सन् १२४४ मा नेपालमा जन्मेका कलाकार अरनिको सत्र वर्षको उमेरमा असीजना कालिगडको नेतृत्व गरी १२६१ मा स्वणर् स्तुप बनाउन चीनको तिब्बत गएका थिए । त्यस बखत नेपालमा जयभीमदेवको शासनकाल देखिन्छ भने चीनमा फैलिँदो मंगोल साम्राज्यको शक्तिकेन्द्रमा कुब्लाइखान तथा उनको तर्फबाट धर्मगुरु फाग्पा (पाहसपा) तिब्बत मामिलाका प्रशासकको भूमिकामा रहेको पाइन्छ ।

नेपालको कालिगड टोलीले तिब्बतको शाक्य गुम्वामा स्वणर् स्तुप बनाएपछि तत्कालीन मंगोल सरकारको सेवाका लागि अरनिको फाग्पाका साथ चीन र मंगोलिया तिर गएका थिए । आजीवन काममा उतै व्यस्त हुनु परेको कारण उनी नेपाल फर्कन भने पाएनन् । अरनिकोको स्मृति शीलालेख र चीनको युवान वंशकालको इतिहास अनुसार उनले त्यहाँ स्तुपा, विहार, मन्दिर, चित्र, मूर्ति तथा वैज्ञानिक उपकरणको समेत निर्माण परियोजनाको नेतृत्व गरेको पाइन्छ । अरनिको स्मृति दिवस (मार्च ११)को अवसरमा यहाँ उनको प्रतिभा र जीवनका विस्मयकारी केही सन्दर्भहरु प्रस्तुत गरिएको छ । अरनिकोलाई सम्झँदै गर्दा राज्य र सरोकारवालाहरुका अबका कार्यभार के हुन सक्छन् ? त्यसबारे सम्बन्धित सबैको ध्यानाकर्षण, विमर्श र कर्तव्यवोधको अपेक्षा गरिएको छ ।

अद्भूत अरनिको

अरनिको सानै उमेरदेखि प्रतिभाशाली मात्र थिएनन् निडर, महत्वाकांक्षी र परिपक्क स्वभावका समेत थिए । तिब्बतमा स्वणर् स्तुप बनाउने प्रयोजनकालागि त्यहाँबाट नेपालमा कालिगडको माग भए पछि दरबारको पटाङ्गिनीमा जम्मा भएका कालिगडहरुलाई राजा जय भीमदेवले आपसी सहमतिमा टोली नेता छान्न लगाए । हिमालको कछाडका भीर-पहरा छिचोल्नु पर्ने, ठाडा-खोला र नदीहरु पार गर्नुपर्ने कष्टकर यात्रा तथा दिइएको जिम्मेवारी पुरा गर्न नसके राज्यको आँखीमा परिने जोखिम देखेर पाका उमेरका कसैले पनि टोली नेता हुन डराएपछि सत्र वर्षे अरनिकोले सबैका सामु टोली नेता बन्ने आफ्नो इच्छा राखे । नपत्याउँदो केटोले उठेर इच्छा जाहेर गर्दा राजाले चुपलागेर बस्न आदेश दिए । र पनि अरनिकोले आफु उमेरले कान्छो भए ता पनि जिम्मा पाएको काम गरी छाड्ने जिकीर गरेपछि राजाले उनलाई टोली नेता बनाएर तिब्बत जाने काम सुम्पनु प्यो । अरनिकोमा यस्तो आत्मविश्वास जागृत हुनुमा त्यसको पाँच वर्ष अघि सन् १२५५ मा गएकोे भुईंचालोमा ठूलो मात्रामा सम्पदा र जनधनको क्षति हुनगएपछि सम्पदा पुननिर्माणको कालिगडी अभियानमा संलग्नताको विशेष अनुभवले अरनिकोको सीप अझै खारिन पाएको सम्पदा-विज्ञ सुदर्शनराज तिवारीको मत छ (तिवारी, २०२३ : १४०) । Tiwari, sudarshanraj (2023), Essay on Culture and History of Bhaktapur, The Capital of the Nepal Mandala, RICH Publishers। त्यही अनुभवको बलमा उभिएको उनको इच्छाशक्ति र प्रतिभाका कारण सत्र वर्षे कलिलो उमेरमै नेपालको टोलीनेता भएर चीन-तिब्बत जान पाए ।

तिब्बतमा सुवर्ण स्तुपको काम छिटो र राम्ररी सकिएपछि फर्कनु पर्ने उनी कामकै सर्वत्र चर्चा र प्रसंसाका कारण चीन र मंगोलिया तर्फ लाग्नुप्यो ।

त्यहाँ पुगेपछि अरनिकोलाई कुब्लाइखानको दरबारमा लगियो । कुब्लाइखानका सामु पनि उनले धक नमानीकन यो ठूलो देशमा भइरहेको लडाईंले जताततै पैदा गरेको अशान्तिले गर्दा असंख्य मानिसहरुले दुख पाइरहेकोले शान्तिको कामनाका लागि केही बौद्ध ज्ञान र सीप लिएर आफु यहाँ आएको बताए ।

त्यस बखत मंगोल साम्राज्यको आक्रामक विस्तारले मध्यकालीन एसिया त्राहिमाम भईरहेको थियो । त्यसका सम्राट कुब्लाइखान सामु नझुक्ने कोही थिएनन् । बौद्ध शीलाचारमा रहेको यौटा नवयुवकले सम्राटका सामु अदवकासाथ आफ्ना परिचय र कुरा राखेपछि तिमीलाई मेरो सामु यसरी उभिएर कुरा गर्दा डर लागेन भनि सोध्दा अरनिकोले हाम्रो देशमा राजालाई आफ्नै बुवा सरह मान्छौं । त्यसो हुँदा राम्रो कामका लागि बुवासंग कुरा गर्न डर मान्नु पर्ला र ? जस्ता प्रतिप्रश्नले कुब्लाइखान पहिलो भेटमै अरनिको संग प्रभावित हुन पुगेको देखिन्छ । धर्मगुरु फाग्पाका साथ भित्री मंगोलियाको साङ्तुमा रहेको तत्कालीन राजधानीमा गएका अरनिकोको कुब्लाइखानसंग पहिलो भेट यसरी हुन गएको थियो ।

त्यतिबेला विस्तार हुँदै गरेको मंगोल साम्राज्यकोलागि साविकको राजधानी साङ्तु अपायक बन्दै थियो र नयाँ राजधानीका रुपमा तत्कालीन तातु (अहिलेको बेइजिङ) उदाउँदै थियो । यसो हुँदा कुब्लाईखानले पछि सम्म साङ्तुलाई ग्रिष्मकालीन र तातुलाई शीतकालीन राजधानीको रुपमा समेत प्रयोग गरेको पाइन्छ । साम्राज्य विस्तारको क्रममा विजित क्षेत्रका बन्धक हजारौं-हजार कालिगडहरुलाई पहिचान गरी राजधानी ल्याएर उपयोग गर्ने मंगोल सरकारको नीति अनुसार उनीहरुको सीप र योग्यताको जाँच पनि गरिंदै थियो ।

अरनिको विजित राज्यका कालिगड नभइ नेपालको प्रतिनिधित्व गर्दै तिब्बत गएर त्यहाँ गरेको कामले नाम कमाएर

चीन पुगेका थिए । तर कुब्लाइखानले अरनिकोको सीपको पनि परीक्षा लिने भए । मंगोल सम्राटलाई दक्षिणी सुङ

सरकारले उपहार चढाएको अक्युपञ्चर धातुमूर्ति बिग्रेर थम्क्याइएको अवस्थामा थियो र त्यसलाई दरबारका कुनै कालिगडले मर्मत गर्न प्रयास गर्दा पनि नसकेपछि बनाउन सम्भव छैन भनेर थन्क्याइएको थियो । परीक्षाकालागि अरनिकोको हातमा त्यही मूर्ति थमाइयो । तर नेपालबाटै धातुशिल्पमा समेत पारंगत भएर गएका अरनिकोले त्यस मूर्तिलाई सजिव बनाइदिए । विवरण अनुसार सन् १२६५ मा अरनिकोले यसलाई बनाएको देखिन्छ ।

अरनिकोको सीप देखेर दंगदास भएका भारदारहरु सामु दरबारका कालिगडलाई अहिले यो कसरी बन्यो भनी सोधियो

