तीजको रमझम

 

गोपाल खनाल

तीजको रमझम आएपछि सम्झिएर रुन्छु बैनी
प्रेमपूर्ण विगत सम्झी पागल जस्तै हुन्छु बैनी ।।

निष्ठुरी त्यो कालचक्र परेपछि तिमीमाथि
अश्रुधारा थामिदैनन् रुमाल त्यैले धुन्छु बैनी ।।

देह छैन तर तिम्रो आत्मा साथ सधैँ
फोटो हेर्दै सपनीमा तिम्रो स्वर सुन्छु बैनी ।।

सगैँ खाए खेलेको पल कति रमाइलो हुन्थ्यो
बेहोसीमा मर्छु भन्दै विद्युत् रेखा छुन्छु बैनी ।।

तिहारको रमझम सप्तरङ्गी टीका फूल सम्झी
निधार छाम्दै मखमली माला उन्छु बैनी ।।

 

सम्झिएर

सम्झिएर विगत दर खाएपछि आँसु बग्छ
तीजको लहर लहरिदै आएपछि आँसु बग्छ ।।

लुकाएर राख्छु भन्छु आँसु आँखा भित्र भित्रै
गाउँका दिदी बैन्ले तीज गीत गाएछि आँसु बग्छ ।।

खुसी लुट्यो आशा टुट्यो पापी रैछ दैव
सबले रातो सिन्दुर पोते लाएपछि आँसु बग्छ ।।

पापिनीको बात,एक्लो रात,घात पाएँ सबै
बैँसमै अन्धकारले जीवन छाएपछि आँसु बग्छ ।।

कति सुन्दर जीवन जीउने सपना संगालेथेँ
सहाराहीन भई दुःख पाएपछि आँसु बग्छ ।।

नुवाकोट, तारकेश्वर १