नमोबुद्ध नगरपालिका, काभ्रेले कथाकार डा. अशोक थापाको कथासंग्रह ‘सन्तापको धून’लाई उत्कृष्ट वर्ष आख्यानद्वारा सम्मान गरेको छ ।

प्रथम नेपाली कवि भानुभक्तको २१० औँ जन्मजयन्तीको उपलक्ष्यमा भकुण्डेबेँसी नगरपालिकाको सम्मेलन हलमा आयोजित साहित्यिक कार्यक्रममा साहित्यकार थापालाई प्रमुख अतिथि गोपाल पराजुली र सो नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्माले संयुक्त सम्मान गरेका हुन् ।

सो समारोहमा साहित्यमा योगदान पुर्याकएबापत कवि मोमिला जोशीलाई पनि सम्मान गरिएको छ ।

कार्यक्रममा काभ्रे जिल्लाका स्थानीय कवि तथा साहित्यकारहरूको बाक्लो उपस्थिति हुनाको साथै राजधानीबाट समीक्षक प्रा.डा.सावित्री कक्षपति, अनुसन्धानकर्ता तथा निबन्धकार शरद प्रधान, पत्रकार तथा साहित्य पोस्टका प्रधान सम्पादक अश्विनी कोइराला, कवि तथा अनुवादक डा. कोमल फुयाँल, कवि तथा समीक्षक महेश पौड्याल, गीतकार गोविन्द कँडेल आँसु, लेखक तथा प्रकाशक जयराम तिमिल्सिना आदिको सहभागिता थियो ।

कार्यक्रमका सभापतित्व गरेरका प्रमुख प्रशासकीय अधिकृत शर्माले नगरपालिकाले विगत तीन वर्षदेखि भानु जयन्तीको अवसरमा यस्ता कार्यक्रम आयोजना गर्दै आएको उल्लेख गर्दै यस्ता सृजनात्मक कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने जानकारी दिनुभयो । कार्यक्रमको सञ्चालन नगरपालिकाका अधिकृत तारा सुनुवारले गर्नुभएको थियो ।