिको कडा हुने/नहुने बुझ्न र सोही अनुसार चिट तयारी अवस्थामा राख्न अत्याधिक समय खर्च गर्न थाल्नुहुन्छ। जसले गर्दा तपाईंको तयारी आधा अधुरो हुन जान्छ। अनि परीक्षा दिने क्रममा तपाईंलाई सबै प्रश्नहरू गाह्रो लाग्छन्। तपाईं कुनैपनि हालतमा पास गर्नुपर्ने दबाब कारण अरु परीक्षार्थी साथीहरुलाई उत्तर पुस्तिका देखाइदिन अनुरोध गर्नुहुन्छ। परीक्षा हलभित्र आफूले बोकेर ल्याएका चिटहरु प्रयोग गर्ने उचित मौकाको खोजीमा बस्नुहुन्छ। तालपरे भीड खडा गरेर पाठ्यक्रम बाहिरका प्रश्नहरू सोधिएको भनि प्रश्न पत्र च्यात्ने दुष्प्रयास समेत गर्नुहुन्छ। तपाईंको यस किसिमको व्यवहार, गतिविधि र कार्यशैलीले परीक्षा निरिक्षकहरु तपाईंप्रति नकारात्मक हुन पुग्छन्। तपाईं एक खराब विद्यार्थी रहेको कुरामा उनीहरु ढुक्क रहन्छन्। तपाईंलाई परीक्षा हलबाट निकाल्ने सम्मको कठोर निर्णय लिन हिच्किचाउँदैनन्। भाग्यवश तपाईं यस स्तरको कार्वाहीबाट बच्नु भएपनि तपाईंको उत्तर पुस्तिका भने गुणस्तरीय हुनै सक्दैन। जो अध्यापकले तपाईंको उत्तर पुस्तिका जाँचेको हुन्छ, उसले तपाईं एक कमजोर विद्यार्थी रहेको धारणा राख्छ र सोहीअनुसार अंक/ग्रेड दिएर पठाउँछ। यसरी तपाईंको परीक्षा बिग्रन सक्ने सोच या भविष्यवाणी वास्तविकतामा परिणत हुन जान्छ।
तेस्रो, व्यवसायिक असफलता। मानौँ, तपाईंले एउटा नयाँ व्यवसाय सुरु गर्नुभयो। तर तपाईं सो व्यवसाय फस्टाउनेमा आत्मविश्वासी हुनुहुन्न भने? कम अनुभव र चुनौतीपूर्ण बजार अवस्था कारण कुनैपनि बेला व्यवसाय धरासायी हुने डर छ भने? यस्तोमा तपाईं जोशका साथ व्यवसायिक कार्यमा सक्रिय हुन सक्नुहुन्न। केवल केही मुनाफा कमाइ हालिन्छ कि भन्ने अभिप्रायले व्यवसाय सञ्चालन गर्नुहुन्छ। यसै क्रममा आइपर्न सक्ने अनेकन् समस्याहरु समाधान गरेर, उपयुक्त अवसरहरू पहिचान गरेर र आवश्यकता अनुसार लगानी घटाएर/बढाएर अघि बढ्न सक्नुहुन्न। तपाईंको यस किसिमको व्यवहार, गतिविधि र कार्यशैलीले अरु सेयर धनीहरु र आमजनताको विश्वास प्रणालीमा नकारात्मक असर पर्न जान्छ। उनीहरु तपाईंप्रति विश्वस्त हुन सक्दैनन्। सेयर धनीहरु तपाईंको योजना/भिजन आत्मसात गर्न सक्दैनन् र कुनैपनि बेला साथ छोड्न सक्छन्। त्यसैगरी आमजनता भने तपाईंलाई एक सच्चा र जिम्मेवार व्यवसायीको रुपमा स्वीकार गर्न नसक्नुका साथै तपाईंको व्यवसाय मार्फत प्रदान गरिने सेवा र सुविधा प्रयोग गर्न त्यति प्रेरित हुन सक्दैनन्। परिणामस्वरूप तपाईंले व्यवसायमा ठूलो घाटा व्यहोर्नुपर्ने हुन्छ। यसरी तपाईंको व्यवसायिक असफलता प्राप्त हुन सक्ने सोच या डर वास्तविकतामा परिणत हुन जान्छ।
चौथो, प्रेम-सम्बन्धमा धोका । मानौँ, तपाईं एउटी अति आकर्षक महिलासँग प्रेम-सम्बन्धमा हुनुहुन्छ । तर तपाईं आफ्नी प्रेमिकालाई सतप्रतिशत विश्वास गर्न सक्नुहुन्न र उनीबाट कुनै पनि बेला धोका पाइनेमा भयभीत हुनुहुन्छ भने ?
