
रेडियोमा रुचाइएको एउटा आवाज । सिर्जनामा रमाउने एउटा कलमकर्मी । कविता भनेपछि हुरुक्कै हुने नवराज लम्साल कविताको उपल्लो तहको सिर्जना महाकाव्यमा रमाएको निकै भयो । उनले कविताको बूढो उपविधा महाकाव्य रोझिरहे । यसअगि नै ‘धरा’ र ‘कर्ण’ जस्ता महाकाव्य लेखर चर्चित भइसकेका नवराज लम्सालको नयाँ महाकव्य हो ‘अग्नि’ ।
‘अग्नि’को सोझो अर्थ आगो भन्ने हुन्छ । अगोको प्रतीकात्मक अर्थ जीवन हो । अस्तित्व हो । व्यञ्जनार्थमा अग्नि भनेको आरन हो जहाँ सभ्यताका छापहरू मङ्गलदीप बनेर धिप्धिपाउनु पर्ने हो । अग्नि भनेको जलन, दहनमात्र होइन बरु पवित्र ज्वाला पनि हो तर अपशोच हिजोदेखि आजपर्यन्त आरन अपवित्र बनेको छ । अछुत बनेको छ । आरन चलाएर ग्रामीण प्रविधि सिकाउने, शिल्पकारिता सिकाउने, सभ्यता सिकाउने, मूर्ति कुँद्ने ठूले कामीहरू र उनका सन्तान दरसन्तान छेलाङीहरू आज पनि किन छि:छि: र दूःरदूःरको व्यवहारबाट दुत्कारिन अभिशप्त छन् रु यस्तै भीमकाय प्रश्नहरूको आख्यानीकरण र दलितको विषयमा लेखिएको महाकाव्य हो ‘अग्नि’ ।
हाम्रोमा शक्तिमा हुनेहरूको मात्र इतिहास लेखियो । शासकहरूको लेखियो । शक्तिहीन र शासितको पनि इतिहास त छ नै तर दुर्भाग्य इतिहासको पानामा त्यो लिपिबद्ध गरिएन । महाकाव्यकारका अनुसार इतिहासमा ‘ठूले कामी’ नामका एक व्यक्ति थिए । उनलाई दरबारबाट ‘जेठी तरबार’ बनाउने जिम्मा दिइयो । ठूले कामीको समूहले झन्डै ९ महिना लगाएर तरबार बनाए । एक सय साठी धार्नी फलामलाई कुटेको कुटै गरेर तरबार बनाए । अत्यन्त खारिएकाले २ वटा मात्र तरबार बने । फलाममा घोटला भएकाले जम्मा २ वटा मात्र तरबार बनेको हो कि भन्ने भ्रममा परेर राजा रिसाए र ती दुई तरबार बगैंचातिर मिल्काइदिए । मिल्काउने क्रममा तरबार हुनहुनाउँदै गएर एउटा रुखमा रोपियो र केही दिनमा त्यो रुख सर्लङ्कै सुक्यो । यसबाट तरबारको गुणस्तर प्रमाणित भयो ।
अर्को कुरा बगैंचामा आगलागी भयो । त्यो बगैंचामा हात्तीहरू थिए । फलतः त्यसै तरबारले हात्तीलाई बाँधेका फलामे साङ्ला जेठी तरबारको प्रयोगबाट चटाचट काटिए र १३ वटा हात्तीलाई बचाइयो । यो दुई घटनापछि बल्ल दरबारलाई के बोध भयो भने ठूले कामीको समूहले बनाएको जेठी तरबार चानेचुने तरबार होइन र थिएन । यसको लगत्तै राजाले ठूले कामीलाई खोज्ने उर्दी लगाए तर त्यति बेलासम्म ठूले कामीको निधन भइसकेको थियो । ठूले कामीले आफूले संसार छोड्नै लाग्दा मेरा छोरा, नाति र कुनै पुस्ता दरबारमा नजाऊन् भन्ने सन्देश दिए । यस घटनाले दरबारमा पश्चात्तापसहित शून्यता छायो । महाकाव्यको कथानक यस्तै रोचक घटनाबाट अगाडि बढेको छ ।
