समयलाई नपछ्याई कहाँ सुख छ ? समय विपरीत को चल्न सक्छ र ? धैर्यको पाठ सिकाएर समय आफ्नै गतिमा धेरै अघि पुगिसकेछ । आज पूर्वस्मृतिमा हराउँदै छन् सर्वेन्द्र । जीवन गति कहाँ सोचेजस्तै सरल रेखामा अघि बढ्दो रहेछ र ? बक्र रेखाहरू पार गर्न न सोचे झैँ हुनेरहेछ सरल पद्धति । थुप्रै उतारचढाबहरू आए जीवन यात्रामा सर्वेन्द्रका ।

घरबार छाडेर हिँडेकाहरू सबै कहाँ बुद्ध बनेर फर्कदा रहेछन् र ? न श्रवणकुमार बन्दा रहेछन् सबै सन्ततिहरू । सुरुमै यति बोलेर भक्कानिए सर्वेन्द्र ।
ग्रामीण जीवन भोगाइ । जसोतसो चलिरहेकै थियो जीवन गति । बिदा र फुर्सदमा घाँस दाउरा, अर्मपर्म, मेलापात अरू समय गाउँकै विद्यालयमा पढाउथे सर्वेन्द्र सर । सरल, शालीन सर्वेन्द्र स्पष्टवक्ता समेत थिए । गाउँमा राम्रै छाप थियो उनको ।

बिहे गर्दा सर्वेन्द्रको उमेर बिस थियो । १७ वर्षकी सावित्रीलाई जीवन साथीका रूपमा घरमा भित्र्याएका हुन् उनले । कान्छो छोरा सर्वेन्द्रले आइ.ए. सकेका थिए । पढ्ने रहर नभएको होइन । पारिवारिक जिम्मेवारीले थिचिँदै गएपछि उनको थप अध्ययनको गति रोकियो । दाजुहरू छ्ट्टिए । आमाबाबुको सेवासँगै कर्म गरिरहेका उनले दमले च्याप्दै लगेको ६५ वर्षे पिता गुमाए । पाठेघरको समस्यासँगै क्यान्सरले खायो केही वर्षपछि नै ५७ वर्षे आमालाई पनि । सुखमा मज्जाले रमाउँदै खुसी हुन नपाउनु अनि दु:खमा खुलेर रुन, दु:ख पोख्न नपाउनु सबभन्दा कठिन भोगाइ हो सायद मनुष्य जीवनको । पाँच वर्षको समयावधिमा सन्तान प्राप्तिको सुखसँगै पितृमातृ वियोगको पीडा भोगिसकेका थिए उनले । सुखमा रम्न नपाउँदै दु:खको झरीले सताइरह्यो सर्वेन्द्रलाई । सुखको झुल्के किरण गर्न नपाउँदै दु:खको बादल मडारिन पुगेपछि कहाँ सजिलो हुनु जीवन गोरेटो ?

सुन्दर सावित्रीको शालीन व्यवहारले केही दु:ख विर्साउँथ्यो उनको । सात वर्से अन्तरालमा तिन सन्तान जन्मिई सकेका थिए,एस.दम्पतिबाट । समय ठिकै चल्दै थियो । समयले दिएको चोटको गुनासो गर्नु पो आखिर को सँग ? छोरा सन्तोष, सुलभ र छोरी रक्षाका बाल सुलभ गतिविधिले पुर्दै थियो समयको घाउ । पढाइसँगै सङ्गीतप्रतिको मोह थियो उनमा । सावित्री नृत्यमा सौखिन । आफूले पूरा गर्न नसकेका रहरहरु सन्तानबाट पूरा हुनेमा विश्वस्त थिए उनीहरु । राम्रै पढ्दै थिए सन्तोष, रक्षा र सुलभ । विद्यालय जानु, कलिला बाल मस्तिष्कमा आशातित ज्ञानका किरण छर्नु, तिनैका सामिप्यतामा रमाउनु, तिनसँग खेल्नु, नैतिक कथा सुनाउँदै असल मानिस बन्न प्रेरित गर्नु दैनिकी थियो सर्वेन्द्रको । समयले दिएर जाने चोट त भोग्नु नै थियो जे होस् आफूसँग भएका कुरामा सन्तुष्ट नै थिए उनी । आफूलाई पढाउँदा रवि सरले लक्ष्य विनाको मानिस त बाँदरजस्तै हुन्छ भन्दै शिक्षकको महानता प्रष्ट्याउने सन्दर्भमा एक दिन विद्यार्थीहरुलाई सोधेका थिए आफ्नो जीवनको लक्ष्यका बारेमा ।

