निरज दाहाल

 

कविताले सबै कुरालाई सबैतिरबाट भन्न मिल्छ । बिम्ब कहाँ र कसरी खेलाउने वा प्रयोग गर्ने भन्ने कुराको ज्ञान रह्यो भने कविताको आयु बढ्न सक्छ । “कवितामा दूरदृष्टि देख्न सक्नेले बिम्बको प्रयोगमा सचेत रहन्छन् ।”, भन्ने जमात पनि यहाँ नरहेको भने होइन ।
कवि तुलसी दिवस यसै पनि नेपाली कविताको फाँटमा कवितामाथि नै बोल्ने मान्छे हुन् । कवितामा उनको धारणा जहिल्यै प्रष्ट रहन्छ । उनीमाथि बोल्दै सञ्चारकर्मी दिलभूषण पाठक भन्छन्– “तुलसी दिवस नेपाली साहित्यमा सुन्दर र सरल भाषा प्रयोग गरी मीठो शैलीमा निर्भीक र स्पष्टताका साथ कविता अभिव्यक्त गर्ने विशिष्ट खुबी भएको कवि हुन् ।”

तुलसी दिवस

धनकुटामा जन्मेका तुलसी दिवसको वास्तविक नाम तुलसीप्रसाद जोशी हो । उनले तुलसीप्रसाद जोशी सामान्य नाम लागेकाले नै आफैँ तुलसी दिवस उपनाम राखेका हुन् । तुलसी रोप्ने छेक पारेर जन्मेका भएकाले उनी तुलसी बने ।

हुन त तुलसी दिवस जिन्दगीलाई बृहत रूपमा व्याख्या गर्दछन् । उनी भोलि निश्चित छैन भन्ने पक्षमा सदैव उभिएका कवि हुन् ।
जिन्दगीलाई हरेक तवरमा व्याख्या गर्न सक्ने भएकाले उनले जिन्दगीलाई लुगासँग तुलना गरेका छन् । जिन्दगी र लुगा उनको चर्चित कविता हो । उनले यस कवितामा जिन्दगीलाई सहजै व्याख्या गरिदिएका छन् ।
आज हामी उनको जिन्दगी र लुगा शीर्षकको कविता प्रस्तुत गर्दछौँ ।

जिन्दगी र लुगा

जिन्दगी लुगा भए
फुकालेर झुन्डाइदिन हुन्थ्यो कोठाको किलामा
र एकछिन हेरिरहन हुन्थ्यो
आफू झुण्डिएको आफ्नै कोठाको किलामा ।

जिन्दगी लुगा भए मिलाएर बेला अनुसार
सिउनु र सिलाउनु हुन्थ्यो
नमिले उधारेर पूरै जिन्दगी
धागो निकाल्दै सियोले
कैँची लिई आफ्नै हातमा आफैले काट्नु र छाट्नु पनि हुन्थ्यो
या, सूचीकारकहाँ गएर जिन्दगी
केही समय
लुगाकै खातमा पट्टिइ निदाउनु पनि हुन्थ्यो
जिन्दगी लुगा भए फुकालेर झुण्ड्याउन हुन्थ्यो ।

जिन्दगी लुगा भए
बुट्टा मिलाएर रङ्गिनु र रङ्ग्याउनु हुन्थ्यो
ठाउँ ठाउँमा प्वाल परे पनि
टाल्नु र टाल्न लगाउनु हुन्थ्यो
नमिले पूरै टालेर जिन्दगी
टाल्दाटाल्दै पुरानो छोपेर
नयाँ लाउनु र लगाउनु पनि हुन्थ्यो ।
या, रफुकारकहाँ गएर जिन्दगी
केही समय फेरि जिन्दगीकै धागो निकालेर
मिल्दो रफु भर्नु र भराउनु पनि हुन्थ्यो ।
जिन्दगी लुगा भए फुकालेर झुण्ड्यानु हुन्थ्यो ।

जिन्दगी लुगा भए
मैलिएको बेला धुनु र धुलाउनु हुन्थ्यो
फुर्सद भए आफैँले
साबुन लगाएर जिन्दगी
बाल्टीमा सफा पानीले
सुकिलो पखाल्नु पनि हुन्थ्यो
या धोबीकहाँ गएर जिन्दगी
केही समय ढुङ्गे धाराको पानीले चोखिँदै
जाडो ढुङ्गैबाट पल्टिएर चउरमा
दिनभरी न्यानो घाम ताप्नु पनि हुन्थ्यो
या, डोरीमा झुण्डिएर चटकीजस्तै जिन्दगी
हावाले उल्टिनु र पल्टिनु पनि हुन्थ्यो ।

खजमजिएर धेरै खुम्चिए जिन्दगी
टेबुलमा राखेर पानी छर्कँदै
इस्त्री लाउनु र लगाउनु पनि हुन्थ्यो ।

सारै भए जिन्दगी
एक हप्ताको पूरै छुट्टी लिएर
ड्राइ किल्नमा गइ
फर्कनु र फर्काउनु पनि हुन्थ्यो
जिन्दगी लुगा भए फुकालेर झुण्ड्याउन हुन्थ्यो ।

जिन्दगी लुगा भए फुकालेर आफैँलाई केही समय
टाढाबाट हेर्नु र हेराउनु हुन्थ्यो
इनारमा हाम्फालेर त्यही जिन्दगी
गहिराइ आर्फैँले स्पर्श गर्नुहुन्थ्यो
या, सपनाको हुस्सु फाटेर जिन्दगी
विपनाको आकाश खुल्नु पनि हुन्थ्यो
वा टाउको छुट्टिएको सपनाको आफ्नो गिँडजस्तो
टोपीमा केही समय टाउको फुकाल्नु पनि हुन्थ्यो ।
नपुगे फेरि दौरा सुरुवालमा
हात खुट्टा र जीउ समेत फुकालेर
उन्मुक्त आफूलाई आफैँबाट छुट्याइ
विपनामा पनि दिउँसै
सपना देख्नु र देखाउनु पनि हुन्थ्यो ।

                                                              जिन्दगी लुगा भए फुकालेर झुण्ड्याउनु हुन्थ्यो

 

जिन्दगी लुगा भए फुकालेर झुण्ड्याउनु हुन्थ्यो
कोठाको किलामा
र एकछिन हेरिरहन हुन्थ्यो
आफू झुण्डिएको आफ्नै कोठाको किलामा
किला ठोकेर आफैँले आफ्नै कोठाको किलामा ।

(तुलसी दिवसका कविता)

तुलसी दिवस आफैँमा शक्तिशाली कवि र प्रस्तोता हुन् । कविताबारे कवि तुलसी दिवस भन्छन् – “कविता शब्दको प्रयोगबाट होइन शब्दले दिने सन्दर्भ, अर्थ र काव्यात्मक झट्काले गर्दा प्रस्ट हुन्छ ।”

कवि दिवसलाई कविताको बिजारोपण मस्तिष्कमा भए पनि कविताको जन्म हुने ठ्याक्कै मिति हुँदैन जस्तो लाग्छ । कविताको भ्रुण मस्तिष्कमा आए पनि यसले जन्म लिन समय लगाउने कुरामा उनी विश्वस्त छन् । एउटा कविता लेख्न कहिले वर्षौँ लाग्न सक्ने कुरामा उनी दृढ रहन्छन् ।

उनले आफ्नो कोटलाई हेरेपछि जिन्दगी सम्झे र प्रस्तुत कविताको भ्रुणको जन्म भएको थियो ।

 

लुगा र जिन्दगी ठ्याक्कै कहिले लेखिएको हो भन्ने कुरामा उनी आफ्नो मस्तिष्कमा पुरानो दस्ताबेज पल्टाउनुपर्ने बताउँछन् । तर प्रस्तुत कविता सर्वप्रथम भने नगेन्द्रराज शर्मा सम्पादक रहेको बेलाको अभिव्यक्ति पत्रिकामा वि. स. २०४० मा प्रकाशित भएको उनी बताउँछन् ।

लुगा र जिन्दगी शीर्षकको कविताबाट जिन्दगीलाई हरेक तवरमा रहेर व्याख्या गर्न सकिन्छ ।

उनी भन्छन् – “जिन्दगी बाँच्नुको अर्थ कुनै एक बिन्दुबाट अर्को बिन्दुमा पुगेर सकिनु होइन । बिन्दुको बीचमा क्रियाशील रहनुचाहिँ बाँच्नु हो ।”

कवि तुलसी दिवसले जीवनलाई आफ्नै तरिकाबाट व्याख्या गर्ने क्रममा यस कविताको जन्म भएको हो । एकदिन उनी बाहिरबाट आए, आफ्नो कोट झुण्ड्याएर एकछिन कोटलाई नै हेरिरहे । उनले आफ्नो कोटलाई हेरेपछि जिन्दगी सम्झे र प्रस्तुत कविताको भ्रुणको जन्म भएको थियो ।

नेपाली पाठकले वा साहित्यप्रेमी समस्तले नै यो कविता खोजिरहन्छन् । यो कविता किन लेखियो भन्ने चासो आम नेपाली पाठकको रहेको छ ।

‘सोचेभन्दा नसोचेको ज्यादा, भोगेको भन्दा नभोगेको ज्यादा, बुझेको भन्दा नबुझेको ज्यादा, देखेको भन्दा नदेखेको ज्यादा ।’

 

हुन त जीवन जस्तो पायो त्यस्तै नै हुन्छ तर कविले त्यो झुण्डिएको कोटमा जीवन देखे र लेखे कपडा जस्तै जीवन भए के के गर्न मिल्थ्यो होला भन्ने कुरा । स्पष्ट रूपमा ।

कविताबारे बोल्दै उनी भन्छन् – “कविताको व्याख्या र वकालत स्वयम् कविले गर्नुपर्छ । कविले नै आफ्नो कविताको वकालत गरेर स्पष्ट पार्ने प्रयत्न र कोसिस गर्नुपर्छ । कुन बेला, कहिले, कुन मुडमा मैले लेखेँ भनेर अनुत्तरदायी कुरा गर्ने अधिकार स्वयम् कविलाई छैन । हर कविले यो कविता यसकारण, यस्तो अवस्थामा, यो भन्नका निम्ति मैले यस्ता बिम्बहरूको संयोजन गरेर लेखेको हुँ भनेर सचेत जानकारी राख्नुपर्छ ।”

लुगा र जिन्दगी शीर्षक उनको आफ्नो कविता सङ्ग्रह तुलसी दिवशका कवितामा सङ्ग्रहित छ । जिन्दगीको बारे कविता लेख्ने दिवस जिन्दगीलाई ‘सोचेभन्दा नसोचेको ज्यादा, भोगेको भन्दा नभोगेको ज्यादा, बुझेको भन्दा नबुझेको ज्यादा, देखेको भन्दा नदेखेको ज्यादा ।’, भनेर परिभाषित गर्छन् ।