नेपाली साहित्यिक बजारमा निभ्दै गरेको महाकाव्यको ओज अहिले यदि कसैको कारणले चर्चामा छ भने त्यो डा. नवराज लम्साल हो । नेपाली साहित्यलाई एकपछि अर्को महाकाव्य दिएर गुन लगाएका महाकाव्यकार डा. लम्सालले हालै प्रकाशनमा ल्याएको महाकाव्य कल्प नेपाली साहित्यमा एउटा गम्भीर हस्तक्षेप हो । यसले वैश्चिक चेतनाको परम्परागत शैलीलाई पूर्णरूपमा भत्काएर वननिर्माणको घोष गर्दछ ।

नेपाली भाषाको सरल सल्बलाहटबाट उच्चतम् ज्ञान र चिन्तनका लागि विमर्शको तक्षशिला निर्माण गर्न सक्ने ल्याकत आर्जन गरेका डा. लम्सालले कल्पमार्फत महाकाव्यको शास्त्रीय मान्यतालाई समेत चुनौति दिए । कल्पले महाकाव्यलाई अलंकारिक वा शास्त्रीय संरचनामा सीमित नगरी, समकालीन चेतना, अन्तर्राष्ट्रिय द्वन्द्व, मानवीय भट्काव र अस्तित्वको गहिरो प्रश्नसम्म पुर्‍याउने साहस गरेको छ । कर्ण, धरा र अग्नि पठनले मलाई महाकाव्य यसरी पनि लेख्न सकिन्छ ? भनेर सोँच्न बाध्य बनाएको थियो । त्यसअघि जनताको भाषामा जनताको मुद्धालाई महाकाव्यजस्तो शास्त्रीय विधामा समेट्न सकिने विस्वास थिएन । लम्सालका अघिल्ला महाकाव्यहरू क्रमशः मिथकीय पात्र, पृथ्वीको अस्तित्व र ऊर्जाको प्रतीकात्मकताको फराकिलो बाटो निर्माण गरेर आएका थिए । तर कल्पमा प्रवेश गर्दा कवि अझ वैश्विक बनेर प्रकट भएका छन् । यो काव्य नेपाली भाषामा उल्लेखित भएपनि हिमखण्डको भूगोलमा मात्र अडिएको छैन; यसले मानव सभ्यता, चेतना र विचलनको अन्तर्राष्ट्रिय स्वरलाई ज्वाजल्यमान तुल्याउने साहसका साथ ध्वनित भएको छ ।

दार्शनिक दृष्टिले यो महाकाव्यले मानिसको अस्थिर भाव, भौतिक र आध्यात्मिक तनाव र इतिहासको उथलपुथललाई बेजोड रूपमा व्यक्त गरेको छ । कल्प सृजनात्मक समयको सौन्दर्य, मानसिक रूपान्तरणको विश्वव्यापी स्वरूप र वैदिक कल्पनाको बृहत् व्याख्याको रूपक भएर उतारिएको छ । महाकाव्यले संकेत गरेको छ कि सभ्यताको जीवन–यात्रा निरन्तर कल्प–परिवर्तनमा छ; हरेक युग नयाँ अर्थ र नयाँ संकटसँग आउँछ । शायद मैले कमजोर बुझेको पनि हुन सक्छु ।

तर समीक्षात्मक प्रश्नहरू निर्माण नभएका होइनन् – के कल्पले दार्शनिक विचारलाई पर्याप्त कलात्मक संवेदना र काव्यगत लयमा बाँध्न सकेको छ ? भाषिक प्रवाहभन्दा वैचारिक बोझ बढी महसूस हुदैन ? यसले महाकाव्यलाई काव्यात्मक भन्दा दार्शनिक ग्रन्थ झैँ पार्ने जोखिम बोकेको छैन र ?

