चरिकोट गाउँबाटै २०४० सालको प्रवेशिका परीक्षामा राम्रो अंक ल्याउनेमा श्री कालिन्चोक माध्यमिक विद्यालयको पहिलो विद्यार्थी भयो उद्गम नेपाल । मध्यम वर्गीय परिवार भए पनि छोरा छोरीलाई पढाउनु पर्छ भन्ने मानसिकता उद्गमका बा–आमामा थियो । बाबा शिक्षित थिए । आमा पनि अनपढ नै त हैनन् । सिजन अनुसारका दुई तीन थरी नगदेबालीको पनि राम्रै उब्जनी हुन्थ्यो । उद्गमले पनि आफ्नो पढाइको समय बाहेक कृषिकर्म पनि गरेकै हो । उद्गमका बा चरिकोटे नेपालबाट चिनिन्थे काठमाडौँ खाल्डोमा । आफ्नो नगदेबाली लिएर उनी काठमाडौँका नेवार बस्तीहरूमा पुग्थे । बाहिर अन्य सबैले काठमाडौँ भने पनि भक्तपुरमा उनको व्यापार राम्रो थियो । चरिकोटेको समानमा खोट हुन्न भन्थे । विश्वास थियो उनी माथि कैफियत गर्दैनन् भन्ने । भक्तपुरका नारायण कंसाकारसँग पहिलो भेट २०३० सालतिर चरिकोटमै भएको थियो । नारायण कंसाकार धातुको व्यापार गर्थे । दुई भरिया नयाँ भाँडाकुँडा बोकेर नारायण कंसाकार दोलखा चरिकोटतिर दशपन्ध्र दिन घुम्थे । नयाँ भाँडाँकुँडाहरू बेचबिखन साथै पुरानासँग साटफेर गरेर फर्किन्थे । बर्षको एकपटक दोलखा पुग्दा उनै चरिकोटेको घरमा दुई तीन दिन बस्थे । यसरी नारायण कंसाकार र चरिकोटेको चिनजान सँगै चभ भएका थिए ।

 

मोती भुजेल

मोती भुजेल

दश वर्षपछि चरिकोटे छोरा उद्गमको उच्चशिक्षाको लागि सँगै काठमाडौँ गए । पहिला नगदेबाली बेच्न घरघरै जानु पथ्र्यो भने, अहिले नगदेबाली खोज्न घरघरै आउँछन् । गाउँमै चरिकोट कृषि सहकारी खुलेको छ । सहकारीले नै उचित दाम दिएर संकलन गर्ने गरेकाले चरिकोटेलाइ सजिलो भएको हो । दश वर्षमा धेरैनै परिवर्तन भएछ भक्तपुरमा । भक्तपुर दरबारक्षेत्र वरपरका चोकहरू पनि हराएछन् । कतै सरकारी कार्यलय भवनहरू बन्दैछन् त कतै व्यापारीक कम्प्लेक्स बनिसकेका थिए । कुमारी चोकबाट भित्र छिरेपछि मुखैमा थियो नारायण कंसाकारको घर । अहिले पत्ता लाउन धौ धौ परेको छ चरिकोटेलाई । दश वर्ष पहिला देखेका पुराना इट्टाका घरहरू नै छैनन् । बेलपत्रको रूख र चौतारी बनाएको कुमारी चोकमा शितल बसेकामध्ये एकजनालाई चरिकोटेले नारायण कंसाकारको घर सोधे । एन.के. किचन लेखेको ठूलो होर्डिङ बोर्ड झुण्डिएको घर देखाइदिए । आफ्नो पुख्र्यौली पेशात गरेका रहेछन्, अहिले पनि तर पहिला जस्तो आफ्नो उत्पादन भन्दा बढी मेशिनले बनाएका समानहरू बेच्दा रहेछन् । नारायण कंसाकार पसल मै थिए । धेरैपछि देखेर होला चरिकोटेलाई ठ्याक्कै ठम्याउन सकेनन् । चरिकोटेले नै आफ्नो परिचयसँगै नमस्कार गरे । आफ्नो छोरा उद्गमलाई पनि परिचय गराए । नारायण कंसाकारले चरिकोटेका बाउ छोरालाई नै पसलभित्र बोलाए । उद्गमको पढाइ सोधे । राम्रो अंक ल्याएर प्रवेशिका उत्तीर्ण गरेको सुनेर खुसी भए । आफ्नो छोरी निला कंसाकारले पनि प्रवेशिकामा राम्रो अंक ल्याएर उत्तीर्ण गरेको कुरा सुनाए । चरिकोटेले छोरा उद्गम अब सहरमै बसेर उच्च शिक्षा अध्ययन गर्ने कुरा सुनाए , “ कंसाकार दाजुले सहयोग गनुपर्छ है ?”

चरिकोटेले हाँस्दै भने । प्रतिउत्तरमा नारायण कंसाकारले पनि हाँसोमै जवाफ दिए – “ भैहाल्छ नि हौ ! यो उद्गम र निला एउटै कलेजमा पढ्छ । मेरो घरमा त डेरा छैन होय, काकाको डेरा छ चिन्त्या नलिन । एउटै कलेजमा म साइन्स पढ्ने ऊ पनि साइन्सनै पढ्ने हुन्त ।”, उद्गमले मनमनै कुरा ग¥यो । निला हातमा सानो फाइल च्यापेर भित्र पस्दै थिइन उद्गम र निलाको आँखा जुध्यो कुरा हुन सकेन । निला काठमाडौँ एक कलेजमा इन्ट्रान्सको इक्जाम दिएर आएकी रहिछन् । “मैया इक्जाम छुजुल बालाँ” – नारायण कंसाकारले छोरीलाइ सोधे । “बालाँ जुल ।”, छोटो कुराकानी भयो बाउ छोरीको । उदग्मले पनि बुझ्यो परीक्षा राम्रै भएछ भन्ने । निला माथि तलामा उक्लेको हेरिरह्यो उद्गमले । निलाले उद्गम र उसका बाबुतिर खासै ध्यान दिइनन् । पसलमा सधैं कोही न कोही भइनै रहन्छन् पनि । चरिकोटेलाई कतै देखेको जस्तो जस्तो त लाएको हो निलालाई तर होस भन्दै मनमै कुरा थुनिदिइन् । छोरी के बिषय पढ्ने हुन, उद्गम साइन्स पढ्छु भन्छ । चरिकोटेले सोधे । आफ्ना दुई छोरा व्यापारमा लागि सकेपछि आफ्नो एक सन्तान डाक्टर बनाउने नारायण कंसाकारको ईच्छा पनि छोरीलाई साइन्सनै पढाउने हो । हाम्रो कंसाकारमा पहिलो छोरी डाक्टर बनाउने मन मेरो होय, छोरीको पनि मिलेर ल्याछ ऊ पनि साइन्स पढ्छ । कंसाकारले बोले । काठमाडौँका कलेजहरूमा धमाधम इन्ट्रान्स इक्जामहरू चलिरहेको हुँदा फेरी छुट्न सक्ने भन्दै दुई दिन पछि उद्गमलाई एक्लै पठाइदिन्छु दाजुले सहयोग गर्नुपर्छ है म त आउँदिन । चरिकोटेले झोलाबाट सानो पोको दिँदै भने – “हुन्छ होय ! यती म गरी दिन्छ तिमी चिन्त्या नलिन् । तिमीले म भाँडा बेच्न दैलेख चरिकोट पुग्दा कम्ता सहयोग गरेको म बिर्सेको छैन होय ! तिम्रो घरको दालभातले मलाई गाली दिन्छ । जिन मनु ख ः ।”

दुई दिन अघि देखेको केटा आज फेरी पसलमा देखेपछि निलालाई मनमा जिज्ञासा त जागेको तर खासै लेना देना नभएकोले होस् भनि दास्रो पटक पनि मनको कुरा मनमै थुनिदिइन् । केहीबेर पछि नारायण कंसाकारले छोरीलाई बोलाएर उद्गमसँग परिचय गराए । उद्गम निलाको अजाको घरमा डेरागरी बस्ने बन्दोबस्त निलाकै बाबाले मिलाई दिएका थिए । उद्गम र निला एउटै कलेज पढ्ने भए । बिहान बेलुका आ–आफ्नो पढाइ आफैँ गरे पनि दिउँसो कलेजमा भने उद्गम र निला सँगै हुन्थे । उद्गम खासै बाहिर निस्कदैन । निलाका अजा अजीलाई उद्गमले पनि अजा अजी नै भनेर संम्बोेधन गर्छ । नेवारी परम्परामा धेरै चाडवाड मनाउने हुँदा घरमा धेरै परिवार नभएकोले सानातिना काममा उद्गमले सहयोग गर्ने गरेको छ । निला पनि अजाअजीको घर आइरहन्छिन् । उद्गम र निला मिल्ने साथी त थिएनै अब मन मिल्ने साथि पनि भए । निलाको माथि घरमा पाकेको खाजा लिएर तल अजाको घर जान थालिन । दुबैको पढाइ राम्रो थियो । कलेजमा पनि उनीहरू सबैका प्रिय थिए । कलेजका सबै साथीहरूसँग राम्रो व्यवहार गर्थे । चभ जोडी भनेर जिस्क्याउने कलेजका केटाहरूको ग्रुप पनि थियो । तर उद्गाम र निलाले खासै बाल दिँदैनथे त्यो कुरामा ।
एक वर्षपछि कलेजले रिजल्ट निकाल्यो । उद्गम र निलाले कलेज टप गरे । फाइनलमा पनि चभ जोडी अगाडि । केटाहरूले कुरा गरेको सुने पनि नसुने झैं गर्यो उद्गमले तर निलाले भने पछाडि फर्केर आँखा तरेकै हो । “ ओए ! हेर्न चभले आँखा तरी यार हामीलाई ”– लामोकपाल पालेको केटाले भन्यो । एक दिन कलेजबाट घर फर्कदैं गर्दा उद्गमले निलालाइ आउने एक हप्ते कलेज बिदामा चरिकोट घुम्न जाने प्रस्ताव राख्यो । बेलुका बुवा र माङ सँग सोधेर जवाफ दिन्छु भनिन् । घर पुगेको पनि धेरै बेर भए पनि निलाको केही जवाफ आएन । भोलिपल्ट सँगै कलेज निस्के पनि निलाले कुरा नगरे पछि उद्गमले सोध्यो – “के भन्नुभयो बुवा र माङले ?”, निलाले कुरा नबुझे झैं गरिन – के कुरा ? कलेज बिदामा चरिकोट घुम्नजाने कुरा के । उद्गमले छिटो बोल्यो । बुवाले हुन्छ भन्नुभयो माङले केही बोल्नु भएन । फेरि एकपटक सोध्छु माङसँग । त्योदिन पनि बेलुकासम्म निलाको जवाफ आएन । होस् ! जान मिलेन होला यस्मा यती धेरै किन सोची बस्ने भनेर उद्गमले पनि बिर्सियो । कलेज छुट्टीको अघिल्लो दिन खासै पढाइ भएन । ग्रुप ग्रुपका साथीहरू प्रोग्राम बनाउँदै थिए । कोही पोखरा जाने । कोही रारा त कोही सौराह जाने नेमलिष्ट पनि बनाए । पहिला पहिला पनि नाम लेखाउनेहरू पनि घर गए पछि खबरै गर्थेनन् र छुट्थे । उद्गम र निलाले कुनै ग्रुपमा पनि नाम टिपाएनन् टिपाउनै पर्छ भन्ने पनि त होइन । उद्गम त आफ्नै घरगाउँ चरिकोट जाँदै थियो । “ ओए ! केटा हो चभ ग्रुप कहाँ जाने भयो नाम टिपाउन पाए हुने दुई जनामा एकजना थपे मज्जै हुन्छ ।”