ठूले कामीको सन्तान दावा गर्ने छेलाङी विश्वकर्मासँग कविको भेटघाट भयो र महाकाव्यको कथाले पयो समात्यो । छेलाङीले के भन्न थाले भने जेठी तरबार इतिहासका विभिन्न समयमा विभिन्न राजाहरूले प्रयोग गरेका छन् । जेठी तरबारमध्ये एउटा तरबार पृथ्वीनारायण शाहले पनि प्रयोग गरको कुरा छेलाङीले बताए । खासमा सङ्गीन घडीमा विश्वकर्माहरूले हतियार बनाए, लुगा सिलाए, मूर्ति खोपे, मन्दिर बनाए, कुलो खने, खेतखलो गरे, खेतीकिसानी गरे र समाजलाई भरपुर योगदान दिए तर इतिहास कथित उचो जात र तिनका दरसन्तानको मात्र लेखियो । इतिहासमा योगदान भएर पनि छेलिनु, अपमानित हुनु र आधुनिक समयसम्म पनि उत्पीडनमा बस्न बाध्य पारिनुको दर्दनाक यथार्थको संवेदनशील कथानकको महाकाव्यिक आख्यानीकरण हो ‘अग्नि’ ।

डा. अशोक थापा
काम गर्ने भोकै मर्ने, श्रम गर्ने र बदलामा श्रमको मूल्य पाउनुको सट्टा उनीहरूलाई दलित नामकरण गरी अपमान, बदनाम र अपहेलना किन गरियो ? यस्तै जटिल प्रश्नको शोधन हो महाकाव्य ‘अग्नि’ । ऋग्वेदकालीन समयदेखि जब वर्णव्यवस्थाको आधार जाति व्यवस्थामा थोपरियो यसले समाजमा दलित र गैरदलितको भेदक रेखा सिर्जना गर्यो । वर्णव्यवस्थाभित्र जब छुवाछुत प्रथा भित्रियो जो नेपालमा विशेष गरी लिच्छवीकाल, मल्ल काल, शाह काल, राणाकाल, पञ्चायत काल, बहुदल काल र आज गणतन्त्रकालमा पनि यो जटिलतम सामाजिक समस्या बनेर बसिरह्यो । विलकुल हटेन ।
हिजोदेखि छुवाछुत मुद्दा उन्मुलनका लागि विविध प्रकृतिका आन्दोलन भए पनि समाजमा यसको उपस्थिति जिउँका तिउँ छ भन्ने सन्दर्भलाई उठाउन इतिहासको गर्तमा रहेको जेठी तरबार र ठूले कामीको हृदयविदारक कथामा घोटेर ‘अग्नि’ महाकाव्य सिर्जना गरिएको छ । जातीय व्यवस्था र तल्लोउपल्लो श्रेणीविभाजन गरी मान्छेले मान्छेलाई छुवाछुतको दायरामा ल्याउने एक सामाजिक कलङ्कलाई समाजबाट जरैदेखि उखेल्नु पर्छ भन्ने उद्घोष हो ‘अग्नि’ महाकाव्य ।
नेपाली साहित्यमा भानुभक्तले महाकाव्यिक बिज छरेको, सोमनाथ सिग्ध्यालले हुर्काएको, देवकोटाले व्यापक बनाएको, समले विधागत प्रयोग गर्न रुचाएको, मोदनाथ प्रश्रित, जगदीश शमशेर, मोदनाथ शास्त्री, माधव वियोगी, रामप्रसाद ज्ञवाली, शिवगोपाल रिसाल, भुवनहरि सिग्देल, गाउँले बलदेव आदिले पसिना बगाएर सिञ्चेको विधा हो महाकाव्य र सोही बारीको एउटा सुन्दर फसल हो ‘अग्नि’ ।
