साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

ध्वस्त हुँदै नेपाली भाषा (सिफारिस)

नयाँ पुस्तामा नेपाली भाषा कति कमजोर छ भन्ने थाहा पाउन यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा नियाले पुग्छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार सार्वजनिक गरेको नतिजाअनुसार नेपाली विषयमा ‘ए प्लस’ ग्रेड ल्याउने परीक्षार्थी एक हजार ८०४ जना मात्रै छन् । तर, अंग्रेजी विषयमा सबैभन्दा धेरै अर्थात् १५ हजार ३९९ जनाले ‘ए प्लस’ ल्याएका छन् ।

Chovar Blues Mobile Size

साहित्यपोस्टले अन्य प्रकाशनका भाषा र साहित्यका छुटाउनै नहुने विशेष सामाग्रीहरुलाई स्थान दिन ‘सिफारिस’ स्तम्भको सुरुवात गरेको हो । हामीसँग सामाग्रीको अभाव भएर यो स्तम्भ राखेका होइनौँ । बरू मिडियाको यो सञ्जालमा भाषा र साहित्यप्रेमीहरूलाई राम्रा सामग्री खोज्न दुःख गर्नु नपरोस् भन्ने चाहना हो ।

यो सामग्री अन्तर्राष्ट्रिय कपिराइट कानुनले तोकेको नियमअनुसार समाचारको स्रोत र त्यसको प्रत्यक्ष लिङ्क पनि दिएका छौँ ।

हामीले यो लेख इकागज बाट लिएका हौँ । यो लेख इकाजका लागि सृजना खड्काले तयार पार्नुभएकाे हाे । यहाँ क्लिक गरेर यस लेखलाई इकाजमै पनि पढ्न सक्नुहुनेछ ।

===========

भक्तपुरकी परीक्षा श्रेष्ठ पत्रकारिताकी विद्यार्थी हुन् । स्नातक पहिलो वर्ष अध्ययनरत उनी पत्रपत्रिका आक्कलझुक्कल मात्रै पढ्छिन् । पत्रिका खासै नपढ्नुमा केही कारण छन् । पहिलो कारण भाषा नै हो । पत्रपत्रिकामा लेखिएका प्रायः शब्द बुझ्न परीक्षालाई हम्मेहम्मे पर्छ । नेपाली बोल्न उनलाई खासै समस्या छैन । तर, लेख्न र पढ्न भने गाह्रो लाग्छ । स्कुलदेखि नै अंग्रेजी माध्यममा पढ्दै, लेख्दै आएकाले नेपाली गाह्रो लाग्ने उनी बताउँछिन् ।

sagarmani mobile size

केही दिनअघि परीक्षा र उनका साथीहरूले कलेजमा विभिन्न पत्रपत्रिका पढे । नबुझेका शब्द रेखांकित गरे । (परीक्षाहरूका लागि रेखांकित भनेको अन्डरलाइन ।)

उनीहरूले साउन ४, ५ र ६ गतेका तीन प्रमुख राष्ट्रिय दैनिक पत्रिकाको पहिलो पृष्ठ पढे । नबुझेका शब्द कक्षामै सेतोपाटी (ह्वाइट बोर्ड) मा लेखे ।

उनीहरूले नबुझेर टिपेका शब्द यी हुन् : शल्यक्रिया, हृदयाघात, कूटनीतिक, गठबन्धन, संयन्त्र, वक्तव्य, सञ्चिति, विनियोजन, प्रवक्ता, मापदण्ड, संयन्त्र, अभिलेख, प्रतिवेदन, दरबन्दी, कार्यबोझ, विश्लेषण, पारदर्शी ।

यस्तै अर्को दैनिक पत्रिकाबाट यी शब्द टिपे : अनुत्तरित, अनुपात, अनधिकृत, संयोजकत्व, संशोधन, अनभिज्ञता, पदाधिकारी, समानुपातिक, रिट दायर, निष्कर्ष, द्विपक्षीय, प्रवद्र्धन, सत्तारुढ, दातृ, गठित ।

फेरि अर्कोे दैनिक पत्रिकाबाट यी शब्द टिपे : संवाहक, निन्दनीय, उड्ड्यन, द्वन्द्व, अध्यक्षता, सहअस्तित्व, दक्षता, आश्रित, जायजेथा, स्वामित्व, समर्थन, विधेयक, पैतृक, निराहार, वानगिरी, अभियोग ।

यी शब्द टिपिसकेपछि परीक्षा र उनका साथीहरू करुणा, रिपिसा, रोशनी, प्रसोलहरूले एकअर्कालाई प्रश्न गरे :

— घरमा सबैभन्दा सजिलो भाषा स्कुल/कलेजमा कसरी गाह्रो भयो ?
— बोल्दा सबैभन्दा सजिलो भाषा लेख्न/पढ्न कसरी साह्रो भयो ?
— ‘मास’ मिडिया ‘खास’ मिडिया भएको हो कि हामीले नै नेपाली भाषालाई खास नसोचेर हो ?