– त्यही लामोकपाल पाल्ने केटाले फेरि पनि जिस्केर बोल्यो । यसपाली उद्गमलाई रीस उठ्यो । सिधै जाइ लाग्यो । ओइ भुस ! तैँले जेलै जोरी खोज्ने ल ! आइज आज । हात हालाहाल भयो । एक दुई झापड खायो । तँ भुस भुस नै होस् । निलाले उद्गमको हात समातेर पर लगिन् । आज बचिस् बिदापछि पख, तँ ! चरिकोटेको पखेंटा काट्न सकिनँ भने मेरो नाम भुषण हैन । जित्नेले वर्तमानमा जित्छ । हार्नेले सधैं एक्स्ट्रा समयको माग गर्छ । त्यसै गर्यो भुषणले । भुषण गायक उसको नाम भए पनि ऊ आफैंले गायक हटाएर संगीत झुण्ड्याएको थियो । त्यसैले साथीहरू उसलाई भुस भन्थे ऊ रिसाउन्नथ्यो । आज उद्गमले तँ भुस भुसनै होस भन्दा रिसायो । कुनै शब्दहरू यस्ता हुन्छन् मायाले भन्दा केही फरक पर्दैन तर रीसमा भन्दा ठूलो फरक पर्छ । पागल पनि त्यस्तै शब्द हो । हातै त नछोड्नुपर्ने, उसले भनी । “ धेरैपटक मुख छोड्नु भन्दा एकचोटी हात छोडेको जाती । हातले दिएको चोट निको हुन्छ तर बचनले दिएको चोट निको हुँदैन निला ।” उद्गम सिरियस भएर बोल्यो । उद्गम र निला कलेजबाट बाहिर निस्के । बाटोमा कुरै गरेनन् दुबै जनाले । आ–आफ्नो घर पुगे । आज निलाको घरमा गुठी पूजा रहेछ । सबै जनाले गुठीको प्रसाद खाँदै थिए । निलाले उद्गमलाई आफ्नै घरमा प्रसाद खान आऊ भने पनि उद्गम पहिला आफ्नै डेरामा गयो । घरमा अजाअजी र अरू पाहुना पनि थिए । अजिले गुठी पुजाको प्रसाद खान बोलाएपछि उद्गम बाहिर आयो । प्रसादमा एक प्याला घरपाला ऐला पनि थियो । प्रसाद फाल्नुहुन्न भनेर उद्गमले पियो । केहीबेरमा निला उद्गमलाई लिन कोठामै आइन् । माङले भनेको गुठी पुजाको प्रसाद खान हिँड् रे । तिमीले बोलाए जान्छु माङलेमात्र बोलाको भए जान्न । के भनेको उद्गम आफैँले त यस्तो बोली कहिल्यै बोलेकै हैन । आज तिमीले ऐला पियौ ? निलाले सोधी । हैन गुठीको प्रसाद खाएँ । निलाको हातसमातेर कुर्सीमा बसाल्दै हाँसेर जवाफ दियो । उनीहरू गए ।

उद्गम एक्लै प्रसाद लिइरहेको थियो । यताउता निलालाई हेर्यो दखेन । पछि जब देख्यो च्याप्प निलाको हात समात्यो । छोड ! के गरेको अरुले देख्छ नि ! तिमीलाई ऐला लागेजस्तो छ । कलेज कम्पाउण्ड र बसमा बाहेक घरमा पहिलो पटक उद्गमले निलाको हात समातेको हो । पहिलोपटक थोरै मातेको हो उद्गम । भोलिपल्ट दश बजे निला उद्गमको कोठामा जाँदा उद्गम सुतिरहेको भए पनि ढोका खुल्लै थियो । निलाले उद्गमलाई उठाइन् । तिमी फ्रेस भएर आऊ खुसीको कुरा सुनाउँछु । उद्गमले ओडेको बल्याङकोट हटाउँदै निलाले भनिन् । के कुरा हो सुनौन कुरा सुनेरै फ्रेस भइन्छ कि । उद्गमले निलाको नाकैमा हात पुर्यायो । छि ! निलाले नाक खुमच्याइन् । म पनि साथीसँग कलेज बिदामा घुम्नजाने भए नि ! निलाले उद्गम ढोकाबाट भित्र पस्दै गर्दा सुनाइन् । ल बधाइ छ । कुन ग्रुपसँग कहाँ जाने प्लान भयो त ? उद्गमको बोलीमा खुसी थिएन । चभ ग्रुपसँग चरिकोट । निला औधी खुसी थिइन् । उद्गम पनि खुसी हुँदै भन्यो – “ भोलि जाने हो तयारी गर्नू ल ।”
निला नानी उठ्ने बेला भएन ? ल तातो दूध । उद्गमको आमाले निलालाई उठाउँदै भनिन् । उद्गम पनि उठिसकेको थियो । पहिलो बिहान भीमेश्वर मन्दिर दर्शन गर्न निस्के उद्गम र निला । भीमेश्वर मन्दिर नेपालकै प्रसिद्ध देवस्थल हो । किरातकालमानै यो मन्दिरको निर्माण भएको अनुमान छ । निला तिमीलाई थाहा छ ? देशमा संकट आउनुपूर्व भीमेश्वरको मूर्तिमा संकेतको रूपमा पसिना आउने गर्दछ भन्ने । उद्गमले भनेको कुरामा निलाले आश्चर्य प्रकट गरिन् । तिमीले विश्वास गर्छौ ? धेरै पटक मिलेको छ भनेर बाबा आमाले सुनाउने गर्नुहुन्छ । म त पत्याउँछु । भीमेश्वरको दर्शन गरे टिका प्रसाद लिए । भोलि फेरी कालिञ्चोक भगवतीको दर्शन गर्न जाने है ? आज जस्तो अबेरसम्म नसुत्नू ल । उद्गमले भन्यो । दोस्रो दिन अलि छिठो निस्के घरबाट । कालिञ्चोक भगवतीको किम्बदन्ती सुनेको छौ निला तिमीले ? उद्गमले मन्दिर परिसरमा पुगेर सोध्यो । छैन भन्ने आशयमा मुन्टो हल्लाइन निलाले । काभ्रेको पलानञ्चोक भगवती, काठमाडौंको शोभा भगवती, पोखराकी विन्ध्यवासीनी भगवती , पाथीभराकी देवी भगवती र अन्य भगवती समेत सात भगवती दिदीबहिनी हुन् रे । धार्मिक दृष्टिकोणले कालिञ्चोक भगवतीलाई मनको इच्छा पूरा गर्ने भगवतीको रुपमा लिइन्छ । त्यसैले अधुरा कामहरू पूर्ण होस भनि कालिञ्चोकको भाकल गर्ने र भाकल पुरा गर्न त्यहाँ पुग्नेहरूको संख्या उल्लेख्य छ । शनिबार परेकोले भक्तजनको भीडभाड थियो ।

कालिन्चोक डांडांबाट मनोरम रोलवालिङ हिम श्रृङ्खला र मनोरम प्राकृतिक दृष्यहरू हेर्दै उद्गम र निलाले दोस्रो दिनको धेरै समय बिताए । उद्गमले जस्तै निलाले पनि उद्गमकी आमालाई भान्छामा सहयोग गरिन् । माया गरिन् निलालाइ आमाले । दुई दिन मात्रै बिदा बाँकी थियो उद्गम र निला चरिकोटबाट भक्तपुर फर्के । नारायण कंसाकारले छोरीलाई भने – “ तिमी अस्ती घुमेका ठाउँमा मैले यहाँ देखि भरिया बोकाएर दुई दिन हिंडेर भाँडा बेचेको ।” चरिकोट घुमेर आए पछि निला एकदम खुशी देखिन्छन् । मन मिल्ने