र पनि यही जोखिम डा. लम्सालको मौलिकता पनि हो भन्न संकोच मान्नुपर्दैन । उनी परम्परागत महाकाव्यलाई काव्यिक चिन्तन–ग्रन्थमा रूपान्तरण गर्न खोज्छन् भन्ने हाकाहाकी थाहा छ । कल्प प्रश्नहरूको महाकाव्य हो, उत्तरको होइन । यसले हामीलाई यो समयको बेचैनी, मानिसको अन्तर्यात्रा र सभ्यताको अनिश्चित दिशाबारे सोच्न बाध्य बनाउँछ ।

लम्सालले नेपाली महाकाव्य परम्परामा नयाँ द्वार खोलेको लामो समय भैसकेको छ तर उनलाई उनकै शैलीमा पछ्याउने अनुयायीको अभाव छ । यो पटक झन् लम्सालले एक्लो वृहस्पति बन्ने जोखिम मोल्न पुगे । किनकि कल्प महाकाव्य नेपाली महाकाव्य–परम्पराको निरन्तरता मात्र होइन, चुनौतीपूर्ण विस्तार पनि हो ।

कल्पलाई केलाउन असम्भव प्रायः छ, र पनि उपशीर्षकमा बिला लगाएर बहसको बाटो निर्माण गरौँ :

ऐतिहासिकसन्दर्भीय आधार :

कल्पलाई बुझ्न नेपाली महाकाव्यको परम्परा र यसले भोगेको रूपान्तरणलाई सम्झनुपर्छ । नेपाली साहित्यमा महाकाव्य विधा लामो समयसम्म परम्परागत संरचना, पौराणिक आख्यान र शास्त्रीय छन्दमा सीमित रहन पुग्यो । मुलतः सिमित धर्मग्रन्थको स्वरूपमा यसले आफूलाई बाध्न पुगेका कारण लेख्य सन्दर्भमा विराट विकास हुन पाएन । लक्ष्मीप्रसाद देवकोटाको शकुन्तला (वि.स. २००२) ले यसलाई उच्च कलात्मकता र आधुनिक भाषाशैलीतर्फ मोडिदियो ।

नेपाली महाकाव्य रचनाका मुलतः तीन प्रवृतिहरू देखिन्छन्; प्रथम, हिन्दू धर्मग्रन्थ, पुराण र महाभारत–रामायण आदिको आख्यानलाई आधार बनाएर निर्माण गरिएका पौराणिक वा परम्परागत प्रवृत्तिका महाकाव्यहरू । द्वितीय, नेपालको ऐतिहासिक व्यक्तित्व, वीरता र राष्ट्रियताको भावना प्रकट गरेर रचना गरिएका ऐतिहासिक वा राष्ट्रिय प्रवृत्तिका महाकाव्यहरू र तृतीय प्रवृतिमा पौराणिक आख्यानभन्दा बढी समकालीन समाज, मानव जीवनका समस्याहरू र यथार्थपरक अनुभवहरूको आधारमा रचना गरिएका महाकाव्य जसलाई आधुनिक वा सामाजिक–यथार्थवादी प्रवृत्ति भन्न सकिएला ।

समकालीन समयमा लेखिएका कतिपय महाकाव्यहरूले सामाजिक चेतना, व्यक्तिगत भोगाइ र राष्ट्रिय संकटलाई काव्यिक बृहत् संरचनामा ढाल्ने प्रयास गरे । डा. लम्सालका अघिल्ला तीन महाकाव्यहरू कर्ण, धरा र अग्नि पनि क्रमशः मिथकीय चरित्र, भौतिक अस्तित्व र ऊर्जा–तत्त्वलाई प्रतीकात्मक आधार बनाएर उभिएका छन् । यी सबैमा कविको चेतना समयसँगै विस्तार हुँदै गएको देखिन्छ । डा. लम्सालका महाकाव्यको आधारभूमि मूलतः दार्शनिक चिन्तन, मानव पीडा, प्रेम, युद्धको पीडा, सामाजिक रूपान्तरण आदि यसमा प्रमुख हुन् ।