हुन त यो महाकाव्यको समय होइन । यसको अर्थ के हो भने आज महाकाव्य कम लेखिन्छन् र कम पढिन्छन् । त्यसो भए के यो मृत विधा हो त ? त्यसो भनिहाल्न पनि मिल्दैन । संसारभर महाकाव्य लेखिन रोकिएको छैन । यसको लेखनशैली र ढाँचामा जरुर बदलाव आएको छ । यसको स्वरूप र प्राचीन मान्यतामा केही फेरबदल आएको छ । दलित मुद्दा र छुवाछुतको विषयलाई ‘चिसो चुलो’ महाकाव्यमा बालकृष्ण समले विजरोपण गरिसकेका थिए । त्यसै सामाजिक रोगलाई पविवर्तित काया र अति भावनात्मक गहिराइमा कोरिएको महाकाव्य हो ‘अग्नि’ ।
धरा, कर्णजस्ता सफल महाकाव्य लेखिसकेका लम्साललाई कविता लेखन अब आदत भइसकेको छ । उनी महाकाव्य लेख्छन् । महाकाव्यका लागि घोस्ट राइटिङ गर्ने मान्छे भेटिन्न भन्ने थाहा छ उनलाई । नजाने गाउँको बाटो सोधिहेर्दैनन् र उनी लेखिरहन्छन् आर्ष परम्परा बोकेको बूढो उपविधा महाकाव्य । यसो भनौं न लम्साल महाकाव्य लेखिरहन्छन् अन्तिमसम्म आत्मसमर्पण गर्दैनन् र थकित हुँदैनन् त्यसैले जन्मन्छ महाकाव्य ‘अग्नि’ ।
कठीन कित्तामा पर्ने लेखन, धेरै लेखकको अरुचिको क्षेत्र, अव्यवसायिक क्षेत्रको आरोप र प्रकाशकको वितृष्णालाई बाल मतलव दिँदैनन् लम्सालले र कलम कुदाइरहन्छन् महाकाव्यमा । प्रकाशकलाई थाहा नहुने कुरै छैन व्यवसाय गर्ने विधा होइन महाकाव्य । तैपनि केही प्रतिबद्ध कविहरू यसमा लागिरहन्छन् र महाकाव्यको बिज जोगाइरहन्छन् । यसरी निरुत्साहित नभइकन महाकाव्यमा दिल लगाइरहने महाकवि हुन् लम्साल र उनको पछिल्लो पटक छापिएको कृति हो ‘अग्नि’ ।
धेरैलाई थाहा छ, महाकाव्यमा युवाहरूको आकर्षण कम छ । त्यसैले यो विधाको भविष्य पनि जीर्ण नै छ । तैपनि लम्सालहरू यसमा बलिदानी गरिरहन्छन् र महाकाव्य धिकिर-धिकिर धानिरहन्छन् । महाकाव्य भनेको प्राचीन सम्पदा हो । सम्पदा व्यवसाय होइन यो संरक्षण अपेक्षा गरिने क्षेत्र हो । हो त्यस्तै संरक्षणको गर्तमा पुगेको महाकाव्यको पछिल्लो दृष्टान्त हो ‘अग्नि’ ।
बेग्लाबेग्लै ६ खण्डमा विभक्त यस महाकाव्यमा कवि र छेलाङीको अन्तरसंवादबाट विषयको उठान गरिएको छ । यस काव्यमा अग्निप्रवेश भनेर कविले आफ्नो आत्मस्वीकृति र आफ्नो आत्मविश्वासलाई प्रस्तुत गरेका छन् । दलितका पीडा र भोगाइलाई उनीहरूकै सिर्जनाबाट व्यक्त हुने र दलितभन्दा भिन्न समुदायबाट उनीहरूप्रति सहानुभूति राखेर लेखिने दुई तहबाट दलित साहित्य सिर्जना गरेको देखिन्छ । ‘अग्नि’ महाकाव्य दोस्रो कित्तामा पर्छ । महाकाव्यकार उच्च ब्राह्मण समुदायबाट प्रतिनिधित्व गरे पनि उनले जातीय उत्पीडनमा परेका दलितहरूप्रति सद्भाव राखेर सिर्जना गर्दै भनेका छन् –
निष्ठापूर्वक भन्छु,
म पुरेतको रगत हुँ
यो संस्कारगत पेशा हो
मलाई मान्छे हुन रोकेको दिन
यो पेशा बदल्न सक्छु, बदल्छु ।
