‘कहिल्यै पनि काम पाउँदासम्म काम धेरै भयो नभन, किनभने जब जब काम हुँदै न नि तब सारै मन पोल्छ ।’ धेरै शिफ्ट गर्दागर्दै थकित उदयमान सुपरस्टार शाहरुख खानका शुरूवाती दिनमा उनले काम बढी भयो भन्दा सरोज खानले दिएको जवाफ थियो यो ।
कुनै पनि असफलता वा गरीबीका कुरा सफल वा धनी भएपछि मात्र पढ्न लायक बन्छन् । त्यसैले सफलता वा गरीबीका गफ अहिल्यै गरी नहालौं । बेरोजगार जिन्दगीका गफ जागीर पाएपछि गर्दा नै रमाइलो होला । भन्छन् नि यहाँ – बन्दै गरेको शाहरुख कसैलाई मन पर्दैन । सबैलाई बनिसकेको शाहरुखको खोजी छ । शायद , गौरीलाई बाहेक ।
कामलाई रोम्यान्टिसाइज गर्नुपर्छ भन्ने मान्छे म होइन । तर प्रायजसो काम गरिरहन्छु । जेनरेशनल वेल्थको साटो जेनरेशनल फेक कर्मनिष्ठताले गर्दा हुनसक्छ ।
काम गर्दा कहिल्यै रमाउनु हुन्न । रमाएको खण्डमा पूँजीवादले जित्छ । आफू पूँजीपती नहुँदा सम्म पूँजीवादको विरोध गरेकै राम्रो !
जीवन रिजेक्शनहरूको संग्रहालय हो । प्रेमको रिजेक्शन । खुशीको रिजेक्शन । सम्पादकहरूले गर्ने निबन्धको रिजेक्शन ! अनि त्यस्तै पीडादायक इन्टरव्यूमा रिजेक्शन ।
शुरूवातका दिन थिए । भाइभा थुप्रै दिए पनि मैले कुनै अन्तर्वार्ता दिएको थिइनँ । कतै पढेको थिएँ, ‘ बी योर सेल्फ ।’
मैले पनि होला त नि भन्दै त्यही सिद्धान्त प्रयोग गरें । शुरूमा सजिलै प्रश्न गरे । जिन्दगीका नहोलान्, किताबी प्रश्नका उत्तर सजिला हुन्छन् । कमसेकम पढेको खण्डमा । ज्ञान ताजै थियो । प्रश्न किताबकै थिए । मैले उत्तर फर्काइरहें । अन्तिमतिर एउटा प्रश्न मतर्फ शक्ति गौचनको बल जस्तै घुमेर आयो । सुस्त । सटल रूपमा ।
प्रश्न थियो :
‘तपाईं जीवनमा के हुन चाहनुहुन्छ ?’
त्यति खेर खै के भयो भयो । म भित्रको कुम्भकर्ण दार्शनिक जाग्यो । थाहा छैन मबाट त्यो उत्तर किन निस्कियो ।
जवाफ फर्काएँ, ‘ म जीवनमा खुशी हुन चाहन्छु ।’
गललल हाँसोको आवाज कोठाभित्र फैलियो ।
एकै छिन सबै जना मस्त हाँसे । अनि उनीहरूले मलाई धन्यवाद भने ।
साँझ नतीजा आयो । जीवनमा म खुशी हुन चाहन्छु भनेको थिएँ । उनीहरूले मलाई अन्तर्वार्तामा फालिदिए र त्यो साँझ दुःखी बनाइदिए ।
दोस्रो अन्तरवार्ता थियो । मैले सिकेको एउटै कुरा थियो । डन्ट बी योर सेल्फ । धेरै कुरा सिक्न बाँकी थियो । सेल्फस्टिम र कन्फिडेन्सको धजिया उडाउन बाँकी नै थियो ।
जोन साबले भने जस्तै मान्छेले सबै कुरा कहाँ किताबबाट सिक्छ र ? जीवनमा हादसाहरूको आवश्यकता पर्दछ । जीवन किताब जस्तो सरल हुँदो रहेनछ ।
इन्टरव्यू लिने मालिकले प्रश्न गर्दै गए । हुने वाला दास कतिको आज्ञाकारी छ भनेर । नित्सेको दर्शनमा के थियो अहिले ठ्याक्कै याद आएन तर मालिक र दासको सफल सम्बन्धका निमित्त दासहरू बाँधिएको हुनुपर्छ । हात्ती जस्तै । बन्धन शरीरमा होइन दिमागमा हुनुपर्छ कथित अनुशासनको । तब सफल हुन्छ मालिक र दासको सम्बन्ध । यदि दासहरूमा लेस मात्र पनि दुःसाहस बाँकी रह्यो भने त्यो सम्बन्ध सफल हुँदैन । हैकम बिनाको मालिक के मालिक ?
