
१. आमुख :
नेपाली सहितै असमिया साहित्यमा निरू शर्मा पराजुली एउटा परिचित नाम हो । साहित्य मात्रै नभएर सङ्गठकका रूपमा पनि उनको छुट्टै परिचय छ । गुवाहाटी उच्च न्यायालयमा वकिलको जागिरे जीवनमा व्यस्त भएर पनि साहित्य र साङ्गठनिक कामहरूमा उत्तिकै सक्रिय रहेको देखिन्छ । असम लेखिका संस्था जस्तो असमिया नारीहरूको प्रमुख साहित्यिक संस्थामा उनी प्रधान सचिवको दायित्वमा छन् । त्यसैगरी असम नेपाली साहित्य सभाको उनी उपसभापति छन् । सन् १९६८ को १५ एप्रिलमा विश्वनाथ जिल्लाको गाङ्मौथानमा जन्म भएको पराजुलीका पिता स्व. नन्दलाल शर्मा मिश्र र माता स्व. बुद्धिमाया शर्मा मिश्र हुन् ।
असमबाट कवयित्रीका रूपमा प्रतिष्ठित भइसकेका कवयित्रीहरूको सङ्ख्या पुरुष कविहरूको भन्दा तुलनात्मक रूपमा कम्ती नै छ । यस लेखमा कविता कृति प्रकाशित भएका असमेली कवयित्रीहरूको सूची प्रस्तुत गर्नु चाहन्छु – चन्द्रकला नेवार, गोमा देवी शर्मा, लावण्य देवी, विष्णुमाया दाहाल, वसुन्धरा शर्मा, मैना थापा आशा, कमला देवी भट्टराई, विनीता उपाध्याय, निरुमा सुब्बा, डा. दैवकी देवी तिम्सिना, निरू शर्मा पराजुली, अमिया छेत्री, डा. इन्दुप्रभा देवी, सीता देवी, देवीमाया सापकोटा, जयन्तीकला देवी, रिजु देवी, दक्षिणा देवी गजुरेल, रेणु गौतम भण्डारी, यमुना दाहाल, अनुपमा कट्टेल, निलीमा आचार्य आदि । कविताकृति प्रकाशित नभए तापनि स्तरीय कविता सिर्जना गरी पाठकको मन जित्न सक्षम भएका केही कवयित्रीहरूमा – डा. शान्ति थापा, गायत्री नेवार, गोमा अधिकारी, झर्ना देवी भट्टराई, तारा थापा ,पूजा उपाध्याय, नैना अधिकारी, इन्दिरा गौतम, कविता शर्मा, पूजा आचार्य, पद्मा देवी, मनीषा दाहाल, कल्पना देवी आत्रेय, लक्षिमा उपाध्याय, कुञ्ज देवी उपाध्याय, विनीता उपाध्याय गजुरेल, अनामिका उपाध्याय, दिपा शर्मा, रीता सिंह सर्जना, दिपान्विता गजुरेल आदि रहेका छन् ।
२. निरू शर्मा पराजुलीको कृतित्व :
निरू शर्मा पराजुलीका प्रकाशित कृतिहरू यस प्रकार छन् -स्वप्न एटि मुक्त आकाशर (असमिया कहानी सङ्कलन, सन् २००४), कविताइ मोर बुभुक्षा ( असमिया कविता सङ्कलन, सन् २००७), भोकमा कोरिएका शब्दहरू ( नेपाली कविता सङ्कलन, सन् २००८), माथो प्रेमर बाबे एमुठि अनुभव ( असमिया कविता सङ्कलन, सन् २००९), बगी बरमार बारी ( असमिया बाल कविता सङ्कलन, सन् २००९) , स्पन्दन (अनुवाद कविता सङ्कलन, असमियाबाट नेपालीमा, मूल – पद्मश्री एली आहमेद,सन् २०२०) , कोसेली ( बालकविता सङ्कलन, सन् २०२०), तिर्खाएको मन केही पल ( नेपाली कविता सङ्कलन, सन् २०२०), मेँ मानिसको निर्मल उत्सव ( अनुदित कविता सङ्कलन, असमियाबाट नेपालीमा, मूल- सनन्त ताँती, सन् २०२०), शब्द बटुली ( अनुदित, नेपालीबाट असमियामा, मूल – हरि गजुरेल, सन् २०२१) ।
