प्रिय पारिजात !
तिमीले रोपेर छोडेका शिरीषका फूलहरू
आज पनि यसै गरी फुलेका छन्
छरिरहेर सौन्दर्य
बढाइरहेर काठमाडौँको शोभा !
सशरीर भेट भएन ।
आँखाले प्रत्यक्ष देख्न पाइनँ । तर पनि तिमीलाई नजिकबाट देखेको र भेटेको जस्तो लागिरहन्छ शब्द शब्दका हरफ हरफमा वर्षाैंदेखि यस्तै आत्मीयता, उस्तै आदर्श । उसो त आफ्नै समयमा कति स्थापित र चर्चित साहित्यकार भेटिरहँदा पनि लाग्दैन— भेट भएको थियो या विशेष केही थियो नबिर्सनका लागि ।
आज तिमीले छोडेको तर मलाई सधैँ समाइरहने तिम्रो शिरीषसँग छु । यति केही शब्दमा पोखिइसकेपछि म पनि हलुङ्गो हुन्छु कि ?
फूल कहिल्यै गुनासो गर्दैनन् शिशिरसँग र शरदसँग । कहिल्यै गाउँदैनन् दुःखका गीत । कहिल्यै रिसाउँदैनन् घाम र पानीसँग । चुँड्दा पनि उत्तिकै हाँसिरहन्छन्, भेदभाव गर्दैनन् घाट र विवाहको मण्डपसँग । चुमेर, छोएर, हेरेर खुइलिँदैन रङ्ग । बदलिँदैन आकार । प्रसन्नता र सुन्दरताको पर्याय यी फूलहरूको जीवन छोटो हुन्छ, फक्रिएपछि सकिन्छ भन्थेँ र भन्छु म पनि । तर काठमाडौँका शिरीषहरू त अमर भएका छन् । कुनै पनि ऋतुले फरक पार्दैन यिनीहरूलाई । कहिले ओइलाउँदैनन् र मर्दैनन् अक्षरहरूमा ।
जब जब मौसम हुन्छ, फुल्छन् र छोड्छन् नि प्राकृतिक सौन्दर्यको आभा संसारमा या भनौँ काठमाडौँमा । यिनीहरू फूलबाट पात्रमा रूपान्तरित हुन्छन्, सबैलाई चिमोट्छन्, हेर्न नसक्ने बनाउँछन् उनीहरूलाई, जसले तिम्रो शिरीषको फूललाई हृदयले पढेको हुन्छ, मस्तिष्कले बुझेको हुन्छ । तब तब तिम्रो भावनाको मसी र विसङ्गतिका अक्षरहरूले कुस्ती खेल्छन् कोमल फूलसँग । अनि यही युद्धले सधैँ मलाई छुन्छ र सताउँछ । तिमी मान या नमान, मसँग मेरै भावनाले विद्रोह गर्छन् र थन्किन्छन् जवाफ दिन नसकेका विसङ्गति, निस्सार र शून्यमा ।
कति वर्षसम्म भाग्नु म यी फूलसँग ?
बीस वर्ष भयो काठमाडौँ आएको । प्रत्येक वर्ष म यसरी नै भाग्छु कहिले बरीको अकर्मण्यता, कहिले सुयोगवीरको कामुकतासँग । आज मैले हठ गरेँ आफैँसँग ती बाटोभरि झरेर पनि हाँसिरहेका शिरीषका फूलहरू टिप्ने र सजाउने । अक्षर पनि त फूल बन्दा रहेछन् नि पारिजात टिपेर मिलाउन जाने ।
तिमीले रोपेको शिरीषको फूल अमेरिकाको मेरिल्यान्ड विश्वविद्यालयमा पढाइ भइरहँदा । हामी विद्यार्थीसहित साहित्यप्रेमीले दोहोर्याई—तेर्याई पढिरहँदा, विश्व उपन्यासको हाराहारीमा उभिएर उभिने सामर्थ्य देखाइरहँदा । शिरीषले यसै यसै गर्व बोध गराइरहन्छ ।
संसारलाई त लाग्दो हो नाथे शिरीष अर्को वर्ष पनि फुल्छ ! तर होइन कलम र भावनाले फुलाएका फूलहरू कहिल्यै नओइलिने रहेछन्, जुनसुकै ऋतु आउन् र जाऊन् । करुण रस प्रवाह गरून् या शृङ्गार । विसङ्गतिको अर्थबोध गरून् या सङ्गति । साहित्यले मानव समाजलाई दिन सकेको सर्वाधिक प्रिय र सुन्दर वस्तु यही त होला ! जो मौसमी नभई सर्वकालिक र अमर बनेर बसेको हुन्छ ।
