Chovar Blues Mobile Size

साथीले अनुहारमा मुस्कान मिसाउँदै प्रश्न गर्यो, “के बन्न चाहन्छस् तँ ?”

लाग्यो यो प्रश्नको उत्तर दिन म युगौँदेखि तयार थिएँ ।

भनेँ, “उत्तर दिने मान्छे ।”

ऊ अकमकियो । बुझ्यो बुझेन । फेरि प्रश्न गर्यो, “त्यसको लागि के गर्न तयार छस् ?”

मैले फेरि उत्तर दिएँ, “प्रश्न सोध्न ।”

लाग्छ विस्तार बुझ्न थालेको छु । देख्न थालेको छु । धेरै छन् जो जीवनभरि प्रश्न सोधे । आज उनीहरुलाई लागेको छ । अब जीवनको त्यो मोडमा पुगिएको छ । त्यहाँबाट उत्तर दिन सकिन्छ ।

डा. बिनोद ढकाल

एक विद्यार्थी सधैँ प्रश्न गर्छ । तर जब ऊ जाँच पास गरेर आफ्नो पेशामा छिर्छ ऊ उत्तर दिने दायित्वमा पुग्छ ।

एक पत्रकार या भनौँ पत्रकारहरुले वर्षौं प्रश्न सोधे । जब लाग्न थाल्यो मेरा प्रश्नभन्दा उत्तरहरु फिका छन् तब लाग्न लाग्यो अब आफैँ उत्तर दिने समय आएको छ ।

प्रश्नहरु धेरै सोधिए । समयले उत्तर खोज्दै छ । व्यङ्ग्यहरु धेरै गरिए । अब जिम्मेवार बन्नु छ ।

ती कुनै पत्रकारका जिम्मेवारी, कुनै डाक्टरका जिम्मेवारी, कुनै भूतपूर्व कर्मचारीहरुका जिम्मेवारी या भनौँ सम्पूर्ण पेशाकर्मीहरुको जिम्मेवारी कोही राजनीतिमा लागे, कोही किताब लेख्न या अन्य विधामा ।

किताबले सधैँ उत्तर दिन्छ ।  एक सफल व्यक्ति राम्रो उत्तर दिन सक्छ । उत्तरहरुको पिरामिड बनाउने हो भने यसको टुप्पोमा नीतिहरु पर्छन् । नीतिले कामको सफलता निर्धारण गर्छ । राम्रो योजना नै सफलताको सूत्रधार हो । त्यसमाथि सबै नीतिहरुको नीति राजनीति हो । राजनीति त्यो क्षेत्र हो जहाँ लाग्छ सबै उत्तर छ । यो रुखको ट्रङ्क हो । मूल डाँठ । यो राम्रो बने हाँगाबिगा पातहरु यसै राम्रा बन्छन् । नत्र डाँठ बिग्रिएर हाँगा सप्रेको कमै मात्र उदाहरण देख्न पाइन्छ ।

लाग्छ राजनीति ठुलो मान्छे बन्ने अन्तिम खुड्किलो । भलै ठुलो मान्छे हुने नहुने अर्को कुरा हो । डाक्टर इन्जिनियर सबै फिका लाग्छन् । सफल डाक्टर, इन्जिनियर या इन्टरप्रिनियर आ–आफ्ना भएका सबै अधिकारहरु एक राजनीतिज्ञको चरणमा लगेर सुम्पने गर्छन् । देखिएकै छ । विश्वविद्यालयका प्राध्यापकहरु कसरी आफ्नो फाइदाका लागि राजनीतिज्ञको ढोका चहार्ने गरेका छन् । धनले ठसठसती गनाउनेहरु नेताहरुकै पछिपछि लागेकै छन् । वरिष्ट पूर्व कर्मचारीहरु कसका ढोका ढकढकाइरहेका छन् ?

अनि परिवर्तनको लागि भनेर को को पूर्व वरिष्ठहरु चुनाब लड्दै छन् । आफ्नो भ्यानको साइडमा पार्टीको झण्डा फरफराउँदै भ्यानका ड्राइभरले भने, “जानु पर्यो डाक्टर सायब गाउँतिर । के गर्नु जुन पार्टी पनि त्यस्तै हो ।”

म मुस्कुराएँ । उनी बाटो लागे ।

देश चुनावमय भइरहेको थियो । जो जस्तो भए पनि राजनीतिक सरगर्मीले सबैलाई छोएको थियो र अझै छ । नैतिकहीन राजनीतिले विस्मित भएर अब उप्रान्त कहिल्यै भोट हाल्दिनँ भनेर अठोट लिएको म फेरि त्यो माहोलमा भिजिरहेको थिएँ ।

ती ड्राइभर दाइले भनेको जस्तै हामी प्रायः नेपालीहरुको सोच उस्तै छ । हामी राजनीतिबाट वाक्क दिक्क भएका छौँ । राजनीतिबाट टाढा हुन चाहन्छौँ तर कहीँ पनि यस्तो स्थान छैन जहाँ राजनीति हामीबाट टाढा हुन चाहन्छ । नीति बाँच्नुको मुख्य आधार हो । कुनै देश वा समाजमा बसिसकेपछि राज्य गर्ने नीतिले कुनै न कुनै आवरणमा जनतालाई छोएकै हुन्छ । त्यसैले बुझ्नु र बुझेर केही गर्न नसक्नु या परिवर्तन गर्न हिम्मत नगर्नु जनताको कायरता हो । अहिले पैदा भएका वितृष्णाहरुमा हामीहरुको कही न कही जम्मेवारी अवस्यै छ । भनिन्छ, आफैँ त्यो परिवर्तन हुनु जो तपाईं अरु भएको चाहनुहुन्छ ।

सडकको अवस्था राम्रो छैन । हामी चलाउनै ड्राइभरलाई दोष दिन्छौँ । तर कुनै दुर्घटनाको दोष ड्राइभरको मात्र नभएर सडक सानो या नराम्रो हुनु पनि हो । सडक सानो या नराम्रो हुनु राजनीतिको प्रभाव हो । राजनीतिक नेतृत्व राम्रो नहुनु हाम्रो भोटको उचित उपयोग नहुनु हो । त्यसकारण कुनै दुर्घटनाको दोषी हामी आफू पनि हो भन्न सकिन्छ ।

अबको २० देखि पच्चिस वर्ष नेपालको लागि निकै महत्त्वपूर्ण छ । नेपालमा आज युवाहरुको सङ्ख्या धेरै छ । धेरै जनताहरु २० देखि २४ वर्षका छौँ । यो भनेको कर्मशील, सस्ता हातहरुको संख्या धेरै हुनु हो । यो उमेर समूह बिस्तारै बुढो हुँदै जानेछ ।

चीनले २० र ३० वर्षमा गरेको प्रगति, अमेरिकाले सन् १८८० को दशकमा गरेको प्रगति अनि जापान कोरियाले ३० र ४० वर्षअघि गरेको प्रगति कुनै एक जीवन कालमा नै सम्भव भएको हो । ती वर्षहरुमा ती देशका कर्मशील हातहरु युवा थिए अनि श्रम सस्तो मूल्यको थियो । जब देश गरिब हन्छ श्रम सस्तो मूल्यको हुन्छ ।

यस्तो लाग्छ संसारभरिको आर्थिक केन्द्र, राजनीतिक केन्द्र हाम्रो देशको क्षेत्रतिर सर्दै आएको छ । भारतको माथि र चीनकाे तल । यो भन्नु भनेको विकासको माहोल पनि सर्दै आउँछ भन्नु हो ।

हामी कहिल्यै पनि संसारको माहोलबाट भिन्न छैनौँ । ००७ सालको परिवर्तन हाम्रो प्रयासले पनि हो तर हाम्रो प्रयासभन्दा अन्तर्राष्ट्रिय माहोललाई बढी जिम्मेवार मान्न सकिन्छ । भारतमा ब्रिटिसहरुले छोडेर गएपछि राणाहरुप्रतिको भारतले गर्ने समर्थन हट्न पुगेको थियो । राजा त्रिभुवन र नेपाली काङ्रग्रेसको आन्दोलनलाई भारतको स्वतन्त्रताले निकै सहयोग गरेको थियो । ब्रिटिसहरु भारतमा भइरहेको भए राजा त्रिभुवनलाई भारतले सहयोग गर्ने थिएन ।

