कुराको चुरो आमाबुवा, गुरुजन, सासुससुरा, ठुलाबडा र बुढापाका आदिको आदर-सत्कारको होइन । बैठक कोठामा बेथितिका दरले झुण्ड्याइएका कदर-पत्र, सम्मान-पत्र, अभिनन्दन-पत्र, प्रशस्तिपत्र आदिको कुरा हो । पहिरो सदाबहार एउटै स्थानमा रुचि देखाए जसरी पुरस्कारले पनि एउटै व्यक्तिको थाप्लो मन पराएको देखिन्छ । सम्मान जो सुकैले पाओस् ऊ आफ्ना कार्यमा आत्म-सम्मानित हुनै पर्छ । नानाथरिका टीकाटिप्पणी गरी हिँड्ने बेकम्मालाई “समाज सेवा पट्ट” ले सम्मान गरिन्छ । भ्रष्टाचारीलाई “राष्ट्रसेवक पदक वा विभूषण”ले विभूषित गरिन्छ । यस्तै प्रकारका सम्मान वा पुरस्कारले बजार जल्दोबल्दो छ ।
निजामती कर्मचारीले सर्वोत्कृष्ट पुरस्कार पाएपछि भ्रष्टाचारमा मुछिएका वा श्रीमती र सालीलाई लोक सेवा पास गराएका नजिर ताजै छन् । राज्यले दिने अलङ्कार पदक ज्यानमाराले पाएका छन् । सम्मानको सर्वदलीय सर्वपक्षीय बाँडफाँड पहिलादेखिको चलिआएकै छ । कुनै संघसंस्थामा काम भन्दा दामको आधारमा सम्मान-पत्र थमाइन्छ । सम्मानमा अभिमान हुनु पर्छ । प्रतिस्पर्धाबाट निस्कलङ्कित एवं निर्विवादित मेधावी पात्र पुरस्कारको हकदार हुन्छ । जसको अभाव नेपालीसंस्कृतिमा छ ।
आजभोलि इज्जत गुमाएकाले इज्जत कमाउन पुरस्कार आर्जन गर्छन् । त्यस्ता खाले प्रमाण-पत्रबेइज्जतिका लाइसेन्स बनेका छन् । अवमान, सम्मान, पुरस्कार दिन्छौ भनेर बायोडाटा माग्दा अनाहक बेइज्जती अनुभूति हुन्छ । व्यक्तिको प्रतिभा र अद्वितीय क्षमतादेखाउन अनिकाल परेको मुलुकमा विभुतिमान् भएर क्यार्नु ! कस्का प्रमाणपत्रले असाधारण व्यक्तित्वको परिचय दिन्छ र खोस्टो भित्र्याउनु ।प्रदायक संस्था र मूल्याङ्कन कर्ताको समेत औकात देखाउने प्रमाणपत्रको मौसम चरमोत्कर्षमा छ । पुरस्कार्य नगरी पुरस्कृत गर्ने संस्थाले पनि किन इनाम दिए भनेर सामाजिकीकरण गर्न सक्दैनन् । हग्ने भन्दा देख्नेलाई लाज भएका संस्था नुन खाएका कुखुराझैँ अबोला हुन्छन् ।
पुरस्कार, दान, फल, इनाम, उपहार, सम्मान, पूजा, अग्रगामी कार्य आदिले व्यक्तिले प्रतियोगितामा विजेता भयो वा राम्रो प्रदर्शन गर्यो भन्ने हुन्छ । पुरस्कारले व्यक्तिको आत्मसम्मान बढाउँछ । ख्याति बढाउँछ । व्यक्तिमा रहेको अहङ्कारलाई सन्तुष्टिमा परिणत गर्न विवश हुन्छ । उच्च अनुशासनको भावना देखाउँछ । पुरस्कार दिनु भनेको हौसला दिएर कार्य क्षमता बढाउनु हो । व्यवहारलाई सार्वजनिक गराउनु हो । स्वर्ण, रजत र कांस्य पदकसँगै कर्मको फल वा परिश्रमको स्तरलाई जनाउँछ । एउटा मान्छेमा भएको असाधारण शक्ति वा दर्जालाई उसले पाएको पदक वा पुरस्कारले निर्धारण गर्दछ ।