हरेक वर्ष काठमाडौँलाई नीलिमा पार्दै झुप्प झुप्प फुलेर मुस्कुराउने शिरीष मन र मस्तिष्कलाई तरङ्गित गराउँदै झर्छन् मौसमका आँखाबाट । शिरीषको सौन्दर्यले काठमाडौँका घर, आँगन र बाटोलाई मात्र शोभा दिँदैन, तिनको शोभा सँगसँगै तिम्रो कलमको विसङ्गतिमा पनि सौन्दर्य फक्रिन्छ र तरो ताजा बनाइदिन्छन् । तिनै शिरीषका कोपिला र फूलहरूमा सकम्बरीको झीनो सौन्दर्य, चुरोटको धुवाँ, छोटो कपाल, विद्रोह, विसङ्गति । शून्यता फुल्छ र पुस्तककै आवरणमा सकम्बरीको चित्र खुल्छ र बिर्साएर फूलको सौन्दर्य विसङ्गतिको पीडा बिलाउँछ शून्यमा ।
कस्तो अचम्म ! फूलको सौन्दर्यमा पनि कामुकताको चित्र, पश्चात्तापको पराग, विसङ्गतिको सुवास, यथार्थका हाँगापातका शिराले गरेको शून्यताको सिञ्चन ।
अचम्म लाग्छ, पारिजात, फूलहरू कठोर हुँदै हुँदैनन् सौन्दर्य, सुवास र आनन्द मात्र दिन्छन् भन्ने मेरो विश्वासमा पूर्णविराम लाग्छ, जब यी शिरीष हुँदै तिम्रो शिरीष मसँग जिस्कन आइपुग्छ बन्दै जीवघातक सुनगाभा । अझ भन्दा मलाई बिथोल्न आइपुग्छ । यति लेखिरहँदा घरीघरी म आफू शब्दमा, भावमा, तरिकामा नमिलेकाे जस्तो लागिरहेछ । र, पनि यो बेमेललाई स्विकारी रहेकी छु । सायद यही होला विसङ्गत ।
तिमीले रोपेको शिरीष मभन्दा धेरै जेठो छ । उमेरले सानै भए पनि प्राकृतिक कुरा देख्नमा पनि पछि नै रहेछु । किनकि तिमीले रोपेको शिरीषभन्दा पहिले मैले कहिल्यै नीलो शिरीष देखेकै थिइनँ । काठमाडौँ आउनु अघि मैले तिम्रै पुस्तकमा देखेको हुँ । त्यही पुस्तकमा पनि नदेखेकी भए सायद मैले सम्झन्थेँ होला, सोध्थेँ होला, विचार्थेँ होला— के नीलो पनि शिरीष हुन्छ र ? के यो शिरीष नै हो त भनेर । त्यसैले त काठमाडौँ आएपछि कसैले भन्नु र चिनाउन परेन । तिमीले नै रोपेर छोडेजस्ता लाग्ने शिरीषहरूमा घरीघरी तिम्रो आकृति छाउँथ्यो । नीलो शिरीष मैले नदेखे पनि रातो शिरीषको प्रजातिको यौटा ठूलो रूख मेरो गाउँमा मेरै घर अगाडि थियो । मैले थाहा पाएदेखि नै थियो । सायद मभन्दा जेठो ।
त्यो रातो शिरीष वसन्त ऋतुमा यसरी फुल्थ्यो मानौँ संसारभरिका सारा राता फूलहरू उसमै समाहित छन् । मानौँ अब कहिल्यै फुल्दैन । यही वर्ष मात्र फुलेर सकिन्छ । यसरी फुल्थ्यो, हाँगा, पात, डाँठ जताततैबाट पलाएका हुन्थे राता कोपिला । उसका लाखौँ थुँगा फूलहरूले वरिपरिका घरका धुरीहरू आँगन रक्तिम पार्थे । घरीघरी धर्तीलाई फूलैफूलले अभिषेक गर्दथ्यो । कैयौँ पटक मेरो झ्यालको बाटो भएर हावाको यानमा चढेर मेरो कोठा र ओछ्यानमा उत्रिरहेको हुन्थ्यो । अनि बार्दलीमा बसेर शीतल खाइरहेकी मलाई कति पटक फूलले मुख धोइदिन्थ्यो, नुहाइदिन्थ्यो ।
उसका ती राता लालिमा बोकेका फूलका सौन्दर्यले सारा रङ्गहरू र अरू फूलका सौन्दर्यलाई फिका पार्दथ्यो किनकि उसको फेदैमा सधैँ फूलका बिरुवा सुमसुम्याइरहेकी, मलजल गरिरहेकी मलाई अभिषेक गरिरहेका राता फूलका पत्रहरूले छोपिरहँदा अरू फूल नरोपेर शिरीष मात्र रोपौँ जस्तो लाग्थ्यो । मैले कल्पनामा बोलाइरहने राजकुमार जस्तो सुन्दर, देख्ने सपना जस्तो कोमल र फुलिरहेको मेरो यौवनजस्तै अमूल्य उसका फूलहरू म सँगसँगै आउँथे फूल रोप्न, गोडमेल गर्न र मलजल गर्न । उसका हाँगाभरि फुलेर हावासँग नाचिरहेका तिनै फूल हेरेर कविता लेख्थेँ, कथा लेख्थेँ र गुनगुनाउँथेँ गीत । उसलाई छोडेको वर्षौं भयो त्यो । रातो शिरीष कोमल र सौन्दर्यको प्रतीक फूल नै भएर आउँछ । उसलाई फूल नै देख्छु फूल नै भेट्छु । तर पारिजात ! तिमीले रोपेको शिरीषमा म कहिले पनि फूल मात्र देख्न सक्दिनँ, कोमलता मात्र भेट्न सक्दिनँ र एकटक रमाएर हेरिरहन सक्दिनँ ।
तिमीले रोपेको शिरीष पढिसकेपछि नै त हो नि काठमाडौँमा फुल्ने नीला शिरीषप्रति आकर्षण बढेको । साहित्यका हामी कलिला विद्यार्थीलाई यसले नराम्ररी छोयो, जसरी सकम्बरीको प्रेमले सुयोगवीरलाई छोयो, जसरी सुयोगवीरको कामुकताले अरूलाई छोयो । जब शिरीष फुल्ने मौसम आउँछ, दोहोरिई—दोहोरिई शिरीष फुल्छ अनि जीवनका विसङ्गतिहरूलाई बिर्सौं भन्दा पनि कोट्याइरहन्छन् कि ती प्रत्येक नीला शिरीषका फूलहरू तिम्रै परिचय बोकेर फक्रन्छन् । सुयोगवीरको कामुक कुण्ठामा, सकम्बरीको अस्तित्व र निस्सारतामा, मुजुराको शालीनतामा, शिवराजको रक्सी अनि तिम्रो कलममा । रङ्गको हिसाबले त रातो शिरीष नै राम्रो लाग्छ । रातो उज्यालो तर विसङ्गतिलाई पनि नीलो शिरीषले उत्कृष्ट बनायो । यौटै चुम्बनमा ओइलाएर झर्ने बरीको अवशेषमा र झार्ने सुयोगवीरको धृष्टतामा । स्वअस्तित्वमा फक्रन खोजेर पनि विसङ्गति, निस्सारता र शून्यमा ओइलाएका यी नीला शिरीषले तिमीलाई कहिल्यै बिर्सन दिँदैनन् । संसारको जुनसुकै कुनामा भेटियोस् वा फुलोस् ।
हिउँद आउँछ, प्रकृति सुस्ताउँछ, जिङ्ग्रिङ्ङ हुन्छ । अहँ मतलब हुन्न । ऋतुहरूले आफ्नो रङ्ग फेरिरहन्छन् । स्वाभाविक लाग्छ । तर वसन्त आउँछ, संसार फुलाउँछ, शिरीष फुलाउँछ, त्यो विशेष हुन्छ । विशेष काठमाडौँका शिरीष । वर्षा आउँछ, संसार धुन्छ, ती नीला शिरीषहरू लपक्क हुन्छन्, फूलका आँखा छोएर झरेको पानी फूलका ओठ पखाल्दै बग्छ । ती फूल गह्राैँ देखिन्छन्, हुन्छन् र झर्न खोज्छन् अनि म शिरीषमा मुस्कान पाउँदिनँ ।
प्रत्येक फूल साँच्चै रोएजस्तो लाग्छ । कहिले रक्ताम्य, कहिले चोटैचोटले घाइते, कहिले मूर्च्छित त कहिले लास बनेर वर्षामा आँसु मिसाएर चुपचाप बगाइरहेको जस्तो । कहिले चुरोटको धुवाँमा, कहिले रक्सीको गिलासमा अनि लाग्छ पानीको जीवनदायी स्पर्श सहन नसक्ने फूलहरूले कसरी चोटहरू सहे ? तब मलाई लाग्छ, पारिजात ! फूलको स्वभाव विद्रोही होइन रहेछ । चुपचाप चुपचाप घायल हुँदा रहेछन्, तड्पिँदा रहेछन्, रुँदा रहेछन् बलात्कृत हुँदा रहेछन् । कस्तो अचम्म ! फूलहरूमा रगतको रङ्ग, कामुकताको गन्ध, बलात्कृत मुस्कान, धोकाको सुवास ।
म हैरान हुन्छु, तड्पिन्छु, थाहा छैन किन किन मलाई यी फूलहरूले बिथोल्छन् म जबरजस्ती हेरिरहन खोज्छु तर सक्दिनँ । मान्छेका आँखाहरूले खोज्ने त सौन्दर्य नै हो, बीभत्स होइन । तिम्रो कलमले त यी शिरीषलाई रुवाएर, दुखाएर हेर्न नसक्ने बनाएर छाड्यो । यो कलालाई सम्मान गर्ने मसँग शब्द छैनन् । मात्र माया र सम्मान गर्ने हिम्मत गर्छु र भन्छु— बिचरी बरी ! उत्कृष्ट कलम !!
काठमाडौँलाई सुन्दर पार्ने नीला शिरीषहरू आफैँ उभिएका छन् । आफ्नो परिचय दिनका लागि उनीहरूले विद्रोह गर्नुपर्दैन । रङ्ग मागिरहनु पर्दैन, शृङ्गार गरिरहनु पर्दैन । नीलिमाका आभाभरि कसैको सौन्दर्य र शिल्पीसँग दाँजिरहनु पर्दैन ।
स्वतन्त्र र आफैँमा सक्षम विद्रोहमुक्त सौन्दर्यका प्रतीक ती शिरीष किन किन मेरा आँखामा भने कोमल मात्र भएर हाँस्न सक्दैनन् । ती फूलहरूसँगै तिम्रो शिरीष जहिले मिसिएर आउँछ, रमाइरहेको मनलाई गम्भीर बनाउँछ । उत्साहित आँखा पनि टोलाउँछन् ।
म आफैँसँग प्रश्न गर्छु— जीवन त भावगत सुख, सौहार्द, शान्ति, प्रेम, नितान्त कोमल र विभावनागत कुराहरूको अनुभवजन्य प्रस्फुटन हुनुपर्ने होइन र ? तर यी फूलका जीवनहरू त वस्तुजन्य कठोर र ठोस पो बनेका छन् ।
त्यही कोमलता र हार्दिकता वस्तुमा रूपान्तरित भई विसङ्गतिमा रुमल्लिएका पात्रहरूले स्वअस्तित्वको वकालतमा अडिग रहेर विद्रोही हुनुपर्ने थिएन र ? अस्तित्वको सङ्केत गरेर पाठकहरूलाई शून्यमा नपुर्याई गर्वबोध हुने अन्त्य दिएको भए पनि हुन्थ्यो ।
रक्सीको बोतल, चुरोटको धुवाँ, भागेको पुरुषार्थ, बेमेल प्रेम र चाहना, कुण्ठा र बलात्कारलाई विसङ्गतिका मौसमहरूमा डुबाएर, उडाएर जीवन प्रेमको अनुभूति गर्ने अन्तर्मुखी अस्तित्व बोधका अमूर्त काँडाहरूले कसरी फूललाई घोच्न सकेका होलान् ?
कतै शिरीषमा पनि काँडा हुन्छ र ?
कतै फूल पनि ठोस बन्छ र ? विद्रोह नभई अस्तित्वको सम्भावना हुन्न भने त फूलले विद्रोह गर्नुपर्ने थिएन र ?
ज्याँ पाल सात्र्र र अल्बर्ट कामुले पनि भनेकै छन्— प्रकृतिभन्दा मानिसको अस्तित्व बढी र महत्त्वपूर्ण छ । मानिसले आफ्नो अस्तित्वको खोज जीवनको भोगाइ, वातावरण र परिस्थितिमा गर्दछ, जसको केन्द्र मानिस नै हो ।
मानिसले आफू उभिनु र आफूलाई अस्तित्वको विश्वपटलमा स्पष्ट रूपमा उभ्याउन खोज्नु अस्तित्वको स्वीकार र प्रामाणिकता खोज्नु होइन र ? तर पारिजात बरी अस्तित्वको विश्वपटलमा हिँड्न थालेर पनि किन हारेर शून्यमा समर्पण भई ? खै त अस्तित्वको मूलमन्त्र विद्रोह ? ओह ! यहाँ त अस्तित्वभित्र विसङ्गति, विसङ्गतिभित्र नैराश्य, नैराश्यभित्र शून्यता र शून्यताभित्र समर्पण । मान्नै मन लाग्दैन, यति राम्रो शिरीषको फूल विसङ्गतिको प्रतीक र शून्यताको बिम्ब भन्नलाई । सायद यही अस्वीकृतिभित्रको स्वीकृति नै होला शिरीषको फूलले स्वयम्को सुन्दर परिचय गराउनु ।
मेरो गाउँमा भएको रातो शिरीषको कुनै विशेष कथा छैन । स्मृति छ, त्यो पनि सौन्दर्यको । तर काठमाडौँका शिरीषहरूमा कथा नै कथा छन्, व्यथा नै व्यथा छन् । कति कुण्ठाग्रस्त छ हगि पारिजात तिम्रो सुयोगवीर ? कामुक हत्यारा अनि कुण्ठित । थाहा छैन, दशकौँ अगाडिको तिम्रो पात्र अहिले पनि घुमिरहेको होला । कैयौँ बरीलाई विषालु चुम्बन गरिरहेको होला । कैयौँ मार्टिनचीहरूको बलात्कार र हत्या । आज पनि सुयोगवीरहरू कहाँ कम छन् र ? हत्या, हिंसा, बलात्कारबाट आज पनि हामी प्रत्यक्ष वा परोक्ष पीडित नै छौँ ।
शिरीष पाउलिन्छ, थाहा हुन्न । कोपिला लाग्छ, त्यति थाहा हुन्न । जब फक्रन्छ नि, तब बारम्बार ती फूलमा तिम्रा पात्र देखिन्छन् । मलाई मात्र हो या अरूलाई पनि यस्तो हुन्छ, म भन्न सक्दिनँ । यस्तै अनुभूति मलाई बनारस जाँदा पनि भएको थियो । जब जब बनारसका गल्लीहरू घुम्थेँ, गङ्गामा डुङ्गा सयर गर्थें, तबतब विश्वेश्वरको नरेन्द्र दाइ आँखामा आएको आयै गर्यो मुनरियालाई लिएर, गौरीलाई गाउँमै छोडेर । गौरीको संवेदनाले नरेन्द्रलाई बिर्सन नदिएजस्तै नीला शिरीषले बरीलगायतका पात्रलाई बिर्सन दिँदैन । त्यही होला कुनै पनि लेखकको सफलता र पाठकको उत्कण्ठा ।
त्यो नीलो रङ्गमा शिरीष आहा !
सुन्दर र गम्भीर आकाशलाई उपनाम दिने, समुद्रको विशेषण लाग्ने, पुरुषार्थ, शान्ति र ज्ञानको प्रतीक मान्ने । अझ भन्दा योगेश्वर कृष्णको वर्ण, भगवान् शिवको कण्ठले बोकेको यस्तो रङ्गले दिने आनन्द नै हो । तर कविले त रङ्गलाई पनि चरित्र बनाइदिन्छन् । र, त यी शिरीषका नीला फूल आफैँमा दुःखी पात्र भएर फुलेका छन् । यस्तो विशाल आकाश र शान्तिको प्रतीकका रङ्गमा पात्रहरूका विसङ्गति रङ्गिन्छन् र फूलहरू गह्रौँ गह्रौँ बनाएर पटक पटक पाउलिन्छन्, फक्रिन्छन्, झर्छन् । फूलको जीवन सकिएपछि तिम्रो शिरीषले पनि याम सार्छ मन र आँखाबाट । फाट्टफुट्ट साहित्यिक चर्चा हुनुभन्दा पर फेरि शिरीषका फूलहरू सुयोगवीर बनेर तर्साउन, बरी बनेर उभिन सिकाउँदै, पछारिन आउँदैनन् ।
मलाई लाग्छ, त्यति बेला सौन्दर्यसँगै विसङ्गतिले काठमाडौँको मुख पुछेर जान्छ । अब अर्को वर्षसम्म ढुक्कै । तर फूल झरिसक्न नपाउँदै भने बरी आउँछे र प्रश्नैप्रश्नले मलाई घेर्छन् । किन बरीले जीवनको उपेक्षा गरेकी होला ? किन अस्तित्वको पाठभित्र सार्थक जीवनको आशा नगरेकी होला ?
जीवन एक याम झपक्क शिरीष फुलेजस्तै त हो । सम्पूर्णमा आफैँ किन नफुलेकी होला ? दुइटा अधरभरिका मुस्कानले संसारलाई दिन पुग्ने हाँसो दिएर किन नहाँसेकी होला ? शून्यता त जीवनकै गन्तव्य हो । शून्यतामा पुग्नुअघि किन सम्पूर्ण रूपले जीवनलाई हलचल नगराएकी होला ? शिरीषको सौन्दर्यजस्तै जिन्दगी बाँच्न नखोजेर किन चुरोटको धुवाँमा रुमल्लिएकी होली ? आफैँमा हराएर पनि भेटिइरहेकी बरी फूललाई स्वतन्त्र फुल्न दिनुपर्छ पो भन्थी । जीवघातक सुनाखरीको पो चर्चा गर्थी, प्रशंसा गर्थी । फेरि सुयोगवीरको बलात्कारी चुम्बनको बदला किन नलिएकी होली ?
यस्ता यस्ता कुरामा मन चिमोटेर जान्छन् शिरीषका फूलहरू । आश्चर्य लाग्छ, यौटा कलमले भावहरूलाई कसरी टिपेर मानिसका हृदयमा फूलमा मानिस र मानिसमा चरित्र देख्न सक्ने बनाउँदो रहेछ ! यसको प्रमाण म तिम्रै शिरीषलाई मान्छु । तिम्रो कलमलाई सम्मान गर्ने शब्द मसँग सधैँ कम भइरहन्छ । त्यसैले अलमलिइरहन्छु । उत्कृष्टमध्ये उत्कृष्ट श्रेय तिम्रो कलमलाई जान्छ ।
कहिलेकाहीँ नि पारिजात ! म आफैँ बरी बन्छु । ज्याद्री र विद्रोही ।
मन लागेको गीत सुन्छु, मन लागेको खान्छु, मन लागेको ठाउँमा एक्लै हिँड्छु । कसैलाई टेर्दिनँ म र मलाई खोज्दै । कति ठाउँमा विद्रोह गर्दागर्दै उभिन्छु । तर शून्यतातिर ढल्कन भने दिन्नँ । मैले निर्धक्क फुल्न पाउनुपर्छ मेरो अधिकार । फुल्नु मेरो स्वभाव । फूल हुनु र चिनिनु मेरो अस्तित्व हो र आफैँमा गर्व गर्छु । फूल हुँदाहुँदै पनि मेरो जीवन सौन्दर्यको सर्वस्व कसैले नबिथोलोस् भली आफैँ काँडा बन्छु र काँडाहरूका माझमै पनि फूल बनिरहने प्रयास गर्छु ।
आखिरमा जीवन प्रयासहरूको अभ्यासस्थल पनि त हो ।
हारिन्छ नै भनेर खेल त कसले खेल्छ र ? हार्दैमा जीवन सकियो भन्ने पनि त हुन्न । हार आफैँमा पीडा भए पनि पीडाले एक प्रकारको ऊर्जा थप्छ, अझ मजबुत बनाउँछ र अगि बढ्न ढाडस प्रदान गर्दछ । बरीको नियतिको विपक्षमा यस्ता तर्क उठिरहन्छन् मनमा । तर विसङ्गतिको विरुद्ध सङ्गति अपनाएकी भए सकम्बरी कहाँ बरी बनेर अजम्बरी हुन्थी पाठकका मनमस्तिष्क बिथोलेर ।
जिन्दगीलाई आफ्नै मनोमानीले जिउनुपर्छ भन्दै तिमी सकम्बरी बनेर उभिरह्यौ । चुरोटका धुवाँहरूमा जीवनका सपनाहरूलाई उडाउँदै जीवघातक सुनाखरीको प्रतीक बनेर । विसङ्गतिभित्र मिलाउन खोज्यौ सङ्गति । चुरोटमा, रक्सीमा, धोकामा, निस्सारतामा, शून्यमा पनि कति सुन्दर छन् यी नीला शिरीषका फूलहरू । सधैँ सुयोगवीरका प्रश्नलाई उत्तरका झटारा हानेर घाइते पार्ने त्यो बुलेट बरी यौटा कामुक भँवराको चुम्बनले ओइलाउनु हुन्न थ्यो भन्ने चाहिँ पढ्दै पटक मलाई लागिरहन्छ ।
चुम्बनको प्रतिकार स्वरूप पटक पटक म आफैँ सकमबरीलाई सुयोगवीरका गालामा थप्पडका थप्पड हान्न लगाएर चुम्बनको बदलासहित ती सारा नारीहरू जसलाई उसले यौन शोषण गरेको थियो, बलात्कार गरेको थियो र मारेको थियो नि, त्यसको बदला लिन लगाउँछु । आक्रोशित हुन्छु । तिनीहरू सबको हिसाब बरीले फूलको रस चुस्न आएको भँवरालाई घातक सुनाखरीले मारेजस्तै गरेर मारेको भए तिनीहरू सबको हिसाब अलिकति भए पनि बुझ्थ्यो किनकि सामूहिक बलात्कारमा परेका आदिवासी महिला हेडहन्टरकी छोरीको बलात्कार र हत्या, भैँसी गोठाल्नी कचीनीको बलात्कार र हत्या, मार्टिनचीलाई धोका र हत्या, अनि बरीलाई विषालु चुम्बनले गरेका हत्याका पीडा बोकेर शिरीषका फूलहरू अझै रोएझैँ लाग्छ, रोइरहेझैँ लाग्छ । पाठकलाई पटक पटक सिरिङ्ग पारेका कामुक र कुण्ठित घटनाले आक्रोशित मनमस्तिष्कले शीतलता पाउँथ्यो कि ? ती पात्रहरू अझै पनि न्यायको लागि फूल बनेर फूल हुनुको मूल्य चुकाउँदै रोइरहेका छन् कि ? तिनीहरूको आत्माले शान्ति पाउँथ्यो कि ? शीतलता पाउँथ्यो कि ?
तर पारिजात यी सम्पूर्ण अनुमानहरू अनुमान नै रहेर पारम्परिक लेखनको विपरीत ध्रुव भएर फुलेका शिरीषका फूलहरूमा विद्रोह, कामुकता, विसङ्गति, निस्सारता र शून्यताको समग्रता नभएको भए शिरीष अरूजस्तै हुन्थ्यो । यसको अलग अस्तित्व र महत्त्व हुन्न थ्यो । विद्रोह पछि समर्पण, विसङ्गतिभित्र सङ्गति, कामुकताभित्र प्रेम, धोकाको पछाडि विश्वास, पागलपन पछाडि गम्भीर यिनै शृङ्खलाहरूको उचित समायोजन नै शिरीषको सौन्दर्य हो ।
विसङ्गत जीवनका गिलासहरूमा नैराश्यका रक्सी खन्याएर भरिँदै, सकिँदै गरेर पाठकलाई लट्ठ पार्ने नशा लाग्दा, मायालाग्दा, टीठलाग्दा, दयालाग्दा पात्रहरूको चरित्र नै त यसको मिठास हो, जसले पाठकलाई लट्ठ पार्छ । पढ्दा पढ्दै पाठक कहिले सुयोगवीर बनेर कामुक, कुण्ठित र हत्यारा बन्छ, कहिले पसल्नी बनेर थोरै सुखमा मख्ख पर्छ, कहिले बरीको मुडुलो टाउको सुमसुम्याउँछ, चुरोट पिएर धुवाँमा वितृष्णा फ्याँक्छ, शिवराजसँगै रक्सी पिएर गरिरहन्छ यौटा यौटा । तर जटिल प्रश्न अनि मुजुरासँग बिहे र बरीसँग प्रेम गर्ने विसङ्गतिका बिचमा लतपतिएको अन्तर्द्वन्द्वमा छटपटिन्छ । पाठकले आफूलाई पात्र सम्झनु र आफैँ विसङ्गति अनुभूत गर्नु कलमको उत्कृष्टता नै हो ।
अराजक र विसङ्गत हुनुमा जो मजा हुन्छ नि, त्यस्तो रमाइलो अरू कुरामा नपाइन सक्छ ।
रिस उठेको मान्छेलाई मनलागी भएभरका तुच्छ गाली गरिसकेपछि पनि मनले एक खालको सुखद आभास गर्छ । प्रेम, सङ्गति र आदर्शका कुराले मात्र आनन्द दिन्छ भन्ने छैन । संसार राम्रो नराम्रोको संयोजन हो । कति नराम्रा र दुःखलाग्दा कुराहरूले सुखद अनुभूति गराइरहेका पनि हुन्छन्, मनलाई रुवाएर होस् या घृणा भरेर । सूक्ष्म र कलात्मक रूपले संयोजित विरोधाभासमा जीवन र जीवनमा विरोधाभास लिएर बाँचेका पात्र भएर त शिरीषको फूल सर्वकालिक बनेको हो ।
कहीँ अलिनो, कहीँ चर्को विसङ्गत जीवनका व्यथाहरूका कथा बोकेर दुःखैदुःखका पात्रहरूलाई वसन्त भिराएर सार्थक फक्रिरहेका शिरीषका फूलहरूले निरर्थक भएर जीवनलाई व्यर्थ भन्न पछि पारेका छैनन् । यही व्यर्थताको निस्सारताले महाशून्य अँगालेका फूलका जीवनहरू जति नै विसङ्गति जीवन बाँचे पनि सापेक्ष, निरपेक्ष र अस्तित्वका गम्भीरतामा आकर्षक छन्, जति पटक पढे पनि नवीन अनुभूति दिन सक्ने, पात्रलाई फूल र फूललाई पात्रमा रूपान्तरण गर्न सक्ने काव्यिक वैशिष्ट्यको कालजयी उदाहरण हो, तिम्रो शिरीषको फूल ।
पारिजात ! विश्व बजारमा संसारले हिरो मानेको राष्ट्रले तिम्रो कृतिको सम्मान गरी पढाउन र पढ्न घोरिइरहँदा .यदाकदा सुन्नमा आइरहन्छ, शिरीष फूललाई भूमिकाले उचाइ दियो । कहीँ गाइँगुइँ, कहीँ अधुरो, भूमिका भूमिकाको रटानमा कति पटक म आफैँलाई त्यस्ता पाठकप्रति वैराग्य लागेर आयो र कति पटक शिरीषको फूलप्रति अपमान अनुभूति भइरह्यो । कति पटक मलाई लाग्थ्यो, मैले शिरीषलाई बुझ्न सकिनँ या पढ्न पो जानिनँ कि ? यो पढ्नलाई विशेष क्षमता हुनु पो पर्छ कि ? मसँग त्यो क्षमता छैन कि ? नभए त १५ वर्षभित्रमा सात पटक पढेको शिरीष फूलको एक पटक पनि भूमिका किन पढिनँ या पढ्न चाहिनँ ।
यही निबन्ध लेखिसकेपछि एक पटक त भूमिका पनि हेर्नुपर्यो भनेर पुस्तक खोजेँ ।
मलाई कतै पनि लागेन, भूमिकाले शिरीषको फूललाई उचाइ दिएको हो भनेर । बरु लाग्यो, रूपमती रुचाउने पितृ सत्ताले सधैँ अपाहिज र परनिर्भर देख्ने महिलाले लेखेको उत्कृष्टता कहाँ सजिलै पचाउन सक्थ्यो र ? बरु बैसाखी भिराउने, श्रेय लिने मूर्खता भने पक्कै ग¥यो । जसले मन र मस्तिष्कले पढेको छ, शिरीषको फूलले त्यही छाप छोड्छ, पात्रहरू यसरी बस्छन् हृदयमा । फूलमा पनि चित्र बोक्छन् । मौसममा अराजकता घोल्छन् । भूमिका त कहाँ हराउँछ कहाँ ! मजस्तै कैयौँ पाठकलाई थाहा पनि नहोला, भूमिकामा के छ !
