निबन्धकारको परिचय :

सन् १९५८ को १५ जनवरीमा दार्जीलिङ्गको कागे भन्ने ठाउँमा जन्मिएका डम्बर दाहाल असमको कार्बी आङ्लङ् जिल्ला अन्तर्गत जिरिबासा नेपाली गाउँमा सानै छँदा नै बुबाआमासित बसाइँ आएका हुन् । उनको बुबाको नाम स्व. छविलाल दाहाल र आमाको नाम स्व. चन्द्रमाया दाहाल हो । सन् १९७८ को १ मार्चदेखि शिक्षण पेसामा संलग्न भएका दाहाल सन् २०१८ को जनवरीमा सेवानिवृत्त हुन्छन् । उनी सन् २०१३-२०१६ सम्म असम नेपाली साहित्य सभाको गरिमामय सभापति पदमा आसीन थिए भने वर्तमान उक्त संस्थाको सल्लाहकार छन् । अहिलेसम्म उनका २० ओटा पुस्तक प्रकाशित भएका छन् । उनले कविता, कथा, लघुकथा, निबन्ध, हाइकु, अनुवाद, युग्मक, संस्मरण, बालसाहित्य आदि विधाउपविधाहरूमा कलम चलाएको पाइन्छ । २६ सेप्टेम्बर २०२१, आइतवारको दिन उनले एकैचोटि ८ ओटा पुस्तक लोर्कापण गरेर इतिहास रच्दछन् । असमेली नेपाली साहित्यको इतिहासमा चाहिँ यसखाले लोकार्पण यो पहिलो हो । यसअघि दार्जिलङका डा. जीवन नामदुङले १४ नभेम्बर २०१४ मा एकैचोटि १४ ओटा कृति लोकार्पण गरेका थिए । यसखाले लोकार्पणको सूचीमा नेपालका डा. रामप्रसाद ज्ञवालीको पनि नाम आउँछ । उनले एकैचोटि ८ ओटा पुस्तक लोकार्पण गरेका छन् । लोकार्पण भएका ८ ओटा पुस्तक यसप्रकार छन्-निबन्ध पुष्प (निबन्धसङ्ग्रह), सृजना सन्दर्भ (समीक्षात्मक लेख सङ्ग्रह), व्यक्ति सान्निध्य (निबन्धसङ्ग्रह), स्मृतिप्रवाह (भाग-२, संस्मरण), हाइकु प्रवाह (हाइकु), मनका पाहुना (युग्मक) गाउँदै जाऔँ, सिक्दै जाऔँ (नेपाली बाल साहित्य), च्अस्तित्व समयजका चयनित कविता (अनुवाद) । उनका प्रकाशित कृतिहरूले साहित्यिक व्यक्तित्वको उर्वरतालाई बुझाउँछ । उनको साहित्यप्रति रहेको सक्रियतालाई झल्काउँछ ।

विषय परिचय :

डम्बर दाहाल बहुमुखी प्रतिभाका धनी हुन् । झन्डै ५० वर्ष साहित्य साधनामा व्यतीत गरेर पनि अझै साहित्यमै तल्लीन भएर लागिपर्ने दाहाल कथाकार, कवि, हाइकुकार, अनुवादक, सम्पादक, बाल साहित्यकार भएर पनि एक जना सशक्त निबन्धकार हुन् । दाहालले साहित्यका प्रायः सबै विधामा नै कलम चलाए तर बढी सफलता भने निबन्धमा मात्रै प्राप्त गरे । प्रस्तुत लेखमा उनको चर्चित निबन्ध कृति च्निबन्ध सम्भारजका निबन्धहरू लगायत २६ सेप्टेम्बर, २०२१ मा प्रकाशित निबन्धसङ्ग्रहहरू –‘सृजना सन्दर्भ’, ‘व्यक्ति सान्निध्य’, र ‘निबन्ध पुष्प’मा रहेका निबन्धहरूलाई यस लेखमा रचना सामग्रीका रूपमा लिइएको छ ।

डम्बर दाहाल

निबन्धयात्रा :