अहिले पुरस्कार वा सम्मान वा अभिनन्दन आदि सर्वाधिक चलाइएको विधा छ । कुन नेतालाई कति किलोग्रामको माला पहिर्याइयो भन्ने फेसन चलिरहेको छ । क्विन्टल माला चढाएर सम्मान गरेको हो वा गधा बनाएको कसले लेखाजोखा गर्ने ? नेताका भरौटे अह्रौटे तथाकथित नेतेसम्मानले वा अभिनन्दनले वा सेवा सत्कारले स-साना सम्मानित हुनेवालाहरू टुहुरा देखिन्छन् । कसको माला ठूलो, कसको प्रमाणपत्र कसले दियो, कसले कति धनराशी पायो भन्ने विषय ठूलो बन्दै गएको छ । सम्मान थापेर अबीर दलेर राता गाला बनाउने प्रथा जोरसोरले चलिरहेको छ । सम्मानको अर्थ प्रशंसा गर्नु हो । आदर गर्नु हो । राम्रो व्यवहार गर्नु हो । आदरभाव गर्नु हो । अर्काको अस्तित्व स्वीकार गर्नु हो । घरमा वा सार्वजनिक स्थानमा वा समारोहमा इज्जत दिनु हो । सम्मानले को कतिको इज्जतदार रैछ भनेर पहिचान गराउँछ । सम्मान लिनेले सम्मान दिनसक्नु पर्छ । सम्मानको मतलब हो कि सम्मानितको आनीबानी र स्वरूपलाई स्वीकार गर्नु । सम्मानले विश्वास जागृत गराउँछ । विश्वास भएपछि सुरक्षा हुन्छ । सुरक्षाले भलाइ र असल भावना उत्पन्न गराउँछ । सम्मानले कुपात्र पनि स्वाभाविक रूपमा पात्र बन्छन् । सम्मान दिने-लिने दुवै एकापसमा सम्पन्न हुन्छन् । जति अर्काको सम्मान गर्न सक्यो उत्तिकै अधिक सम्पन्न भइन्छ । उसो त ज्ञानी मान्छेले सबैको सम्मान गर्छन् । कुमार्गी शासक भएका देशमा गौरव र कीर्तिमानीले सम्मान पाउने कुरै भएन मनुवा ।
आजभोलि सम्मान भन्यो कि सामान दिने संस्कार छ । राष्ट्रले गर्ने सम्मानका कुरा गर्दा नागरिकसम्मान, सैन्यसम्मान, शान्तिसम्मान, चिकित्सासम्मान, नेतृत्वसम्मान, साहित्यसम्मान, खेलसम्मान, पर्यटनसम्मान, उद्यमी पदक, साहसिकसम्मान, सिनेमासम्मान, कला सम्मान, संस्कृति सम्मान आदि पर्छन् । सम्मान गर्दा मेडल, राशी, खादा, माला, सल (खास्टो), फ्रेम सहित प्रमाणपत्र आदि दिइन्छ । सायद गणतान्त्रिक देशमा असाध्यै समृद्धि भित्रिएर ओढ्ने-विछाउने र टाङ्ने दिइन्छ क्यारे ! इज्जत दिनेर लिने कार्य नयाँनौलो भने होइन । नेपाली संस्कृतिले सिकाएकै संस्कार हो । सम्मान गर्ने चलन आजकल चरम सीमामा छ । भनौं न बाढी चलेको छ । प्रधानमन्त्री, मन्त्रीबाट सम्मान लिनुको मजा बेग्लै छ । बेफुर्सदिला प्रधानमन्त्री मौकामा चौका हानेर दिनमा दुईचार वटा सभासमारोह भ्याउँछन् । देशको कार्यकारीसँग फुर्सदसँग फराकिलो भएर फोटोसोटो खिच्नु र मोबाइल नम्बर मागेर भलाकुसारीको मजा बेग्लै छ । वडावडामा संघीय सरकारको प्रमुखको उपस्थितिमा आयोजक र सम्मानितको खुट्टा भुइँमा हुने कुरै भएन ।