निरू शर्मा पराजुलीका कृतिहरूमध्ये नेपाली भाषामा तीनवटा, असमियामा चारवटा र अनुदित कृति तीनवटा रहेका छन् । कुल कृति दशवटा रहेका छन् । कृतिहरूको अध्ययनबाट थाहा हुन्छ उनको नेपाली, असमिया लगायत अनुवाद साहित्यमा पनि समानरूपमा कलम चलेको छ । नेपाली भाषाका पुस्तकहरूको पाठक केवल नेपालीभाषी नै पाइन्छन् । अरू भाषीहरूका बीच हाम्रा सिर्जनाहरू पुऱ्याउनुमा अनुवादले विशेष भूमिका लिने गर्दछ । पराजुलीले पनि हाम्रा कृतिहरूलाई असमिया भाषामा अनुवाद गरी हाम्रो साहित्यलाई असमियाबीच पुऱ्याउने काम गरेकी छन् । उनले वरिष्ठ कवि हरि गजुरेलको कवितासङ्ग्रह ‘शब्द बटुल्दै’ लाई असमिया भाषामा अनुवाद गरेर हाम्रा कविताहरू असमियाभाषीलाई पढाएकी छन् । यो एकदमै सराहनीय काम भएको छ । निरू शर्मा पराजुलीलाई यस कामका लागि विशेष धन्यवाद दिनैपर्छ । यसखाले काममा अरू सर्जकहरूको रुचि बढ्दै जानुपर्छ । तब मात्र साहित्यले फराकिलो वातावरणमा सास फेर्ने मौका पाउँछ । उनले असमिया पुस्तकहरू पनि नेपालीमा अनुवाद गरी असमिया नबुझ्नेहरूलाई असमिया साहित्यको झलक दिन सक्षम भएकी छन् । त्यसैगरी पराजुलीले बाल साहित्यमा पनि कलम चलाएकी छन् । बाल मनोविज्ञानलाई बुझ्ने प्रयास गरेकी छन् । नानीहरूको रुचिअनुसार बाल साहित्य सिर्जना गर्नु त्यति लरतरो काम होइन । यसखाले काममा पनि लागिपरेकी छन् पराजुली । यस अतिरिक्त गीत लेखन- गायन र अभिनयमा पनि पराजुलीको दखल छ ।

कृष्णनील कार्की (असम)
३. कृतिगत विशेषता :
– कविताहरूले समय बोलेका छन् ।
– कवयित्री सामाजिक स्थिति खोतल्नु तत्पर देखिन्छिन् ।
-स्थानीयताको सिँढी चढी विश्वायनको भावभूमिमा पुग्ने सन्देश दिन्छिन् ।
– राष्ट्रिय भावनाभित्र स्वजातीय पिरको मार्मिक वकालत गर्दछिन् ।
– राजनैतिक दाउपेचको भोकमा गरिबीको बेहाल स्थिति प्रस्तुत गर्दछिन् ।
– सन्त्रासवादको कहरलाई आक्रोशसहित प्रस्तुत गर्दछिन् ।
– सुन्दर संसारका निम्ति मानवताको गीत गाउँछिन् ।
– सुन्दर जीवनका निम्ति मायाँप्रेमलाई सारथि बनाउने आह्वान गर्दछिन् ।
– गरिबी र अभाव पन्साउने युद्धमा समानताको बिगुल फुक्छिन् ।
३.१. कृतिगत विशेषतालाई कैद गर्न सकिने बुँदाहरू :
– स्वच्छन्दतावादी भावधारा अनुगामी ।
– मानवतावादी स्वरमा विश्वास राख्ने ।
– शान्तिको प्रकाश फैलाउनुमा सर्वदा अग्रसर ।
– असङ्गत पक्षप्रति आक्रोश शैली व्यङ्ग्य प्रयोग गर्दै सर्वसाधारणको पक्ष लिने ।
– सामाजिक विसङ्गति र अन्यायलाई हुङ्कार दिने ।
– सरस, सरल र स्वाभाविक स्वरमा कविता रच्ने कवयित्री ।
– पद्यात्मक र गद्यात्मक शैली प्रयोगमा सिपालु ।
४. कृतिको समीक्षात्मक पाटो :
सन् २००८ को जनवरीमा, गाङमौ प्रकाशनबाट प्रकाशित र प्रधान अफसेट, गुवाहाटीमा मुद्रित ‘ भोकमा कोरिएका शब्दहरू’ शीर्षक कवितासङ्ग्रहमा कुल ९८ पृष्ठ रहेको छ । पुस्तकमा कवितारूपी शुभकामनाका हरफहरू पद्मश्री लीलबहादुर क्षत्री सरले कोरेका छन् भने वरिष्ठ साहित्यकार डा. जीवन नामदुङ्गले ‘अग्रवाणी’ शीर्षकमा शुभेच्छारूपी कोसेली पस्किएका छन् । भूमिकाको बाटैबाट लेखेका छन् वरिष्ठ कवि नव सापकोटाले ।