प्रश्न तेर्सियो : ‘यो भन्दा राम्रो तलब दिने अवसर आए जागीर छाड्छौ कि छाड्दैनौ ?’
म आफूलाई सत्यवादी ठान्दिनँ । त्यस बखत खै के भयो म भित्रका युधिष्ठिर वनवासबाट फिर्ता आए र दिए सत्य उत्तर कर्पोरेट यक्ष प्रश्नको ।
‘राम्रो अवसर आए सोच्न सकिन्छ सर !’
सोच्न सकिन्छ ? मालिक भित्रभित्र मर्माहत भए । दासहरूले आज्ञा शिरोधार्य गर्छन् । सोच्ने दासहरू दास होइनन् ।
साँझ त्यही भयो जे अपेक्षित थियो । वैकल्पिकमा समेत नपर्ने गरी म फालिएँ ।
त्यसपछि उस्तै दिन । उस्तै अन्तर्वार्ता । र लगभग उस्तै नतीजा । एक समयलाई म पुरानो नेपाली फिल्मको राजेश हमाल जस्तै बनें ।
जीवनले हन्डर खुवायो । अझै कति खुवाउने हो । जति रीस उठे पनि मैले एउटा महत्त्वपूर्ण कुरा सिकें कि म खासै महत्त्वपूर्ण मान्छे होइन । औचित्यहीन मान्छे नै हुँ । तर यी जो मेरो अन्तर्वार्ता लिइरहेछन् अझै त्यही डिलुजनमा छन् जुन डिलुजनमा म थिएँ । त्यही भएर जीवनमा बाँच्नलाई शायद डेलुलु नै सोलुलु हो । आफूलाई महत्त्वपूर्ण ठान्ने मान्छेहरूलाई महत्त्वपूर्ण महसूस गराउनु पर्छ । र अन्तर्वार्तामा कहिल्यै पूर्ण सत्य बोल्नुहुन्न । अर्धसत्यले उम्काउनु पर्छ ।
उदाहरणका लागि ।
‘तपाईंलाई यो जागीर किन चाहिएको छ ?’
पूर्ण सत्य यस्तो वा यसैको वरिपरि हुनसक्छ ।
‘पूँजीवादी समाजमा बाँच्नलाई, खानलाई पैसा चाहिन्छ । समाज पढ्दै गरेको मान्छेलाई नपढेको देख्न सक्छ होला । र पढिसके पछिको मान्छेलाई बेरोजगार बसेको देखी सहन्न ।’
‘बाबु कता छौ ? के गर्दै छौ ?’