यस्तोमा तपाईं साँचो र गहिरो प्रेमभाव व्यक्त गर्न सक्नुहुन्न । प्रेमिकालाई पूर्ण स्वतन्त्रता दिन चाहनुहुन्न । आवश्यकताभन्दा बढी चियोचासो राख्न थाल्नुहुन्छ । हरेक दिनजसो फोन गरेर, म्यासेज गरेर वा भेट्ने प्रस्ताव राखेर हैरान् पार्नुहुन्छ । कहाँ गयौ ? के गर्यौ ? को-कोसँग भेट्यौ ? अब हामी कहिले भेट्ने जस्ता प्रश्नहरू गर्नुहुन्छ । फेसबुक, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जालहरुको पासवर्डसम्म माग्नुहुन्छ। यसले तपाईंहरु बीच गोपनीयता भङ्ग हुन जान्छ । सिधा भन्नुपर्दा, तपाईं उनीलाई पूर्ण नियन्त्रण गर्ने अवस्थामा पुग्नुहुन्छ। तपाईंको यस किसिमको व्यवहार, गतिविधि र कार्यशैलीले प्रेमिकाको विश्वास प्रणालीमा नकारात्मक असर पर्न जान्छ । तपाईं ती महिलाको नजरमा एक क्रेजी (विक्षिप्त), विषाक्त र आदर्श प्रेमी बन्न अयोग्य व्यक्तिका रुपमा स्थापित हुनुहुन्छ । प्रेम दीर्घकालीन हुन नसक्नेमा उनी शंकारहित हुन्छिन् । उनी तपाईंप्रति पहिले जस्तो आकर्षित हुन सक्दिनन् । यस अतिरिक्त, तपाईंसँग भविष्य देख्न सक्दिनन् । सधैँ उपयुक्त विकल्पको खोजी कार्यमा तल्लिन हुन्छिन्। एक गुणस्तरीय पुरुष भेट्ने बित्तिकै तपाईंबाट अलग हुने निर्णयमा पुग्छिन्। यसैलाई तपाईं प्रेम-सम्बन्धमा पाइने धोकाको रुपमा व्याख्या गर्नुहुन्छ। र, प्रेमिकालाई भने धोकेबाज महिलाको नाम दिनुहुन्छ। यसरी तपाईंको प्रेम-सम्बन्धमा धोका प्राप्त हुन सक्ने सोच या शंका वास्तविकतामा परिणत हुन जान्छ।
पाँचौं, अस्वीकृति प्राप्त हुनु। अस्वीकृति विभिन्न समय र परिस्थितिमा प्राप्त हुने गर्छ। केहीबारे चर्चा गरौँ। मानौँ, तपाईं बिहे गर्ने योजनामा हुनुहुन्छ। तर तपाईंमा कुनैपनि महिलाको मन जित्न सक्ने आत्मविश्वास या आँट छैन भने? जुन महिलासँग भेट गरेपनि अस्वीकृति प्राप्त हुनेमा विश्वस्त हुनुहुन्छ भने? यस्तोमा तपाईं नयाँ महिलासँगको भेटमा सहज रुपमा प्रस्तुत हुन सक्नुहुन्न। आफ्ना मनोभावनाहरु, अपेक्षाहरू खुलस्त रुपमा व्यक्त गर्न सक्नुहुन्न। तपाईं जे भन्नुहुन्छ र जे जस्ता व्यवहार देखाउनुहुन्छ ती कत्तिपनि प्राकृतिक देखिँदैनन्। कतिपय अवस्थामा तपाईंले महिलाका कुराहरु कम सुनेको र आफ्ना बारेमा वर्णन गर्दा बढाइचढाइ गर्न पुगेको पत्तै पाउनुहुन्न। संक्षेपमा भन्नुपर्दा, तपाईं महिलासँग सचेत संवाद गर्न सक्नुहुन्न। तपाईंको यस