महाकाव्यमा विराटताको चर्चा विशद् आख्यानको वर्णन र उच्चतम् चरित्रको चर्चा गर्नु पर्ने शास्त्रीय विधिपद्धति छ तर महाकाव्यकार लम्सालले यसमा इतिहासको कुरा त गरेका छन् तर वैदिक काल, लौकिक काल त्यो ऋषि महर्षिहरूको बथानमा अग्नि त जीवनको सूत्र मात्र हो भनेका छन् । अस्तित्वको झिल्को हो भनेका छन् । अग्निको, विश्वकर्माको र विशेष गरी शिल्पी कालीगडहरूको इतिहास हिजोदेखि आजसम्म उत्तिकै गौरवपूर्ण भए पनि एकपक्षीय ढङ्गले इतिहासको भाष्यनिर्माण गरेको अग्निको, आरनको र समग्रमा हाम्रा कलीगडहरूको घोर अपमान गरिएकोमा इतिहासका गर्तमा रहेका सत्यतथ्य चीजहरूलाई बाहिर ल्याउन आह्वान गरिएको छ ‘अग्नि’ महाकाव्यमा ।
“बा, पाठशाला जान्नँ म इतिहास पढाइन्छ त्यहाँ मरेका दिनहरूको” भनेर हरिभक्त कटुवालले भनेजस्तै नवराज लम्सालले एकपक्षीय इतिहासले खासमा इतिहासको खिल्ली उडाएको हुन्छ । आरनको इतिहास, शिल्पीहरूको सही इतिहास, कालीगडहरूको वास्तविक इतिहास र खासमा मान्छे भएर बाँच्न नपाएका दलित नागरिकको इतिहास अग्निलाई साक्षी राखेर नलेख्ने हो भने समाज उत्तरआधुनिकतातिर ढक्लिरहन्छ र जेठी तरबारको इतिहास मेटिइरहन्छ, ठूले कामीहरूको इतिहास मेटिइरहन्छ भन्ने व्यापक प्रगतिशील स्वर उरालिएको छ ‘अग्नि’ महाकाव्यमा ।
हाम्रो समाजमा विद्वान्हरू अधिक छन् तर आंशिक र अपुरो इतिहास पढेका विद्वान्हरूले खासमा समाजको एउटा पाटो देखेकै छैनन् त्यसलाई कसरी विद्वान् भन्ने ? कवि-साहित्यकार एकपाटे सतहमा हेर्छन् र निर्मित महाभाष्यको पछि दगुर्छन् र लेखक भइटोपल्छन् छलाङीको भाषामा भन्दा यो बोक्राको मात्र अध्ययन गर्ने कवि-विद्वान् कसरी बौद्धिक हुनसक्लान् र रु कृषि, प्रविधि, हतियार, युद्धकला, मूर्ति र वास्तुकला जान्ने शिल्पीलाई नजरअन्दाज गरिएको समाजशास्त्र के शास्त्र भन्न लायक होला र ? छेलिएको पाटो नखोतल्ने इतिहासलाई के इतिहास भन्नु, गाँठीकुरा अदृश्य ठानेर छाँटिएको दर्शनलाई के दर्शन भन्नु ? हेपिएको/पेलिएकाको अधिकार कहिल्यै सुनिश्चित नहुने राजनीतिकर्मीलाई के राजनीतिज्ञ भन्नु ? छेलाङी पात्रमार्फत कविले एउटा सिङ्गो र नयाँ सङ्कथनको उद्घाटन गरिएदिएका छन् ‘अग्नि’ महाकाव्यमा । आरनबाट छेलाङीले जे पढे, हो त्यो हो मेरो वास्तविक शास्त्र, वास्तविक समाज र संसार –
आगो छोइरहनेलाई केही हुन्न
तर छोएजस्तो गर्नेको त पोल्छ
हात पनि कलम पनि ।
आगोले नपोल्न त छातीमा संरचनाको आगो
र आगो खेलाएको हात हुनुपर्छ, कविजी ।
….उठाएर हेर्नुस् यो ठूलो घन
र पिटेर हर्नुस् यो बल्दो फलाम
त्यहीँ भेटिने छ कविताको मूल संवेदना !