‘जीवनमा के गर्ने तयारी छ ? ‘
यस्ता प्रश्नहरू हरबखत बर्सिन्छन् ।
‘दाजु साँझ के तरकारी पकाउने त तयारी छैन जीवन त परको कुरा !’ भन्न भएन ।
त्यो वेला जवाफ फर्काउनलाई भए पनि एउटा ठाउँमा बाँधिएको हुनुपर्छ । पर्दो रहेछ ।
‘आज रमिता छ’मा लेखिएको छ- ‘पैसा बिना बाँच्न नसकिने होइन तर बाँच्न मन लाग्दैन ।’
त्यसरी नै जागीरबिना भात खान नसकिने होइन तर खान मन लाग्दैन ।
सब कन्टिनेन्टमा पढाइ र जागीरलाई बिना कामको रोम्यान्टिसाइज गरिएको छ ।
हामी शान्ति र सौन्दर्यमा भन्दा पनि हाडवर्कको अनावश्यक गोल्रिफिकेशनमा मस्त रमाएका छौं ।
गरीबी र पूर्वाधारको अभावलाई क्युट बनाउँछौं ।
यो देशमा टियुका रूख चढ्ने दर्शकलाई प्यासोनेट भनिन्छ । कतै अभाव र बाध्यतामा बच्चा र डोको सँगै बोकेकी आमाको फोटो कसैले खिचे, फेसबूक भरिका सायौँ रूटिनहरूमा हजारौं लाइकको खेती गरिन्छ ।
ए म भड्किएछु । सार के हो भने । सत्य यस्तै वा यसैको नजीक छरछिमेकमा होला । तर यस्तो सत्य बोल्नुहुन्न । मानिस पूर्ण सत्य र यथार्थसँग भयभीत छ । आजको मान्छेमा पूर्ण सत्य सुन्ने साहस बाँकी छैन !
तसर्थ अर्को सत्य भन्नुपर्छ । अर्ध सत्य भन्नुपर्छ ।
‘यस जागीरले मलाई समाजप्रतिको आफ्नो उत्तरदायित्व बहन गर्न र आफ्नो ज्ञान र अनुभवलाई निखार्न सहयोग गर्नेछ , त्यसैले ।’
आज एउटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको अन्तर्वार्ता दिन गइरहेको छु, मैले अहिलेसम्म यी संस्थाहरूले के गर्छन् थाह पाएको छैन । यी संस्थाहरू थुप्रै मिटिङ गर्छन् । खाजा खान्छन् । एङ्गल एङ्गलमा फोटो खिच्छन्, पत्रिकामा छाप्छन् । गफ मार्छन् । बोर पार्छन् ।
यिनले गरीबीका बारे सेमिनारहरू पनि यति गरिसके कि अहिलेसम्म नेपालमा कोही पनि गरीब बाँकी नरहनु पर्ने हो ।
यिनले वृक्षरोपण गर्दै पानी चारेको फोटो पत्रिकामा यति छापे कि नेपाल अहिले सम्म जङ्गल बनिसक्नु पर्ने हो !
सुनेको छु तलब राम्रो दिन्छन् रे । त्यसको लागि पहिले अन्तर्वार्ताको नैया पार गर्नु पऱ्यो । कति खेर कहाँ डुबाउँछन् थाह हुन्न । चक्रव्यूह जस्तै हुन्छ इन्टरव्यू । भला म बबुरो अभिमन्यु नहुँला तर ममाथि कति खेर कस्ता प्रश्नका वाण बर्सिने हुन् मलाई थाह छैन ।
तर यत्ति थाह छ अब अब मेराअघि – ‘तपाईं जीवनमा के हुन चहानुहुन्छ ?’ भन्ने वाण कर्पोरेटको महान् रथबाट बर्सियो भने, म पक्कै जवाफ दिनेछैन- ‘म जीवनमा खुशी हुन चाहन्छु ।’ किनकि म मेरा अघि दूरदूर सम्म पनि खुशीको नामोनिशान देखिरहेको छैन । देखिरेहेको छु त केवल लम्पसार परेको बेरोजगारीको कुरुक्षेत्र ! र सधैं मेरा अघि घुमिरहने जिम्मेवारीको सुदर्शन चक्र !



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ जेष्ठ २०८३, बिहीबार 










