चाडबाड आउँदा घर रमाइलो हुन्छ । परदेशीले आँगन टेक्छन्, पिँढी रमाइलो हुन्छ । घरबेँसीले स्वरूप फेर्छन्, पिङ रमाउँछ । गाउँ रमाउँछ, सहर रमाउँछ । मनको सानो कुनाबाट पिर बाहिरिन्छ र ओठमा खुसी रमाउँछ । आकाश उघ्रन्छ र सँघार रमाउँछ । इन्द्रेनीको रङ जस्तै जाँगर रमाउँछ ।
दसैँ मेरो चाड अनि नेपालीको पहिचान हो । यसले पीडित वर्षालाई शारदी शोभामा सजाउँछ । पुराना भित्तालाई कमेराले उजिल्याउँछ । दसैँले कसैलाई दशा लाउँछ र कसैको दशा हटाउँछ । हजुरबा पुस्ताका अगाडि नाति पुस्ता रमाउँछ । सन्तानको साथ पाउँदा हजुरबा पुस्ता त्यसै खुसी हुन्छ तर घर बन्दकी राखेर विदेशी भूमिमा मन बन्धक बनाउने परिवारमा चाहिँ दसैँले खुसी चोर्छ । दिनभर काम गरेर बेलुका आधापेट भरी अर्को बिहानको जोहो गर्नुपर्नेका लागि साढे साती लाग्छ । यो मेरो आधुनिक सोच हो तर हाम्रा अग्रजको सोच यो भन्दा पर छ । अग्रजका विचारमा अनुज पुस्ता लोभको कुण्डमा पौडने कल्पनामा बाध्यताको दलदलमा भासिएको छ । घुँडासम्म्को मृगतृष्णामा डुबेर क्षितिजको चन्द्रमा छुन खोजेको छ । चाडबाड त केवल औपचारिकता हुन्, यसभित्रको गुह्य विकसित मानिसलाई थाहा नै छैन ।
मेरा लागि चाड पारिवारिक मिलन हो र दसैँमा टीका लाएर ठुलाको आशीर्वाद लिनु कर्तव्य हो । यसपालि पनि सधैँ झैँ हजुरबासँग टीका लाएँ र साष्टाङ्ग दण्डवत् गरेँ । सधैँ सधैँ उहाँ मलाई डाक्टर भएस्, इन्जिनियर भएस्, पैसा कमाएस्, असल बनेस् भन्ने शुभ आशीर्वाद दिनुहुन्छ । म त्यसको कति पालना गर्छु, कसैले नियमन गर्दैन । पोहोर पनि आशिष् दिएकै हो । आशिष् कतिबेरसम्म सम्झन्छु, मेरो विचार केन्द्रलाई थाहा छैन । यसपालि पनि मेरो आशा शुभाशीर्वादकै थियो र आशिष् पर्खेर बसेँ । उहाँले टीका र जमरा लाइदिँदै भन्नुभयो, “बानर बनेस् ।”
आशिष् लिऊँ वा फिर्ता गरूँ, म दोधारमा परेँ । मैले एक चौथाइ जीवन कटाइसक्दा तीन चौथाइ जीवन कटाइसकेका हजुरबाले आज किन हाँसीहाँसी यस्तो आशिष् दिनुभयो ? पोहोरको आशिष् किन दिनुभएन । अग्रजका विचारमा अनुभव हुन्छ, मैले बेवास्ता गर्नुहुँदैन भनेर घोत्लिएँ । मलाई लाग्यो उही शब्द, वाक्य र व्यवहार त चुनावका उम्मेदवारले दोहोर्याउँछन् ।