माथिका कवितांशमा सभ्य भनिएका नागरिक, शिक्षित भनिएका समाजका प्रतिष्ठित लेखक, कवि भनिएका बुद्धिजीवीहरूले आंशिक सत्यतामा लेखिएको खोटो इतिहासअनुसार धारणा त बनाइरहेका छैनौं ? कविलाई छेलाङीले शंशयपूर्ण आग्रह गरेका छन् काव्यमा । समाजको प्रतिष्ठित व्यक्तित्वहरू छुवाछुत, जातीय सङ्कीर्णता, आडम्बर, कर्मकाण्डमा बढी आशक्त बन्दै गरेको दुःखद दृश्य यस काव्यमा देखाउँदै भनिएको छ –
हिजो जहाँ, जसरी छुटे बिहानीका घटना शृङ्खला
त्यसरी नै छुटे इतिहासका उल्लेख र अभिलेख पनि
र सम्झनाबाहेक
आज मसँग न मेरो लिखित इतिहास छ,
न मेरो जीवनको हिसाब
उपर्उल्लिखित कवितांशले के भनेको छ भने इतिहास प्रशस्त लेखिए हिजो । नेपाली वीरहरूको इतिहास संसारले पहिचान पनि गर्छ पनि तर जब विराट भाष्य बनाइएका इतिहासभन्दा भिन्न जेठी तरबार बनाउने ठूले कामी, उनका उत्तराधिकारी छेलाङी लगायत कैयनन् शिल्पीको गुणले भरिपूर्ण कालीगडहरूको इतिहास किन लेखिएन ? झण्डा चोखो भयो तर झन्डा सिलाउने दर्जी दाइ किन अछुत भए ? बुढानिलकण्डको मूर्ती पवित्र भयो तर त्यो मुर्ती कुँद्ने कालीगड किन अपवित्र भइरह्यो ? यस प्रकृतिका दर्जनौं प्रश्नहरूको उत्तरको खोजी हो ‘अग्नि’ । पहिलो कुरा इतिहास नै लेखिएन । दोस्रो लेखिएको इतिहासलाई पनि नामेट पार्न खोजियो । नलेख्नु स्वाभाविक छ तर अपहेलना उपहार प्राप्त भइरह्यो कर्मी बनेर सिर्जनामा लागेकाहरूको विरुद्ध भन्दै कवि भन्छन् –
तिमीले लाख बत्ती बालेर
बत्तीसँगै बजाउने घन्टको रालो
मैले बनाएको हुँ
भगवान्लाई धूप अर्पण गर्ने धुपौरो
सूर्यलाई अर्घ दिने चम्चा र अर्घौँतो
पूजाको धजा झुन्डिने त्रिशूल
तिम्रो श्रीमतीको चोखो सिउँदोमा सिन्दूर हाल्दा
त्यही शिरमा साक्षी शिरको चन्द्रमा मैले बनाएको हुँ ।
दलितले बनाएका सबै कुरा पवित्र बन्दा सर्जक दलित, अछुत र अमानवीय कसरी बन्यो ? गम्भीर प्रश्नमा उभिएको काव्य हो ‘अग्नि’ । जस्ले मन्दिर बनायो तर मन्दिर प्रवेशमा निषेध गरियो । जस्ले मूर्ति निर्माण गर्यो त्यसलाई पुज्न बन्देज लगाइयो । जसले बनाएको गहना पवित्र बन्यो उसको पसिना अपवित्र बन्यो । बनायो जसले कुवा, त्रिशूल, गरगहना, भाँडावर्तन र दियो बनायो आज तिनैलाई दलित भनेर दुत्कारिएको हृदयछेड विषयलाई यस महाकाव्यमा निकै संवेद्य रूपमा प्रस्तुत गरिएको छ । प्रस्तुत काव्यमा एकातिर परिश्रमी इतिहास निर्माता शिल्पीहरूप्रति भएको अत्याचारको उठान गरिएको छ भने अत्याचारका मतियार उच्च जातीय अङ्कारलाई पनि काव्यमा निस्तेज पार्ने प्रयास गरिएको छ ।
बूढा पण्डित भन्दै थिएः
एउटा सप्ताहा लगाइदेऊ
पण्डित पनि बाहुन राख्नु रे
कर्ता पनि बाहुन राख्नु रे
घरभन्दा पर जग्गे बनाएर
मेरो नाम सङ्कल्प अर्कैले गर्ने रे
खर्च मेरो रे !
मेरो पुर्खाको तर्पण
मैले मेरै हातले दिन नपाउने ?
मेरो पुर्खाको पूजा
मैले मेरै हातले गर्न नपाउने ?
