भूपेन्द्र शाही
सम्झिन्छु
आँसु झर्दा आँसुले आँखा सम्झेझैँ
म तिमीलाई सम्झिन्छु
हाँसो उठदा हाँसोले ओठ सम्झेझैँ
म तिमीलाई सम्झिन्छु
कुहिरोले आकाश सम्झेझैँ
मेरो मनले तिमीलाई सम्झिन्छ
बादलले धर्ति सम्झेझैँ
नदीले समुद्र सम्झेझै
हिमालले हिउँ सम्झेझैँ
सुखमा पनि सम्झिन्छु
दुःखमा पनि सम्झिन्छु
पानी पर्दा नि सम्झिन्छु
घाम लाग्दा नि सम्झिन्छु
कुहिरो लाग्दा नि सम्झिन्छु
बादल लाग्दा नि सम्झिन्छु
ठूलै विपद पर्दा नि सम्झिन्छु
सानै सफलता हात पर्दा नि सम्झिन्छु
हरिणझैँ ओरालै ओरालो झर्दा नि सम्झिन्छु
सफलताको सानो सिँढी उक्लिदा नि सम्झिन्छु
बादलले वर्षा सम्झेझैँ
घामले प्रकाश सम्झेझैँ
म तिमीलाई सम्झिन्छु
प्रिय बालसखा !
तिमी र म खेलेका
खेत र खलियानहरू
बारीका पाटाहरू
खोलाका किनारहरू
बालुवाका थुम्काहरू पनि
तिमी जत्तिकै सम्झिन्छु !
प्रेम
जब झमझम पानी वर्षिन्छ
तिम्रा यादहरू
तप्प तप्प पानीका थोपाहरूजस्तै वर्षिन्छन्
मानौँ म बलेँसीको ढुंगा हुँ
तिमी त्यो ढुंगामाथि वर्षिने पानीको थोपा हौ
र त्यो ढुंगालाई हल्का स्पर्श गरेर
टाढा-टाढा बगिजाने तिमी बलेँसीको पानी हौँ
मानौँ म कर्कलाको पात हुँ
र त्यो पातमाथि एक छिन अडिएर भुईँमा पोखी जाने तिमी शितको त्यही थोपा हौ
मानौँ म सिमलको रुख हुँ
र त्यो रुखबाट उडिरहने तिमी सिमलको भुवा हौ
आकाशबाट वर्षिने पानी पनि ठिक त्यस्तै छ
जसरी यादहरू कतै शून्य आकाशबाटै वर्षिन्छन्
यादहरूको वहाव पनि उस्तै छ
जसरी माथि कैलाशबाट बहँदै नदी समुद्रमा विलिन हुन्छ
म नदी हुँ र तिमी समुद्र हौ
समुद्रमा पानी वाष्पीकरण हुन्छ
र माथि माथि आकाशमा पुगेर फेरि झरी बनेर वर्षिन्छ
यो यसरी वर्षिरहन्छ
जसरी तिम्रा यादहरू छिन छिनमा वर्षिरहन्छन्
यो पानीको जलचक्र
र यादहरूको चक्र उस्तै छ
यो बादल र झरी बीचको प्रेम
अनि तिमी र म बीचको प्रेम यस्तै छ
यो बलेँसीको ढुंगा
अनि पानीको थोपा बीचको प्रेम जस्तै छ।
प्रिय तिमी हौ
जब जब निराशाको चरम भूमरीमा पर्छु
एक्लोपनाको न्याउलीले मनमा डेरा जमाउँछ
तब तब चिर्बिर चिर्बिर गर्ने चरी आइपुग्छे
त्यो चिर्बिर गर्ने चरी प्रिय तिमी हौ
जब जब नाइल नदी जतिको सम्झना बोकेर
चिसो हावाको झोँक्काले हल्का
कपाल सुम्सुम्याएर जान्छ
त्यतिखेर शिरमा नाच्ने
हावा जत्तिकै शितल हात प्रिय तिम्रो हो
पृथ्वीको एउटा भूगोलबाट बहँदै गरेको एउटा नदी
अर्को भूगोलबाट बग्दै गरेको अर्को नदीमा मिसिन्छ
र फेरि एउटै भएर बग्न थाल्छ
त्यो नदी पनि प्रिय तिमी हौ
नीलो आकाशमा पूर्णिमाको जूनलाई छोप्ने
सेतो बादलको पछ्यौरी हावामा लहराइरहेको हुन्छ
घरि जूनलाई छोप्छ र घरि आकाशलाई छोप्छ
त्यो पछ्यौरी पनि प्रिय तिम्रै हो
गुलाबी गुलाबी यानमा बसेर
वल्लो डाँडादेखि पल्लो डाँडा
पल्लो डाँडादेखि फेरि पल्लो डाँडा
सँगसँगै यात्रामा निस्किने पनि प्रिय तिमी हौ !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।