कल्पसम्म आइपुग्दा कविले नेपाली महाकाव्यलाई अझ ठूलो ऐतिहासिक र दार्शनिक वृत्तमा राखेका छन् । यसले नेपाली साहित्य मात्र होइन, मानव सभ्यताको सम्पूर्ण विचलन, असन्तुलन र अस्तित्व–प्रश्नलाई समेट्छ । कल्प नेपाली महाकाव्य परम्पराको निरन्तरता मात्र नभएर रूपान्तरणको निर्णायक चरण पनि हो ।

छन्

यसै धर्तीमा छन्

व्यास पनि छन्, कालिदास पनि छन्

होमर पनि छन्, बाल्मीकि पनि छन्

शङ्कराचार्य पनि छन्, विवेकानन्द पनि छन्

गार्गी पनि छन्, मैत्रेयी पनि छन्

अरस्तु पनि छन्, प्लेटो पनि छन्

मार्क्स पनि छन्, कन्फुसियस पनि छन्

तर कहाँ छन् जस्तो !

छँदै छैनन् कि जस्तो ! (चिन्ता, शब्द, ९)

महत्त्वपूर्ण निष्कर्ष के हो भने, कल्पले नेपाली महाकाव्यलाई परम्परागत बाटोबाट निकालेर अन्तर्राष्ट्रिय विमर्शतर्फ लैजान खोजेको छ । तर महाकाव्यको मौलिक ऐतिहासिकता तथा सांस्कृतिक शैली लोप हुन खोजेको छ । यही द्वन्द्व कल्प महाकाव्यको ऐतिहासिक महत्त्व र आलोचनात्मक चुनौती हो ।

संरचनात्मक विश्लेषण

कल्पको ३ खण्ड, ११ उपशीर्षक र ४१ सर्गमा सम्पूर्ण संरचना निर्माण गरिएको छ । महाकाव्यको यही संरचनाले कविको दार्शनिक दृष्टि र कलात्मक रणनीतिलाई उजागर गर्छ । परम्परागत महाकाव्यहरू प्रायः एकीकृत आख्यान, पात्र र घटनामा केन्द्रित भएजस्तो लाग्थे । तर कल्पमा कथात्मक निरन्तरता भन्दा पनि विचार–निर्माणात्मक संरचना बढी छ । जहाँ प्रत्येक खण्ड, उपशीर्षक र सर्गलाई स्वतन्त्र चिन्तन कक्ष झैँ निर्माण गरिएको छ ।

कल्प शब्दलाई डा. लम्सालले वेदाङ्गको एक अंगको रूपमा अंगिकार मात्र गरेका छैनन् । ज्ञान परम्पराको एउटा स्वरूप कल्पलाई पृथिवीको संरक्षणमो उदेश्यसँग जोडेका छन् । समयको एउटा महालम्बाईलाई मानिसको चैतन्य प्राप्तिको मार्गमा समाहित गरेका छन् । चिन्ता, चिन्तन र चैतन्य गरी तीन खण्डले पञ्चमहाभूत, पञ्चतन्मात्रा, मानवीय कर्म, अकर्म र दुष्कर्मलाई व्याख्या गरेको छ ।

पहिलो खण्डले सभ्यताको विगत र मानिसको मिथकीय यात्रासँग सम्बन्ध राख्छ । यसमा पौराणिक स्मृति, वैदिक कल्पना र मानवीय उत्पत्तिको कथा मिसिएको देखिन्छ । दोस्रो खण्डमा मन, बुद्धि, चित्त र अहङ्कारले आधुनिक विश्व, वैज्ञानिक प्रगति, युद्ध, राजनीतिक असन्तुलन र मानिसको भट्किएको चेतनालाई आलोचनात्मक रूपमा उभ्याइएको छ । तेस्रो खण्डमा परा र अपराले भने उत्तर–खोजी, शान्ति–आकांक्षा र भावी सभ्यताको सम्भाव्य दिशालाई संकेत गरेको देखिन्छ ।

