एउटा ठूलो भुँडी लगाएको राक्षसजस्तो मान्छेले मेरो ढाडमा धारे हात लगाएर जोडले हान्यो । म पानी पनि खान नपाएर हलचल गर्न नसकी वेहोश भएँ । हान्ने मान्छेले खुट्टामा समाउँदै जुरूक्क उठाएर तातो पानीमा डुवायो । मलाई असहय पीडा भयो । म खुत्रुक्कै भएँ । मलाई भुत्ल्याइयो । यसरी अकालमा मर्न परेपछि नरकमा जानुपर्ने रहेछ । म खुरूखुरू अगाडि लागेँ । यमदूतहरू स्यालझैँ पछाडि लागे । बाटोमा उखरमाउलो गर्मी भएर आँत सुक्यो । मैले उनीहरूसँग अलिकति चराले खाने जति पानी मागेँ तर उनीहरूले दिन मानेनन् । उल्टै नरकमा एकैचोटि तातो तेलमा डुवाएर सोझै यमराजको टेवलमा पुर्याउने कुरा सुनाए ।
मैले के पाप गरेको थिएँ र यसरी तेलमा डुवाउनलाई ? सम्झिँदा पनि मन भक्कानिएर आउँछ । हुन त जिउँदो हुँदा पनि त नरकमै बसे सरह त थियो नि । एउटा अटाउने ठाउँमा दशसम्म कोचेर राखेका थिए । गर्मी मौसममा घामले फ्याँ फ्याँ बनाउँथ्यो भने जाडोमा चिसोका कारण सिल्टिमुर खाइन्छ कि भन्ने डर लागिरहन्थ्यो । बेलाबेलामा भुस च्याख्ला आदि मिसाएर बनाएको खानेकुरा त आइरहन्थ्यो तर मिठो लाग्थेन । बस्ने घरको कुरै नगरौँ । दुर्गन्धका कारण सास फेर्नै गाह्रो लाग्थ्यो । हुलुक्क बान्ता आउला जस्तो हुन्थ्यो ।
एक पटकको कुरा हो । जताततै फ्ल्युको हल्ला चल्यो । महामारीको रूप लियो भने नियन्त्रण गर्न गाह्रो हुन्छ भनेर हाम्रो मालिकले हामी अलि कमजोर जतिलाई जिउँदै खाडलमा हालेर पुर्ने षड्यन्त्र गरेका रहेछन् । धन्न त्यो रोग हाम्रो घरसम्म आइपुगेन र बाँचियो । बरू त्यतिखेर खाडलमै हालेको भए कमसेकम स्वर्गमा पुगिन्थ्यो होला । आफ्नै आँखाले यो नरक मार्ग तय गर्नुपर्ने त थिएन ।
बाटोमा अनगिन्ती भट्टीहरू भेटिए । भट्टीछेउमा जताततै टट्टीको राश थियो भट्टीबाट मदिराले टिल्ल भएको एउटा मानिस ट्टटीमा उतानो परेको थियो । उसको मुखमा हरिया झिँगा भन्किरहेका थिए । एउटा लुते लुते कुकुर आएर हामीले हेर्दाहेर्दै उसको मुखमा सु गरेर गयो । कुकुर साह्रै हतारमा भएझैँ दौडिदै थियो । एउटा भर्खरको ठिटोले कुकुरलाई देख्यो । उसले भुइँबाट ढुङ्गा टिपेर कुकुरलाई प्रहार ग¥यो । कुकुरको ढाडमा लाग्यो । कुकुर कुइँकुइँ गर्दै दौडियो । फेरि उसले अर्को ढुङ्गाले हान्यो । यतिखेर कुकुरको कञ्चटमा लागेछ । कुकुर पुर्लुक्कै ढल्यो । हेर्दा हेर्दै उसको प्राण उड्यो र ऊ पनि मेरो साथी बन्यो ।
एउटा दूतले यसलाई कोरिया शाखामा वुझाउनुपर्छ भनेको सुनँे । अर्को दूतले मधुरो स्वरमा के भनेको हो मैले ठम्याउन सकिनँ । बाटोमा घना जंगल पर्दोरहेछ । जंगलमा थरीथरीका चराचुरूगीहरूको चिविबर सुनेर मन प्रफुल्ल भएर आयो । मृगका पाठाहरू बुरुक्क बुरुक्क उफ्रिरहेका थिए । कोइलीहरूको कुहु कुहु सुनेर मन रमायो । तर यो प्रफुल्लता धेरै बेर कायम रहन सकेन ।