साथी छ उद्गम । कलेज सुरु भएको पनि हप्ता दिन भयो । लगभग सबै जसो साथीहरु कलेज आइसके तर भुस आएको छैन । निला भुसलाइ त देखिदैन । उद्गमले कलेजको गेट तिर हेर्दै भन्यो । किन भुसको न्यास्रो लाग्यो । निलाले उद्गमलाइ जिस्काइन् । हैन तेस्तो र पनि साथी हो । कलेजको पढाइ रप्तारमा चलिरहेको छ । पढाइ किन छुटायो भनेर नि । दोस्रो वर्षको रिजल्टमा पनि उद्गम र निला टप भए । पहिला पहिला चभ जोडी भनेर गिज्याउनेहरू अब चभ जोडी जस्तो बन्नु पर्छ भन्न थाले । उद्गम र निलाको बारेमा न कलेजबाट न घरबाट कही कतैबाट पनि कम्प्लेन छैन । घरमा पनि अब दुबै जना आफँै बुझने छन भनेर खासै अबरोध छैन । कलेजबाटै राम्रो प्रशंसा कमाइरहेको चभ जोडी प्रति सबैले नमन गर्छन् । यही चभ जोडीले उपत्यकाका अन्य दश कलेजलाई पछि पार्दै आफ्नो कलेजको नाम पहिलो रेङकमा राख्न सफल भएको उपलक्ष्यमा कलेजले कम्पाउण्ड भित्र चभ पार्क पनि बनाएको छ । जहाँ गर्मीमा शितल हुन्छ ,जाडोमा पार लाग्छ । त्यही बसेर घण्टौ सम्म कोर्षको डिस्कस गर्छन विधार्थीहरू । चभ पार्कमा बसेर एक दिन भुसले गितार बजाउँदै थियो । “ के सोचें मैले के भयो अहिले ”.भन्ने ट्युनमा । राम्रो गिटारिस्ट हो ऊ । उद्गम र निला मन लागेको ठाउँमा घुम्छन् । गएको शुक्रबार,शनिबार उद्गम र निला नगरकोटमा बास बसे । नगरकोटको बास पछि उद्गम र निलाको बसाइ पन्ध्रदिनमा एकचोटी नयाँनयाँ ठाउँहरूमा हुँदै गयो ।
तेस्रो सेमिस्टरको रिजल्ट आउन महिना दिन लाग्ने भनेर सूचना टाँस गर्दै कलेजले तिन हप्ताको बिदा सूचना टाँस गरिदियो । लामो बिदा परेकोले उद्गमले थाइलेण्ड घुम्नजाने प्रस्ताव राख्यो । निलाको थाइलेण्ड हैन वाइलेण्ड पोखरा र अन्नपुर्ण बेशक्याम्प जाने प्लान पास भयो । वाइलेण्ड पोखरा पुगे । पोखराको फेवातालमा बोटिङमा रमाए । तालबाराहीको दर्शन गरे । विन्ध्यबासिनी मन्दिरको दर्शन र महेन्द्रकेभ घुम्नको लागि पछिको समय छुट्टयाए । ट्रेकिङमा चाहिने समानहरू किने । लेकसाइड ट्रेकीङसपका साहुजी भन्दै थिए तपाईँहरू अन्नपुर्ण बेशक्याम्प ट्रेक जाँदै हुनुहुन्छ भने एकजना गाइडको साथ जानुहोस सुरक्षित भइन्छ । ह्या गाइड नलाने आफू खुसी घुम्नै पाइँदैन । सेल्फ ट्रेक एडभेन्चर पनि रमाइलो पनि । निलाले साहुजीलाई धन्यवाद दिइन् ।
पोखराबाट हेर्दा देखेको माछापुछ्रे हिमाल, गङगापुर्ण, हिमचुली र अन्नपुर्ण हिमालहरु बिहान उठ्दा आँखै अगाडी देख्दा निला त वा क्या फिदा । निला मात्रै होइन उद्गम पनि फिदा फिदा भयो । चिया नास्ता गरेर रुकस्याक ब्याग बोक्न हतार गर्ने काँध र सुलसुल गर्ने खुट्टा आज चल्न खोज्दैन । काखैमा हिमश्रृङखला आँखैमा सुन्दरता अनि सँगै चभ । बिहानको खाना खाएर मात्रै हिडे घान्द्रुकबाट । होटल साहुनीले छोमरोङ पुग्ने लामा,छोटा तिन बटा रुट देखाए पनि बाटामा लालीगुराँस टिप्दै कानमा सिउरेर कामरुङ,कोटडाँडा झिनुडाँडा हुँदै छोमरुङ पुगे । छोमरुङ कटेजमा रुकस्याक ब्यागले सुख पायो । थाकेका उद्गम र निला जस्तै उनीहरू सँगै ट्रेक आएको रुकस्याक पनि पल्टियो । सामुन्द्रिक सतहदेखि २१७० मिटर उचाइमा रहेको छोमरोङ पुग्दा निलालाई थोरै अनइज्जी फिल भयो । छोमरुङ कटेजका मालिकले दिएको सल्लाह अनुसार उद्गमले निलाको स्वास्थमा त्यती ख्याल गर्यो जति कटेजमा भएको भोटे कुकुरले मालिकको गरेको थियो ।

“आर यु ओ के ?”, उद्गमले निलाको दुबै हात समातेर भन्यो । म ठीक छु । ट्रेक एडभेन्चर त हुनै पयो नि होइन ? निलाले आफु खुसी र ठीक भएको कुरा गरिन् । भोलिदेखि झन् झन् उचाइमा जादैछौ हामी कुनै अफ्टेरो ? उद्गमले निलालाई सैनिक मेजेरले जवानलाइ जस्तो केरकार गर्यो । नो चभ । निलाले जवाफ दिइन् । चभ अहिले उद्गम र निलालाई पनि मन पर्ने वोर्ड भएको छ । भोलि बाट केही दिन पाँच घण्टाको हिँडाइ पछि बास बस्ने भनेर हिजो राती छोमरोङ कटेजमा बनाएको सेड्युल फेल भएको छ । छोमरोङ खोला तरे पछिको सिन्वा गाउँबाट उद्गम र निलाको चभ ग्रुपमा एउटा नयाँ सदस्य थपियो । हेर्दा कुकुर जस्तो देखिए पनि कुकुर होइन । नौलोे निखर सेतो हिमाली जनवार । एकछिन निला डराएकी हुन् । उद्गमले त्यसको कान, गर्धन र ढाडमा हल्का रब गयो । चभ,चभ भन्दै उसैलाई उसको नाम हो भनेर सिकायो । चभ भनेर बोलाएपछि आउने भयो । चभले गर्दा सेड्युल बिग्रियो । निलाले त त्यसलाई त्यतै छोड्ने भनिन् । उद्गमले पनि पहिला गएकै बाटो फर्केर बाटो मुनी लालीगुराँसको रुखमा छोडेर आयो । पाँच मिनेट पछि चभले उद्गम र निलालाई भेट्टायो । ल आयो चभ । उद्गम पछि फर्केर बोल्यो । होस् अब हामी सँगै लाने । निलाले पनि सहमति जनाइन् । दोभानमा चभलाई देखेर होटल हिमालयनका मालिकले सोधे आजसम्म नदेखिएको नौलो जनावर कहाँबाट आयो ? सिन्वाबाट पछि लागेको हो । छोड्न मान्दैन उद्गमले रुकस्याक ब्याग बिसाउँदै भन्यो । अचम्म त चभ घरि दुई