कथाकार डा. अशाेक थापाकाे कथाकृति “सन्तापकाे धून” माथि विराटनगरमा परिसंवाद सम्पन्न भएकाे छ । पूर्वाञ्चल साहित्य परिषद्, विराटनगरद्वारा नेपाल पत्रकार महासंघकाे सभाभवन, कलेज राेडमा आयाेजित उक्त कार्यक्रममा विरष्ठ साहित्यकार तथा परिषद्का उपाध्यक्ष भूषण ढुङ्गेल सभापतिकाे रूपमा उपस्थित हुनुहुन्थ्याे भने समालाेचक तथा सर्जक दधिराज सुवेदी प्रमुख अतिथि हुनुहुन्थ्याे ।

कृतिमाथि बाेल्दै समीक्षक शुभलक्ष्मी लम्सालले अशाेकका कथा उज्यालाेका कथा भएकाे टिप्पणी गरिन् । पाेखरा आसपासकाे स्थानीय रङ, लवज र भाषाकाे लेपनले नवीन बान्की बाेकेका अशाेकका कथामा आजकाे समयका समस्या आख्यानीकृत भएकाे उनले टिप्पणी गरिन् । अर्का समीक्षक महेश पाैड्यालले अशाेशका कथाभित्र भेटिने विसङ्गतिकाे चित्रण उज्यालाेकै लागि भएकाे बताए ।

सर्जक थापाले कथामा आफूले देखेकाे तथा भाेगेकाे यथार्थकाे चित्रण गर्ने प्रयास गरेकाे बताए । प्रमुख अतिथि दधिराज सुवेदीले कथासाहित्यमा विविध रसका सुन्दर कथा आउनु ज्यादै खुसीकाे विषय भएकाे बताए । सभापति ढुङ्गेलले लेखकलाई सफलताकाे निम्ति शुभकामना दिए ।

कवि मीनकुमार नवाेदितद्वारा संयाेजन गरिएकाे उक्त कार्यक्रममा विराटनगर र आसपासका धेरै स्रष्टाहरूकाे उपस्थिति थियाे । पुस्तकलाई पेज टर्नर प्रालिले बजारमा ल्याएकाे हाे ।