जसको छातिमा
दिनहुँ
बर्जिन्छन् बटालियनका बुटहरू
ड्याम ड्याम ठोक्किन्छन्-
पिटिक पिटिक पड्किन्छन्
बटुवाहरूका जुत्ता -चप्पलहरू
टुकटुक बज्छन्
जनावरहरूका खुरहरू
तैपनि
लतमन्न सुतिरहन्छ बाटो
चुपचाप
बिना आवेग- बिना प्रतिक्रिया ।
***
जसको छातिमा
परेड खेल्छन् पीडाका बटालियनहरू
पिटिक पिटिक पड्किन्छन् अभावका फित्ते चप्पलहरू
र, टुकटुक हिँड्छन् समस्याका खुरहरू
थिचोमोचो, अन्याय र अत्याचारका जन्तीहरू नाच्दै हिँड्छन्
खुसीका मलामीहरू कुद्छन्
तैपनि बाटो
सहिरहन्छ चुपचाप
बिना आवेग – बिना प्रतिक्रिया
***
अनि मलाई लाग्छ
गरिबी र यो बाटो उस्तै उस्तै हुन्
जुन बाटामा
हर चुनावमा ओहोरदोहोर गरिरहन्छन्
राजनीतिका सिपाहीहरू
गरिबी निवारणका बुटहरू बजार्दै
तर लतमन्न सुतिरहेकै हुन्छ देशको गरिबी,
चुपचाप
बिना आवेग – बिना प्रतिक्रिया
फेरि पनि मलाई लाग्छ
गरिबी र त्यो बाटो उस्तै उस्तै हुन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२ मंसिर २०८२, मंगलवार 








