काठमाडौं । प्रशासकीय चक्षुबाट नेपाली जनजीवन चिहाउँदै विसंगतीहरूलाई यथार्थपरक रूपमा प्रस्तुत गर्ने सिद्धहस्त कथाकार नरेन्द्रराज पौडेलको ७५ औं जन्मोत्सव कथा यात्राका यात्रीहरूले पौडेलको बानेश्वर स्थित निजि निवासमा कथाकारको कथनी श्रवण गरी मनाए । उक्त अवसरमा कथाकार नरेन्द्रले माओवादी सशत्र द्वन्दकालीन कालखण्डको आफ्नो सदावहार कथा “गोली’ वाचन गर्नु भएको थियो ।
कथाकारको कथनीमा सिद्धहस्त कथाकार नरेन्द्रराज पौडेलले आफ्ना बाल्यकालका स्मृति, कथा लेखन र प्रकाशनको सुरुवाती संघर्ष, कथा प्रकाशनको खुसी, कथा लेखनमा समकालीन साथीहरूको सद्भभाव र पाठकहरुको मायाको फेहरिस्त सुनाउनु भयो ।
कथाकार नरेन्द्रराज पौडेल करिव १७ वर्ष लगातार प्रजिअ भई नेपाली राजनीतिका अनेक उकाली ओराली भोग्नु भएकोले उहॉका लेखनीमा प्राय प्रशासनीक दृष्टिकोणबाट नेपाली जनजीवनका पीडा र मर्महरू झल्कने गरेका छन् ।
वि. सं. २०२६ सालमा ‘केही दिन केही क्षण’ कथा प्रकाशन गरी कथा लेखन यात्रा आरम्भ गर्नु भएको नरेन्द्रराज पौडेलको मेटिएका रेखाहरु,फट्टिकको खम्बा, पर्खालबाहिर, स्वप्नयात्रा, रोबोटको ऑखा नामक कथासंग्रहहरू लगायत केही हॉश्यव्यड्.ग संग्रह प्रकाशनमा आएका छन् । केही उपन्यासहरूको प्रकाशक पर्खिरहेका पौडेल निरन्तर कथा, निवन्ध र कविता लेखिरहने गर्नुहुन्छ ।कथा पढ्नमा जति स्वाद आउँछ, लेखनमा त्यति नै जटिल भएको बताउने नरेन्द्रराज कथामा कथानकको अलावा परिवेश, पात्र, चरित्र र द्वन्दको सही संयोजन हुनुपर्ने तर्क राख्नुहुन्छ ।
कथा यात्राले प्रत्येक महिना एक सिद्धहस्त कथाकारको जन्मोत्सव मनाउँदै कथाकारको कथनी श्रवण गर्ने कार्यक्रमको थालनी गरेको छ । कथाकार नरेन्द्रराज पौडेल वि.सं. २००६ साल जेष्ठ ९ गते बुद्धजयन्तीका दिन सिन्धुपाल्चोकमा जन्मनुभएको हो । नियमित गरिने कथा यात्राको यो दोस्रो कदम हो । कथा यात्रीहरूमा दीपक लोहनी, प्रमोद प्याकुरेल, डा. हिमलाल श्रेष्ठ, कुमार काफ्ले, विश्व कुईंकेल, हरिश कल्पित र पवित्रा अधिकारी रहेका छन् ।
यस कार्यले नेपाली कथालाई थप चलायमान बनाउने अपेक्षा गरिएको छ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला