बिग ब्याङका अनुसार लगभग १३.८ अर्ब वर्ष पहिले ब्रह्माण्डको उत्पत्ति भयो । त्यस्तै आजभन्दा लगभग ४.५४ अर्ब वर्ष पहिले पृथ्वीको अस्तित्व शुरू भयो । जीवाश्मको अध्ययन अनुसार आजभन्दा लगभग ३.७० अर्ब वर्ष पहिले जीवनको अस्तित्व शुरूवात भयो ।
ब्रह्माण्डमा अनेक प्रजातिहरूको अनेक तवरले विकासक्रम चलिरह्यो । युवाल्नौ हरारिका अनुसार आजभन्दा ७० हजार वर्ष पहिले एउटा त्यस्तो जीवको विकाश भयो जसको कल्पना गर्ने र याद गर्ने क्षमताको विकाशले ज्ञानात्मक क्रान्ति नै आयो । साथै भाषाको विकास, समाजको विकास, परिवारको विकास लगायतका थुप्रै विकासक्रम भए । यही विकासको क्रमबद्धतामा अहिले हामी गुज्रिरहेछौ ।
वैज्ञानिकहरूका अनुसार अस्तित्वमा एक लाख करोड प्रजातिहरू छन् र ती एक लाख करोड मध्य मनुष्य एक प्राणी हो । अब्बल दिमागी क्षमताका कारण मनुष्यको हातमा लगाम छ जसले आफूले चाहेको बेला कुनै पनि चीजलाई बसमा पार्न सफल भैरहेछ । अब्बल भनिएको मनुष्यसँग निकै कमजोर मन पनि साथै छ । मनको सही सदुपयोग गर्न बाट चुकेको मनुष्य कस्तुरी झैं भौंतारिरहन्छ ।
प्रकृतिको यो देन अपरम्पार छ । बुझे जस्तो लाग्ने तर नबुझिने, नबुझिने तर सबै थाहा छ जस्तो लाग्ने आफ्नै मनको सागरबाट श्रेष्ठ जीव भनिएको मनुष्य जीवन आफैसँग अन्योलमा परेको छ । मनुष्य जीवन जसरी उन्नत छ त्यतिकै ओरालो गतिमा पनि धकेलिइरहेछ ।
मनुष्य जीवनसँग जोडिएर आएको एक सुन्दर शब्द हो स्वार्थ । स्वार्थसँग जीवनका अनेक सम्बन्धहरू नजिक भएर आउँछन् र अनेक अर्थ लगाउँछन् । यति बेला हामीले जीवन, स्वार्थ र सम्बन्धलाई नजिकबाट हेर्ने प्रयत्न गरिरहेछौं ।
स्वार्थ अर्थात् स्वयंको अर्थ । स्वयं बारे जान्नु । आफूले आफैलाई चिन्ने कला । आफैलाई चिन्ने कला सुन्दा सहज सुनिने तर चिन्नका लागि निकै कठिन यात्रा । मनुष्य जीवनको सबै भन्दा कठिन यात्रा नै स्वार्थको हो । सामाजिक संरचना, संस्कृति, परम्परामा जेलिएको मनुष्य जीवन स्वार्थको निकट रहेर पनि निकै माइल टाढा भैरहन्छ । यो कस्तुरी जस्तो हो ।
जीवनमा स्वार्थ छ । स्वार्थ कै कारण जीवनले गति लिन्छ । गति भएकै कारण मानिस जिउँदो छ । अर्थात् स्वार्थले मानिसलाई जिउँदो बनाइरहन्छ । फाइदा र नोक्सानको सोच निस्तेज भएपछि नै स्वार्थको बाटो सहज बन्छ ।
भौतिक जीवनमा सम्बन्धहरूसँग स्वार्थ जोडिएर आउँछ । सम्बन्धमा स्वार्थ टिकाउ चीज होइन । यो निरन्तर परिवर्तन भइरहन्छ । जस्तो आजको नजिकको साथी स्वार्थ कै कारण भोलि टाढिंदै जान्छ । अपरिचित वा टाढाको साथी स्वार्थ कै कारण नजिक बन्छ अर्थात् सम्बन्धमा बाँधिन्छ, जोडिन्छ ।