‘‘नवीन तिम्रो लक्ष्य के हो ?”–पुलिस, नवीनको उत्तर थियो ।

‘‘सुनिता तिमी आफ्नो जीवनको लक्ष्य बताऊ त !”, रवि सरले सोध्दै गर्दा सुनिताले नर्स उत्तर दिएकी थिई । मैले शिक्षक, रमेशले व्यापारी, मनिषाले ब्युटिसिएन, बद्रीले वकिल, गौरवले डाक्टर गर्दै क्रमैसँग सुनाएका थिए आफ्ना जीवनका लक्ष्यहरू । रवि सरले अन्त्यमा भन्नुभएको थियो, ‘सबै पेसाको आफ्ना ठाउँमा उत्तिकै महत्त्व छ तर अन्य पेसाहरूमा सीमितता भेटिन्छ । सीमिति परिधिमा रहेर सबै असल होऊन्, ज्ञानी बनून्, सफलताको शिखर चुमून् भन्ने सोचेर ज्ञानको उज्यालो छर्ने, अरूको सफलतामा खुसी हुने र अन्य सबै पेसाकर्मी निर्माता त शिक्षक नै हुन् । त्यसैले शिक्षक महान् ।’

यसो भनेर रवि सर हाँसेको अस्तिजस्तो लाग्छ । साथीहरु कुनकुन सीमिततामा बाँधिए सबै बारे थाहा छैन तर मेरो चाँहि लक्ष्य अनुरुप नै बन्यो जिन्दगी । रवि सरको कुरा सम्झन्छु, पेसाप्रति झन् गौरवबोध हुन्छ मलाई उनी बोले । यसो भन्दै गर्दा प्रष्टिन्थ्यो उनको उज्यालिएको मुहार । सर्वेन्द्रको उज्यालिएको मुहारमा क्षणभर मै ग्रहण लाग्यो । उनी जीवन घटना स्मृतिको अर्काे मोडमा पुगे सायद ।

पहिलो सन्तान सन्तोष गुमाउँदाको क्षण सम्झिए उनले । खाएपछि बान्ता हुने समस्या देखियो । अनेक उपचार गरियो । अस्पतालले रोग पहिल्याउनै सकेन । सबै प्रयास विफल भयो छोरा बचाउन सकिएन । अन्तिमपल्ट छोरालाई उपचार गराउन अस्पताल लैजादै गर्दा बाटामै काखमा उसलाई गुमाउनु पर्दाको कहालिलाग्दो त्यो घटना सम्झेर उनी भक्कानिए । कथा भन्न कर गरेको मेरो आँखामा पनि झरी परेछ । एकछिन पछि शान्त हुँदै उनी बोले यो घटनापछि ऋणमा डुबियो । भएको गहना, घडेरी बेचेँ । बलेको आगो हो ताप्ने सबैले, ओराली रागेको मृगलाई बाच्छाले पनि खेद्छ भन्छन् नि हो यस्तै व्यवहार भो आफन्तहरुबाट । पुत्र वियोगको घटनापछि साबित्रीका आँखा कहिल्यै ओभाएनन् । यही चिन्ताले ऊ दुब्दाउँदै गई । जति सम्झाए पनि उसको मन फर्केन । चिन्ताले चितामा पुर्‍याउँछ भने झै भो । यो पीडाले मर्माहत म माथि पुन: समयको बज्रपात पर्‍यो । एकदिन दाउरा खोज्न गएकी ऊ चिप्लिएर लडिछ । अबेरसम्म नआएपछि खोज्न जाँदा उसैलाई दाउरा पायौँ । सन्तान टुहुरा पारेर, मलाई एक्लै छाडेर उसले संसार छाडी । सायद उता परलोकमा सुख छ होला । त्यसैले कोही फर्कन मन गर्दैनन् गएपछि । ऊ जून बनी हाम्रा आँखामा झरी परिरह्यो । समयले ममाथि परीक्षा लिइरह्यो ।

यसको अनेक प्रहार सहेर बाँच्न मन नभए पनि म मर्न सकिन । सुलभ र रक्षाको मुख हेरेर समय गुजारेँ । आमाको ममताको अभावले पिरोल्न थाल्यो सायद रक्षा र सुलभलाई । रक्षा पढ्न मन गर्न छोडी एसएलसी दिए पछि नै उसले विवाह गरी । घर राम्रो परिदिएको भए त हुन्थ्यो नि । नारीले नै नारीको किन यति साह्रो खोइरो खन्छन् हँ ? दङ्ग पर्छु म । हाम्रो अवस्था थाहा छ र पनि सासू सधै दाइजो नपाएकामा कचकच गर्छिन् रे ! के सोचे थेँ, के हुन पुग्यो खै जिन्दगी ? उनले लामो सुस्केरा हाले । आफ्नो अन्तरकथा बताइरहेका यी त मलाई सानामा पढाएका आफ्नै गाउँका सर्वेन्द्र सर पो रहेछन् । मैले बल्ल भेउ पाएँ तर आफूलाई चिनाइन ।

सन्ध्याकालीन समय छ । गुँड फर्कँदै छन् चराहरू । नारायणी नदीको आफ्नै वहाब छ समुद्र भेटका निम्ति । पहेँलो घाम डुब्नै लागेको छ डाडाँमाथि । घामजस्तै सर्वेन्द्र सरको कथा सुनिरहेछु म समय दिएर । मनमा गुम्सेका कथाव्यथा सुनाउन पाउँदा मन हलुका हुन्छ नि ! तर आजको स्वार्थी दुनियाँमा अरुका कथाव्यथा सुन्ने समय को निकाल्छ र ? म सुनिरहेछु नि:स्वार्थ सर्वेन्द्र सरको कथाव्यथा । त्यसपछि के भयो ? चियाको चुस्की लिँदै म बोलेँ । सर्वेन्द्र सरले बिस्कुट टोक्दै भने, ‘‘के सुन्छौ र मेरो कथा ? तिमीलाई दिक्क लागिसक्यो होला ?”

द्वन्द्वकालीन समय थियो । छोरा सुलभ १० कक्षामा पढ्दै थियो । बेलाबेला यस्तो ब्रुजुवा शिक्षा काम छैन भन्दै क्रान्तिकारीहरु आउँथे । समाजवादका कुरा गर्थेँ, सामन्ती सत्ता ढलाएर सर्वहारा वर्गको मुक्ति खोजी गर्ने कुरा गर्थे । ‘कस्ले भन्छ क्रान्ति यहाँ सफल हुँदैन, कस्ले भन्छ योद्धाहरुको जित हुँदैन ।।’ यस्तै यस्तै गीतहरु गााउँथे । खान माग्थे, दिनै पथ्र्यो । सेना आएर तर्साउँथ्यो । डरैडरको समय थियो । खान, बस्न नदिए माओवादी आतङ्कित पार्थे । दिए सेनाको धम्की र शासन खप्नुपर्ने । आवश्यक सहयोग नगरेकामा डन्डपाणि काकाको हातखट्टा बाँधी छातिमा बन्दुक तेस्र्याएर भएको सबै धान, पैसा लिएर माओवादी गएको साथै माओवादीलाई सहयोग गरेको भन्दै सेनाले निर्मम यातना दिएको सन्तबहादुरको कथा सुनाए उनले । एकदिन बिहान खाना खाएर विद्यालय हिँडेको छोरो बेलुकी घर फर्केन । हंसले ठाउँ छोड्यो । कहाँ जानु, कसलाई भन्नु ? खोजी भो कतै पत्ता लागेन । ऊ बेपत्ताको सूचीमा पर्‍यो । लाग्यो मेरो आशाको दियो निभ्यो , भविष्यको सहारा हरायो । धेरै खोजी भो, प्रशासन गुहारियो पत्ता लागेन, नआत्तिनोस् हामी खोज्दै छौँ प्रशासन भन्थ्यो । क्रान्तिमा लागेकाहरु भन्थे,‘‘हामीले भेट्यौँ भने ल्याइदिन्छौँ ।”आखिर कोबाट किन अपहरण गरियो या बेपत्ता पारियो या आफैँ ऊ कतै गयो म अनभिज्ञ रहेँ ।

केके भोग्नुरहेछ कुन्नि जिन्दगी पनि । रुनका निम्ति सायद अब आँखामा आँसुहरु पनि छैनन् शुष्क बन्यो तन, उराठ बन्यो मन । जीवन नदी किनारमा छोडिएको बग्रेठो लाग्न थाल्यो । जे परेपनि भोग्नै पर्ने, सहनै पर्ने भएर होला सायद दोपाया प्राणी मान्छेको नाम मानिस राखिएको पनि । एकदिन गोठमा रहेको सानो बाच्छीलाई एक मुठो घाँस दिएँ । ऊ खाइरहेथ्यो, मलाई हेरेर । यसले मलाई बुझ्छ सायद । म घरभित्र पानी सार्दै थिएँ । बा ! ढोग गरेँ, सन्चै हुनुहुन्छ ? छोरा सुलभकै बोली थियो । लक्का जवान छोरोले पिँढीमा झोला बिसायो । बा गाउँ त बदलिएछ । गाउँमा पनि सहरको भूत जागेछ ।

आगन्तुकको आतिथ्यतामा कोही नबोल्ने, कोही ननिस्कने । गाउँका बाटाहरु फराकिला बनेछन् तर मानिसका मन साँघुरिएछ बा । जताततै खनेर भत्किएका बाटाजस्तै भत्केछन् सम्बन्धहरु । पहिरोले त्रस्त पाखाहरु झैँ पाएँ बा मान्छेका तनमन । स्कुल जाँदा सुनौलो भविष्यको कल्पना गर्दै शीतल बस्ने समीको रुख पनि ढलेछ नि ! तपाईँको मन ढलेजस्तै । कसैले रोपेनछ अर्को समीको रुख । काट्नमै मस्त सबै कस्ले रोपोस् विरुवा । पानी सारेर बाहिर आएँ हेरेँ कोही देखिँन, आवाज मात्र सुनेँ । म स्कुल पनि पुगेँ । कामै नलाग्ने भनिएको बु्रजुवा शिक्षामा केही सुधार देखिन । बा, बन्दुक बोकेर हिँडेकाहरु त आलिसान महलमा राज गरिसकेछन् नि ! मनपरी तन्त्र मौलाएछ बा । नआत्तिनोस् बा म आएँ । तपाईँको ताप मेट्न, म कोसेली लिएर भेट्न आएँ । उसको बोली गुन्जिरह्यो । उठेर बत्ती बालेँ, घडी हेरेँ । रातको २ बजेको रहेछ । सपना पो देखेछु । हे भगवान् ! यो सपना विपना भैदिए । बत्ती निभाएर सुतेँ । बाहिर उज्यालो भैसकेछ । मनमा भने अँध्यारो उस्तै । झन् सपनाले मन बिथोल्यो । उठेँ,केही गर्न मन लागेन, मन एक तमास भैरह्यो । बस्नै मन लागेन घरमा । अब बाँकी के नै थियो र साथमा दु:खद स्मृतिबाहेक । गाईको बाच्छी छिमेकीको जिम्मा लगाइदिएँ । नियमित सेवन गर्नु पर्ने औषधीका केही पत्ता झोलामा राखेँ । झोलामा दौरा,सुरवाल, टोपी र स्टकोट हालेँ । परिवारको फोटो थियो एउटा त्यो पनि जतनले राखेँ । मदुस खोलेर हेँरे, त्यहाँ रहेछन् पुगनपुग ५० हजार त्यो पनि राखेँ । निस्के निरस मन लिएर । बाटो लागेपछि फर्केर नहेर्नु भन्छन् । मन मानेन हेरेँ फर्किएर वरपर । दुई घन्टा हिँडेपछि मोटरबाटो पुगेँ । जीवनले नसोचेको मोड लियो । गाडी चढेँ । बसमा गन्तव्यसहितका यात्री थिए सबै । म मात्र थिएँ गन्तव्यहीन/उद्देश्यहीन यात्री । सबै यात्रा कहाँ रहरका हुन्छन् र ? बसमा मलाई यो जिन्दगीले… गीत बजिरहेथ्यो ।

खलासी भाइ भाडा उठाउँदै आए । उनले सोधे,‘‘कहाँ जाने बा ?”