।त्यहाँका कालिगडहरुले निहुरिएर यो दैवी हातले मात्र सम्भव थियो भन्ने उत्तर पाए पछि कुब्लाइखानलाई लाग्यो, फाग्पाका चेलाका रुपमा चीवर वस्त्र धारण गरी, केशमुण्डन गरेर बौद्ध आचारमा मेरो सामु निर्भय र शालिनतापूर्वक उत्तर दिने यो नवयुवकको सीपमा तान्त्रिक शक्ति छ । त्यसो त तिब्बतमा स्वणर् स्तुप बनाउन लगाउनुका पछाडी पनि कुब्लाईको चौतर्फी द्विग्विजयकोलागि तान्त्रिक आशिर्वादको कामनाले काम गरिरहेको थियो नै । त्यसकारण अरनिकोले मंगोल सरकारको सेवामा सुरुवातमै उच्च छविका साथ प्रवेश पाए ।

कुब्लाइखानलाई एकातर्फ आफ्नै भाइभारदारहरु बीचको अन्तरसंघर्षमा पूणर् सफलता पाउनु परेको थियो भने अर्को तर्फ मंगोल साम्राज्यलाई आक्रामक रुपमा विस्तार गर्दै अघि बढ्नु परेको थियो । जितेका गाउँ-नगर, देश-देशावरलाई आन्तरिक विद्रोह हुनबाट जोगाएर, आफ्नो पक्षमा एकताबद्ध गरी समेटेर शान्ति कायम गर्नु परेको थियो । शान्त र सुरक्षित साम्राज्यमा शान संग शासन गर्नु परेको थियो । यसकालागि त उनीहरुलाई बुद्ध धर्म चाहिएको थियो । धर्मगुरुहरु चाहिएका थिए । असंख्य अरनिकोहरुको हातको जादुमय सीप चाहिएको थियो ।

यही जादुमय सीप अरनिकोले बेइजिङमा उभिइरहेकोे स्वेतचैत्यमा पनि पोखे । कुब्लाईखानले युवान वंशकालको सुरुवात गरेपछि सन् १२७१-७९मा स्वेत चैत्य बनाइयो । त्यतिबेलाको परम्परागत प्रविधिको सहाराले खुल्ला आकाशमा उभिएको स्वेतचैत्य लोक-आस्था, यूनेस्को सूचिमा संरक्षित ऐतिहासिक सम्पदा तथा नेपाल-चीन मित्रताको स्वेत प्रतिकको रुपमा शक्तिशाली मानिन्छ । त्यसैले त चीनको सांस्कृतिक व्रmान्तिका बेलामा त्यस अघि बनेका सामन्तकालीन संरचना भत्काउने क्रममा समेत स्वेतचैत्यलाई जोगाइएको थियो (जोशी, २६ः २०४४) ।

धार्मिक आस्था र लोक महिमा बाहेक आफ्नो साम्राज्यको एकता र वैभवका रुपमा, सुरक्षा र शक्तिका रुपमा तथा सारा संसारलाई देखाउने आफ्नो समृद्धि र गौरवको प्रतिकको रुपमा कुब्लाइखानले स्वेतचैत्य बनाउन लगाएकोमा भने दुइमत हुन सक्दैन । त्यतिबेलाको सापेक्षमा स्वेतचैत्यलाई कतिपयले संसारकै सर्वथा आकर्षक र ठूलो वास्तुकलाकृति मानेको पनि देखिन्छ तथापि एसियाली क्षेत्रको लागि त यो स्वेतचैत्य धर्ती देखि आकाश चुम्ने प्रतिकको रुपमा अवश्य नै स्थापित भएको प्राचीन चिनिया कवि याङ श चशुको कवितांश

“विश्वमा एक प्रतापी सम्राटको

राजधानीकालागि द्वार खुल्यो !

