१ )
कहाँ देख्नु खेतबारीमा अब, बतासले बयली खेल्दै उडेको
हुरी बतासको आक्रमणमा परी, देख्छु बोटबिरुवा ढलेको
प्रकृति पनि निरङ्कुश बनेर धर्तीमा शक्ति देखाउँने गर्छ
देख्छु बर्सादको अतिक्रमणमा परी निरीह प्राणीहरू बगेको।

२ )
लाग्छ कतै प्रकृति पनि मान्छेसँग रिसाउने हो कि ?
आँधीबेह्री बनेर हाम्रो, सपना कतै उडाउने हो कि ?
सकियो अब मान्छेको धर्म, प्रकृतिको नियममा चल्ने
मान्छेलाई अब पशुभन्दा, नीच देखाई गिराउने हो कि ?

३ )
बारीको हरियो, ठूलो रुखलाई, निर्घातसँग ढलायो उस्ले
जरा, हाँगा, पातहरूलाई निर्ममसँग,अलग्गै छुट्ट्यायो उस्ले
प्रकृतिको बर्दान मास्नु हुन्न भन्ने, थोरै हेक्कासम्म नराखी
मान्छे हूँको अहंता अँगाल्दै, मानवीय गुण गुमायो उस्ले।

४ )
असन्तोषको घडा मनमा बोक्दै, किन लालची बनी रहेछ मान्छे
प्रकृतिलाई विनाश गर्दै, म नै संसारको महान भनी रहेछ मान्छे
प्राणीमध्ये विवेकी हूँ भन्छ, पशुहरूलाई कम्जोर र निरीह ठान्छ
विनाशको कारकमध्ये, गोमन सर्पझैं विषालु पनि रहेछ मान्छे।

५ )
सजिंदैन कुनै हालतमा धर्ती, हरियाली प्रकृति बिना
रहन्न कदापि मानव मूल्य, संस्कार अनि जागृति बिना
डुबाउँदैछन् मानिसले, आफ्नो अस्तित्वहरू रसातलमा
बाँच्नु पर्ला अब मान्छेले धर्तीमा, हरियाली स्मृति बिना।