मिडिया एक्सन नेपालका अध्यक्ष तथा मिडिया अनुसन्धानकर्ता लक्ष्मणदत्त पन्तसँग उनीहरूलाई दिने ठ्याक्कै जवाफ छैन । प्रभावकारी सञ्चारका लागि विषयवस्तु पहिलो र भाषा दोस्रो हुनुपर्ने उनी बताउँछन् । ‘हाम्रोमा अंग्रेजी भाषा सिक्नुपर्छ भन्ने छ,’ उनी भन्छन्, ‘विषयवस्तु चाहिँदैन भन्ने मनोविज्ञानले जरा गाडेको छ । जसका कारण नयाँ पुस्ताको नेपाली शब्दभण्डार कमजोर छ  ।’

मिडियाका सामग्री अनुसन्धान नगरी सम्प्रेषण हुने भएकाले यी समस्या आएको उनी बताउँछन् । ‘मिडियाले आफ्ना प्रापक को हुन् भन्ने ठोस पहिचान नगरी सञ्चार गर्दा उनीहरूको आवश्यकता औँल्याउन सक्दैनन्’ उनी भन्छन् ।

विद्याविद् प्रा.डा. विद्यानाथ कोइराला नयाँ पुस्तामा अंग्रेजी भाषा हाबी  हुँदा नेपाली भाषा पछ्याउन छाडेको बताउँछन् । नेपाली भाषाको महत्व बुझाउन नसक्दाको परिणामका रूपमा लिन्छन्, उनी यसलाई ।

आमसञ्चार माध्यममा आउने भाषालाई लिएर उनको तर्क छ— मास मिडियाको भाषा सरल हुनुपर्छ, सबैले बुझ्ने खालको हुनुपर्छ । ‘अन्तक्रिया’ भन्ने शब्द नै किन प्रयोग गर्नुपर्‍यो, ‘कुराकानी’ लेखे भइहाल्यो नि ।

त्यस्तै, नेपाली भाषामा विभिन्न कठिनाइ भएकाले पनि नयाँ पुस्तालाई यतातिर आकर्षित गर्न नसकिएको उनको तर्क छ । ‘अंग्रेजीमा २६ वटा अक्षर छन्, तिनैलाई यताउति हल्लाए हुन्छ,’ उनी भन्छन्, ‘हाम्रोमा कुनैमा सिङ हाल्नुपर्छ, कसैलाई टोपी लगाउनुपर्छ, कसैको खुट्टा मर्काउनुपर्छ । यसो भएर पनि उनीहरूले अप्ठ्यारो महसुस गरेका हुन् ।’

नेपालीमा एक हजार ८००, अंग्रेजीमा १५ हजार ‘ए प्लस’

नयाँ पुस्तामा नेपाली भाषा कति कमजोर छ भन्ने थाहा पाउन यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा नियाले पुग्छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार सार्वजनिक गरेको नतिजाअनुसार नेपाली विषयमा ‘ए प्लस’ ग्रेड ल्याउने परीक्षार्थी एक हजार ८०४ जना मात्रै छन् । तर, अंग्रेजी विषयमा सबैभन्दा धेरै अर्थात् १५ हजार ३९९ जनाले ‘ए प्लस’ ल्याएका छन् ।

बृहत् राष्ट्रिय शिक्षा अभियानका संयोजक अभिषेक घिमिरे मातृभाषा फरक भएका विद्यार्थीमा मात्रै नभएर मूल भाषा नेपाली बोलिने समुदायका युवाहरूमा समेत यो समस्या देखिनु दुखद् भएको बताउँछन् । यसका मुख्य तीन कारण भएको उनको ठहर छ । पहिलो, विद्यालय तहमा नेपाली भाषाको सिकाइलाई महत्व नदिनु । दोस्रो, विद्यार्थीमा पठनसंस्कृति हराउँदै जानु । तेस्रो, विभिन्न टेलिभिजन च्यानल, युट्युबलगायत सामाजिक सञ्जालको व्यापकतासँगै युवा पुस्ताले नेपाली भाषा बिगारेर बोल्न थाल्नु । ‘यसको स्रोत औपचारिक वा अनौपचारिक रूपमा सञ्चालित आम सञ्चार नै हुन्,’ उनी भन्छन् ।

‘प्रश्न विद्यार्थीलाई होइन, आफैँलाई गरौँ’ 
बाल विकास विशेषज्ञ डा. मीनाक्षी दाहाल नयाँ पुस्तामा नेपाली भाषाको सिकाइ भएन भन्ने गुनासो गर्नु व्यर्थ भएको बताउँछिन् । उनीहरूप्रति गुनासो थुपार्नुभन्दा ती भाषा सिकाउन हामीले गरेको प्रयत्न र निर्माण गरेको वातावरणबारे आफैँले आफैँसँग प्रश्न गर्नुपर्ने बेला आएको उनी बताउँछिन् । ‘हामीकहाँ बालबालिकालाई लक्षित गरेर खोलिएका नेपाली प्रकाशन गृह बिरलै भेटिन्छन्,’ उनी भन्छिन्, ‘उनीहरूतिर औँला तेस्र्याउनुपूर्व हामीले के गर्‍यौँ, त्यतातिर ध्यान दिनुपर्छ ।’

पत्रपत्रिकामा प्रगोग हुने भाषा दैनिक जीवनमा प्रयोग नहुने भएकाले विद्यार्थीहरू अल्मलिने उनी बताउँछिन् । ‘शब्दहरू बोलिचालीमा जति प्रयोग हुँदै जान्छन्, अर्थ आफैँ प्रस्ट हुँदै जान्छ,’ उनी भन्छिन्, ‘उनीहरूले पत्रिकामा नबुझेका शब्दहरू राजनीतिक रूपमा छलफलमा आउँछन् । तर, बोलिचालीमा आउँदैन । त्यसैले यस्ता शब्दसँग उनीहरू कम परिचित हुन्छन् ।’

त्यस्तै, पछिल्लो पुस्ता अंग्रेजी पढेर हुर्किरहेको र नेपाली भाषामा स्कुलले समेत उनीहरूलाई प्रोत्साहन नगरेको डा. दाहालको गुनासो छ । फलस्वरूप यस्ता शब्द बिस्तारै पुरानो र बिरानो हुँदै जाने उनी बताउँछिन् । पुराना नेपाली शब्द लोप भएर आगन्तुक शब्दको भर पर्नुपर्ने उनले देखेकी छिन् ।

विद्यार्थीले नबुझेका शब्द खोज्न प्रेरित गर्नु नै यसको विकल्प भएको उनी बताउँछिन् । ‘उनीहरूको शब्दभण्डारलाई बृहत् बनाउन राजनीति, साहित्य, इतिहास जेमा उनीहरूको रुचि छ त्यस्ता किताब पढ्न प्रेरित गर्नुपर्छ,’ उनी भन्छिन् ।

के भन्छन् भाषाप्रेमी ?

नेपाली भाषाप्रेमी लेखक केदार शर्मा जता जान्छन्, नेपाली भाषा प्रयोग गर्छन् । बैंकका कागजात नेपालीमा भर्छन् । गैरसरकारी, अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थालाई चिठी वा प्रस्ताव नेपालीमै लेख्छन् । एटीएम मेसिनले नेपाली कि अंग्रेजी भनेर सोध्दा उनको हात नेपालीमा जान्छ । किनभने, भाषा आफ्नो हतियार हो भन्ने उनलाई थाहा छ । यसलाई बलियो बनाउन उनी लामो समयदेखि लागिपरेका छन् ।

तर, नयाँ पुस्तामा नेपाली भाषाप्रतिको विकर्षणलाई उनी तीन तरिकाले प्रस्ट्याउँछन् ।
पहिलो, अंग्रेजी शासकप्रतिको आकर्षण । दोस्रो, नेपाली शासकहरूको नेपाली भाषामा विकर्षण । तेस्रो, सञ्चार माध्यमले सोध्नुपर्ने ठाउँहरू (भाषा आयोग, विश्वविद्यालय) लाई प्रश्न नसोध्नु, जिम्मेवार नबनाउनु ।

संसारका सबै मानिसलाई शासकको भाषा, पहिरन सबै मन पर्छ भन्दै भाषाकर्मी शर्मा भन्छन्, ‘हामी भयंकर गणतन्त्रवादी हुन्छौँ तर, छोराछोरीलाई आइस्योस् र गइस्योस् भनेर सिकाउँछौँ ।’

नेपाली भाषा अप्ठ्यारो भएर नजानेको भन्ने तर्कसँग उनी सहमत छैनन् । यसलाई उनी शासकहरूप्रतिको प्रेम र अनुसरण ठान्छन् । ‘अंग्रेजी नेपालीभन्दा धेरै अप्ठ्यारो भाषा हो,’ उनी भन्छन्, ‘अंग्रेजीमा जीओ–गो र डिओ–डू भनेर सिकाउने मान्छे चाहिन्छ । नेपालीमा जे उच्चारण हुन्छ त्यही लेखिन्छ ।’

सजिलो हुँदैमा लोकप्रिय हुने भए ‘एस्पेरान्तो’ भाषाले संसारमा राज गरेको हुने उनी बताउँछन् । ‘सजिलोका लागि बनाइएको एस्पेरान्तो भाषाले घुँडा टेकेर अंग्रेजी, चिनियाँ भाषाहरू चल्ने थिएनन्,’ उनी भन्छन्, ‘भाषा गाह्रो र सजिलोभन्दा पनि त्यसले भाव बोक्न सक्ने हुनुपर्छ ।’

नेपाल प्रज्ञा–प्रतिष्ठानले आफ्ना पक्षका मान्छे मात्रै भेला गरेर नेपाली भाषाका नियमहरू फेरेकामा उनको गुनासो छ । ‘भाषालाई सजिलो बनाउने निहुँमा एकेडेमीले ध्वस्त बनाएको छ,’ उनी भन्छन्, ‘एउटा पुरानो घर भत्काउन पुरातत्व विभागको स्वीकृति चाहिन्छ । सयौँ वर्ष पहिलेदेखिका नियम भत्काउने अधिकार उनीहरूलाई कसले दियो ?’

प्रतिक्रिया
Loading...