दर्जनौं गमला सानो छतमा
सजिएका चम्पा, चमेली
सूर्यमुखी, चन्द्रमुखी, सयपत्री
गोदावरी, गुलाब, लाहुरे आदि फूलहरू
आयातित ड्रागन फ्रुटसमेत छन्‌
विष्णुको प्रतीक तुलसी यथावत् छ
मुकाबला बिनाका सुकिलामुकिला फूलहरू
शहरिया भै आकासिँदै फुल्छन् उग्छन्
कौसीमा रमाएको फूलबारी
आत्मनिर्भरताको घुर्की धाक लगाउँछ
पराधीनताभित्र स्वावलम्बनको कुरा गर्छ
स्वप्नदर्शी भ्रमित थरथरिका गमलेहरू
अनौठो विचित्र सपनाले रमाउँछन्‌
चर्को घामको जलाभावसँगै ओइलाउँदा
मुर्झिदा जीवनको रहस्य बुझ्छन्‌ भुल्छन्‌
कस्मेटिक बनेका फूलवस्तु
शहरका छत छतमा सजिएका छन्‌
बुढी स्त्रीले चाउरिएका मुजाखुजा
ब्युटीपार्लर धाई धाई टालेर सुन्दरी भए जसरी
सुन्दरताको दौडमा भौँतारिएका गमलाहरू
राष्ट्रिय चाडबाडमा टीकाराम काजीले
औपचारिक पोशाक लगाएझैँ ठाँटिन्छन्‌
सुमधुर स्वाधीनताको राग गाउँछन्‌
फुल्न छाडेपछि उखेलिने अखजीहरू
फोहरमा मिल्काउन धौ धौ हुन्छन्‌
चुचुरोमा चुरीफुरी लगाउनेहरू
खान्दानी खेतबारीमा उम्रेको हौस गर्छन्‌
पराइको पाखुरी बलमा जलमल खानेहरू
बैँशमा उचालिँदै फुरफुराहट गर्छन्‌ ।