म हडबडमा थिएँ । एक्लैदोक्लै बिहानै मर्निङ वाकमा थिएँ । खासमा बिहानको आठ बजिसकेको थियो । दस बजे स्कुलको लागि तयार गर्नु पनि थियो । लोकमार्ग छेउमा हिँड्दाहिँड्दै निकै टाढा पुगेछु । बाटामा अधिकारी बाजेको घरमा पसेर हाई प्रेसरको जडीबुटी पनि लिनुथियो । फर्किन समय लाग्ने भएकाले पनि म हतारमा थिएँ ।

त्यतिकैमा एउटा फुच्चे गाडी आयो । मेरै नजिक भएर गयो । झ्यालबाट निस्केको ज्याकेटको सप्को मेरो टाउकैमा लाग्यो । म रिसले धुवाँधुवाँ भएँ । र; फर्केर हेरेको त गाडीका दुई कुनामा लेखिएको थियो- मुर्कुची-काठमाडौँ । अर्थोक केही पढ्न भ्याइन । गाडी हुइँकी गयो । बरु नजिकै केही वस्तु फ्यात्त खसेको आवाज आयो । आ, जेसुकै खसोस् भनेर सरासर तीनचार पाइला अघि बढाएँ ।

तुरुन्तै मन बदलियो । नजानिँदो गरेर पछाडि फर्केको ता ठूलो साइजको सामसुङ मोबाइल पो छ्याल्लब्याल्ल परेको अवस्था देखियो । टिप्न निहुरिनु पूर्व चारैतिर नजर दौडाएँ । नजिक कोही थिएनन् । हत्तपत्त टिपेँ र गाडी गएतिर हेरिरहेँ । गाडी कहाँ पुग्यो, पुग्यो । कोही पनि मेरो मोबाइल भन्दै दौडँदै आएन । गोजीमा खाँदखुँद पारेर केही नभएझैँ गरी कोठा फर्किएँ ।

कपडा बदलेँ । गृहलक्ष्मीको सहयोगले स्नादी गरेँ । र; चार गाँस तात्तातो चारो टिपेर स्कुलतिर दौडिएँ । प्रार्थना घण्टी भर्खरै लागेको रहेछ । दुई मिनेट ढिलो भएको भए आधा घण्टा गेटमै कुर्नुपर्थ्यो । म त सानो दर्जाको मास्टर, हेडसर ढिलो भए पनि प्रार्थना नसकीकन गेट खोलिन्थ्यो । नियम सानाठूलालाई एक समान थियो ।

यहाँका कार्यालय सहयोगीहरू रैथाने रहेछन् । धेरै वटा हेडसरलाई चलाएका मात्रै हैन धेरै वटा भोटा फटाएका पनि रहेछन् । त्यसैले एक पटक पाएको निर्देशन उनीहरूलाई राम्रो लागे कहिल्यै फेर्न चाहँदा रहेनछन् । कहिलेकाहीँ त लाग्छ- यिनीहरूको मन पनि मेसिनको बनिसकेको हुनुपर्छ । नत्र नव आगन्तुक आएर गेट ढकढकाएको १५ मिनेट बितिसक्दा पनि गेट खोलिदिँदैनन् । हामी जागिरेलाई नियमले पक्रनु स्वाभाविकै थियो । एक दिन आउने पाहुनालाई त विद्यालय सहज बनाइदिनुपर्छ नि ।

मनमा यस्तै कुरा आए । र; नियम भनेको नियमै हो भन्दै सेलाएर गएँ पनि । विद्यार्थीहरूसँग हुँदा घरपरिवारका सारा काम कुरा बिर्सने बानी छ । छुट्टीको घण्टी बजेपछि पो सम्झिएँ- बिहान लगाएको कपडामा भेटेको मोबाइल थियो । बाहिरबाट हेर्दा मोबाइल नयाँ देखिन्थ्यो । स्क्रिनको सिसा भर्खरै फुटेको थियो । सायद ज्याकेट समेट्दा उछिट्टिएर खसेको हुनुपर्छ ।