पहिलो चुनावमा पनि तिनलाई बाटो बनाउन मन लाग्छ । ज्येष्ठ नागरिकको स्वास्थ्य सुधार गर्न मन लाग्छ । नानीहरूका मुखमा लिटो हालिदिन मन लाग्छ । जब ती हाम्रा प्रतिनिधि बन्छन्, हामीलाई बिर्सन मन लाग्छ । जीवन रक्षक बुटीको भाउ बढाउन मन लाग्छ । भत्ता बढाएर सत्ता लम्ब्याउन मन लाग्छ । अर्को चुनाव हुने समय बढाउन मन लाग्छ । घर फर्कने समयको घण्टे सुई बढाउन मन लाग्छ । बेइमान त ती होइनन्, समय हो । समय लम्बिन चाहँदैन । फेरि समयलाई भोट मगाउन मन लाग्छ । हाम्रो प्रतिनिधि फेरि फर्कन्छ । उसलाई फेरि बाटो बनाउन मन लाग्छ । मेरा हजुरबालाई पनि आशिष् दोहोर्याउन मन लागेन त के भयो ? जमाना बदलिएपछि हजुरबाले पनि बदलिन पाउनुहुन्न ? पाठक नयाँ भएपछि इतिहासले परिवर्तन हुन पाउँदैन ? उहिलेको वानर अहिले नर हुन पाउँछ भने अहिलेको नर उहिलेको वानर हुन सम्क्दैन ? आखिर दिन,महिना, ऋतु र वर्ष त परिवर्तन भइहाल्छ, भएकै छ । समयले दोहोरिन्न भन्न पाउँदैन ?
वानर सायद हाम्रो पुर्खा हो । त्यही पुर्खाको रगत सलबलाएको होला हाम्रा रक्तकेशिकामा । त्यो जङ्गलमा बस्छ र जङ्गल बढे रमाउँछ । म आधुनिक मानिस घरमा बस्छु तर जङ्गल मासिँदा रमाउँछु । जङ्गल मासिँदा मेरो घर बन्छ, गहना बन्छ, गैरी खेतसम्म जाने सडक बन्छ । छोराछोरीको स्कुल फेरिन्छ । घरमा आफन्तको भिड लाग्छ तर त्यो वानर दसैँमा पनि आफ्नै हाँगामा रमाउँछ । त्यसको घर भन्नु नै त्यही रुखको हाँगो छ, पालीको लाछी छ, जसलाई ऊ कहिल्यै मास्दैन । मैले त पढिनँ तर हजुरबाले वानर वंशका हनुमानको कथा पढ्नुभएको छ ।
त्यही हनुमान जसले हाम्रा भगवान् रामलाई पारिवारिक सहयोग गरे । म रामले रावणलाई, सत्यले असत्यलाई वा सात्त्विक भावले आसुरी भावलाई जितेको सम्झेर टीका र जमरा लाउँदै छु । त्यो वानररूपी हनुमानले रामलाई सहयोग नगरेको भए आजको दसैँ के हुन्थ्यो ? उसले अशोकवाटिका नचिनाएको भए सीताको अनुशासन के हुन्थ्यो ? सञ्जीवनी बुटी खोजेर नल्याइदिएको भए लक्ष्मणको जीवन के हुन्थ्यो ? त्यो वानर त हामीले मानेको भगवान्को पनि गुरु रहेछ । रामलाई आदर्श पुरुष बनाउने र मानिसलाई परोपकार, धैर्य र उत्साह सिकाउने शास्त्र त उही रहेछ । होमो स्यापिन्स हुँ भनेर गर्व गर्ने म र उहिलेको हनुमानको तुलना गरे तुलो त उतै ढल्कन्छ त । अनि मलाई वानर बनेस् भन्दा किन मानसिक पराजय सोच्नु मैले ? किन हुजरबाको आशिष्लाई अपमान गर्नु मैले ?