सम्मान चानचुने कुरो होइन । सम्मानले पेट भरिने पनि होइन । धेरैलाई सम्मानको लत हुन्छ । कयौं सम्मानका बारेमा अनभिज्ञ हुन्छन् ।कसैमा अकुत सम्मान कमाउने रहर हुन्छ । सम्मानका लागि जे पनि गर्न तम्तयार हुन्छन् । सम्मानको समय र पहर कुरी बस्छन् । रहरले मात्र सम्मान पाइँदैन । सम्मान दिने संघसंस्थामा दौडधुप र आर्थिक, भौतिक र मानवीय पहुँच हुनै पर्छ । उस्तै निस्तै सम्मान गणतन्त्रमा कहाँ पाइनु । सम्मान पाउनु भनेको हैसियत बढाउनु हो । हैसियत भनेको दुईचार मान्छेका अगाडि चर्चा पाउनु हो । स्याबासी पाउनु हो । बधाईको ढेर लगाउनु हो । पिठ्युँमा धाप छाप लगाउनु हो । खादासादा वा सल ओढेर हातमा प्रमाणपत्र थाम्ने सौभाग्य प्राप्त गर्नु हो । एकपटक सम्मान थाप्नु भनेको सदाबहार सम्मान पाइरहनु हो । सम्मान कसरी थाप्ने भन्ने नित्यकर्म बन्दै जान्छ । वर्कीफर्की सम्मान आइरहन्छ ।
गरिबीमा आटा गिला । चानचुने मान्छेले सम्मान थाप्नु अभिशाप हुन्छ । कसैकोमा प्रमाणपत्र टाङ्ने बैठक कोठा हुँदैन । सुत्ने ठाउँ नभएका दरिद्रमानले सम्मान किन थाप्नु । त्यसैले संघ संस्थाले सम्मान थमाउन गतिला मान्छेको खोजी गर्छन् । आफूले दिएको सम्मान टलक्क टल्काएर यामानको बैठक कोठामा टाङेर भद्र भलादमीलाई देखाउन सकोस् भन्ने मनोकामना राख्छन् । सम्मानमा संस्था त छँदै छ दुईचार थान मनुवाको दस्तखत हुन्छ । तिनको पनि नाम रोशन हुनु पर्छ । नाम चल्नु भनेको दाम चल्नु हो । जे छ दाममा छ । जमाना दामको छ । ठूलाभनिएका उद्योगी, राजनेता, शिक्षक, सामजसेवी, साहित्यकार आदिलाई सम्मानचिन्ह वा मायाको चिन्हप्रदान गर्नु चानचुने होइन । सम्मानसँगै ठुलाबडालाई बटखर्चे खामबन्दी हस्तान्तरणले सम्झना अमिट रहन्छ ।
आजभोलि गाउँले सरकार पनि सम्मान हस्तान्तरण युद्धस्तरमा जुटेको छ । शहराँ मात्र सम्मानको खेती हुनेमा सिंहदरबारको बीउ स्थानीय र प्रदेशमा उम्रेको छ । सम्मानको खेती गाउँले सरकारमा कोभीड-१९ जस्तै फस्टाएको छ । लोकतन्त्रको स्वाद गाउँले वातावरणमा चाख्न पाइन्छ । नेपाली काइते काइदा जति ठग्यो उति फाइदा ! आठसय तीस स्थानीय सरकारले बाँडेका सम्मानपत्रको लेखाजोखा कसले गरोस् । गाउँमा अहिले पदक, प्रमाणपत्र, सम्मानपत्र आदिको खेतीपाती बडो मजाले चलिरहेको छ । जीवनभर एउटा प्रमाणपत्र घरको भित्तामा टाङ्न नपाउनु दुर्भाग्य सम्झनेको संख्या बढ्दो छ ।
समाजका कथित गन्यमान्ये सम्माननीय, माननीय, ढोगनीय, पूजनीय आदिबाट हस्ताक्षरित प्रमाणपत्र नभएको घर कमै देखिन्छ । सम्मानपत्र आधुनिक युगको भागवद्गीता बनेको छ । त्यसमा लेखिएका शब्द शब्दले मनमस्तिष्क र हृदय गद्गद् होइन भतभती पोल्छ । सम्मानले भद्रभालदमीमा दर्ज हुन्छ । हिलोमा माछाका भुरा खोज्दै गरेको बगुल्ला जस्तै उपमा दिइन्छ । संघसंस्थाले छानेर सम्मान योग्य बनाएको मान्छे सम्मानको जालमा फसेर बकामे हुन्छ । माखो नमार्ने मान्छे हात्ती मार्न तम्सिन्छ । नश्लीय बहादुरलाई देख्ने जतिले बधाई नभनेर सुख पाइन्छ । सम्मानमा ठोकिएका ताली र खादाले बेरिएको घाँटी स्वयं दिने र लिनेका लागि गलपासो बन्छ । व्यवस्थापकको प्रयासले छापामा नाम छापिंदा कुन विधामा सम्मान पायो भन्ने विषय सम्मानित सम्राटको गर्भमै हुन्छ ।