कसको हो कुन्नि ‘? कत्ति चोटि फोन आइसक्यो होला । अब कसरी फिर्ता गर्ने होला ? नानाभाँतीका कुरा खेलाउँदै कोठामा पुगेँ । कोठा ढकढकाएको त, हाई साउन्डमा मोबाइल बज्न सुरु भयो । पलङको एक कुनामा लक्ष्मी लडीबुडी गर्दै हाँसिरहेकी भेटिइन् । उनी खित्का छाडेर हाँस्दा माहौल आश्चर्यजनक भयो । हाँस्नुको कारण सोध्न चाहन्थेँ । उनी बोल्न नसकेर बजिरहेको मोबाइलतिर मात्रै सङ्केत गरिरहेकी थिइन् ।

० ० ० ०

मोबाइलमा सुनिँदै थियो-

मेरी पियारी काली,

मुलाई त आश छ, उहाँ तिमी सुखमै बसेकी हौली । तहाँ शान र मानमा कमी नहोला । म त तिमीले त्यागेको त्रिजुगा नदीधारमै माथि जाने दिन गन्दै बसेको छु । अचेल लामा भाइकाँ कम्पेटर चलाउन पनि सिकिर‘को छु । कम्पेटरमा फिलिम बजाउन र फुटो हेर्न भने जान्दछु । जेठो छोराले एउटा चैनिज मुबाइल किन्देको छ । त्यस्मै लेख्न र बोलेर रिकर्ड गर्न समेत आफैँले सिक्तै छु ।

जोवानीमा त घरको काम गरिएन त्यो ता तिमीलाई पनि थाहै छ । अइले सात दशक उमेर खा‘को बुढो कायाले मर्ने बेलामा के नै काम गर्नु र ? जानेको पनि छइन । मुबाइलमा कविता, गीद, गजल र लोकगीद लेखिबसेको छु । एकान्त भेट्यो कि हरदम तिमीलाई नै सम्झन्छु ।

दिनगन्ती गर्दा तिमी पनि मुलाई सदाको लागि छाडेर गा‘को तीन दशक लागेछ । यस बिचमा त्रिजुगामा धेरै पानी बगेर गयो । मुइले पनि धामीझाँक्री गर्दै हिँड्ने काम कम गरेँ । अब मान्छेहेरु झारफुकको काममा कम चासो दिन्छन् कि क्या हो । मुलाई उत्तिसारो मान मनितो गर्न छाडे । विस्बास गर्न पनि छाडे । म झारफुक मात्रै होइन शेर्पा दाइले झैँ जडीबुटीको ओखती पनि दिन्थेँ । यो खानु र त्यो नखानु भनेर कहन्थेँ । बेरामी मान्छेलाई ठिकै भा‘को थ्यो । तो ता तिमी पनि जान्दछ्यौ ।

काली, मुइले भन्न चाहेको र अनुमति लिन खोजेको कुरा अझै तिमीलाई सुनाको छइन । मुबाइलको चारजर सकिन आटो । पैले चारज लाउछु । अनि खाट्टी कुरो बताम्ला है त ! बाई पियारी काली !!!

० ० ० ०

सुनेर म पनि हाँस्न थालेँ । मेरो हाँसोमा आश्चर्य मिसिएको थियो । उनको हाँसोमा खै के थियो कुन्नि ? ठम्याउन सकिनँ । हामी जोईपोइको निश्चल हाँसो देखेर पाँच वर्षे छोरी गजल पनि हाँस्न थालिन् । उनको हाँसो चाहिँ लैलैको हाँसो थियो । अबुझ र बेहोसी हाँसो थियो । तिनै जना हाँस्दाहाँस्दा थाकियो ।

हामी हाँस्नुको कारण नै मोबाइलमा रेकर्ड गरिएको चिठी थियो । दाँत फुक्लिसकेका सत्तरी वर्ष हाराहारीका प्रौढले २०५० सालतिर स्वर्गवास भएकी पत्नीलाई सम्बोधन गरिएको वाचन थियो । त्यहाँ भएका ग्रामीण शब्द र लवजले स्तरीय नेपाली बोल्ने हामीलाई आश्चर्यमा पारेको थियो ।

