सायद अब प्रश्न उठ्दैन होला
कृषि व्यावसायीकरणका कुरा
बजार दलालीकरणका कुरा
प्रविधि प्राविधिक प्राविधिज्ञका कुरा
बीउ बिजन उन्नत नश्लका कुरा
रोगव्याधि अनि खडेरीका कुरा
वाह कृषि तथा पशुपन्छी मन्त्रालय
सक्षम नेतृत्वलाई साधुवाद छ
उत्पादन उत्पादकत्वको बधाई छ
आयात प्रतिस्थापनको अभिवादन छ
मन्त्रीको नामै “ज्ञान” काफी छ
ज्ञानको ध्यान किसानी हक हितमा छ
यथोचित मूल्यले बजार सुगम छ
झोले मोले अनुदान दानी मानी छ
किसानमैत्री सरकार जादुमयी छ
युवामा रोजगारी बाँझो खेतमा हरियाली
क्या बात ! गाउँ गाउँमा खुशियाली
मन्त्रीको दृढ इच्छाशक्ति गजबको छ
किसानको हातहातमा पेन्सन छ
प्रत्येक संकाय क्रान्तिमय छ
सिद्धान्तको शुभारम्भ चितवनदेखि छ
कालोपत्रे सडक हेर सेताम्य छ
अलकत्राको सट्टा दूधको व्यापार छ
अब दूधले सडक पक्की बनाउनु छ
अद्‌भूत आश्चर्य जे हुन्छ यहीँ हुन्छ
संगत गुणका फल भन्छन्‌ क्या रे
खेतबारीमा दूधे सिंचाई हुने छ
धुने नुहाउने धुलाइने दुग्ध हुने छ
भान्सा भान्सामा दूधेपाइप जडिने छ
उहिले झैँ ग्यासपाइप भान्सा भान्सामा
खोलानालामा पानी होइन दूध बग्ने छ
दूधगंगामा दूधजहाज चल्ने छ
क्या मजा ! नेपालीका भुतै कमारा
पानी जहाज चढ्ने कि दुधजहाज
छानी छानी चढ्न पाइने छ
बल्ल सर्वहाराको सरकार भए जस्तो
बल्ल कम्युनिष्टले कुर्सी पाए जस्तो
अन्न अन्नादिले सुख समृद्धि ओइरिदै छ
कामधेनु झैँ श्वेत क्रान्तिले सलल्ल छ
संसारमा दूधले सडक धुने पहिलो देश
नेपाल भन्दा सुन्दा कति भाग्यमानी
दूधका थोपा थोपामा समाजवाद पोखिदै छ
श्रमको सम्मानमा सर्वहारा सरकार छ
गाँणे सरकारको इतिहास लेखिदै छ
एक्काइसौं शताब्दीको चमत्कार
दूधको बहार सडकको आहार
मिसन चौरासीको नारा
मिलीजुली बसौं सारा
संसारका किसान एक हौं
किसान एकता जिन्दावाद
श्वेत क्रान्ति जिन्दावाद !
किसान राज जिन्दावाद !

• महालक्ष्मी-०१, इमाडोल, ललितपुर