कृतिभित्र लामा छोटा कुल ६२ वटा कविता रहेका छन् । जनताको आवाज, प्रकृतिको रक्षा, मानवीय मूल्यको चित्रण, अत्याचार, भ्रष्टाचार, प्रेमप्रणय, समाजवाद, सन्त्रासवाद, नारी चेत, जातीय अस्तित्व, सुधारवाद, मातृप्रेम, विश्वायनको फराकिलो चेतना आदि कवितामा गुन्जिएको देख्न पाइन्छ । नैराश्यको बीचमा जीवनको खोजी पनि गर्दैछन् कतिपय कविताहरू । यस लेखमा भोकमा कोरिएका शब्दहरूलाई पाँचवटा भागमा विभक्त गरेर अध्ययन गर्ने प्रयास गरिनेछ । पेटको भोक, देशप्रेमको भोक, मातृप्रेमको भोक, प्रेमप्रीतिको भोक र मानवताको भोक गरी पाँचवटा भागमा बाँडिएको छ ।
पेटको भोक : भोक त शब्द मात्रै होइन यो त आत्मासम्म खोक्रो पार्ने धमिरो रहेछ भनी कवितामा अभिव्यक्त गरिएको छ । पेटको भोकले विवेकलाई पनि डढाइदिन सक्छ पनि भनिएको छ कवितामा ।
“भोक….. ! यो त एउटा शब्दमात्र होइन
आत्मासम्म खोक्रो पार्ने
धमिरो पो रहेछ
विवेकसम्म डढाइदिने
एउटा डढेलो पो रहेछ ।”
(म हुँ एउटा सङ्ग्रामी, पृष्ठ- ८)
गरिबीको हालतमा आफन्त पनि पराई हुन्छन् । सायदै गरिबलाई सहयोग गर्नुपर्छ भनेर होला आत्मीयहरू टाढिँदै जान्छन् । आखिर पेटको भोक पेटमै जलिरहन्छ । यस्तै भावहरू पस्किएकी छन् कवयित्रीले-
“पेटमा भोक
ओठमा प्यास लिएर
छटपटाएको बेला
आत्मीयहरूले पनि साथ छोड्दा रहेछन् ।”
(गाँस हराएको बेला, पृष्ठ- ११)
धनीहरूलाई भोको पेटको मर्म के थाहा, भोको पेटको मर्म त गरिबलाई थाहा हुन्छ । जसले भोको पेटमा भोककै लागि कर्म गरिरहेको हुन्छ । भोकाहरूलाई भोक निवारणका लागि भोजन पाउँदा खुसीको ठेगानै हुँदैन भन्ने भाव यस कवितामा आएको छ ।
“अघाएको पेटहरूलाई के थाहा
त्यो भोको पेटको ताडना
एकमुट्ठी अन्न पाउँदा
संसारै पाएझैँ हुने
खुसीयाली भावना ।”
(एउटा गहिरो प्रश्नचिह्न, पृष्ठ- ३८)
देशप्रेमको भोक : कवितामा देशलाई समेट्ने चाहना राख्ने पराजुलीले विविधताका बाटाहरू पुरेर एउटै मार्ग बनाउने पक्षमा कविता कोरेकी छन् । कविताको आँगनमा एउटै घर बनाएर मिलनको डोरीले हरएकको हृदयमा विश्वास, माया र सद्भावनाको भाव जगाउनुमा लागिपरेकी छन् कवयित्री ।
“मेरो कवितामा म समेटन चाहन्छु
मेरो देशलाई ।
विविधताका बाटाहरू पुरेर
म बनाउन चाहन्छु एउटै मार्ग ।”
(मेरो कविता मेरो देश, पृष्ठ- १२)
देशभक्तिमा पनि कसै कसैको खोट रहेको, समाज सुधार्न निस्किएका समाजसेवीहरू नै दोषमुक्त नभएको, धनीको लोभ दिनौँ बढ्दै गएको, गरिबको गरिबी हालतले भोकलाई काबु गर्न नसकेकामा कवयित्रीको स्वर चर्किएको छ । कवितामा यसरी क्रोधका आवाजहरू चर्किएका छन् –
“देशभक्तिमा खोट छ
समाज सुधारमा दोष छ
धनीको लोभ बढ्दो छ
दु:खीको भोक बढ्दो छ
आज यहाँ मानिसको अस्तित्व नै गुम्सिइसकेछ ।”
(गुम्सिइसकेको मानिसको अस्तित्व, पृष-१६)
देशवासीहरूलाई देशको सुरक्षाका लागि गुहार लगाउनुमा पनि कवयित्री पछि हटेकी छैनन् । देशप्रेमको भावना जगाउँदै उनीहरूमा आत्मविश्वासको भाव जागृत गराउनुमा कविताको सहारा लिने गर्छिन् । पुर्खाहरूको बलिदानको गाथा सुनाउने गर्छिन् । भविष्यका पिँढीहरूका लागि देश सुरक्षित राख्नुमा देशप्रेमले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने अभिव्यक्ति पनि यस कवितामा पाइन्छ । यस्तै भाव लिएको कविताको केही हरफहरू यहाँ प्रस्तुत गर्दैछु-
“हे देशप्रेमका प्यारा सन्तान हो
हेर्छौ किन आमाको दुर्दशाका पुरुषझैँ बनी
कहाँ हरायो तिम्रो त्यो देशप्रेमको भावना
जहाँ लुकेको छ अन्यायलाई डढाउने
आत्मशक्तिरूपी सम्भावना ।”
(जागृतिको आशामा अर्पित, पृष्ठ – २३)
मातृप्रेमको भोक : मानिस परिस्थितिको दास हो । मानिस दिशाहीन भएको बेला आमाको न्यानो काख खोज्दछ । रक्ताम्मे हृदय लिएर पीडाको भारी बिसाउनु पनि सन्तानले आमाकै काख खोज्दछ । जननीप्रतिको आस्था र विश्वासको भोकमा लेखिएका कविताका हरफहरू यहाँ प्रस्तुत गर्दैछु –
“हृदय हुन्छ कहिले हिरोसिमा
कहिले हृदयले भारी बिसाउन भनी
खोज्दछ आमाको न्यानो काख ।”
(आमालाई बिन्ती, पृष्ठ -२०)
दु:ख- कष्ट झेलेर हर सङ्कटको सामना गर्दै हृदयका कलेजाहरूलाई आमाले सधैँ बचाएर राख्ने भावना कवितामा पोख्न सफल भएकी छन् कवयित्री । सन्तानको माया- ममतामा चुर्लुम्म डुबेकी आमा सर्वदा सन्तानकै लागि तैनाथ रहन्छिन् । यस्तै मातृप्रेमका भोक पाइन्छन् पराजुलीका कविताहरूमा ।
“सबै दु:ख- कष्ट र आफन्तहरू आफूले सहेर
ममताको पखेटाले छोपी
हरसङ्कटबाट बचाएर राख्छौ हृदयका कलेजाहरूलाई ।”
(आमा, पृष्ठ – २६)
प्रेम- प्रीतिको भोक : माया एउटा सुन्दर अनुभव हो । जीवनाकाशमा उदाउने सप्तरङ्गी इन्द्रेणी हो । हृदयको तारमा बज्ने मिठो सङ्गीत हो । जीवनमा सुगन्ध छरिदिने सुगन्धी फूल पनि माया नै हो । माया अनन्त प्रकाश हो । माया सञ्जीवनी सुधा हो । माया सत्य हो, माया नै जीवन हो भन्दै कवयित्रीले प्रेमप्रीतिको भोक यसरी अभिव्यक्त गरेकी छन्-
“माया जीवनाकाशमा उदाउने
सप्तरङ्गी इन्द्रेणी हो
जीवनमा सौन्दर्य छरिदिने
माया सोह्र शृङ्गार हो ।”
(माया : एउटा अनुभव, पृष्ठ- ३२)
मायाले रचेको यो संसार भन्ने विश्वास कवयित्रीमा छ । मायाको सुगन्ध छर्दै सदैव मुस्कुराएर जीवन जिउनुपर्छ भन्ने भावना कवयित्रीको रहेको छ । प्रेमप्रीतिको भोकले गर्दा नै कवयित्रीले जीवन सुन्दर तरिकाले जिउनुलाई मायाको खाँचो छ भन्ने भावना कवितामा पोखेकी छन्-
“आत्मासँग गराउँछ
आत्माको मिलाप
पढाइ जीवन दर्शन पाठ
मायाले नै रचिएको छ यो संसार विशाल ।”
(सदा हाँसिरहनु नै जीवन, पृष्ठ- ४३)
यो हृदय पनि कस्तो? कहिले रुने कहिले हाँस्ने । कहिले भावनाका लहरमा डुबुल्की खेल्न खोज्ने । कहिले मिठा कल्पनाको झुलामा झुल्न खोज्ने । कहिले रङ्गीन आशामा रङ्गिने भने कहिले प्राप्ति र पूर्णताको स्मरणमा तरङ्गित हुने । कहिले पवित्र मायाको सहारामा बाँच्नु खोज्ने हृदय भन्दै कवयित्रीले माया- प्रीतिको गुहार लगाएकी छन् –
