साहित्यपोस्टले अन्य प्रकाशनका भाषा र साहित्यका छुटाउनै नहुने विशेष सामाग्रीहरुलाई स्थान दिन ‘सिफारिस’ स्तम्भको सुरुवात गरेको हो । हामीसँग सामाग्रीको अभाव भएर यो स्तम्भ राखेका होइनौँ । बरू मिडियाको यो सञ्जालमा भाषा र साहित्यप्रेमीहरूलाई राम्रा सामग्री खोज्न दुःख गर्नु नपरोस् भन्ने चाहना हो ।

यो सामग्री अन्तर्राष्ट्रिय कपिराइट कानुनले तोकेको नियमअनुसार समाचारको स्रोत र त्यसको प्रत्यक्ष लिङ्क पनि दिएका छौँ ।

हामीले यो लेख  ekagaj.com बाट लिएका हौँ । यो लेख रुकमांगद कटवाल |ले लेखेका हुन् । कटवाल पूर्वप्रधानसेनापति हुन् । यहाँ क्लिक गरेर यस लेखलाई ekagaj.com मै पनि पढ्न सक्नुहुनेछ ।

……..

छरिएर रहेका हामीलाई एकीकृत गर्ने गौरवमय इतिहास नै पृथ्वीनारायण शाहबाट आरम्भ हुन्‍छ । तर, केही विदेशी भाडाका व्यक्तिले पृथ्वीनारायण शाहबारे भ्रम पैदा गर्ने काम गरेका छन् । यो दुःखद् हो । उनीहरू कहाँबाट परिचालित छन्, त्यो स्पष्ट नै छ । भनिरहनु आवश्यक छैन । नेपालमा व्यक्तिगत स्वार्थमा चुर्लुम्म डुबेका भाडाका व्यक्ति जति पनि भेट्‌न सकिन्‍छ । उनीहरू त्यसै नेपालको एकीकरण गर्ने व्यक्तिमाथि प्रहार गरिरहेका हुन्‍छन् । लेखेको पढ्छु र बोलेको सुन्‍छु । अनि लाग्छ, यिनीहरू पढेका वा साक्षर त छन् तर आफ्‍नो मस्तिष्क किन अन्यका विचार राखेर प्रयोग गर्छन् ?अरुले भरिदिएको कुराकै पछि किन लाग्छन् ?

संसारमा कुनै त्यस्तो मुलुक छैन जहाँ राष्ट्रनिर्माताको कुरा नहोस् । हामी मात्र यस्ता भएका छौँ जहाँ राष्ट्रनिर्मातालाई उल्टै खसाल्ने, होच्याउने काम भएको छ । विश्वका हरेक मुलुकमा राष्ट्रनिर्माताका कुरा गरिन्‍छ । हुन पनि हामी नेपोलियन, बिस्मार्कं, जर्ज वासिङ्टनका कुरा गर्छौं । नेपालको सन्दर्भमा पृथ्वीनारायण शाहले गरेको कुरा भुल्छौँ । झण्डै तीनसय वर्षअघि पृथ्वीनारायणले स-साना राज्यलाई एकीकरण नगरिदिएको भए नेपाल र नेपाली भन्‍ने हुन्थ्यो र ? अहिलेकै जस्तो नेतृत्व पृथ्वीनारायण भएको भए, त्यो बेलामा भएका भए के हुन्थ्यो र हामी कहाँ हुन्थ्यौँ ? एक पटक सोचौँ त ?

उहाँले एकीकरण सुरु गर्नुभयो । उहाँका छोराले एकीकरण अभियानलाई अघि बढाउनुभयो अनि न नेपाल बन्यो,हामी नेपाली भयौँ । अन्यथा नेपाल नै हुने थिएन भने हामी नेपाली कसरी हुन्थ्यौँ र? यो विषय हामीले बुझ्‍न आवश्यक छ । विशेष गरी ०६२/६३ पछि विदेशीको अजेन्डा बोक्‍ने ‘सिलौटा’ प्रवृत्तिहरू बढी हाबी भए । अहिले पनि त्यस्तै सिलौटा पथका व्यक्तिहरूले आफूले ल्याएको व्यवस्थामा धक्का पुग्ला भन्‍ने ठूलो त्रास छ । त्यसमा बचाउ गरिरहेका छन् । मुलुकमा विद्रोह रोप्‍ने यस्ता कसिंगरहरूलाई के थाहा मुलुकको महत्व ?

