बलियाले निर्धो कब्जा गर्ने
ठोक्ने मार्ने वृति चलेकै छ
आमादी आमिष खाएकै छ
मन, वचन, कर्मले व्याधाहरू
शक्ति उन्मादले चलमलाउँछन्
शक्ति केन्द्र रिजर्भ छ
अनुभवी अह्रौटे प्याधाहरू
स्वादिलो सिकार गर्दैछन्
स्वार्थवश जीवन हरण गर्दै
विस्तारै जल, थल, नभमा
प्रभुत्व कायम गर्दैछन्
सिकारी राज निश्चित छ
देवराज होउन् वा धनहीन
चाहना सिकारकै छ
सिंह, बाघ, चितुवा, चितुवा
स्याल, फ्याउरा, बाज भन्नु मात्र
चित्कारी मनुवाहरू
अघोर दुष्ट सिकारी भएका छन्
लाइसेन्स बिनाका नृपतिहरू
आततयी बन्दैछन्
अजङ्गका रक्तपिपासु नृशंसहरू
नृशंसता चाँजोपाँजो रच्दैछन्
तीव्र गति आँखा ठम्याई दृष्टि कमाल छ
साइलेन्ट किलर रीति खोज्या खोज्यै छन्
खोज्ने, रोज्ने, ताक्ने, नास्ने क्रम जारी छ
अचेल भिक्षाखोर भिखारी मालिक छन्
सिकारी विस्तारै भिखारी छन्
पालो पैँचो चलेको चलन जस्तो परिदृश्य
पहिलेका सिकार अहिले सिकारी छन्
पहिलेका सिकारी अहिले शिकार छन्
गोला, बारुद, वाण, बन्दुक, गोला
घरेलु हतियार देखाइ तर्साइ बर्साइ खानेहरू
बाजी मार्न नसकिनेमा चिन्तित छन्
हाइब्रिड बिऊझैँ सिकारी ह्वात्तै छन्
बेकारी सिकारी जुगाडे जुवाडे छन्
झिङ्गे दाउ मार्छन्
अर्काको काँधमा बन्दुक पड्काउँछन्
आक्रान्त कायल हुन्छन्
क्लान्त थकित बुच्चा दाँतेहरू
ङिच्च खकार्दै भयुन देखिन्छन्
लावालश्कर गन्हाएका दाँत उप्काउँछन्
आधुनिकतासँगै सिकारीहरू
गुणस्तर खस्केको भान गर्छन्
हिजोका मादक अचेल साधक छन्
साधकहरू बाधक छन्
बगलमा छुरा लुकाएर
अहिंसा परमो धर्म भन्छन्
अजब गजबका सिकारीहरू
नवसिखुवा रङ्क सिकारीहरू
अब्बल राजशाहीको अभ्यासमा
चटारोमा जमेका छन्
र, पनि छायाँलाई भूत सम्झेर
अँध्यारा कुना छाम्दै लुक्छन्
स्वाद पल्केका सिकारीहरू
पालो कुर्दै गरेका हुइँय्याहरू
माथि चढ्न जोर लगाउँदैछन्
कहीँ खस्छ कि भन्दै
हनुमन्ते हुकुमे फक्कडहरू
हुकुमत पर्खेका छन् ।
महालक्ष्मी-०१,
इमाडोल, ललितपुर
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।