निबन्धकारका रूपमा डम्बर दाहाल परिचित छन् । उनको निबन्ध यात्राको सुरुवात ‘स्पन्दन’ (१९८३, अङ्क-४,५) मा छापिएको ‘असमका दुई मौन साहित्यकारहरू’ शीर्षक लेख थियो । यसै निबन्धबाट उनको निबन्ध यात्रा सुरु भएको मानिन्छ । त्यसपछि उनको कर्मथलो कार्बी आङ्लङ्को हवाइपुरमा १९ मई सन् १९८२ का दिन ‘हवाइपुर नेपाली साहित्य सम्मेलन’ गठन हुन्छ । यसै संस्थाले ‘हाम्रो आँट’ नामले एउटा मासिक पत्रिका निकाल्छ र यसको सम्पादनाको दायित्व दाहाललाई आइलाग्छ । ‘हाम्रो आँट’ पत्रिकाले दाहालको निबन्ध यात्रामा धेरै सघाउ पुऱ्याउँछ । सन् १९८४ देखि निरन्तर रूपमा ‘हाम्रो आँट’ पत्रिकामा निबन्धहरू प्रकाशित भए । बिन्दु, प्रक्रिया, हाम्रो ध्वनि पत्रिकाहरूमा पनि उनका निबन्धहरू बग्रेल्ती पाइन्छन् । उनका निबन्धहरूले कृतिको रूप सन् २००९ मा ‘भानुभक्त, नेपाली संस्कृति आरु अन्यान्य’ ले लिएको हो । यो कृति असमिया भाषाको थियो । त्यसपछि सन् २०१३ मा उनको पहिलो नेपाली निबन्धसङ्ग्रह ‘निबन्ध सम्भार’ प्रकाशित हुन्छ । ‘निबन्ध सम्भार’ ले दाहाललाई सशक्त निबन्धकारको परिचय दिन्छ । दाहालको निबन्धकारितामा यस कृतिको महत्त्वपूर्ण भूमिका रहेको छ । यसरी हेर्दा लगभग ३८ वर्षको लामो यात्रा निबन्ध विधामा दाहालले तय गरेको थाहा लाग्छ ।

निबन्धगत वैशिष्ट्य :

प्राप्त चार ओटा निबन्धसङ्ग्रहमा सङ्कलित निबन्धहरूको पर्यवेक्षणका आधारमा दाहालका केही निबन्धगत विशिष्टताहरू खोज्ने प्रयास यस अध्ययनमा रहने छ । दाहालको चर्चित निबन्ध कृति ‘निबन्ध सम्भार’ लगायत ‘सृजना सन्दर्भ’,’ व्यक्ति सान्निध्य’ र ‘निबन्ध पुष्प’ मा समावेश भएका कुल ५६ ओटा निबन्धहरूको आधारमा दाहालका केही निबन्धगत विशिष्टताहरू खोज्ने प्रयास यस अध्ययनमा रहने छ । विषयवस्तुगत र शैली-शिल्पगत वैशिष्ट्यका रूपमा विभाजन गरी दाहालको निबन्धकारितालाई केलाउने जमर्को गरिएको छ ।

कृष्णनील कार्की

विषयवस्तुगत वैशिष्ट्य : विषयवस्तुगत विभिन्नताले सजिएका छन् दाहालका निबन्धहरू । उनका निबन्धहरू विशेषत भाषासाहित्यको आधारभूमिमा उभिएका छन् । निबन्धमा उनी भाषासाहित्यको फराकिलो भूमिमा विचरण गरेका छन् । भाषासाहित्यको औचित्य, विकास, संरक्षण, संवर्द्धन आदिमै केन्द्रित रहेर निबन्धहरू लेखिएका छन् । भाषा-साहित्यबिचमा हामी दाहाललाई पाउन सक्छौ । खोज्न सक्छौ । कतै उनी भाषासाहित्यलाई लिएर चिन्तित देखिन्छन् भने, कतै उनी भाषा-साहित्य-संस्कृतिको श्रीवृद्धिका लागि करणीय कार्यहरूको बेहोरा प्रस्तुत गर्दछन्, कतै उनी भाषासाहित्यका सङ्गोष्ठीहरूमा सामेल हुँदाको अनुभव व्यक्त गर्छन् भने कतै भाषासाहित्यका प्राज्ञहरूसित अन्तर्वार्ता लिन्छन्, कतै उनी प्राज्ञहरूका अनमोल वाणीमा प्रभावित हुँदै आफ्नो जीवनमा पनि तिनै वाणीहरू प्रयोग गर्ने प्रयासमा देखिन्छन् ।