सम्मानका लागि काम भन्दा दाम-कामयाबी हुन्छ । कहिलेकाहीँ दाम भन्दा पद उँचो हुन्छ । अग्रिम किस्तामा सम्मान दिलाउन प्रेरणा दिन्छ । कामै नगरी सम्मान पाउनु ठूलो बहादुरी हो । मरिमेटी काम गर्नेले सम्मान पाउनै पर्छ भन्ने छैन । साहित्यकार हुन् किताबै लेख्या हुनु पर्छ भन्ने छैन । समाज सेवीले समाजसेवा गर्नै पर्छ भन्ने छैन । सम्मान, पुरस्कार, अभिनन्दन यावत कुरा गरेकैले पाउनु पर्छ भन्ने काइदा कानुन छैन । अमुकले किन पायो भनेर मुद्दामामिला गर्लान् भन्ने चिन्ता हुँदैन । मैले किन पाइन् भनेर हकदाबी गर्ने प्रचलन छैन । सम्मान एउटा यस्तो विधा हो जसले जसरी पाओस् लाजकाजले बधाई दिनै पर्छ । प्रापकको गरिमा महिमा प्रदायकले एकपटक मञ्चमा भट्याउँछन् । अप्रकाशित कवि, भावी समाज सेवी, झोले उद्योगी, कथित भूमिगत नेता, अकुते कर्मचारी आदिलाई देशको कार्यकारीबाट सम्मानित गर्दा कसले औँला उठाउला हगि ।
देशका ख्यातिप्राप्त भन्दा कुख्यातिले सम्मान पाउनुको मजा बेग्लै हुन्छ । उसले समाजमा एकैपटक उच्च स्थान पाउँछ । जसरी भूमिगत राजनीतिबाट आएकाहरू एकैपटक मन्त्रीसन्त्री हुन्छन् । अब्बल भन्दा टपरटुय्ये साहित्यकार सोमरस र कुखुराको साँप्रो चपाउँदाको लतमा पुरस्कार हात पार्छ । नेताको फेटा बाँधिदा ऊ सुरक्षित हुन्छ । उसका हावादारी सपना भावी साहित्य बन्ने गरी बुकिङ हुन्छन् । सम्भावनामा विश्वास फल्छ । उधारो कृतिका भरमा कयौं सम्मानधारी देशाँ गरिखाने भएका छन् । ठूलाबडामा गनिएका छन् आदरभाव पाएका छन् । चलनचल्तीमा चल्छन् । समस्याको निराकरण सम्मान र पुरस्कारको राशिले फत्ते हुन्छ । धन सहित प्रमाणपत्र पाउनु चानचुने कुरो होइन ।
फुर्तीले सुर्तीमलुवा पनि सम्मान योग्य हुन्छन् । जुवाको खालमा कसले जित्छ भनेर ढुकुर जस्तै ढुक्ने कुरुवा र नेताको पछिपछि लाग्दा महान् त्यागी र भूमिगतकादेखि जोडिएको मानिने पनि कुनै दिन सुविधा सम्पन्न गाडीवाल झण्डावाल हुन्छ । चाकरी चाप्लुसीको डिग्री अनुसार ऊ जुनसुकै सम्मानको हकदार हुन्छ ।
मान्छेको समय र भाग्यका बारेमा भन्न गाह्रै छ । पत्याउनु हुन्न भने संसद्को सभामुख, देशको राष्ट्रपति र राष्ट्रिय सभाको अध्यक्षको निर्वाचनलाई हेर्नुस् त ! क्या कमालको गठबन्धन बनेको छ । माउलीझैँ नेकपा माओवादी केन्द्रले रङ्ग फेर्दा नेपाली काँग्रेस र नेकपा एमालेलाई चिट्टा पर्यो । अपत्यारिलो, अशोभनीय घटना मानेर क्यार्नु हुन्छ महोदय भाग्यको खेला हो क्या । भाग्यको कदर अहिले कुर्सीवाल कम्युनिस्टले पनि गर्दैछन् । कहिले धोती, कहिले टोपी, कहिले दौरासुरुवाल, कहिले गेरुवा आदिमा बेरिएर नङ्गानाचै मैदान भएका छन् । मालिकको बफादारीमा हाजिर छन् । बिचरा फकिट्टा समर्थक मतदाता भने घरगृहस्थी चौपट पार्दै जिन्दावादको उद्यममा छन् । देश बनाउने नेता र संस्था बर्खे