देवघाट ! मेरो मुखबाट अनायस शब्द फुत्कियो ।

देवघाट आएर आफूले ल्याएको सबै पैसा दान गरेँ । आज देवघाट आएको सात वर्ष बितिसकेछ । यहाँ म जस्ता धेरै पात्रहरु छन् । घरमा छोराबुहारीको व्यवहारबाट आजित भएर यहाँ आइपुगेका उहाँ हृदयानन्द ।

तीर्थयात्राको बहाना बनाएर यहाँ छोडिएका आधा दर्जन सन्तानकी आामा हुन् ती मनमाया ।

षड्यन्त्रपूर्वक उठिबास लगाइएका हरिशचन्द्र, बोक्सीको आरोपमा लगारिएकी जानकी हुन् उनी । मेरो जस्तै कथा व्यथा भएका दर्जन बढी छन् । मजस्तै हजारौँ आँखाहरू प्रतीक्षित छन् अझै पनि बेपत्ता सन्तानको आगमनमा । आजीवन प्रतीक्षा गर्दा पनि राज्य किन मौन छ बेपत्ता जनप्रति ? क्रान्ति सत्तास्वार्थमा अल्झियो बाबु ! सपनामा जस्तै विपनामा बा भन्दै त्यो छोरा आए । अब एउटै अन्तिम इच्छा छ मेरो ।

सर्वेन्द्र सरले मलाई एकएक चिनाए त्यहाँका पात्रहरु । सर्वेन्द्र सरले पढाएका शिष्यहरु कोको कहाँ कहाँ पुगे होलान् । केके बने होलान् ? अन्त्यमा मैले सर्वेन्द्र सरलाई चिनाएँ । म पत्रकार आनन्द । कक्षा ५ मा पहिलो बेन्चमा बसेर प्रश्न सोधिरहने केटो । आहो ! बाबु आफ्नै छात्रलाई कथा सुनाएछु । मेरो कथा प्रकाशित गरिदिनु है कतै छोरो सुलभसम्म पुगेर ऊ फर्कन्छ कि ? म यो कथासँगै गह्रौँ मन लिएर फर्किएँ । वृद्धदृद्धा, असहायको साझा चौतारी पाएँ मैले देवघाट वृद्धाश्रम । भोलिपल्ट ‘प्रतीक्षित आँखाहरु’ शीर्षकमा कथा प्रकाशित भो सर्वेन्द्र सरको ।

कथा प्रकाशित भएसँगै अनलाइन सञ्चार माध्यममार्फत फैलिएछ सरको कथा सर्वत्र । यसका प्रभावले मनमायाका सन्तानले पश्चाताप गर्दै फर्काएछन् आमालाई घरमा । केही महिनापछि सर्वेन्द्र सरको छोराले सम्पर्क गर्‍यो मलाई । केही समय क्रान्तिमा होमिएको ऊ नैराश्यताले अन्तत: विदेश भासिएको रहेछ । सुलभले खै किन घर आउन मन गरेन १५ वर्षसम्म । ऊ अब छिट्टै फर्कने छ । पुनर्मिलन हुनेछ सर्वेन्द्र सरको । कर्तव्य पूरा गर्नेछ सुलभले । के थाहा नफर्कने बाटो नगइसकेका अन्य सुलभहरु पनि कतै भौतारिरहेका छन् कि ? अन्य प्रतीक्षित आँखाहरुको पनि प्रतीक्षाको घडी समाप्त गरी खुसी फर्काउनु छ अब मैले । यही मेरो ध्येय हुनेछ । धन्य छ सर्वेन्द्र सरको शिष्य हुन पाएकामा ।