दाहालले कुनै कुनै निबन्धहरूमा निजी मान्यतालाई पनि विषयवस्तु बनाएका छन् । उनका कतिपय निबन्धहरूमा धर्मसंस्कृति सम्बन्धमा आफ्ना मान्यताहरू प्रस्तुत गरेका छन् । उनका कतिपय निबन्धहरू आध्यात्मिक घेरामा उभिएका छन् । धर्ममा आधारित हाम्रो सामाजिक पृष्ठभूमि र पुराण प्रसङ्ग निबन्धमा उनी धार्मिक मान्यतालाई आत्मसात् गर्दै सामाजिक व्यवस्था सुव्यवस्थित तरिकाले चलाउनुमा धर्मको प्रयोजन छ भन्न पुगेका छन् । पुराणलगायत हरेक धार्मिक तथा माङ्गलिक अनुष्ठानहरूले युवा वर्गलाई आत्मसंस्थापनको पथ सुगम पारेको दाहाललाई थाहा छ । पुराणश्रवणले मानिसलाई ईश्वरचिन्तनतिर प्रविष्ट गराउनुका साथै मानवजीवनको गूढ रहस्य खोल्दै मोक्षमार्ग एवम् परोपकारको भावनातिर प्रेरित गराउँछ भन्ने धर्मीय आस्थालाई भावसत्यका आधारमा देखाउने दाहालको प्रयास निबन्धमा पाइन्छ । जन्मदेखि मुत्युपर्यन्त धार्मिक आचरण विधि त छँदै छन् तर विश्वायन व्यवस्थामा विज्ञान र प्रविधि विद्याले पात्रो र क्यालेन्डर समानै उपयोगी भएको पनि देखाएको छ । संस्कृतिसम्बन्धी मान्यता पनि प्रस्तुत गरेका छन् । आइन्द्रो न सुते सिरिन्च दसरथे-निबन्धमा उनी आजको दसैँअघिको जस्तो छैन भन्दै आफ्नो दृष्टिकोण यसरी व्यक्त गर्दछन् – संस्कृतिका नाममा स्वादे जिभ्रालाई खुसी पार्न केजीका केजी मासु र दही-चिउरा हसर्नुचाहिँ छोडेका छैनौँ । संस्कृति बिर्सँदै छौँ, भाषा बिर्सँदै छौँ, त्यसैले हामीलाई वीर पुर्खाको सराप लाग्दै छ । हामी हेपिँदै छौँ, हामी पिस्सिँदै छौँ । कसले गर्दा ? आफैँले गर्दा । यसरी नै दाहालले युगानुसार सामान्य परिवर्तन हुँदै आए पनि दसैँजस्तो महान् चाडको मौलिकताचाहिँ बचाएरै राख्नुपर्दछ भन्दै एउटा जातिलाई सगौरव उभ्याएर राख्ने अन्यतम आधार हो त्यस जातिको संस्कृति भन्ने दृष्टिकोण प्रस्तुत गरेका छन् ।

स्रष्टाहरूलाई पनि उनले निबन्धका विषयवस्तु बनाएका छन् । इतिहास बनिसक्नुभएका लीलबहादुर क्षत्री सर, आजभोलि म भूमिका लेखक भएको छु, कृष्ण धरावासीसमक्ष केही जिज्ञासा, सृजनामा बाँचिरहेका पूर्वाञ्चलका दिवङ्गत कविहरू, विष्णुलाल उपाध्यायसितको सान्निध्य, हरिप्रसाद गोर्खा राई र उनको जन्मशतवार्षिक समारोह, कमलमणि दीक्षितलाई सम्झँदा, शिव शास्त्रीज्यूको सम्झनामा, सभा-परिषद् एकीकरणका अन्यतम नायक नन्दलाल उपाध्याय, दिनमणि शास्त्रीज्यूको स्मृतिमा, कर्णबहादुर छेत्री एक स्मरण, के.बी छेत्री सर : फर्केर हेर्दा, अविस्मरणीय हरि गजुरेल सर, हरिप्रसाद शर्मा खनाल : एक स्मृति, जनार्दन उपाध्यायलाई सम्झनामा ल्याउँदा, व्यक्ति सान्निध्यको कुरा, पाप गर्ने मान्छे मात्रै मेरो घरमा आइपुग्छन्, असमिया समाजद्वारा समादृत हाम्रा दुई व्यक्तित्व आदि निबन्धमा स्रष्टाहरूको कृतित्वलाई प्रस्तुत गर्दै उनीहरूसित प्राप्त सान्निध्यलाई मनोग्राही तरिकाले पस्किएका छन् । हेरौँ त यसखाले एउटा निबन्ध । इम्फालका डा. चन्द्रेश्वर दुबेको पुस्तक छाप्ने प्रसङ्गलाई लिएर लेखिएको हरफ सर्जकहरूले मनन गर्नुपर्नेछ जस्तो लाग्छ । उनको भनाइ यस प्रकारको छ- कुनै पनि पुस्तक छपाउन हतार नगर्नुहोला । उसलाई आफैँ पटक-पटक पढेर समुचित संशोधन गरेपछि मात्र प्रेसमा दिनुहोला । यस भनाइलाई दाहालले व्यक्ति सान्निध्यमा समावेश गरेर पुस्तक छपाउन चाहने सर्जकहरूलाई उचित मार्गदर्शन गरेका छन् । असल व्यक्तिको सान्निध्यबाट पाउन सक्ने दिशानिर्देशलाई उदाहरणस्वरूप प्रस्तुत गरेका छन् । दाहालले हाम्रा अगुवा व्यक्तित्वहरूको विगत जीवनमा भोगेका राजनीतिक, साहित्यिक र सामाजिक अभिज्ञताहरू समाजलाई अवगत गराउनु आफ्नो कर्तव्य ठानेका छन् ।