“कहिले प्राप्ति र पूर्णताको स्मरणले
तरङ्गित हुने,
कहिले पवित्र मायाको सहारामा बाँच्न खोज्ने
इच्छाहरूलाई पूर्ण गर्न उताउलो हुने
कहिले बिछोडको कटु सत्य स्मरण र वेदनाका चोटमा
टुक्राटुक्रा भई
गहिरो दुःख र पीडाको
निःस्वास फेर्ने ।”
(यो कस्तो दिल, पृष्ठ- ४५)
मानवताको भोक : मानवताको परिवेश निर्माण गर्ने चाहना कवयित्रीको मनमा रहेको छ । त्यसैले त उनी भविष्य पिँढीलाई एउटा सुन्दर संसार उपहार दिनेमा प्रयासरत देखिन्छन् ।
“भोलिको संसारलाई हाम्रो सन्तानले
सिकाउन सकोस् मानवताको गीत
देऊ न मेरो सन्तानलाई उपहार एउटा गीत
जसले प्रत्येक आत्मामा छरिदियोस्
प्रेमको सीप ।”
(अनमोल उपहार, पृष्ठ- ५५)
अहिले चारैतिर हत्या, हिंसा, सन्त्रासले वातावरण नै प्रदूषित भएको छ । बन्दुकको बारुदले रगतको खोला बगाएको छ । प्रभुत्वको कुरुक्षेत्रमा बनिएको धरतीलाई वर्षाको फुहारासहितै मानवताको मुहान चाहिएको छ भन्ने अभिव्यक्ति पराजुलीका कवितामा पाइन्छन् । मानवताको भोकले सताएको छ कवयित्रीलाई यसरी-
“बन्दुक बारुदको विषले विषालु
प्रेमहीनताको ज्वालाले तिर्खाएका
प्रभुत्वको खिँचातानीमा बैलिइएको धरतीलाई
वर्षाको फुहारा चाहिएको छ
मानवताको मुहान चाहिएको छ ।”
(प्रार्थना, पृष्ठ- ५६)
उपसंहार :
अनुवाद, कविता, कथा र बाल साहित्यसहित असमिया साहित्यमा पनि सशक्तरूपले कलम चलाउने निरू शर्मा पराजुली स्थापित साहित्यकार भन्ने कुरा उनका प्रकाशित कृतिहरूले पुष्टि गर्दछन् । ऊ केवल कलम चलाउने स्रष्टा मात्रै नभएर साङ्गठनिक दक्षता पनि उत्तिकै भएको हुनाले समाजमा व्याप्त विसङ्गति, गरिबी, बेरोजगारी, शोषण आदि पनि छेउबाटै हेर्ने अवसर पाएकाले विद्रोहको स्वर कवितामा भित्रिनु स्वाभाविक नै हो । जागिरे जीवनमा वकिल पेसा, साङ्गठनिक कर्मसहितै कलमकारको भूमिकामा पनि समान रूपले उभिन सक्ने पराजुलीका कृतिहरू गुणात्मकको तराजुमा पनि उत्तिकै खडा भएका छन् । प्रस्तुत कृतिका कविताहरू भोकमा कोरिए तापनि पठनीय बनेका छन् । सबै किसिमका पाठकका लागि ग्राह्य छन् । कविता विविधताले सजिएका छन् । विभिन्न रस, विम्ब र प्रतीकले कवितालाई रसिलो बनाएका छन् । यिनका प्रकाशोन्मुख कृतिको पनि ताँती लागेकै छ । अन्त्यमा, बहुआयामिक प्रतिभाकी धनी निरू शर्मा पराजुलीको सिर्जनात्मक यात्राले निरन्तरता प्राप्त गरोस् भन्ने कामना गर्दछु ।
सन्दर्भसूची :
१. समकालीन असमेली नेपाली कविता- सम्पा. कृष्णनील कार्की
२. उत्तर पूर्वाञ्चलका नेपाली साहित्य स्रष्टा र सृष्टिको जन्मानुक्रमिक सूची – सङ्कलक : मित्रदेव शर्मा



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
अन्धविश्वासमा अल्झिएकाहरूलाई सही बाटो देखाउने पुस्तक – विज्ञान र विज्ञानी
२१ जेष्ठ २०८३, बिहीबार 