स्वार्थमा प्रेम छ । प्रेमले निरन्तरता खोज्छ । तर भौतिक स्वार्थ हाबी भएका कारण प्रेमको अन्त्य हुन्छ । प्रेमका लागि यो दुःखद क्षण हो ।
भौतिक स्वार्थले स्वभावलाई परिवर्तन बनाउँछ । यो स्वाभाविक हो । त्यसैले व्यक्ति सधैं सबैको प्रिय हुन सक्दैन । यदि कसैले सक्छु भन्छ भने ऊ झूट बोलिरहेको छ । तर सक्छु भन्ने व्यक्तिले मनको मृत्युलाई जित्न सक्नुपर्छ । अर्थात् मनको स्थिरता र नियन्त्रण नै स्वार्थको अन्त्य हुने बिन्दु बन्न सक्छ ।
जीवन, स्वार्थ र सम्बन्धलाई हेर्दा यसो भन्न सकिन्छ – सम्बन्धहरू स्वार्थका कारण जोडिन्छन् । स्वार्थ कै कारण सम्बन्धहरूको अन्त्य हुन्छ । अर्थात् स्वार्थ सम्बन्धहरूको सेतु हो ।
आफैलाई प्रेम गर्न जान्नु नै मनुष्य जीवनको ठूलो उपलब्धि हो । यो पनि आफूलाई चिन्ने कला अर्थात् स्वार्थको अर्को सुन्दर नमुना हो । स्वार्थको वास्तविकता स्वयं बारे जान्नु हो तथापि स्वार्थ सम्बन्धमा जोडिएका कारण यसले अनेक रूप धारण गर्छ । सम्बन्धमा आवश्यकता अनुसार स्वार्थको निर्माण हुन्छ ।
प्रसिद्ध दार्शनिक सुकरात भन्छन् – मलाई थाहा छ कि मलाई केही पनि थाहा छैन । यो भनाइ अनुसार आफैं तिर फर्कने यो जस्तो शून्यवादी स्वार्थ शायदै हुनसक्ला । तर हाम्रो सामाजिक संरचनाको लामो इतिहासले जो कोहीलाई आदर्श बाँच्न दिंदैन र आदर्श बाँच्न सक्ने अवस्था पनि छैन । तब स्वार्थसँग सम्बन्ध र सम्बन्धसँग स्वार्थ पूरक भई यात्रारत छ ।
जीवन भएका कारण स्वार्थ छ । जीवन भएका कारण सम्बन्ध छ । स्वार्थ र सम्बन्ध भएका कारण जीवन रङ्गिन छ । विचारको मार्गमा स्वार्थ र सम्बन्धले निकास पाउँछन् । तिमी जस्तो भोजन ग्रहण गर्छौ तिम्रो स्वास्थ्य त्यस्तै बन्छ । भोजन कै कारण विचारका अनेक शृङ्खलाहरू निर्माण हुन्छन् । स्वस्थ भोजन स्वस्थ विचारको उपज हो । त्यसैले सम्बन्ध र स्वार्थमा विचारले अधिक महत्त्व राख्ने गर्दछ ।
यो रहस्यमय जीवन र अपरिमित विचारको आकाशलाई न स्वतन्त्र छोड्न सकिन्छ न लगाम लगाउन सकिन्छ । मध्यमार्ग नै यसको सहज उडान हुनसक्छ ।
सम्बन्धको धागो सीसा झैं कच्चो छ । सम्बन्धलाई जोगाउन कसैले जीवन आहुति दिन सक्दैन । जीवनको अर्को नाम स्वतन्त्रता पनि हो ।जब स्वतन्त्रतामा हदभन्दा बढी आँच आउन थाल्छ तब जीवनले निकास खोज्न थाल्छ । जसरी दुवाली छेक्दा पानी क्षणिक समयका लागि मात्र रोकिन्छ र स्वतः आफ्नो बाटो बग्न थाल्छ त्यस्तै जीवनले पनि आफ्नो किनारा र बाटो पहिल्याउँछ । यही आरोह र अवरोहका बीच पानी र दुवाली झैं स्वार्थ र सम्बन्धको धन्दा चलिरहन्छ ।