कालजयी कलम त्यसै हुँदै हुँदैन, त्यसमा विशेष क्षमता हुनुपर्छ । त्यही विशिष्ट क्षमताको उपज हो, शिरीषको फूल ।
कुण्ठित आँखाले शिरीषका फूलको रङ्ग हलुका पार्न खोजिएको पनि हो । म भन्छु, शिरीषको फूल फूल हुनुमा भूमिकीय चार लाइनले मलजल उचाइ दियो भन्नु पूर्वाग्रहबाट पीडित र कुण्ठित मानसिकताको उद्गार हो । पितृसत्तामा गाँजिएर जर्रिएर बसेको मनस्थितिले बा, श्रीमान् र छोरोमध्ये एकलाई बैसाखी बनाइरहनु भनेर चलाएको प्रचलनमा हुर्किएको संस्कारले किन सजिलै स्वीकार गर्थ्याे नारीको उच्चतम सृष्टिलाई । बरु सहायता गर्ने दुष्प्रयास गर्छ र खोज्छ माथि पर्न र आश्रय दिन । विद्वता र उच्चता स्विकार्न नसक्नुको कुण्ठा नै पारम्परिक सोच र बौद्धिक दरिद्रता हो अनि निर्भीक लेखनको अवमूल्यन पनि ।
मलाई लाग्छ, शिरीषको फूल उपन्यासको भूमिकाकार तिम्रा समकालीन साथी विद्वान् हुन् । तर शिरीषको फूलले उनीलाई अझ पहिचान दिन मद्दत गरेको हो, अझ प्रसिद्धि दिएको हो । यो कुरामा विश्वास गर्छु म । यस्ता कुरा हामी सोच्न सक्दैनाैँ । किनकि पितृसत्ता अझै नारी कलमलाई विश्वास गर्न सक्दैन । मानौँ उच्चता स्विकार्न सक्दैन । बरु सम्मान गर्न नपरे हुन्थ्यो भन्छ र तर्किरहन्छ ।
तिमीले भोगेको र छोडेको नेपाली समाज आफैँमा पितृसत्तात्मक समाज हो ।
नारी कमजोर हुनै पर्छ र हो भनेर हेर्ने आँखाको चस्माको पावर तिमीले पूरै धमिल्याइदियौ । तर आज पनि पूर्ण रूपमा धमिलोपन भने स्विकार्न सकेको छैन । सङ्कीर्ण र पुरुष दृष्टिकोणमा पारेर भूमिकालाई दिन खोजेको उच्चता र शिरीषलाई गर्न खोजेको अवमूल्यन मलाई पटक्कै मन परेन । म सधैँ अपमान र अवमूल्यन अनुभूति गर्छु । म यो कुराको विरोध गर्छु र सम्पूर्ण रूपले अस्वीकार गर्छु किनकि भूमिकाबिना नै सात पटक पढ्नका लागि उक्साइरहने प्रतिभाको ठूलो अपमान अनुभव मैले गरेकी छु । म स्वयम् यौटी लेखक र पाठक हुँ ।
पारिजात ! आज म धेरै हलुङ्गो भएँ । शिरीषका फूलहरूलाई काठमाडौँबाट तिम्रो कृतिमा, तिम्रो कृतिबाट मस्तिष्कमा, मस्तिष्क र मौसमको संयोजनबाट यसरी निबन्धमा बिसाउन पाउँदा ।
तिम्रो शिरीषको फूल नेपाली साहित्यको गर्विलो इतिहास हो र प्रेरणाको स्रोत मान्छु ।
कुनै बैसाखी, कुनै रङ्गरोगन र कुनै पनि भूमिका चाहिँदैन, यो फक्रिन र कालजयी बन्नलाई । त्यसैले त पारिजात हरेक वर्ष काठमाडौँमा शिरीषहरू फुल्छन् सहर नै नीलिमा पारेर यिनीहरू फुल्नलाई कुनै भूमिकाको आवश्यकता पर्दै पर्दैन । ती फूलसँगै पात्र फुल्छन्, तिनीहरूलाई परिचयको आवश्यकता पर्दैन । त्यो मौसमसँगै बेस्सरी विसङ्गति मुस्कुराउँछ कुनै काउकुती लगाइरहने आवश्यकता नै हुन्न । पात्रहरू यसरी सजीव भएर मनमस्तिष्कमा बसेका छन्, शिरीष भन्ने बित्तिकै हुरुरु आफ्ना स्वभावसँगै आउँछन्, बोलाइरहनु पर्दैन ।
वसन्तलाई फूल र इन्द्रेणीलाई रङ्ग उपहार दिइरहनुको के अर्थ ?



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
४ माघ २०८२, आईतवार 