ब्रिटिसहरु पनि द्रोस्रो विश्वयुद्धमा भएको क्षतिका कारणले अमेरिकाको ऋणी बनेका थिए । आर्थिक संकट आएको थियो । भारतलाई हेर्न सक्ने सामर्थ्य उनीहरुको कम हुँदै थियो । बिस्तार भारतमा माहोल बन्यो । अनि उनीहरु भारत छोडेर जान विवश भए ।

शित युद्धताका पूँजीवाद र साम्यवादको लडाइँको कारणले काङ्रग्रेस र कम्युनिष्टहरुको या भनौँ साम्यवाद र पूँजिवादीहरुको पानी बाराबार स्थिति थियो । काङ्ग्रेसीहरु कम्युनिष्टहरुलाई पानी पिउन पनि दिँदैनथे । यो एकातिर पूँजीवादको नेतृत्व गरेको अमेरिका र अर्को तर्फ साम्यवादलाई मान्ने युयस यस आर बीचको लडाइँ थियो । यो लडाइँले पुरा विश्वलाई असर पारेको बेला हाम्रो देशलाई असर नगर्ने कुरै भएन ।

प्रायः देशहरु आज समाजवाद उन्मुख भन्दै पूँजीवादतर्फ अग्रसर छन् । त्यसको प्रभाव पनि हामीमा परेको छ । त्यसकारण आज देशमा को काङ्ग्रेस छन् या को कम्युनिष्ट छन् ? सबै एकै छन् । एक विचारको हार भइसकेको छ ।

नेपालको माओवादी आन्दोलन पनि अर्को उदाहरण हो । नेपाललाई नियन्त्रित अस्थिरतामा राख्ने प्रपञ्च विदेशीहरुको थियो । देशमा द्वन्द्व चल्यो । जब नेपाल नियन्त्रित स्थिरतामा राखे सबैलाई फाइदा हुने देखियो तब भारत लगायत अन्य अन्तर्राष्ट्रिय शक्तिले नेपालमा नीति परिवर्तन गरे । द्वन्द्व समाधान भयो । शान्ति कायम भयो । आज माहोल परिवर्तन भएको छ ।

अबका दिनमा पनि अन्तर्राष्ट्रिय माहोलले नेपाललाई असर गर्ने नै छ । माहोल राजनीतिमा मात्र हुँदैन । विकासको पनि हुन्छ । कतिलाई मन नपर्ला तर भारतको अहिलेको सरकारले ‘आफ्नो देशमा विकास र विदेशमा प्रभाव’ भन्ने नीति धेरै हदसम्म सफलतापूर्वक कार्यान्वयन गर्दै अघि बढ्दै छ । भारतमा भएको प्रगति र विकासको रहल पहलले पनि नेपाललाई छुन्छ र छोइरहेको छ । जसरी बिहार र महाराष्ट्र ल्यान्डलक्ड छ नेपाल जस्तै, त्योसँग नेपालको पनि विकास जोडिएको छ ।

भनिन्छ, प्रगतिहरु पहिला समथर भूभागमा सुरु हुन्छ अनि पहाड र हिमालतिर उकालो लाग्छ । अब उकालो लाग्ने समय आएको छ । चीनमा आजकाल आर्थिक वृद्धि अडिएको छ । जब जनताहरु देशको आर्थिक वृद्धिसँग धनी हुँदै जान्छन् सस्ता श्रमिकहरु पाउन मुस्किल पर्छ । चीनमा एक सन्तान नीतिका कारणले युवाहरुको संख्यामा कमी आउन थालेको छ । त्यसको असर विकासमा पर्ने भयो । पर्यो नै । यस्तै किसिमको आर्थिक वृद्धिदरमा रोक अमेरिकामा सन् १९२० को दशकमा देखिएको थियो ।