खुट्टाले हिड्छ त घरि चार खुट्टाले । चभ पनि उद्गम र निलाको बीचमा दोभानकै होटलमा बस्यो । हिजो जस्तो आज २६०० मिटर उचाइमा पनि उनिहरूलाई कुनै असजिलो महसुस भएको छैन । एडभेन्चरमा रमाइरहेका छन् । पर्यटन सूचना केन्द्रमा नाम टिपाउँदा पनि बिना गाइड एबिसि घुम्दा अफ्ठयारो परे यहाँ खबर गर्नुहोला भनेका थिए । तर अहिले चभ उनीहरूको गाइड जस्तै भएको छ । घरि अघि अघि त घरि पछि पछि हिंड्छ । अलि छिटो अगाडि पुग्यो भने कुरेर बस्छ । डेस्टीनेशनको दिन दोभानदेखि एबिसि, बिहानैदेखि खुसी छन् उद्गम,निला र चभ । यात्रा सुरु गरे । पहाडको बीचैबाट बगेको मोदी नदीको दुईतिर डरलाग्दा अक्करे भीर छन् । चट्टानी पहाड छन् । आकाशैबाट झरेजस्ता देखिने झरनाहरू हेर्दै हेर्र्दैै रमाइरहेको मन हिमपहिरो देख्दा अमिलो भइदिन्छ । एडभेन्चर निलाको आवाज आयो । टक्क रोकिए दुबैजना । अगाडि लाग्यो चभ । चभको पाइला पच्छयाउँदै पछि पछि लागे उद्गम र निला, मानौं चभ उनीहरूको गाइड हो । गाइडले भनेको नमानी आफ्नो मनमानी गर्यो भने सिधै तल मोदीमा पुग्नुको विकल्प छैन । सकुसल एबिसि पुगेपछि चभलाई धन्यवाद भन्यो उद्गमले । डेस्टीनेशन नजिक नजिक छ । चिसोले गर्दा निलाको आवाज राम्रो खुलेको छैन । खाना पछि एक एक कप जिन्जर टि पिए । चभ भने केही खानै मान्दैन । जति खुसी निला र उद्गम थिए त्योभन्दा बढी खुसी त्यो नौलो जनावर देखेर अचम्म परेका थिए एबिसिका होटल मालिकहरू । जब जब सामुन्द्रिक सतहबाट ३७०० मिटरभन्दा माथि लाग्दै थिए उद्गम, निला र चभ । बाटोभरि माया गर्यो उद्गमले निलालाई ।

चभ पनि उफ्रीरहेको छ । ऊ किन यति धेरै खुसी छ । थाहा छैन कसैलाई । वाउ ४१३० मिटर उचाइमा हामी वाउ, निला खुशीले चिच्याइन दुबैहात माथि गरेर उद्गमले पनि निलालाइ त्यो सेलेव्रेटमा साथ दियो । चभ पनि उनीहरूको खुसीमा रमायो । ३६० डिग्रीमा हिउँचुली, अन्नपूर्ण साउथ, गंगापूर्ण र अन्नपूर्ण हिमाल हिमालकै आँगनबाट हेर्दा स्वर्गको अनुभूत गरे एकछिन आँखा चिम्ले मनशान्त बनाए लामोसास ताने पहिला आँखाले देखेको स्वर्गलाई अन्तर आत्मामा कैद गरे । एकछिनपछि आँखा खोली हेर्दा त्यहाँ अचम्म भयो । चभले आफ्नो आमा पायो । स्तनधारी आमाले धेरै दिनपछि बिछोडिएको आफ्नो सन्तान पायो । चभले दूध चुसेको हेरिरहे उद्गम र निलाले । खुसी हुँदै आमाको पिठ्युँमा चढेर हिमालको फेदी तर्फ चभ गएको हेरिरहे उद्गम र निलाले ।