देवी देउतै भन्नु पनि
झोलामा ल्याएर झाडीमा स्थापना गरिएका
मन्दिरका स्वरूप मात्र न हुन् ।
ती देउताको आकृतिमा
मान्छेका जस्तै आकार दिने कल्पना
मेरै पुर्खाको हो,
त्यो कलात्मक सीप
मेरो पुर्खाको आँखाले देखेको चेतनाको अक्षर हो ।
देवीदेवता र तिनका आकृतिमा ल्याएर परिवर्तन र स्थानीय हावपानीसँग घुलमिल गराएको जुन समुदाय छ त्यसले अपमान भोगिरहेको छ । एउटा समुदायले अर्को समुदायले अत्याचार र शोषण गरिन्जेल समाजमा सामाजिक सद्भाव कहिल्यै विकास हुँदैन भन्ने कुरा व्यक्त गर्दै भनिएको छ –
फलाम पिट्दा उठाएको घन देखे
बलेको आगो देखे
पिटिएको फलाम देखे
मलाई देखे
तर मेरो पसिना र खाली पेट देखेनन् ।
श्रम देख्ने श्रमिकको बेतन हर्ने विभेदकारी, असमानताको पराकाष्ठाले नेटो काट्यो । उनीहरूको श्रम, शीप र समर्पण साँच्चै उल्लेखनीय छ । प्रशंशनीय छ तर चाँहिदाको भाँडो भनेजस्तै उनीहरूको भावनाको कदर त भएन नै उनीहरूलाई शारीरिक, मानसिक र संवेगात्मक दृष्टिले सधैं हिंसा र अपहेलनमा पारिएको गैरन्यायिक दृश्यलाई सपाट रूपमा प्रस्तुत गरिएको छ ‘अग्नि’मा । काव्यमा कलात्मक लोकगीत पनि प्रस्तुत भएको छ –
पर्खिमा राछु हेरिमा राछु आँखामा जून राखी
मायाको मादल बजाई मनमा मायाकै धुन राखी
अत्यन्त कलात्मक लोकसूक्तिलाई कवि कल्पनाले घोटेर सुन्दर लोकलयमा ढालेका छन् कविले । “फूल नचिन्ने मौरीले, के मह खोज्ला ?” भन्ने जस्ता अत्यन्त सूक्तिमय कवितांश बीचबीचमा आएको छ । यो काव्यकार एक कुशल गीतकार हुँदाको एउटा सङ्केत हुँदै हो । इतिहासमा गर्तमा रहेका सुन्दरतम् लोक कोसेलीलाई काव्यमा फाट्टफुट्ट प्रयोग गरेर आफ्नो काव्यिक कौशल प्रस्तुत गर्न सफल भएका छन् महाकाव्यकार लम्साल । उनी भन्छन् जसको ज्ञान छ उसलाई अवसर र सम्मान छैन भन्दै उनी भन्छन् –
कृषि विज्ञ धान बुझ्दैन
शिक्षाविज्ञ स्कुल बुझ्दैन
वनस्पतिविज्ञ रुख चिन्दैन
माटोविज्ञ माटो छुँदैन
यी कागजी बाघहरू जोछन्
उनीहरू आफै विज्ञ, आफै जोजनाविद् !
जसले समाजमा प्रविधि सिकायो । फसल रोप्यो उसले उब्जाएको कृषिउत्पादन चोखो भयो तर उसको मिहिनेत अपवित्र भयो । धरातलमा नछोएका विज्ञ, योजनाविद्, राजनीतिज्ञ र बोक्रे शिक्षाविद्ले कहिल्यै पनि समाजवादी चिन्तन र समृद्धि निर्माण गर्न सक्दैन भन्ने कथ्य भावलाई महाकाव्यमा प्रस्तुत गरेका छन् । काव्यमा उनीहरूबाट समाजले सबै कुरा सिक्छ तर शिल्पीहरूको सीप हस्तान्तरण नगरिएकोमा यसमा गुनासो गरिएको छ ।
क्रोनिक रोगजस्तो बनेर जातीय छुवाछुत हाम्रो समाजमा बसेको धेरै शताब्दी नाघ्यो । आरनमा तताएका फलाम सेलाए, पिटिएका फलाम औजार बने तर दुर्भाग्य जातीय विभेदको रापताप सेलाउन सकेको छैन समाजमा । आज पनि सम्झना वि.क. र नवराज वि.क.हरू तल्लो जात भएकै आधारमा मारिँदैछन् । सभ्य मान्छेहरूको राजधानी काठमाडौंमा पत्रकार रुपा सुनुवारले डेरा पाउँदिनन् । ठूले कामीका पुस्तौं पुस्तादेखि खासमा एक्काईसौँ शदीमा पनि घनघोर मानवताविरोधी कार्य जारी छ हामीकहाँ । यस्तै संवेदनशील मुद्दाका विषयमा अक्षरको आह्वान हो ‘अग्नि’ ।