लक्ष्मीले भनिन्, ‘यो कसको मोबाइल उठाएर ल्याउनुभयो । आन्द्राभुँडी अलगअलग थियो । जोडजाड पारेर यसो बजाउन खोजेको त यस्तो पो बज्यो । हाँस्दा हाँस्दा झन्डै मरेँ ।’

‘अर्काका गोप्य कुरा सुन्न कस्तो अप्ठ्यारो नलागेको ।’, मैले पनि सहज भएको बहाना गर्दै जवाफ फर्काएँ ।

उनले कुरा बुझ्न कोसिस गरिरहिन् । म भने सक्तो छलेर झन् जिज्ञासु बनाइरहेँ । अन्तमा हायलकायल भएर साँचो कुरा बताउन बिन्ती गर्न थालिन् । मैले पनि बिहानको सारा वृत्तान्त बताएँ ।

अनि व्यङ्ग्य गर्दै उनले भनिन्, ‘तपाईंकै उदयपुर जिल्लाको मान्छेको रै‘छ, यो मोबाइल ! बुढेसकालमा जवानी पसेको मान्छे रै‘छ । बोल्न पनि जान्दो रै‘नरछ । कुरो चैँ सरक्क मिलाउँदो र‘छ, है !’

उनको व्यङ्ग्यले धेरै कुरा भनिसकेको थियो तर मैले सुनेकोमा ती कुरा आएकै थिएनन् । पक्कै पनि अर्को रेकर्ड होला भन्ने लाग्यो । र; मोबाइल कोट्याउन थालेँ । तुरुन्तै अर्को फाइल ओपेन भयो ।

० ० ० ०

पियारी काली,

अस्ति पठाको मेसेज तिमीले पायौ होली । आज पनि लेख्न ता बसेँ तर लेखी सिद्धयाउँला या नसिद्ध्याउला भन्न चैं सक्तिनँ ।

पोक्ची ! मरिसकेको मान्छेलाई साउन्ड मेसेज किन पठाको भनउली ! संसारका लागि तिमी मरेकी हउली तर मेरा लागि चैँ तिमी सारसौँदी छेऊ । अज हाम्रा धार्मिक ग्रन्थहरूले भनेका छन्- मान्छे भनेको आत्मा हो । आत्मा न कहिल्यै मर्छ न कहिल्यै जन्मिन्छ । न यसको रुप हुन्छ, न यसलाई कसैले दबाउन सक्छ । यो त अविनासी छ, अजम्बरी छ ।

आत्माले शरीर फेर्छ । तिमी कालीको शरीरमा थियौ र मेरी पत्नी भयौ । कालीको शरीरबाट तिमी भिन्न भए पछि तिमी अर्को खुट्किलो मात्रै चढ्यौ । तिमी बाँचेकै छेऊ । तिमी मेरै पत्नी हऊ ।

मलाई त लाग्छ- म तिमीलाई देख्दिनँ र भेट्दिनँ पनि । तर, तिमी सब कुरा देख्न सक्छ्यौ । सिर्फ भोग्न सक्तिनौ । मेरो आवाज सुन्न पनि सक्छेऊ । मेरा रिकडको त के कुरा मेरो मनको भावना पढ्न पनि सक्छेऊ ।

कहिलेकाँही तिम्रो मोबिल लम्बर भए हुन्थ्यो भन्ने लाग्छ । तर, म नै हुस्सु २०५० सालतिर हाम्रा गाउँमा काँ मोबिल आ‘को थ्यो  र ! फेरि तिमी शरीरमा छइनऊ । काँ को कुरा हुनु !