किसिमको व्यवहार, गतिविधि र कार्यशैलीले महिलाको विश्वास प्रणालीमा नकारात्मक असर पर्न जान्छ। ती महिलाले तपाईं एक कमजोर र अपरिपक्व पुरुष रहेको सोच्न पुग्छिन्। तपाईंलाई आदर्श जीवनसाथीको रुपमा परिकल्पना गर्न सक्दिनन्। अनि तपाईंको बिहे प्रस्तावलाई अस्वीकार गरिदिने पक्षमा पुग्छिन्। त्यसैगरी मानौँ, तपाईं एक सुरक्षित जागिरको खोजीमा हुनुहुन्छ। यसै क्रममा तपाईं एक प्रतिष्ठित संस्थाको लागि अन्तरवार्ताको चरणसम्म पुग्नु भयो तर तपाईंमा छनोट हुन सक्ने पूर्ण विश्वास छैन भने? कडा प्रतिस्पर्धा कारण आफू सजिलै फालिने सोच्नुभयो या भविष्यवाणी गर्नुभयो भने? यस्तोमा तपाईं अन्तरवार्ता दिनका लागि पर्याप्त तयारी पूरा गर्न सक्नुहुन्न। अन्तिममा फालिने त हो भनेर अन्तरवार्ता तयारी कार्यमा गम्भीर हुन सक्नुहुन्न। अझ यसो भनौँ, तपाईं हेलचेक्र्याइँ गर्न थाल्नुहुन्छ। जसकारण अन्तरवार्ता हुँदाको क्षण तपाईं आफूलाई सहज रुपमा प्रस्तुत गर्न सक्नुहुन्न। तपाईं हड्बडाउनु हुन्छ। तपाईंले भनेका कुराहरु र भावभङ्गिमामा कुनै तालमेल हुन सक्दैन। तपाईंको यस किसिमको व्यवहार, गतिविधि र कार्यशैलीले अन्तरवार्ता लिने कमिटीको विश्वास प्रणालीमा नकारात्मक असर पर्न जान्छ। उनीहरुको नजरमा तपाईं एक सच्चा, प्रतिस्पर्धात्मक र उपयुक्त व्यक्तिका रुपमा स्थापित हुन सक्नुहुन्न। फलस्वरुप तपाईं अस्वीकृत हुन पुग्नुहुन्छ। यसरी विभिन्न समय र परिस्थितिमा तपाईंको अस्वीकृति प्राप्त हुने सोच या भविष्यवाणी वास्तविकतामा परिणत हुन जान्छ।
छैठौं, भ्रष्ट राजनीतिज्ञ। मानौँ, तपाईंले सबै समकालीन राजनीतिज्ञहरुलाई घुसखोरी र भ्रष्टाचाररीको रुपमा चिन्ने र व्याख्या गर्नुहुन्छ। उनीहरुलाई पैसा खुवाउँदा जस्तोसुकै काम गराउन सकिने, जतिसुकै ठूलो काण्ड र प्रकरणबाट पनि उन्मुक्ति पाउनका लागि उचित वातावरण सिर्जना गर्न सकिने विश्वास राख्नुभयो भने? यस्तोमा तपाईं कुनैपनि परियोजना अगाडि बढाउनुपर्दा तथा काण्ड र प्रकरण दबाउनका लागि राजनीतिज्ञहरु सँग गोप्य भेट गर्नुहुन्छ। त्यस भेटमा आफूलाई सोहीअनुसार प्रस्तुत गर्नुहुन्छ। स्पष्ट रुपमा भन्नुपर्दा, चाप्लुसीको भाषा बोल्दै आकर्षक प्रस्तावहरु पेश गर्नुहुन्छ। तपाईंको यस किसिमको व्यवहार, गतिविधि र कार्यशैलीले राजनीतिज्ञहरुको विश्वास प्रणालीमा परिवर्तन आउँछ। उनीहरुले तपाईं कुनैपनि हदसम्म जान तयार रहेको, तपाईंबाट निरन्तर धेरै फाइदा लिन सकिने कुरामा ढुक्क रहन्छन् र तपाईंको प्रस्तावलाई बिना हिच्किचाहट स्वीकार गरिदिन्छन्। यसरी तपाईंले राजनीतिज्ञहरुबारे बनाएको सोच, धारणा र भविष्यवाणी पूर्ण रुपमा सही पुष्टि हुन जान्छ।