झोलाबाट हतियार निकालेर दूतहरूले मृगलाई ताकेर हाने । मृग वालवालले बच्यो । उनीहरूले त्यसको पिछा गरे । मृग भेटिएन । अलि पर एउटा अर्ना चरिरहेको रहेछ । त्यसलाई नै उनीहरूले आफ्नो निशाना बनाए । अर्ना ठहरै भयो । उसले आफ्ना निर्दोष आँखाले उनीहरूलाई हेर्यो र पिरलिक्क आँखा पल्टायो । उनीहरू त्यसलाई काटकुट पार्ने ध्याउन्नमा लागे । एकाएक सुन्दर शान्त बगैचा जस्तो ठाउँ रणभूमिमा जसरी रूपान्तरित भयो । जमिनमा रगतको ठूलो आहल बन्यो । उनीहरूले रगत चुहाउँदै मासु बोकेर हिँडे । केही समय हिडेपछि मूल सडक आइपुग्यो । एउटा बाह्र तेह्र वर्ष जतिको देखिने खलासी गुटका चपाउँदै “नरक नरक” भनेर चिच्याउँदै थियो । उसको पाइन्ट कम्मरबाट तल झरेर मलद्वारभन्दा माथिको गहिरो भाग देखिएको थियो । अनुहार राम्ररी खान नपाए जस्तो न्याउरो थियो । ओठमुख गहिरो तिर्खाले व्याकुल भएजस्ता सुख्खा थिए तैपनि बेलाबेलामा गुटखा चपाएर निस्केको रातो झोल थोत्रे गाडीको ढोकामा उभिएर प्याच प्याच थुकिरहेको थियो । ऊ घरबाट पढ्न छाडेर भागेर आएजस्तो देखिन्थ्यो । खलासीले चारजना यमदूतहरूलाई गाडीभित्र कोच्यो । गाडीमा कतै सिट खाली थिएन। । उनीहरू गाडीको डण्डी समाएर उभिए । मलाई बोक्ने दूतचाहिँ ड्राइभर छेउको बुनोटमा गएर बस्यो । ड्राइभरको मुखबाट मदिराको नमिठो गन्ध ह्वास आयो ।
मलाई बान्ता होला जस्तो भयो । यात्रुहरू पनि धेरै जसो मदिराले टन्न जस्ता देखिन्थे । कोही झ्यालबाट टाउको बाहिर निकालेर बान्ता गरिरहेका थिए त कोही भित्र नै वाक्क वाक्क गर्दै थिए भने कोही बोकालेझैँ लामो स्वर निकालेर वा वा वा वा गर्दै थिए । सडकमा इनार जस्ता गहिरा खाल्डा परेका थिए । कतै हिलो जमेर गाडी नै डुब्न खोज्थ्यो त कतै पानीका ठूला आहल बनेका थिए । एकचोटि । ओरालो परेको ठाउँमा ब्रेक लाउँदा लाउँदै पनि गाडी लुतुतु चिप्लेर आफैँ अगाडि बढ्यो । गाडीभित्रका सबैले आआफ्ना भगवान्का नाम पुकारे । ड्राइभरले खलासीलाई आमाचकारी गाली गर्दै ओट हाल्न पठायो । खलासी ओट हाल्ने ढुङ्गा ल्याउन जाँदा हिलोमा चिप्लिएर उतानो प¥यो । गाडी पनि धन्न भिरतिर खसेन । भितातिर जोतियो ।
अलि अगाडि गएपछि सडक छेउमा दुई चारवटा घर देखिए । ड्राइभरले घ्याच्च गाडी रोकेर भुइँमा झयो । झर्ने बितिकै ओठमा बाक्लो लाली पोतेकी नक्कली नक्कली देखिने एउटी होटेलवालीको नजिक पुगेर साहूनीका गाला चिमट्यो । साहूनी सूर्यमुखी फूल सूर्यतिर ढल्केझैँ ड्राइभरतिर ढल्कि।