भ्यागुताझैँ ट्वार ट्वार गर्दै हिँड्छन् । सम्मान भनेको वैचारिक कुराले प्रभावित हुन्छ । जहाँ नेता त्यहाँ विचार । सम्मानित व्यक्तित्व कुन दलको, वर्गको, कुन गुटको, कुन भूगोलको, महिला वा पुरुष आदि विविध पक्षमा सोचविचार गरी सम्मानित गरिन्छ । सम्मान कसको हातबाट पायो भन्ने विषय उतिकै महत्त्वपूर्ण छ । भूमिहीन, सुकुम्वासी, गरीबगुर्दाले सम्मान दिने लिने विषय असम्भव हुन्छ । गरीबलाई सम्मान हात्ती उपहार उस्तो उस्तै हुन्छ । न हात्ती बाँध्ने हात्तीसार हुन्छ न प्रमाणपत्र टाङ्ने भित्ता ।
मतको सम्मान पाएका नेताले आफ्नो अवस्था फटसे बदल्छन् । फाटेका चप्पल नपाउनेको जीवनमतदानले मतदाताले बदली दिन्छन् । जनताप्रति सात पुस्ता धन्य हुन्छन् नेताहरू । भूमिगत नेताको जीवन कुर्सीले क्षणभरमा जादुझैँ कायापटल गर्दिन्छ । सामाजिक जीवन उथलपुथल गर्छ । दुई कौडीको भन्नेहरू साष्टाङ्ग दण्डवत गर्छन् । सर्वहारा श्रममारा बन्छ । कथित कम्युनिस्ट बबुरो पुँजीपति बन्छ । सुकिलोमुकिलो दलाल बन्छ । काण्डैकाण्डको प्रकाण्ड बन्छ । नाफा र ब्याजको जिन्दगी सुखशयलले धान्छ । गाउँले जीवन सहर थपिन्छ । गाँस-वास खोज्ने भिखारी जीवन दातामा परिणत हुन्छ । पितापुर्खाको सम्पत्ति युद्धमा लगाए भन्नेहरू जमिनदार बन्छन् । राज्यको ढुकुटीमा पैतृक रजाइँ गर्छ । काममा कमिसनको आँखा र नगदनारायणमा हात हुन्छ । यसर्थ सम्मान वा पुरस्कार अनेकन् तौरतरिकाले लिन दिन सकिन्छ ।
समय परिस्थितिअनुसार आफ्नो जगन्नाथ गर्न सक्नु पर्छ । सदाबहार खाँटी सर्वहारा भएर काम चल्दैन । बाँदरको हातमा नरिवल, भैयाको चालमा चल्ने, अम्रिकाको इसारामा एमसीसी पास गराउने चातुर्यता हुनै पर्छ । अनि पो सम्मानका खातिर कुर्सीमा मिसन चौरासी मिसिन्छ । राजनीति भनेको आए आँप गए झटारो त हो नि ! सर्वहाराले ढुकुटीलाई नोबेल पुरस्कार बनाउँछन् । पुरस्कारको रकम-कलम कर योग्य हुँदैन । भ्रष्टाचार योग्य हुँदैन । हिनामिना योग्य हुँदैन । कसैले आँखा तारेर हेर्न पाउँदैन । सम्मान पतझर र खहरे खोलाझैँ आउँछ जान्छ ।
नेताजीको सवारी भएपछि दुईचार थान पुरस्कारको मेलोमेसो चल्छ । पिउनेलाई बहाना चाहिएझैँ पुरस्कार वा सम्मान अहिले संघीयताको अभिन्न अङ्ग बन्दै गएको छ । संघीय गणतन्त्र बिसपच्चीस वर्ष बाँचिरहने हो भने कोही कसैले सम्मानबेगरको जीवन जिउनु पर्ने छैन । प्रत्येक समारोहमा मन्त्रीवानेता वा समाजसेवीको करकमलबाट दीपप्रज्वलन हुँदै सम्मानित व्यक्तिको काँधमा सल ओढाउँदै प्रमाणपत्र थमाउने अभ्यास चलिरहने छ । पहाडियाले दौरासुरुवाल, मधेशीले कुर्ताधोती, हिमाली बख्खु, चुङ्बाला, लुंगीचोली आदिमा सजिएर सम्मान समारोह शोभामय भै रहने छ । सम्मानको खेती संघीयताको अभूतपूर्व उपलब्धि हुनेमा शंका छैन ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।