यसखाले कार्यले जातिलाई जातीय समस्याहरूको स्रोत पहिल्याउनु सजिलो हुनका साथै वर्तमान स्थितिको पूर्वाभास एवम् भविष्यका निम्ति मार्गदर्शन मिल्नेछ भन्ने कुरामा उनी विश्वस्त देखिन्छन् । उनका केही निबन्धहरूमा व्यक्ति मात्रैको सान्निध्य नभएर उल्लिखित व्यक्तिको परिचय पनि राखिएको छ । उल्लिखित व्यक्तिहरू प्रायः नै साहित्यसँग संलग्न रहेकाले उनीहरूको साहित्यिक परिचय गाभिएको छ । जसले गर्दा सान्निध्यका प्रेरणादायी मुहूर्तसहितै साहित्यका विधाकेन्द्रिक विषयहरूको पनि उठान गरिएको छ । जीवनजगत्‌बारे पनि व्यक्ति सान्निध्यमा उल्लेख पाइन्छ । नीरव साहित्य साधक हरिप्रसाद शर्मा खनालले भनेका हरफहरू यहाँ प्रस्तुत गर्न चाहन्छु- ‘’जीवन क्षणभङ्गुर हो, सपनाजस्तै हो । धनसम्पत्ति, मानप्रतिष्ठा अस्थायी हुन् । यसलाई लिएर अभिमान गर्नु बेकार छ । मेरो दृष्टिमा संसार कल्पना हो । धेरै आशा गरिन्छ तर साकार हुँदैन । गान्धीजीले भनेका छन् – धेरै आशा गर्नु दुःख हो ।‘’ जातीय चेतका विषयलाई असम साहित्य सभाको मञ्चमा उठान गर्न होमेन बरगोहाञीले दाहाललाई सधैँ प्रोत्साहित गरेका थिए भन्ने कुरा यस पुस्तकको होमेन बरगोहाञीसितको सान्निध्य निबन्धमा समावेश गरिएको छ । होमेन बरगोहाञीले दाहाललाई यसै प्रसङ्गमा भनेका कुरा यहाँ उल्लेख गरेँ- ‘’दाहाल, तपाईँलाई हामीले चुप्पी साधेर बस्न असम साहित्य सभामा ल्याएका होइनौँ । नेपाली भाषासाहित्यका समस्याहरू भन्नलाई ल्याएका हौँ ।‘’ यस भनाइलाई यस कृतिमा समावेश गर्दै दाहालले हाम्रा संस्थासङ्गठनका प्रमुख व्यक्तिहरूको दायित्व एवम् कर्तव्यलाई स्मरण गराउने काम गरेका छन् । संस्थासङ्गठनका कर्मकर्ताहरू केवल कुर्सी र पदवीको मोहमा मात्रै नअल्झिएर जातीय स्वार्थ र जनताको हितमा काम गर्ने गुहार पनि यस निबन्धमार्फत दाहालले प्रस्तुत गरेका छन् ।