हुनत आफ्‍नै बाबु (पिता) लाई बाबु भन्‍न नसक्ने जमातको नेतृत्व अहिले राजनीतिमा छ । पृथ्वीनारायणलाई बिर्सनु भनेको आफ्नो बाबु-आमा र बाजेलाई बिर्सनु नै हो । आफ्नो संस्कार,पन, इतिहास बिर्सनु हो, यो मेरो अकाट्य मान्यता यसमा नै अडिग छ । यसमा मेरो स्पष्ट धारणा छ । नेपालको गौरव भनेको नै पृथ्वीनारायणको एकीकरण अभियान नै हो । त्यसपछि कुन गौरवमय काम भए र ? कतिसम्मको अवस्था भने प्रधानसेनापति (मैले)ले नै मन्त्रिपरिषद्‌को निर्णयसमेत लत्याउनुपर्ने दिन आए । सेना सरकारको मातहतमा रहेको निकाय हो ।

पृथ्वीनारायणलाई राष्ट्रनिर्माताको नाममा, एकताको प्रतीकको रूपमा लिइनुपर्छ । तर अचानक एक दिन राजा रजौटाका तस्बिर सरकारी कार्यालयबाट हटाउनू भन्दै मन्त्रिपरिषद्‌को पत्र आयो । मैले पत्र पढेँ र त्यही च्याति नै दिएँ । अनि, सेनाले आफ्‍नो कुनै पनि कार्यालयबाट पृथ्वीनारायणका फोटा नझिक्‍ने मात्र होइन, नभएको स्थानमा थप्‍ने निर्णय गर्‍यो । मेरो विचारमा इतिहास मेटेर मेटिँदैन । हामीले त्यसलगत्तै आर्मी सभाकक्षमा पृथ्वीनारायण शाहको पूर्ण कदको सालिक बनायौं । सबै आर्मी अफिसमा पृथ्वीनारायण शाहको फोटो छैन भने फोटो राख्‍नू भन्‍ने आदेश दिइयो । पृथ्वीनारायणको अर्को छेउमा भानुभक्तको तस्बिर राखियो ।

रक्षामन्त्री विद्यादेवी भण्डारीले जंगी अड्‌डामा सोध्‍नुभयो, ‘पृथ्वीनारायण शाहको फोटोहरू किन ?’ मैले भनेँ, ‘यहाँहरूले पार्टी कार्यालयमा लेनिन-मार्क्सका तस्बिर किन राख्‍नुभएको ?’

हुनत, नेपाली सेनाले सरकारको निर्देशन मान्‍छ तर मुलुकको अस्तित्व मेटाउने निर्णय गरिन्‍छ भने त्यसमा सचेत पनि त रहन्‍छौँ । नेपाली सेनाको गौरवमय इतिहास पनि पृथ्वीनारायणले समेटेर तय गरेको मुलुक नै हो । त्यसैले पनि सेनालाई कमजोर बनाउन खोज्‍ने यस्ता तत्वलाई सेनाले त्यसै छाड्दैन । अनि, हामीले आदेश दियौं । सबै राजा रजौटाको हटाउने निर्णय भयो । मेरो पालासम्म कसैको पनि फोटो हटेन । हामी भारत, पाकिस्तानमै हेरौं न, इतिहास मेट्‌ने काम भएको छैन । ब्रिटेन, फ्रान्स, पोर्चुगल, बेल्जियमले उपनिवेश बनाएका मुलुकमा समेत इतिहास मेट्‌ने काम हुँदैन । भारत त बेलायतको शासनमा रहेको मुलुक उसले त्यो इतिहासलाई संरक्षण गरेको छ । तर, किन हामी यसमा पछि परेको ? किन त्यो गौरवमय इतिहासलाई यसप्रकारको असहजतामा ल्याएको ?

ती मुलुकहरूमा त्यसबेलाका राजा रजौटाहरूका फोटाे हटाएका छैनन् । तत्कालीन मूर्धन्य व्यक्तिका नामबाट सडक, चोक, स्थानको नाम राखिएको छ । इतिहास हामीले मिच्‍न मिल्दैन । भारतमा राजा-रजौटा सकिए पनि इतिहास जीवित राख्‍ने काम भएको छ । अशोका पिलरलाई राष्ट्रिय चिह्न बनाएका छन् । हाम्रो मुलुक पृथ्वीनारायणले खडा गरेका हुन् । नेपाली सेना नै उनले खडा गरे । त्यसकारण पृथ्वीनारायण शाहको सालिक र फोटो रहन्‍छ, राखिरहनुपर्छ भन्‍ने नीति नेपाली सेनाले लिएको हो । त्यतिमात्र होइन पृथ्वीनारायणको जन्मजयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउँदै आएका छौँ र मनाउनेछौँ । तर, सरकारले सानातिना विषयमा बिदा दिने र यो पर्वमा बिदा नदिने कार्यसमेत गरेको छ ।

यो गलत सोचको उपज हो । जब बिदा कटौती भयो, मैले त्यसको विरोध गरेँ । यो तीतो पक्ष हो । त्यो निर्णय नेपाल विरोधी छ, नेपाली भावना विरोधी छ भनेँ । त्यस मान्यतामा अवज्ञा भएको छ । बिदा कटौती भएको भोलिपल्टै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई भेटेर यो निर्णय गलत छ भनेँ । उहाँलाई निर्णय सच्याउन भनेँ । त्यसबेला उहाँले कसरी भयो त्यस्तो मलाई थाहा छैन भन्‍ने जानकारी दिनुभयो । उहाँले पृथ्वी जयन्ती मनाइन्‍छ, राष्ट्रिय एकता दिवस मनाइन्‍छ भन्‍नुभयो तर पछि राजपत्रमा बिदा कटौती भएको पो आयो ।

मैले राष्ट्रपतिको समेत अधिकार लिएका कोइरालालाई पुनः जानकारी गराएँ । हामीले मन्त्रिपरिषद्‌ निर्णय कार्यान्वयन गरेनौं । मैले गिरिजाप्रसादले भनेजस्तै थाहा नपाएको होइन । मन्त्रिपरिषद्‌ निर्णय कोइरालाको जानकारी नभई हुने कुरा भएन । पछि माधवकुमार नेपाल नेतृत्वको सरकारका रक्षा तथा वर्तमान राष्ट्रपति अचानक जंगी अड्‌डामा आउनुभयो । मैले मेरो कार्यकक्षमा बोलाएर राखेँ । उहाँले सोध्‍नुभयो, ‘पृथ्वीनारायण शाहका फोटा जताततै दख्‍छु त किन राख्‍नुभएको हो ? म अवकाश हुने क्रममा थिएँ ।’

मैले छत्रमान गुरुङलाई बोलाएँ । उनी आएपछि मैले मन्त्रीजीलाई सोधेँ, ‘मन्त्रीजी यहाँहरूले आफ्नो पार्टी कार्यालयमा लेनिन-मार्क्सलगायतकाको तस्बिर किन राख्नुभएको ? उहाँहरूले नेपाललाई के गर्नुभयो ?’

अहिलेकै जस्तो नेतृत्व पृथ्वीनारायण भएको भए भए के हुन्थ्यो, हामी कहाँ हुन्थ्यौँ ? दुनियाँमा हामी मात्र यस्ता भएका छौँ जहाँ राष्ट्रनिर्मातालाई उल्टै खसाल्ने, होच्याउने काम भएको छ ।

उहाँले त्यो हाम्रो सिद्धान्तको कुरा हो भन्‍नुभयो । अनि, मैले पृथ्वीनारायण शाहले यो राष्ट्रनिर्माण गरे, नेपाली सेना निर्माण गरे, त्यसैले उनको फोटो राखेको भनिदिएँ र मन्त्रीलाई छत्रमानतर्फ देखाउँदै भनेँ, ‘मैले मात्र होइन, उहाँले पनि राख्‍नुहुन्‍छ । उहाँले पनि हटाउनुहुन्‍न ।’ त्यसपछि रक्षामन्त्री विद्या भण्डारीले भन्‍नुभयो, ‘तपाईंले ठीक कुरा गर्नुभयो, उहाँले राष्ट्रनिर्माण गरेको हो, मलाई पनि श्रध्दा छ यो व्यक्तिमा ।’

पृथ्वीनारायण शाहको फोटो फाल्‍ने निर्णयलाई सेनाले यसरी ‘ट्याकल’ गरेको थियो । मुलुकका लागि नभई आफ्‍ना लागि गर्ने वेबकुफहरूको निर्णय नेपाली सेनाले किन शिरोधार्य गर्ने भनेको थिएँ ।

नेपाली जनताले पृथ्वीनारायण शाहलाई आफ्‍नै पहिचान, गौरव र इतिहासका रूपमा लिनेछन् । यो राष्ट्रिय आवश्यकता हो भन्‍ने मेरो मान्यता हो। यसका लागि लामो समय पनि लाग्दैन। नेपालमा चाँडै राष्ट्रिय एकता दिवस भव्यतासाथ मनाउने चलन सुरु हुने मेरो विश्वास छ ।

हुनत त्यतिबेला नवनेताहरू सालिक भत्काउने, पुरातत्व नष्ट गर्ने काममा उद्यत भएकोसमेत देखियो । तर, सेनाले हेर्न मात्र सक्‍ने अवस्था थियो । सेना बाहिर आएर कारबाही गर्दा अन्तर्राष्ट्रिय समुदायले अर्कै भावले हेर्ने हुनाले खुम्चिन बाध्य थियौँ तर कुनै न कुनै उपाय अवलम्बन गरेर बचाउने काम पनि भएको थियो । माओवादी नेतृत्वको सरकार फेरिएपछि हामीले नेपालको एकता खत्तम पार्ने दिशातर्फ गयो, त्यस्तो कार्यका लागि स्थान दिनु हुँदैन भन्दै नेपाली सेनाको समर्थनमा जुलुस नै निस्कियो ।

संसारमा नै पहिलो पटक होला सेनाको समर्थनमा जुलुस निस्किएको । सेना जनताको पक्षमा रहेकाले सधैँ सेनाले जनतालाई नै ध्यानमा राखेको थियो । त्यतिबेला शक्तिखोरको भिडियो पनि सार्वजनिक भयो । बाहिर निस्किन समेत नमिल्ने भएपछि सरकार फेरियो । माओवादी नेतृत्वको सरकार फेरियो । माओवादीको अगुवाइमा नेपालको एकता र नेपाली सेना खत्तम पार्नेसम्मका प्रयास भएका थिए । तर नेपाली जनताले सेनालाई साथ दिएर सेनाको पक्षमा जुलुस नै निकालेका थिए ।

शक्तिखोरको भिडियो आउट भएपछि नेपाली सेनाले भन्दै आएको कुरा सही रहेको पुष्टि भयो । सेनामाथि तत्कालिन माओवादी भनिनेहरूको रणनीति के थियो, प्रष्ट भयो । अनि झन जनता सेनासँग नजिक भए । र, बिस्तारै नेपाली सेनाले गरेको ठीक रहेछ भन्‍ने नै लाग्यो । अनि मलाई भन्‍न मन लाग्छ, हत्केलाले सूर्यलाई छेकेर छेकिँदैन । यी परिचालित नेताहरूले यस्ता कुरामा कहिले ध्यान देलान र खै ?

सेनाले आफ्नो कुनै पनि कार्यालयबाट पृथ्वीनारायणका फोटो नझिक्‍ने मात्र होइन, नभएको स्थानमा थप्‍ने निर्णय गर्‍यो ।

हामीले (सेना र केही नागरिक समाजका व्यक्ति) सबै स्थानमा पृथ्वीजयन्ती मनाउनेछौं, विभिन्‍न कार्यक्रम राखेका छौं, कविता वाचनलगायतको विषयमा छलफल हुनेछ । दुई दिनअघि मात्र म र यवा पुस्तासहितले कार्यक्रम गर्‍यौँ बोल्यौँ । भारतमा स्टार बनेकी मनीषा कोइरालासमेतले पृथ्वी नारायणको जीवनी सुनाउँदा राष्ट्रभाव र एकताको विषयबारे गम्भीर भएँ । पुस २७ का दिन राष्ट्रिय झण्डा बोकेर एकताको कामना गर्ने हो । सबै नेपाली अटाउने हो । राष्ट्रिय झण्डामा जाति, भाषा भेष केही हुँदैन । हामी सबै नेपाली हुने हो । यद्यपि त्यस झण्डामा पनि नजर नलागेको होइन, यी नेताहरूको ।

यतिबेला नेपाली सेनाले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भ पारेर गोरखा-काठमाडौँ एकीकरण मार्ग यात्रा गरेर सेनाका जवानहरू हनुमानढोका पुगिसकेका छन् । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दा गोरखादेखि काठमाडौंसम्म हिँडेको बाटो भएर यात्रा गराएर त्यस दिनलाई स्मरण गर्ने काम सेनाले गरेको छ । गोरखाबाट धादिङ-नुवाकोट हुँदै काठमाडौँसम्मको ‘रुमाले’ पदमार्ग २६ कोसको थियो । र्‍याली सञ्चालनले पदमार्ग, कोट, गण र किल्ला संवर्धन, संरक्षण तथा प्रवर्धन गर्न सहयोग पुग्‍ने विश्वास गरिएको छ ।

सेनाको जिम्मेवारी राष्ट्रिय एकता कायम गर्ने पनि हो, इतिहास जोगाउन यस्तो अभियान देशव्यापी चलिरहेको छ । यो सुखद कुरा हो यसमा जनताले साथ दिन आवश्यक देखिन्‍छ । गोर्खाली फौजले १८०१ असोज १५ मा नुवाकोटमाथि विजयी गर्दै काठमाडौँ प्रवेश गरेर नेपाल एकीकरणको थप सफलता मिलेको भनिन्‍छ । त्यही एकीकरणले विशाल नेपाललाई एउटै मालामा गाँस्‍न सफल भएको सन्देशलाई ‘एकीकरण’ र्‍यालीमार्फत सकारात्मक सन्देश प्रवाह गरिदै आएको छ ।

(पूर्वप्रधानसेनापति कटवालसँग चन्द्रशेखर अधिकारीको कुराकानी)