कुनै दिन सम्मानपूर्वक सित्तै सस्तै जुम्ली मार्सीभातको सौगात पाएर हाँपझाँप गर्दै तीन थाल बजाउनु भा थ्यो । चौरासी व्यञ्जनमाथि लोलोपोतो मिसिएको थप पचासी थरी थपुवा चिल्लो चापुल्लो पनि मनग्गे भ्याउनु भा थ्यो ।

मह मिष्टान्न सलादसाथमा मिट्ठा पानपरागको अनुरागमा पनि उत्तिकै रत्तिनु भा थ्यो । जर्दा सुपारीका मुखसिद्धि खुराक पनि बूढो भालुले मकैका घोगा चपाए झैँ बङ्गारा बङ्ग्याएर मक्ल्याकमुक्लुक पार्नु भा थ्यो । खास कुरा त अझ थप टीकाटाला दानदक्षिणाका किस्ती बण्डल भेटेर सुटकेस, गोजीभरी अटसमटस कोच्नु भाथ्यो र दशैंको दक्षिणा पाएका बालबालिकाजस्तै खुशीले काँचो पिँडालु बिर्साउने गरी कोक्किनु भाथ्यो ।

अनि त्यही मानभाउको तीनपाने तुजुकले हो कि, केले चैँ हो, आफ्नो औकात भुलेर मालसिरीमा डान्स गर्नु भा थ्यो । बगालिएको अर्ना छटाएझैं उछिल्लिएर पुच्छर उचाल्दै बुर्कुसी मार्नु भा थ्यो र सीधै चन्द्रागिरीदेखि नीलगिरिसम्मका रिसोर्टमा पुग्नु भा थ्यो । त्यहाँ पनि त झन् उसै बस्ने कुरै भएन, पात्तिँदै मनमोजी चर्तिकला पनि अजमाउनु भाथ्यो । बिहान हिमाली दृश्यावलोकन र बेलुकीका क्याम्पफायरका मोजमस्तीमा गस्ती गर्दै मांसमदिराका तोङ्वा बोतल पनि भेटे जति लडाउनु भाथ्यो । गफका पर्रा छोडेर दशै दिशाभरी आफ्नै हात जगन्नाथ भएको गुड्डी हाँक्नसमेत भ्याउनु भा थ्यो ।

“कठै ती दिन गै गए ।” वनवासी राजारामकै चाल पो भयो त अहिले आएर । अरू अरू पनि थुप्रै मार्सी धान प्रख्यात थिए यो कृषिप्रधान देशमा । परासीको तुलसीप्रसाद कपिलवस्तुको कालानिमेक, पोखराको जेठोबूढो गोकर्णको गौडियामार्सी सीपाको छोटेमार्सी दाङको तिल्की आदि इत्यादि मार्सीहरूको भरमारै थियो र छ पनि तर चिसो पानी लाग्ने, लेकाली प्रदेशमा फल्ने सौभाग्य पाएर होला अनि चाहिँदो ख्याति कमाएर पनि होला जुम्ली मार्सीले अरू सब मार्सीलाई भारेभुरे बाथको कोटीमा पछाडि धकेलेको छ । आफ्नो अलग्गै पहिचान याने पेटेन्टको विश्वव्यापी गौरव गाथामा पनि उदरपीठ भएको छ ।

त्यसैले जुम्ली मार्सीको साख खास्सा बस्तु पो बन्न गएको छ देशभित्रै पनि । तर यताको समस्या अर्कै बल्झिदिएको छ यति बेर । के तलबितल परेर हो कुन्नि,ती दिन अव रहेनन् । कमजोर पाचन शक्तिले गर्दा भात पचाउन नसकेर हो वा त्यसको रसायनले उन्माद जगाएर हो या अत्यधिक रसादि ग्रहण गरेर हो, दैव जानुन्  ! आज त्यही भात छड्किएर अन्धाधुन्ध उत्पात मच्चाउन थालेको पो हो कि ।

उसै त चिसो पानीको मार्सी धान उसको पनि भात । त्यसलाई पनि अपच्तो भ्याएपछि के गरौं, कता जाऊँको सन्निसर्पन भा छ । पेटमा पगितो अपच पदार्थ परेर दिमाग छड्किएको थाहा पाएपछि पाहुना हजुर बल्ल ग्वाँ पर्नु भा छ । भातले महँगो भाउ खोजेर छिर्के दाउ लगाएपछि हाउगुजीले हाराबारा पारेको छ । डोरीमा गोमन सर्पको आभास भएर भासमा दबिँदै गएको भान भा छ । उठौं त उठ्न नसकिने बोलौं त कसैले नसुन्ने र नपत्याउने झम्पाट खलपात्रको बेढङ्गी चालले ठाडो शिरमाथि तेर्सो पेलम्पेल भा छ ।