नीलो आकाश मुन्तिर एउटा चैत्य स्फटिकको

गगनचुम्बी भएर देखाप्र्यो ।” ले पनि देखाउँछ ।

सामरिक चुनौतिहरु पार गदै लगातार अघि बढिरहेको मंगोल सेनाका निम्ति दक्षिणी सुङ राज्यको प्रतिरोध निकै कष्टकर बन्यो । कतिपय श्रोतले त्यतिबेलाको दक्षिणी सुङ राज्यलाई संसारका समृद्ध र शक्तिशाली राज्यका रुपमा समेत चित्रित गरेको पाइन्छ । यसो हुँदा कुब्लाइखानले आँखा लगाउनु स्वभाविक थियो । सन् १२७३ अघि दक्षिणी सुङ राज्यका सुरक्षाका निम्ति सियानयाङ र फन्चेङ अहिलेको हुपइका सामरिक-रणनीतिक महत्वका इलाका थिए । दक्षिणी सुङका यी दुई रक्षा कवज माथि पाँच वर्ष सम्म जुध्दा पनि अधिपत्य जमाउन नसके पछि कुव्लाईखानले धर्मगुरु संग तान्त्रिक शक्तिको सहारा मागे । जस अनुसार अरनिकोलाई जुझौ पठाएर दक्षिणी सुङ राज्य तर्फ फर्काई मन्दिर र महाकाल परिवारको मूर्ति प्रतिस्थापना गर्न लगाइयो । त्यसपछि कुब्लाइखानले नयाँ जनरल (वायन) को नियुक्ति गरे र विधि-विधान सम्मत महाकालको प्राणप्रतिष्ठा सम्पन्न भयो । बिघ्न बाधा रहित जीतको सुनिश्चितताका लागि तान्त्रिक अनुष्ठान गरियो । त्यसपछि मात्र कुब्लाइखानले दक्षिणी सुङराज्यमाथि धावा बोले । सियानचाङ र फन्चेङ क्षेत्र यसरी कब्जामा आए (यूवान्सी, च्यूवान ८, १४७ः ४८) ।

मंगोल साम्राज्यकालमा समकालीन एसियाली मूलुकहरु कति त्राहिमाममा थिए, माथि नै उल्लेख भइसकेको छ । मध्य-एसिया त यसको केन्द्र नै थियो भने पूर्वी र पश्चिम एसियाली मूलुकहरु समेत अछुतो रहन सकेनन् । हुँदा हुँदा कुब्लाइखानले नेपालको बाटो गरी भारतमा आक्रमण गर्ने परियोजना समेत बनाएका थिए ( जोशी, ऐजनः ११) । त्यसो हँुदा दक्षिण एसिया तर्फ पनि उनको महत्वकांक्षा सोझिएको देखिन्छ । यो आक्रमणको परियोजना धर्मगुरु फाग्पाको प्रभावका कारण रोकिएको पाइन्छ । तर यहाँनेर के विचार गर्नु पर्दछ भने त्यो परियोजना यदि नरोकिएको थियो भने मंगोल र भारतीयहरुको रणमैदान नेपाल बन्ने निकट सम्भाव्यता देखेर अरनिकोले एकातर्फ धर्मगुरु मार्फत दवाव बढाएको हुनु पर्दछ भने स्वयं अरनिकोले पनि दरबार भित्र आफ्नो कामले प्रभावशाली छवि बनाइसकेको र कुब्लाईखानकी महारानी छाविबाट समेत छोरा सरह स्नेह पाएको कारणले पनि सम्राटलाई सहमत गराउन सकिएको बढी सम्भव देखिन्छ । उनी भावनात्मक रुपले समेत कति निकट थिए भन्नेकुरा सन् १२९४ मा कुब्लाइखानको देहान्त भएपछि नेपाली बौद्ध परम्परा अनुसार छोराकै तर्फबाट गर्नुपर्ने ४९ दिने मृत्यू-संस्कार कर्म गरेको समेत पाइन्छ । त्यति मात्र नभएर अरनिकोले मंगोल सेनाकोलागि टेलिस्कोप, हतियारका पार्टपुर्जा र प्रभावकारी तोप-गोलाको वैज्ञानिक परियोजनामा समेत संलग्न भएको कारण उच्च सैनिक अधिकारी मार्फत पनि कुव्लाईखानलाई सहमत गराउन पहल गरेको हुनुपर्छ । यसरी अरनिकोले आफ्नो जन्मभूमिको रक्षाको खाँतिर भएभरका सबै उपाय अपनाएको समेत देखिन आउँछ । यसको सापेक्षबाट पनि अरनिको अध्ययनको जरुरी देखिएको छ । तत्कालीन परिस्थितिको सम्बन्ध-सेतुका रुपमा पनि अरनिको एक असाधारण विम्व बन्न पुगेका छन् । अरनिकोको जीवनकालमा यता नेपालमा भने राज्यसत्तामा द्वैध शासकीय स्वरुपले राज्य कमजोर देखिन्छ भने यहीबेला पश्चिमको खस राज्य तथा दक्षिण तर्फबाट पनि नेपालले पटक पटक आक्रमण झेलेको पाइन्छ ।

