खहरे खहरै थियो
कमिलाहरू वारपार गर्थे
ऊ तल
सलल अनवरत शान्त बगिरहेको
नदी हेरेर बस्थ्यो
वर्षायाम लाग्यो
खहरेको सतारोहण भयो
उसले गडगडाउँदै हुङ्कार दियो
किनाराहरू थर्कायो
आफैँ छेउका ढुङ्गाहरू बगाउन थाल्यो
मुढाहरू पछार्न थाल्यो
जुन हरदम खहरेसँगै थिए साथीजस्तै
मौसम बदलियो
पानी पर्न बन्द भयो
ऊ सुक्यो
प्यासले व्याकुल भयो
काकाकुल बनेर छटपटाउन थाल्यो
उसले बगाएका ढुङ्गा र मुढाहरू
तल अनवरत बगिरहेको
शान्त नदी छेउ बसेर
आनन्दले पानी पिइरहेका थिए ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
१० कार्तिक २०८२, सोमबार 