काली ! कुरा गर्दा गर्दै अन्तै बहकिएछु । हाम्रा गाउँमा नेपाल र इन्डियाको लाहुरमा पिलसिङ पकाउने मान्छे धेरै भए । मुइले ता चानस पाउँदै पाइनँ । यता तईंले छाडेर गइस्, उता दुई, चार बर्खमा सिमेन्ट कम्पनीको जागिरले नै मुलाई छाडिदियो । जागिर जाँदा त मेरो पहिचोन नै हरायो । हातमा पैसा आउन छाडेसी सारै दुःख पाएँ ।

भोगेका दुःख-बेमारका कुरा समेटेर किताप पनि लेखेँ । नाउ चाहिँ अचम्मैकै राखेँछु । अहिले आ‘र आर्को किताप पनि छपाको छु । नाम चैँ सुहाउँदिलै राखेको छु । के भने दुःखले पीडा दिन्छ । पीडाले आँसु निकाल्छ । आसुसँग मान्छे हाँस्न सक्तदैन । यस्तै कुरो समेटेर नाउ राखेको छु ।

पल्ला घरका सुबेडी बाजे भन्न थाले, ‘बुडा ! तिमी कविता, गीदहरु लेख्दा रै‘छौ । आफ्नो दुःख हइन, देशको दुःख लेख । हाम्रो दुःख लेख । हामेरु कसरी हाँस्नू ? उपाय बता‘र र बाटो देखा‘र लेख । अनि तिमी अमर हुने छौ ।’

मुलाई उनको कुरो मुन परो । र; सोच्दासोच्दा गरेर नाम जुराउन पुगेँ । रोएको देश कसरी हाँसोस् र ! देश नहाँसेको कुरा लेखेँ । बेथिति मौलार जगतै ढाकिस‘को भनेर लेखेँ । थुनामा मान्छेले ज्वाइँजस्तो पोसिएर हैन कमारोजस्तो जोतिएर देशकोेेे ऋण तिर्नुपर्छ भनेर लेखेँ ।

मुख्ये कुरा नबताईकनै मोबिलको दम रोकिन लागेको सूचना आयो । चारज भएपछि एकछिन फेसबुकाँमा टाइम बिता‘र तिमीसँग बात मारौँला है काली ! बाई !

० ० ० ०

बुढाका कतिपय कुरा मन पर्यो । बुढाले बुढीसँग अनुमति लिन चाहेको मुख्य कुरो के थियो कुन्नि ? मनमा खुल्दुली लागिरह्यो । मोबाइल कोट्याइरहेँ । नयाँ मोबाइल चलाउने ढङ्ग पनि थिएन ।

लक्ष्मीले देखेर व्यङ्ग्य गरिन्, ‘अर्काको गोप्य कुरा के थाहा पाउन खोज्या कुन्नि ? खुरुक्क कसको मोबाइल हो, उसलाई फोन गरेर दिनु क्या ! कि तपैँ पनि कृष्ण धरावासीले झैँ कथा लेख्ने ? उनले आफ्नो घरमा झुण्ड्याएको झोलाभित्र भेटेको पुरानो कागजको जानकारीका आधारमा ‘झोला’ शीर्षकको कथा लेखेका थिए रे । पछि त्यो यति प्रसिद्ध भएछ कि ‘झोला’ नामको सिनेमा पनि बनेको छ । मैले पनि हेर्ने अवसर पाएकी छु । कि त्यस्तै नाम कमाउने लोभ छ ?’

म निरुत्तर मोबाइल कोट्याउन व्यस्त थिएँ । लक्ष्मी गनगन गर्न छाडेर सुसेधन्दामा व्यस्त बनिन् । कान्छी छोरी छिमेकी सन्ध्या सिंहसँग ब्याडमिन्टन खेल्न व्यस्त थिइन् । म भने अर्को फाइल बजाउन चाहन्थेँ । त्यो मुख्य कुरो पत्ता लगाउन चाहन्थेँ । नभन्दै फाइल भेटेँ ।