अरनिकोले चीनमा व्यतित गरेको ४४-४५ वर्षमा कहिल्यै पछि फर्केर हेर्नु परेन । उनका कला र वास्तुकलाका शिल्पशैली चीनको युवानकालीन कलाका मानक मात्र बनेनन् त्यसपछिका वंशकालमा पनि त्यसको प्रभाव पर्न गयो । उनी बाँचुन्जेल सबै ठूला कला परियोजनाहरुको जिम्मेवारी उनलाई नै सुम्पिइयो । यसो हुँदा हिमाली सभ्यताको केन्द्रमा हुर्किएका नेपाली कला-वास्तुकलाका शिल्प र सौन्दर्यले चिनिया भूमि हुँदै बौद्ध धर्म मार्फत एसियाली क्षेत्रमा फैलिने मौका पाए ।

अरनिकोले बौद्धधर्मका लागि चैत्य, विहार, चित्र र मूर्तिहरू मात्र बनाएनन् । कन्फुसियस, ताओ धर्मका लागि समेत वास्तुकला, मूर्तिकलाहरूका साथै राजकीय तस्वीरहरू पनि बनाएको पाइन्छ । अध्येताहरुका अनुसार जीवित व्यक्तिहरुलाई मोडल राखेर चित्र बनाउने परम्पराको सुरुवात अरनिकोबाट भएको देखिन्छ । मंगोल सरकारले सञ्चालन गरेका औद्योगिक कला उत्पादनका अठार वटा विभागको महानिर्देशक तथा राजकीय औद्योगिक आयोगका समेत सर्वोच्च अधिकारी भएका कारणले नै उनलाई सरकारले विशिष्ट मन्त्री सरहको सम्मान, अधिकार, सेवा र सुविधा दिइएको थियो । सरकारका उपल्लो तहका कैयन पदाकारीहरुले प्राप्त अधिकारको दुरुपयोग गरी भ्रष्टाचारले डामिएर दण्डित हुनु परेता पनि अरनिकोमाथि आजीवन प्रश्न नउठेको स्रोतहरुले उल्लेख गरेका छन् । उनले आजीवन बौद्ध शीलाचारलाई नै अपनाएको पाइन्छ । त्यसकारण यौटा विदेशी शिल्प- श्रमिकका रुपमा सेवामा प्रवेश गरेको भएता पनि युवानकालका सांस्कृतिक समृद्धिका महानायकका रुपमा अरनिकोलाई यति ठूलो सम्मान प्राप्त भएको थियो । आफ्ना वृहत्तर जिम्मेवारीले फुर्सत नमिलेर मंगोल सरकारले नेपालबाट श्रीमतिलाई चीनमा झिकाइदिएपछि उनी नेपाल फर्कन भने पाएनन् । उच्च जिम्मेवारीमै रहेको बेला सन् १३०६ मार्च ११ मा चीनमै उनको देहान्त भयो ।

अब के गर्ने ?

नेपाली ललितकला शिक्षाका सबै तहका पाठ्यक्रममा नेपाली कलासभ्यताले विकास गरेका मानकहरुको अनिवार्य अध्ययन अध्यापनको व्यवस्था गरौं । अन्तरदेशीय, अन्तर्राष्ट्रिय सांस्कृतिक सम्बन्धको सम्वाहक र सेतुका रुपमा अरनिकोलाई खोजौं । अरनिकोकालीन नेपालका पुरातात्विक सामग्रीको खोजी गरौं । प्राप्त श्रोतहरुलाई नेपाली सन्दर्भमा तुलनात्मक अध्ययन र सत्यापन गरौं । नेपाली डायस्पोराको इतिहासका जराजुरी के कति फैलिएका र गहिरिएका छन् खोजीनीति गरौं । डायस्पोराको इतिहास र हिमाली सभ्यताको आयामबाट अरनिकोलाई चिनौं । पूर्वइतिहासकाल देखि नै नेपालबाट निर्यातित कला, फैलिएका डायस्पोराको प्राज्ञिक अध्ययन-अध्यापन गर्ने गराउने र राष्ट्रको हितमा आजका डायस्पोराको क्षमतालाई सकारात्मक र निस्वार्थ योगदानका लागि सही वातावरण बनाऔं । नेपाल सरकार, यसका सम्बन्धित निकाय र सरोकारवाला संघसंस्थाले अरनिको दिवस वा अरनिकोका बहुआयामिक योगदानका सन्दर्भमा सार्थक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रम सञ्चालन गरौं । यसो भयो भने मात्रै अरनिकोका योगदानको उचित सम्मान हुनेछ । ओझेलमा परेका ज्ञातअज्ञात अरनिकोहरुको मान-मूल्याङ्कन हुनेछ ।

लेखक, अरनिकोका कला र नेपाली डायस्पोराका अध्येता हुन् ।