शास्त्रमा जेसुकै अभिलेखन गरिएको होस् गद्य वा मुक्त लयमा थालिएको महाकाव्य शतप्रतिशत एउटा लयमा टुङ्ग्याएका भए राम्रो हुने थियो । मुक्त लयमा लेख्दा कतै उपयुक्त टलक आएन कि ? भाव सम्प्रेषणमा गति अवरोध भयो कि भन्ने छन्दप्रतिको धङधङी महाकाव्यकारमा देखिन्छ । यहाँ छन्दले महाकाव्यको बिट मारेर झन् काव्यमा पाठकीय अवरोध सिर्जना भएको छ । अन्तिमसम्म मुक्त लयलाई लगेको भए कथाको बिसौनी पनि झन् राम्रो हुने थियो जे होस् छन्द कविलाई छन्दमा काव्यको लिपपोत गर्नाको मजा नै बेग्ले भएर होला कविले काव्यको टुङ्ग्यौनी छन्दमा गरेका छन् । शास्त्रीय नृत्य गर्ने मान्छेले लोकनृत्यमा पनि शास्त्रीय नखरा घुसाएजस्तै बनेको छ काव्य । इतिहासमा निकै कचल्टिएको मुद्दा अब पिँधबाट उपरी संरचनालाई नियाल्न ढिलो भइसकेको छ । किनारामा परेकाहरूको दृष्टिबाट बहस गर्नु पर्ने समयमा अग्नि महाकाव्य आएको छ ।
‘अग्नि’ महाकाव्यमा जातीय समानता र जसलाई किनारामा पारियो उनीहरूप्रति सम्मान भाव र मुक्तिको चाहना राखिएको छ । कुनै जात, नस्ल र वर्णव्यवस्थाका आधारमा छुवाछुतको भदेभावलाई समूल नस्ट गर्नुपर्छ । कोही पनि व्यक्ति, जात र सामाजिक श्रेणीका आधारमा श्रेष्ठतम् हुनैसक्दैन भन्ने अन्तर्यथार्थ यस काव्यमा यसरी प्रस्तुत गरिएको छ –
जस्ले बनायो हतियार धार
त्यै धार कुल्ची उसमै प्रहार
दागा धरेझैं किन तुच्छ बोली
बसूँ म आफू कसरी नबोली ?
महाकाव्यले भन्ने आख्यान कथा/उपन्यासले सोझै भनिदिन्छ । व्यस्त पाठकले घुम्तीको बाटो रुचाउँदैनन् अनि यसको मार महाकाव्यलाई नपर्ने कुरै भएन । थोरै उत्पादन हुनु, माग बढ्नुको मान्यता अन्यत्र लागू भए पनि महाकाव्यमा हुँदैन थोरै लेखिन्छ र माग पनि थोरै नै छ । पाठक पनि थोरै तर लेख्ने चिन्तन भने धेरै फराकिलो चाहिन्छ भन्ने महाकाव्यकार लम्सालजस्ता महाकविलाई मात्र थाहा छ । जे भए पनि नेपाली महाकाव्यमा अग्नि विचार, शैली, शिल्प, व्यवहारआदि कारणहरूले ओजिलो काव्य बनेर उदाएको छ । जातीय विभेदको सङ्कथन हाम्रो यो भूगोलमा निकै लामो समय रहने छ र अग्निजस्ता महाकाव्यको महत्त्व पनि सदा कालका लागि रहिनै रहने छ भन्ने सङ्केत काव्यमा भेटिन्छ ।
महाकाव्य लेखनमा लागेर किन कपाल दुखाउँछन् डाक्टर लम्सालहरू ? यो प्रश्न त पाठकले सोधेका छैनन् तर उनीभित्र रहेको काव्यमा रमाउने भूत सक्रिय छ उनको शरीर गलोस्, ऋण लागोस्, किताब नबिकोस् उनी निरन्तर लम्किरहन्छन् अगाडि उनको प्राप्ति भनेको काव्य हो, उनको सपना काव्य र अन्तिम सङ्कल्प गरेको गन्तव्य पनि काव्य नै हो । उनी काव्यलाई तकिया बनाएर अक्षरमा मस्त निदाएर आल्हादित मोक्षमय जीवन जिउन चाहन्छन् । सामाजभित्र भाइरस बनेर बसेका यस प्रकृतिका समाजिक कुरीतिलाई जनजनमा बहसमा ल्याउन लम्सालहरूले काव्यिक बलिदानी गर्नेपर्छ । गरिरहनू शुभकामना ।
=====
पुस्तकः अग्नि
विधाः महाकाव्य
मितिः २०७८
मूल्य : ५५५
प्रकाशकः बुक हिल पब्लिकेसन प्रालि



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१५ असार २०८३, सोमबार 