ड्राईभरको काँधमा च्युडो अडाएर उसको कानमा के के कुरा खुसुक्क भनी । ड्राइभर मुसुक्क हाँस्दै होटेलभित्र पस्यो । साहुनीले गिलासमा रक्सी र प्लेटमा मासु ल्याएर दिई । ड्राइभरले एकै स्वाटमा गिलास रित्यायो । अरू यात्रुहरू पनि झरेर दाँया बाँया होटेलहरूमा लागे । त्यहाँ प्राय जसो घरमा होटेलको साइनवोर्ड झुण्ड्याइएका थिए । एक ठाउँमा भने फ्रेस हाउस लेखिएको थियो । त्यहाँ मासुमा हरिया झिँगा भन्किरहेका थिए । त्यही बाहिर सिनुमा गिद्द झुम्मिएझँै मान्छेहरू झुम्मिरहेका थिए । एउटा जाँड खाएर टिल्ल परेको जड्याहा मलाई दुई किलो उदारो मासु चाहियो भनेर अड्डी कसिरहेको थियो । साहूजी दिन मानिरहेको थिएन । ऊ साहूजीसँग चर्को चर्को स्वरमा कराउँदै थियो । साहुजी भित्रबाट निस्केर उसलाई धकेल्दै रोडमा वल्लो छेउ पुर्याउर फर्कियो । ऊ झन् ठूलो स्वरमा साहूजीलाई आमाचकारी गाली गर्न थाल्यो । साहूजी पनि के कम जवाफ फर्काउँदै थियो । जड्याहले फेरि के भनिस भन्दै पसलमै पुगेर मासु राखेको शिशामा मुड्कीले बजार्यो । शिशा झर्याम्म फुट्यो । साहूजी रिसले आगो भएर बाहिर निस्क्यो । बाघले वाख्रालाई झम्टेझँै साहूजीले उसको गला समात्यो । नजिकै होटेलमा तास खेल्न बसेका मान्छेहरू आएर छुट्टाए ।
ड्राइभर दारूले टिल्ल परेर निस्क्यो । गाडीमा चढेर कानको जाली फुट्ने गरी हर्न बजायो । यात्रुहरू तँछाड मछाँड गर्दै गाडी चढ्न थाले । पहिले सिटमा बसेका जति सिटमा बसे । पहिले उभिएका जति उभिए । दुई चार जना नयाँ यात्री पनि थपिए । तिनीहरू पनि उभिनेकै लस्करमा गएर उभिए । यात्रुहरूका पसिना ,अपान वायु, जाँड रक्सी, चुरोट र गुटखाको गन्धको समिश्रणले गाडी भित्र अर्कै खालको दुर्गन्ध फैलिएको थियो । एकजना उभिरहेको मान्छेले सिटमा बसिरहेकी युवतीको टाउकोमा पर्ने गरी हुलुक्क बान्ता ग¥यो । युवती अङग्रेजी भाषामा के के भनेर गाली गर्दै बड्बडाउँदै थिई । मैले बुझिनँ ।
नरक मार्गमा थुप्रै घुम्तीहरू आए । ती घुम्तीबाट तल हेर्दा सीधै स्वर्गलोक देखिन्थ्यो । दुईचार किलोमिटर अन्तरालमा दुई चार वटा पसलहरू बाटैभरि देखिन्थे । ती पसल छेउमा चटाई ओछ्याएर चारचार जनाको समूहमा तास खेल्ने मान्छे बसिरहेका देखिन्थे । तिनका वरिपरि फुटबलका फ्यानहरू झुमिएझैँ तासका फ्यानहरू झुम्मिरहेका थिए । चिया पसलमा मान्छेहरू जम्मा भएर विकास र राजनीतिका चर्का चर्का बहस गरिरहेका थिए । नरक मार्गलाई स्वर्ग मार्गमा रूपान्तरित गर्ने विषयमा बहस हुँदै थियो सायद । त्यहाँ कसैको कुरा कसैले सुने जस्तो लाग्दैनथ्यो । सबै आआफ्ना कुरा मात्र सही, आफू मात्रै जान्ने, आफू मात्रै विद्वान् अरू सबै मुर्ख भने जसरी प्रस्तुत भइरहेका थिए । कुरा सुन्दा यस्तो लाग्थ्यो त्यहाँ नेता बढी, जनता कम छन् । सबका सब नेता मात्रै छन् जनता खोई कहा छन् ? सायद नरक लोकमै छन् कि ? यमराजले बिना कसुर तिनलाई तातो तेलमा डुवाउँदै होलान् । तिनका नेताले गरेको गल्तीको सजाय तिनले पाउनुपर्ने व्यवस्था कानुनमै सुनिश्चित गरिएको छ रे । चिया पसलको गफ उत्कर्षमा पुग्दै थियो । मान्छेहरू चर्को चर्को स्वरमा कराउँदै थिए । त्यहाँ उनीहरूले अधिकारका कुरा मात्र गरेको सुनियो तर कर्तव्यको क पनि बोलेको सुनिएन । यसपटक नरक मार्गको स्तरोन्ति गर्ने योजना रहेछ । हुन त यो योजना प्रत्येक वर्ष पर्ने रहेछ । तर हिउँदभरि योजना बनाएर जब वर्षा लाग्छ तब काम सुरू गरिने रहेछ । डोजर मालिक, नेता र कर्मचारीहरूको मिलेमतोमा वर्षे भेलमा बजेट खन्याइँदो रहेछ । वर्षामा डोजर लाउँदा भएको सडक पनि भत्किँदो रहेछ । हिलाम्मे भएर बिग्रिदो रहेछ । बजेट जति भए पनि कम गुणस्तरको काम गरेर अलिकति बजेट नरक मुख्यालयसम्म पुर्याउ नै पर्ने रहेछ । नरक शाखाको प्राविधिक खानामा त बोर्डमै योजनाको पचास प्रतिशत रकम प्राविधिकलाई वुझाउनुपर्ने नत्र योजना पास नगरिने भनी स्पष्ट लेखिएको नै रहेछ ।
ड्राइभरले घ्याच्च ब्रेक लगायो । रोपाइँ गर्न ठिक्क पारिएको खेतको गह्रा जस्तो ठाउँमा बस रोकियो । ल नरक आइपुग्यो झरौँ सबै जना भन्दै खलासी करायो । मलाई बोक्ने यमदूत माथि मेरो आत्मा उडिरहेको थियो । कति कति खेर म मरेको छैन भनेर झुक्किरहन्थेँ । तर हलचल नगरेको आफ्नै शरीर यमदूतको झोलामा देखेर म मरेको नै रहेछु भन्ने विश्वास हुन्थ्यो ।
नरक मुख्यालयको भव्यता देखेर म मन्त्रमुग्ध भएँ । चिल्ला सडक, भव्य भवन ,चिल्ला गाडीमा सुलुलु बग्ने मुख्यालयका कर्मचारीहरू । मिनिस्कर्ट लगाएका षोडषी युवतीहरू । हात हतियारसहितको कडा सुरक्षा व्यवस्था । पानीका फोहोराहरू बगैचा र फूलहरू । यी सबै देखेर मलाई पहिल्यै मर्न नपाएकोमा थकथक लागेर आयो ।
यमदूतले मलाई भोजन शाखामा बुझायो । भोजन शाखामा पाकेका परिकार देखेर मैले घुटुक्क थुक निलेँ । मसँगै हिँडेको अर्ना अगाडि नै आइसकेको रहेछ । ठूलो कुकरभित्र स्याँस्याँ गरेर सास फेर्दै थियो । अब स्याँस्याँ गर्ने पालो मेरो थियो ।
भकभकी ऊम्लेको तेल देखेर मलाई भाउन्न छुटेर आयो । मलाई उम्लेको तेलको कराहीमा हाल्ने सुरसार हँुदै थियो । अगि तातोपानीमा डुवाउँदा पनि मलाई कम्ति कष्ट भएको होइन । तर डुबाएर निकाल्दा भने मलाई एकदमै आन्नद लागेको थियो । शरीरमा बिझेको काँडा निकालेझँै शीतल लागेको थियो । म हावामा तैरिरहेको थिएँ । मेरो शरीर मात्रै यमदूतसँग थियो । मेरो शरीरलाई उम्लेको तेलमा डुबाए । झ्वाइँया आवाज आयो । तर अहँ दुखेन । हेर्दाहेर्दै मासु तारिएर रातो बन्यो । सरकारलाई कुखुराको रोष्ट मनपर्छ भन्दै भान्सेले मलाई कराहीबाट निकालेर एउटा ठूलो किस्तीमा राख्यो । एकछिन पछि म यमराजको टेबलमा थिए । विदेश रक्सीसँगै मेरो मासु काटा र चम्चाले लुछेर यमराज चपाउँदै थिए । म भने नरकमार्ग स्वर्ग मार्गमा बद्लियोस् भनेर प्रार्थना गरिहेको थिएँ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।