रातमा बास बसेका महिला बूढाबूढीलाई अरिङ्गाल सेना पठाएर लखेट्ता पनि भातको आँत गलेको हैन, झन् झन् अरठिएको छ । आँट खस्किएको हैन झन् झन् दरिएको पो छ । माइतीघर पराई घर बनाएर प्रतिबन्ध लगाउँदा पनि भातको आँट छाँटिएको हैन उल्टै बल्खुका चौराह चोकमा आगो बाल्न पुगेर वाटर क्याननका फोहोरा छोड्नु पर्या छ ।

मकैबारीमा पसेका बाँदरलाई जस्तै टिन ठटाएर लखेटौं भन्दा उल्टै ङिच्च दारा देखाएर जिस्क्याउन थालेको छ । बन्दुकका कुन्दा खटट्ट चलाउँदै हर्काउँदा पनि उल्टै फर्की फर्की ढुङ्गामुढाले जाइलागेर हैरान पार्या छ । महँगो अश्रुग्याँसका लोला पड्काएर जाइलाग्नु पर्या छ । थरीथरी जासुस प्रहरी र पाल्तु अरिङ्गालका न्वाराने शक्ति र सामर्थ्य खर्चिएर  दपेट्नु पर्या छ ।  यता माइतीघर बन्दाबन्दी । उता भातले साँच्चै उत्पात मच्चाउने इरादाले मार्सी सेना बटुलेर बल्खुका सडक कब्जा गरेपछि टोक्नु न बोक्नुको चाल भा छ ।

बन्दुक, तोपको शक्ति प्रयोगको धमास दिएर ललकार्दा पनि अटेरी भात भने झन् पो वाचाल भा छ । तथानाम गालीगलौजको मुख छोडेर हड्डी नै गाल्ने खालको अड्डी लिएको छ । कहिले गौशालाका चोक र थाना हुँदी ढुङ्गा मुढाको वर्षाले सन्निसर्पन पारेर भन्नु नभन्नु भनेको सुन्नु पर्या छ । त्यो बेइज्जती खप्तै सहँदै गर्दा अचाक्ली भएपछि कतिबेर तिनै मार्सी सेनामाथि पुलिसका डण्डा भिडाउनु पर्या छ । डण्डा अश्रुग्याँसमाथि भिजिलान्ते खटाएर ढुङ्गामुढाको वर्षा पनि गराउनु पर्या छ । त्यति गर्दा पनि भात शान्त नभैदिँदा अझै मेजमानीमा हसुरेका थरी थरी परिकारका थपुवाजस्तै झञ्झट झ्याउलो र सास्ती पनि बढ्या छ ।

जवाफी फयार काम नलागेपछि बसिखप्नु भा छैन । दुई दिन भएपनि तनावमुक्त हुने इरादाले कहिले यताउताका कुनाकाप्चातिर लुसुक्क लहसिनु परेको छ कहिले विनाबित्थाको जरुरी काम देखाएर विदेशका धामतिर नाम्सिँदै मुन्टो लुकाउनु पर्या छ । कतै शिर झुकाउनु पर्या छ ।

के चैँ भन्नु के नभन्नु खै ! अग्नि मन्द भएर हो कि, निकासी ढोका बन्द गरेर हो, उति बेर पेटमा पुगेको भात यतिबेर भाँडिएर भाँडभैलो गर्न लाग्या छ । भन्नु पनि भन्छ नभन्नु पनि भन्छ भान्सेले । कतिबेर आसनबाट खँगार्छु भन्छ, कतिबेर शासनबाट लघार्छु भन्छ । कतिबेर बल्खु छोप्या छ । कहिले कहिले गौशालामा अशान्तिको बीउ रोप्या छ ।

मोफसलमा भए त तद्बिसेक भन्नु हुन्थ्यो तर राजधानीमै आएर भातको बदला लिएझैँ तमास देख्या छ । शान्ति सुरक्षा सन्निसर्पन पारेपछि पुलिस लगाउनु पर्याछ अनि तिनै भातका दातामाथि आँखाकैद याने नजरबन्द गर्नु पर्या छ । त्यसैले आज जे जे गर्नु न गर्नु मार्सीभातले गर्या छ ।