दाहालले केही कृतिहरूलाई समीक्षात्मक तरिकाले प्रस्तुत गरेका छन् । कृतिहरूलाई पाठकसमक्ष प्रस्तुत गर्दै ती कृतिकार र कृतिहरूलाई भरसक परिचय गराउने प्रयास दाहालको रहेको देखिन्छ । ती समीक्षात्मक निबन्धहरू यस प्रकार छन् – गोविन्द शाण्डिल्यको ‘फूल-फिलिङ्गाहरू’ सित रम्दै, बद्रीप्रसाद पाण्डेयको ‘हो वैचारिक क्रान्ति चाहिन्छ’, गोर्खाल्यान्ड ल्याउन हतारिएको एउटा खण्डकाव्य, छविलाल उपाध्यायको ‘भाषा’ कविता, तेजपुरेली तीन कवयित्रीका काव्यकृति पढ्दा, विष्णु शर्माको ‘स्नेहतीर्थ’ दर्शन गर्दा, विचित्रकै कवि हुन् कवि विचन्द्र, मेरो एउटा प्रिय उपन्यास ‘शरणार्थी’, ममताको लकडाउनलाई छेउबाट चिहाउँदा, नरबहादुर छेत्रीका ‘सदिच्छाका हरफहरू’ ,’सम्झना’ लाई सम्झेर ल्याउँदा, तसलिमा नसरिनको लज्जा, असमिया उपन्यास मृत्युञ्जयमा नेपाली चित्रण आदि प्रमुख रहेका छन् । यी विविध विषयबाहेक संस्मरणालाई पनि उनले निबन्धका विषयवस्तु छानेका छन् । संस्मरणात्मक निबन्धहरू पनि दाहालका कलमबाट सिर्जिएका छन् । विशेषतः साहित्यसम्बन्धी यात्राका वर्णन र उपलब्धिहरूलाई समेटेर निबन्धका रूपमा प्रस्तुत गरेका छन् । केही संस्मरणात्मक निबन्धहरू यस प्रकार पाइन्छन् – भानु प्रतिष्ठानको नाताले मेरो पहिलो मणिपुर भ्रमण, भानु द्विशतवार्षिक समारोहमा भारतीय टोली, सन् २००१ मा असम साहित्य सभा र असम नेपाली साहित्य सभामा मेरो सहभागिता, यो महामिलन, भानु साहित्य यात्राको सम्झना, नेपाली संस्कृति सुधा-अन्ताराष्ट्रिय सङ्गोष्ठीको सुफल, प्रक्रिया शिखरमा पुगेको अनुभूति आदि ।

यी विविध विषयबाहेक शिक्षा, देशप्रेम, स्मृति, राष्ट्रियता, अन्तर्वार्ता आदि विषयहरू पनि दाहालका निबन्धहरूमा पाइन्छन् । जातीय अस्मिता, राजनीतिक चक्रव्यूह, आर्थिक-सामाजिक विविध क्षेत्रमा पनि आफ्नै दृष्टिकोणले उभ्याउने उद्देश्यमा पनि दाहालजी पछि परेका छैनन् ।

शैली- शिल्पगत वैशिष्ट्य : दाहालका निबन्धहरू आत्मपरक र वस्तुपरक दुवै कोटिका पाइन्छन् । विभिन्न गतिविधि र सामाजिक तथा साहित्यिक क्रियाकलापसँग जडित विषयवस्तुलाई वस्तुपरक रूपमा प्रस्तुत गरेका छन् । आत्मपरक निबन्धहरूमा वरिपरिका परिवेशसँगै निबन्धमा वर्णित विषयवस्तुको वर्णन राम्रो तरिकाले गरेका छन् । उनका निबन्धगत संस्मरणहरू रोचक, वर्णनात्मक साथै विचारात्मक पनि देखिन्छन् । कुनै पनि विषयलाई छनोट गरेपछि विषयको गहिराइमा पुगेर जीवन, जगत् र समाजबारे सलल बगेर पाठकको अन्तर्मनभित्र पस्न सक्ने खुबी दाहालको निबन्धलेखनको विशेषता हो भन्न सकिन्छ । निबन्धहरूमा आलोचनात्मक, विश्लेषणात्मक र तुलनात्मकताको सम्मिश्रण पनि पाइन्छ । निबन्धमा प्रयोग भाषा सरल, सहज र स्वाभाविक लाग्छ । दाहालका निबन्धमा कोमलता, हार्दिकता, सहजता र मधुरता भाषाले निजी विशेषता अँगालेको छ । पाठकले सजिलै बुझ्न सक्ने । लेखका भावनाहरू स्वच्छन्द रूपमा बगेका छन् । निबन्धहरूमा कतै-कतै उखान-तुक्का प्रयोग पाइन्छ ।