तर नेपालमा विकासको माहोल बल्ल सुरु भएको छ । कमसेकम आजका मुद्दा विकास हो भनेर छलफल गरिन थालेको थियो । आजभन्दा १५ र २० वर्ष पहिले देशको मुद्दा शान्ति र संविधान थियो । त्यस समयमा विकास तृतीयक (टर्सियरी) प्राथकिमतामा पर्थ्यो ।

संसारमा स्थितिहरु सर्पिल (स्पाइरल) तरिकाले बग्ने गर्छ । माहोल, परिस्थिति घुम्दै फिर्दै आउने जाने नै हो । हरेक कुरा, चाहे फेसन होस्, साहित्य होस्, सोचाइ होस् या चाहे विकास । हाम्रा पुर्खाहरुले कुनै समयमा स्वर्णीम काल भोग गरेका थिए । गएका शताब्दीहरुमा स्वर्णीम काल युरोपले भोग गर्यो । कुनै समय अफ्रिकाका पनि दिन थिए । अब माहोल फेरि एसियातिर सर्दै आउँदै छ ।

भाग्य पनि छ । ज्योतिषीहरुले अबको समय नेपालको इतिहासका लागि उपयुक्त छ भनेर भन्ने गर्छन् । युवाहरुमा परिवर्तनको हुटहुटी छ । देश विदेश घुमेर आएका छन् । प्रगति देखेर आएका छन् । प्रगति भएन भन्ने गुनासो र निरासा पनि छ । अरुले गर्देनन् भन्दा पनि आफैँले गर्न पर्छ भन्ने सोच विकसित भइरहेको छ । चाह्यो भने जम्मा १५ देखि २० वर्षमा देशले काँचुली फेर्न सक्छ । साउथ कोरिया, सिङ्गापुर, कतार, केही उदाहरण हुन् । युवाहरु अनेक योजना बुनेर हिँडेका छन् । १० मा दुई युवामात्र सफल भए पनि धेरै विकास भएको भन्न सकिन्छ ।

विदेशीहरु पनि नेपाललाई तहसनहस गर्छु भनेर आएका होइनन् । उनीहरुमा यहाँ कसरी वर्चस्व कायम गर्न सकिन्छ भन्ने द्वन्द्व मात्र हो । यो स्थानमा विकास हुनु पर्छ भन्ने सबै विदेशीहरुले बिस्तारै बुझ्दै आएका छन् । नेताहरु पनि अब पैसा बाँडेर मात्र चुनाब जितिदैन भनेर बुझ्दै छन् । विकास गरेर देखाउनै पर्छ । नत्र इतिहासले हामीहरुलाई धिक्कार्छ भन्ने सोच उनीहरुमा पनि छ ।

हामीले नेताहरुलाई जति गाली गरे पनि नेपाललाई अहिलेसम्म स्वतन्त्र नेपाल बनाइरहन उनीहरुको हात धेरै छ । गृहयुद्ध लामो समयसम्म तन्काएर फाइदा हुने गिरोह धेरै थिए । उनीहरुको योजनालाई तुहाएर शान्ति ल्याएका यिनै नेताहरुले हुन् । १० वर्ष पहिले ‘गरी खान देऊ’ भन्ने नेपाली जनताको सामान्य माग थियो । कमसेकम त्यो माग त पूरा भएको छ । कतिले अझै पनि के गरी खाने समय छ र भन्ने प्रश्न गर्छन् तर गरिखाने माहोल आज धेरै हदसम्म बनेको छ । पहिलाको जस्तो सामान्य व्यवसाय गर्न नसक्ने स्थिति त अहिले छैन । बुझ्न पर्ने यो छ कि कसैले गाँस मुखमै लगेर हालिदिँदैनन् । खाना पकाउने, पस्किने काम हर कोहीले आफैँ गर्न पर्छ ।

सबै दृष्टिकोणले हेर्दा हाम्रो देशमा सुनौलो बिहानी अब आउँदै गरेको देखिन्छ । भाग्य छ भनेर डोकोमा दुध दुहेर अडिँदैन । कमसेकम कचौरा भए पनि थापिदिन पर्छ ।