० ० ० ०

बज्न थाल्यो-

काली ! म त फेरि आएँ । फेसबुकाँमा १५ मिनेट समए बिताएँ । यो एनसेल मोराले पैसा सपै काटो । नचलाईकन चित्त बुज्दैन । चलाउनसाथ पैसा भुर्कुट पार्छ । अज यसले सरखारलाई तिरो बुझाएन भनेको सुन्छु । हामेरुबाट ग्वाम्म असुल्छ । तिरो तिर्न किन कन्जुस्याइँ गर्छ ? धनीमानीको सरखार ठग्ने चलन देख्दा छक्क पर्छु । अज सरखार पनि धनीमानीकै पछि लाग्छ । लाजमर्दो कुरो ! नियमकानुनले काम गर्नुपर्ने ! किन डराउँछ कुन्नि ?

तँइले छाड्दा छोराछोरी बालखै थे । उदर्को हेरविचार गर्दा म कत्ति रोएँ, चाँडै छाडेर गइस् भनेर तँलाई कत्ति सरापेँ, हिसाप छइन । पछि सपैले आआफ्नो लगनी गरे । छोरीहरु ज्वाइँसँग गए । छोराहरु बुहारीसँग मिले । कोई विदेश पसे, कोई भने काठमान्डु भासिए । म नाति र नातिनीसँग यही गाममा बस्थेँ । दुःखको कुरो- एगार बर्खको नाति केटोलाई दुई मैना अघि ढुङ्गा बोक्ने ट्रिपरले किचेर मारिदियो ।

हामीहेरुले हेलिकेप्टर बोला‘र बेलैमा अस्पताल पुरा‘को भए तै बाँच्थ्यो कि ? क्या जाति भन्छन् कुन्नि, यताको गामघर पनि कम्लेस्ट र काङग्रेच भ‘को छ । पीरमर्कामा सहयोग गर्न पनि दिक्क मान्छन् । परेको बेलाँ पनि आफ्नु पार्टी खोज्छन् । राष्ट्रेले त दुःख पा‘को छ । अम्रिकाको राष्टेपति बरू हामी गरिप जन्ताजस्ता छन् । तर गामकै नेता राष्ट्रेपतिजस्ता छन् ।

माउवादीको नेता भा‘को हर्कमानलाई हुटेलमा चिये पिउँदै गरेको देखेथेँ । जुठो बार्दा अलिनो खा‘को मान्छे बोल्ने ताकतै थिएन । केही सरसल्लाहा दिन्थे कि ? पछि कुरा गरौँला भनेर परबाटै घुरेँ । त्यै नातिनीले गाईको दुद हालेको मीठो चिये बना‘र दिई । सधैँ दे है नानी भनेको त उसले भनी, ‘हजुर्बा ! छोरीको जात काँ सधैँ पाउँछु र ! कइले काँ जानुपर्ने हो, के ठेकान ?’

काली ! उसको उत्तरापत्ताराले म त भुतुक्क भएँ । सहयोग गर्ने नाति दैवको पियारो भो । पकाईतुल्याई खुवाउने नातिनीले पनि छाडेर अर्काको घर गए पछि म एक्लै पर्ने भएँ । त्यसैले बाँकी जीवन बाँच्नका लागि तँसँग सल्लाहा माग्न खोजेको हुँ ।

अचेल फेसबुकाँमा मसँग छोरी मान्छे मात्रै झुम्मिन्छन् । तीमध्ये एउटी पुलिस्नी छोरी मान्छे छे । पिल्सिङ पकाएपछि म तपैँसँग बिहे गर्छु भन्छे । बुडेसकालमा बसीबसी खाऔँला भन्छे । अब तिमी के भन्छ्यौ ? म के गरुँ ?

मलाई सपनी आ‘र उचित जवाफ देऊ है काली ! मेरो विवसता बुझ है काली ! यति नै …!

० ० ० ०

मोबाइल बन्द हुँदा पनि म भने काननेर लगेर सुनिराखेको रहेछु । लक्ष्मीको झकझकाहटले पो म झसङ्ग भएँ । सम्झेर ल्याउँदा आफैँ रातोपिरो बन्न पुगेँ ।