उपसंहार : विद्वत्तापूर्ण र अध्ययनपुष्ट निबन्ध लेखनमा खप्पिस डम्बर दाहालले साहित्यका अरू विधामा कलम चलाए तापनि उनी निबन्धकारकै रूपमा सफल देखिन्छन् । असमेली निबन्ध विधालाई मलजल दिँदै अरू नवीन निबन्धकारहरूलाई यसतिर आकर्षित गराउनुमा दाहाल सफल देखिन्छन् । निबन्ध के हो? कस्तो हुनुपर्छ? कसरी पाठकलाई निबन्धभित्र बाँधेर राख्न सकिन्छ? कसरी रोचक ढङ्गले निबन्ध प्रस्तुत गर्न सकिन्छ? आदि जिज्ञासाहरूको जबाफ दाहालका निबन्धमा खोज्न सकिन्छ । समाजहितको पक्षमा लेखिएका यी निबन्धहरूले दाहाललाई सामाजिक दिशानिर्देशका पथ प्रदर्शक रूपमा उभियाएको छ ।

केही निबन्धहरूको विषयवस्तु दोहोरिएको पाइन्छ । दाहालजी असमेली नेपाली कतिपय सर्जकहरूबाट सृजना चर्को हुने गरी थुपारिएका असमिया शब्दहरूदेखि चिन्तित देखिन्छन् । यसैको परिणाम होला उनका दुइटा लेख ‘हाम्रो शब्द भण्डारको स्रोत एवम् असमेली नेपाली भाषामा असमिया भाषाको प्रभाव’, ‘तिहुन चर्को भएन हजुर?’ मा यस विषयको चर्चाले ठाउँ पाएको छ । त्यसैगरी पद्मश्री लीलबहादुर क्षत्रीसरदेखि प्रभावित भएर होला उनले ‘इतिहास बनिसक्नुभएका लीलबहादुर क्षत्री सर’ , ‘आजभोलि म भूमिका लेखक भएको छु’ शीर्षक लेखहरूमा क्षत्रीसरका बारेमा चर्चा अघि सारेका छन् । कृष्ण धरावासीलाई पनि दुइटा लेखमा ठाउँ दिएका छन् दाहालजीले, ‘एक शरणार्थी यात्रा’ र ‘कृष्ण धरावासीसमक्ष केही जिज्ञासा’ मा । ‘साहित्यकारको ‘कार’ र ‘इतिहास बनिसक्नुभएका लीलबहादुर क्षत्री सर’ दुवै निबन्धमा साहित्यकारको ‘कार’ प्रसङ्ग भित्रिएको छ तर हुबहु रूपमा छैन ।

उनका निबन्धमा चिन्तन, मनन र मन्थनको स्वतस्फूर्त र स्वच्छन्द प्रवाह प्रवाहित भएको हुन्छ भने अर्कातिर उनको अध्ययनलाई प्रस्ट पार्ने अनेक भाषिक, साहित्यिक, सांस्कृतिक प्रसङ्ग सहितै नैतिक शिक्षा, ज्ञानविज्ञान, व्यक्ति-संस्था-सगङ्गठनप्रति दिशानिर्देश, परामर्श र प्राज्ञ व्यक्तिहरूको व्यक्तित्व, कृतिहरूको परिचय, समीक्षा र विचारहरूको आधिक्य पाइन्छ । स्वच्छन्दता, वस्तुपरकता, आत्मपरकता, बौद्धिकता, जनपक्षीयता, भाव र विचारको सन्तुलन जस्ता निबन्धगत विशेषताहरू दाहालका निबन्धमा पाइन्छ । दाहालको विषयवस्तुगत, कलागत र शैलीगत प्रवृत्तिहरूले गर्दा उनलाई एक जना सफल र स्थापित निबन्धकारका रूपमा प्रतिष्ठा गरेको छ । समकालीन पुस्ताका निम्ति गर्वको आधार र नयाँ पिँढीका लागि सकारात्मक मार्गनिर्देशक बनिसक्नुभएको दाहालजीका कलमबाट भविष्यमा अझ निबन्धहरू पाउने आशासहित सरको सृजनात्मक निरन्तरता, वैचारिक अटलता र सक्रिय र स्वास्थ्य जीवनको कामना गर्दछु ।