गाउँ पनि अस्पताल जस्तै छ
यी घरहरू घर नम्बर लेखिएका
बिरामी बेडजस्ता छन्
बेड नम्बरको ठाउँमा
घर नम्बर लेखिएका छन्
घर नम्बर एकमा
प्यारालाइसिसको बिरामी
थला परेको छ
घर नम्बर दुईमा
मुटुको बिरामी
नीलो अनुहार लिएर बसेको छ
घर नम्बर तीनमा
जनयुद्धको घाइते अपाङ्ग
शरीरमा गोली बोकेर बसेको छ
घर नम्बर चारमा
दमको बिरामी
खलातीझैँ स्याँ स्याँ गर्दैछ
घर नम्बर पाँचमा
खाडीमा काम गर्दागर्दै
मेसिनले हात काटिदिएको अपांग छ
घर नम्बर छमा
क्यान्सरको बिरामी
छटपटाउँदै छ
घर नम्बर सातमा
मृगौला फेल भएको बिरामी
थप उपचारका लागि
पैसाको अभावमा छटपटाइरहेछ
घर नम्बर आठमा
ज्वरोको बिरामी
तीन दिनदेखि अचेत छ
घर नम्बर नौमा
कुपोषण भएको बच्चा
जति चुसे पनि नआउने
आमाका स्तन चुसिरहेछ
घर नम्बर दशमा
अर्को दुई वर्षे बालक
निमोनियाले घ्यार घ्यार गर्दैछ
घर नम्बर एघारमा
भोको पेटको बिरामी
घर नम्बर बाह्रमा
गरिवीको बिरामी
घर नम्बर तेह्र
धामीको घर छ
घर नम्बर चौध
झाक्रीको घर हो
घर नम्बर पन्ध्र
ज्योतिषको हो
घर नम्बर सोह्र
वैद्यको औषधालय हो
गाउँका डाक्टर यिनै हुन्
धामी, झाँक्री, ज्योतिष, वैध
धामीले रोग निदान गर्छ
परामर्श दिन्छ
झाँक्रीले रोग भगाउन
ढ्याङ्ग्रो ठोक्छ
सिमेभूमे मन्साउँछ
आकाश बाँध्छ पातल बाँध्छ
ज्योतिषले बिरामीको ग्रहदशा हेर्छ
बिरामीको भविष्य बताउँछ
वैद्यले
जडिबुटी घोटेर चटाउँछ

नीलो आकाशमुनि
हरियो वनजंगल छेउ
एउटा प्राकृतिक अस्पताल
आफैँ बिरामीजस्तो
लमतन्न सुतेको छ
वर्षौंदेखिको दीर्घरोगी जस्तो !