हानिकारक आत्म–पूर्ति भविष्यवाणीबाट बच्ने उपायहरू
नकारात्मक सोच, धारणा र विश्वासहरुबाट सुरु भएको आत्म-पूर्ति भविष्यवाणी हानिकारक नै हुनेगर्छ। सोही हानिकारक आत्म-पूर्ति भविष्यवाणीबाट बच्न निम्नानुसारका सशक्त विधिहरू अवलम्बन गर्न सकिन्छ:
एक, सचेत रहने। आफ्ना सकारात्मक एवं नकारात्मक सोच, धारणा र विश्वासहरुबाट सुरु हुने आत्म-पूर्ति भविष्यवाणीको कार्यविधिबारे सचेत रहनुहोस्। अरुबारे राखिने सकारात्मक एवं नकारात्मक सोच, धारणा र विश्वासहरुबाट सुरु हुने आत्म-पूर्ति भविष्यवाणीको कार्यविधिबारे पनि उत्तिकै सचेत रहनुहोस्। यति मात्र होइन, आत्म-पूर्ति भविष्यवाणीको कार्यविधि कसरी आफू अनुकूल बनाउन सकिन्छ, त्यसबारे पनि सचेत रहनुहोस्।
दुई, प्रश्न गर्ने। आफूबारे मनमा उत्पन्न हुने हरेक सोच, धारणा र विश्वासहरु माथि ठाडो प्रश्न गर्नोस्। ती सोच, धारणा र विश्वासहरु सही या गलत छन् भन्नेबारे पूर्ण यकिन गर्नोस्। जुन कुनै सोच, धारणा र विश्वासहरु आँखा चिम्लिएर स्वीकार गर्नुभन्दा केही चरणको परीक्षण तथा गहन विश्लेषण गरेपछि मात्र सो सोच, धारणा र विश्वासहरु आत्मसात गर्नोस्। यस अतिरिक्त, अरुबारे राखिने या अरुले आफूबारे राख्ने अनेकन् सोच, धारणा र विश्वासहरु माथि पनि कडा प्रश्न गर्दै आवश्यकता अनुसार ती यावत् सोच, धारणा र विश्वासहरु सेन्सर (जाँच्ने र काँटछाँट) गर्नोस्।
तीन, सकारात्मक रहने। आफू बारे सधैँ सकारात्मक सोच र धारणा राख्नोस्। जस्तोसुकै परिस्थितिमा रहँदा पनि सकेसम्म सकारात्मक विश्वास प्रणाली विकास गर्नोस्। र, सोही अनुसार अघि बढ्नुहोस्। त्यसैगरी अरुबारे पनि सधैँ सकारात्मक सोच र धारणा राख्नोस्। यस्तोमा उनीहरुले तपाईंप्रति जे-जस्तो सोच र धारणा राखे पनि अविचलित रहनोस्। उनीहरुप्रति हरदम सकारात्मक रहने प्रयत्न गर्नोस्। उनीहरुमा सामान्य कमीकमजोरीहरु र नकारात्मक पक्षहरु देखिँदा नकारात्मक सोच र धारणा राख्न हतारिनुको सट्टा उनीहरुको वास्तविक अपेक्षा, आवश्यकता र विश्वास प्रणाली बुझेर व्यवहार गर्नोस्।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।