वानर जङ्गली भएर पनि पहिले त उसको राज जङ्गल नै हो । मानिसले दिएका खानेकुरा पनि ऊ खान हुने वा नहुने सोचेर मात्र खान्थ्यो । मैले त्यसलाई जिस्काएँ र अरूलाई सताउन सिकाएँ । गाली गरेँ, पिटेँ र त्यही सिकाएँ । चोरेँ र चोर्न सिकाएँ । बिस्तारै बिस्तारै ऊ मानवको नजिक आयो र मानव बन्न लाग्यो । मैले चोरेको देखेर चोर्न सिक्यो, उसलाई पनि नवमानव बनेझैँ लाग्यो । अरूको भाग खोसेको देखेर उसले मलाई चिथोर्न सिक्यो । मेरो व्यवहार सिक्यो, मेरो गुण सिक्यो । त्यसले पनि आफ्नै वंशसँग झगडा गर्न सिक्यो । म बारी नाङ्गो पारेर आकाशको फल खोज्न सरह पसेँ । ऊ जङ्गलका हाँगा भाँचेर कर्मको फल खोज्न करेसाबारी पस्यो । मैले आफ्नै घर भत्काउन सिकिसकेँ तर ऊ भरखर अरूको घर भत्काउन सिक्दै छ । मैले नसिकाएको भए त त्यसले चोर्न जानेकै थिएन । अरूका सामान खोसेर लिन जानेकै थिएन । केही भेट्दा बच्चालाई र अशक्तलाई पहिले दिएर खान्थ्यो । मानवले रोपेका मकै, फलफूल नखाएर जङ्गलकै कन्दमूल खान्थ्यो । चटकेले नचाउँदा पनि नाचेकै थियो । मानिसले भगाउँदा पनि भागेकै थियो । यसले आफ्नो गुण कहाँ छोडेको थियो र ? पुर्खाले सिकाएको संस्कार कहाँ छाडेको थियो र ? ऊ अहिलेसम्म त पानीका मुहानमा दिशापिसाब गर्दैन । नदीमा नुहाउँछ, फोहोर गर्दैन ।
मेरा हजुरबाले त यही देख्नुभएको थियो नि । सायद म आधुनिक मानव भएको देखेर हजुरबाको आशीर्वाद परिमार्जन भएको पो हो कि ? मैले रामायणको युद्ध र दसैँको पुराकथाको एक अध्याय पुरै बुझेँ । हजुरबासँग रिसाएको पारो अलिक तल घट्यो अनि मस्तिष्क अभिलेखन केन्द्र शून्य बन्दै आयो ।
सोचेँ, मैले के बिराएँ ? घर बिर्सें । कर्म र धर्म बिर्सें । भाषा र वेश बिर्सें । संस्कार र संस्कृति बिर्सें । आफन्त र अनुशासन बिर्सें । ज्ञान र सिप बिर्सें । स्नान गरेर मन र ध्यान गरेर तन शुद्ध पार्न बिर्सें । योग गरेर ज्यान र परोपकार गरेर हृदय पवित्र पार्न बिर्सें । शान्ति र अहिंसा बिर्सें ।आदर्श प्रदर्शन गरेँ तर यथार्थ र सत्य बिर्सें । त्यो वानरले त बिर्सेन ! हामीले लुगा च्यातेर लाउन जानिसक्दा पनि त्यो लुगा लाउनुहुन्न नै भन्छ । खाने, बस्ने, डुल्ने, रमाउने, रिसाउने, चिन्ता गर्ने सबै कुरा उसकै वंशअनुकूल छन् । फलेको अन्न, फलफूल र सागपात टिपेर खानु त उसको पुर्ख्यौली सभ्यता हो । अर्को वंशले जिस्क्याउँदा प्रतिकार गर्नु उसको अनुशासन हो । त्यसले त अनुशासन, संस्कार र सभ्यता भुलेकै छैन । अनि म संस्कार, सभ्यता र कर्तव्यको ख्याल नगरी वार्षिक आशीर्वाद माग्न जानेलाई हजुरबाले परिमार्जित आशिष् दिनुमा के अचम्म भयो र ? मलाई मेरै सोचको केन्द्रमा घोरिएर हजुरबालाई फेरि दण्डवत् गर्न मन लाग्यो ।
मैले शिर निहुराएँ । मेरो शिक्षा, कर्तव्य र व्यवहारले मलाई धिक्कार्यो । वानरको प्रतिच्छायाअगाडि मैले नरको परिचय गुमाएँ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२० माघ २०८२, मंगलवार 