सम्बन्धसँग स्वार्थ जोडिन्छ । यो स्वाभाविक प्रक्रिया हो । तर कुन हदसम्म स्वार्थ हाबी हुने भन्ने कुराले अर्थ राख्छ । हरेक व्यक्तिको आफ्नो जीवनको अर्थ छ । आफ्नो अस्तित्व छ । कोही व्यक्ति कसैको व्यक्तित्व वा अस्तित्व माथि त्यति मात्र हाबी होस् जति उसले थेग्न सकोस् । होइन भने त्यसको परिणाम घातक हुनसक्छ ।
स्वार्थसँगै जोडिएर आउने अपेक्षा अर्को घातक चीज हो । अधिक अपेक्षाले मानिसलाई मनोरोगी बनाउँछ । आफूले आफैंलाई निम्त्याएको यो रोगको निवारण आफू बाहेक अर्को हुनसक्दैन । तर मनुष्य अरूलाई दोषारोपण गरिरहन्छ । त्यसैले हाबी त्यति मात्र होऊ जो सुपाच्य होस् । हरेक चीजको सही मात्रा पाचनका लागि उचित हुन्छ । अधिक मात्रा घातक र विषालु हुन्छ । मानवीय जीवन हो त्यसैले सम्बन्धसँगै स्वार्थ जोडिन्छ । तर स्वार्थ सुपाच्य र सहज होस भन्ने कुरामा ध्यान पुर्याउन जरूरी छ ।
स्वार्थ र सम्बन्धका उदाहरण महाभारत र रामायणमा प्रशस्त भेट्न सकिन्छ । अझै बहुआयाम बोकेको भगवान् कृष्णको एउटै चरित्रले स्वार्थ र सम्बन्धका बारे बुझ्न सहज बनाउँछ । ऋषिमुनिको त्याग र तपस्याका उपजले वास्तविक स्वार्थको उदाहरण पनि यिनै ग्रन्थहरूमा भेट्न सकिन्छ ।
पूँजीवादको आर्थिक, सांस्कृतिक, धार्मिक र मनोवैज्ञानिक इतिहास होस् या समाजवादमा समुदायको स्वामित्व हस्तान्तरण होस् ती सबैमा स्वार्थ र सम्बन्ध नै कारक बनेर आएको देखिन्छ । व्यक्तिवाद होस् या राष्ट्रवाद, अराजकवाद होस् या फेबियनवाद यी सबै वादहरूको उदय स्वार्थ कै कारण भएको देखिन्छ ।
यसरी पूर्वीय र पाश्चात्य दर्शन र वादहरूको सेरोफेरो स्वार्थसँगै जोडिएको देखिन्छ र अधिक स्वार्थ हाबी भएका कारण पतनको बाटोमा धकेलिएको भेटिन्छ ।
राजा जनकको उदारभावमा होस् या अष्टावक्रको विद्वतामा, महावीर र बुद्धको अहिंसा र शान्तिमा होस् या रजनिशको प्रेमवादमा, प्लेटोको न्यायसिद्धान्तमा होस् या गान्धीको रामराज्य सिद्धान्तमा सबैतिर स्वार्थको वासना भेटिन्छ ।
जीवनका सूक्ष्म आयामहरूमा र परिवर्तनका विशाल वादहरूमा स्वार्थ र सम्बन्धको वर्तुल निरन्तर चलिरहन्छ । स्वार्थ र सम्बन्धको उचित निकास मध्यमार्गले दिनसक्छ होला भन्ने पङ्क्तिकारको ठम्याइ हो ।
स्वार्थ आवश्यक छ । सम्बन्ध पनि आवश्यक छ । स्वार्थ र सम्बन्धको मित्रता पनि आवश्यक छ । स्वार्थकै कारण मनुष्य जीवनको आध्यात्मिक चिन्तन र भौतिक जीवन चलायमान र सुनौलो छ । स्वस्थ स्वार्थ चिन्तन नै आजको आवश्यकता हो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ माघ २०८२, बिहीबार 