महाकाव्यको संरचना साहित्यिक अलंकार होइन; यो कविको दार्शनिक परियोजना वा फ्रेमवर्क हो विगत, वर्तमान र भविष्यलाई एकीकृत त्रिकोणमा बाँध्न डा. लम्सालले वैदिक काव्यसंरचनाका विविध स्वरूपहरू सापटी मागेका छन् । समीक्षात्मक दृष्टिले हेर्दा कतिपय सर्गहरूमा विचारहरूको घनत्व अत्यधिक छ । पाठकले काव्यिक प्रवाहभन्दा पनि दार्शनिक निबन्धको बोझ महसुस गर्ने अवस्था सिर्जना नहोला भन्न सकिन्न । फेरी पनि यही असामान्य संरचना कल्पको विशेषता पनि हो । यसको प्रभावकारिता पाठकको सहनशीलता र बौद्धिक तयारीमा निर्भर रहन पुग्छ ।

भाषा शैली अध्ययन

डा. नवराज लम्सालका महाकाव्यहरू भाषा सतहमा सरल देखिए पनि गहिराइमा पुग्दा जटिल अर्थ–संरचना बोकेका हुन्छन् । शास्त्रीय छन्द परम्परा र साहित्य लेखन, वैदिक पात्र र चेतना हुँदै आधुनिक नवीन लेख्य परम्परामा डा. लम्साल एकाग्र छन्, लीन छन् । कविले कल्प महाकाव्यमा पनि शास्त्रीय संस्कृत छन्द वा पुरानो अलंकारिक परम्परामा अडिनुभन्दा, सुलभ नेपाली भाषालाई नै माध्यम बनाएर गम्भीर दर्शन प्रस्तुत गर्ने कोशिश गरेका छन् ।

प्रत्येक पहाडलाई अग्लो छु भन्ने लागिरहन्छ

तर आफ्नै छातीको ढुङ्गा खस्न चालेपछि

कुनै पहाड पहाड बाँकी रहन्न ! (चिन्ता, गन्ध, ५)

यसले कल्पलाई आमपाठकले पढ्न सक्ने सहजता दिन्छ, तर सोही भाषाभित्र विचारको गहिराइले बौद्धिक पाठकलाई पनि चुनौती दिन्छ । सभ्यता, समय, युद्ध, प्रकृति र चेतनालाई रूपकका रूपमा प्रयोग गरिएको छ । कल्प शब्द आफैं पनि समय, रूपान्तरण र सिर्जनाको प्रतीक बनेर सम्पूर्ण काव्यलाई बाँध्ने केन्द्रीय रूपक भएर आएको छ । अर्को दार्शनिक गहनताको विषय हो । कविले भाषालाई सौन्दर्य प्रकट गर्ने साधन मात्र नबनाएर प्रश्न उठाउने उपकरण बनाइदिएका छन् । यसैले कतिपय पंक्तिहरू कविताभन्दा बढी दार्शनिक सूत्रझैँ लाग्न सक्ने देखिन्छ ।

यसले काव्यमा अपेक्षित लयात्मकता र संगीतात्मक गुण कमजोर पार्छ भन्न सकिएला तर यसले नेपाली महाकाव्यलाई भाषिक–शैलीगत रूपमा नयाँ बाटो देखाएको छ । कविता गायन मात्र होइन, यो चिन्तन पनि हो । कल्पको भाषा र शैलीले परम्परागत सौन्दर्यलाई चुनौति दिँदै आधुनिक दार्शनिक विमर्शमा प्रवेश गरेको छ, जुन नेपाली काव्य यात्राका लागि सुखद्, चुनौतीपूर्ण र महत्त्वपूर्ण मोड हो ।

दार्शनिक तह

कल्प महाकाव्य दर्शनसँगको गहिरो संवाद हो । यसको मूल स्वर मानव सभ्यताको अस्तित्वगत प्रश्न, चेतनाको अनिश्चितता र समयको निरन्तर रूपान्तरणबारे गहन रूपमा बहस गर्न खोजेको छ । तमाम प्रश्नहरूको धाराप्रवाह हो ।

दार्शनिक दृष्टिबाट यसले वैश्विक स्तरमा प्रमुख तीन दार्शनिक धारासँग वात मार्न खोजेको देखिन्छ । पहिलो, पूर्वीय वेदान्तीय चिन्तनलाई सतहमा ल्याउनु हो । कल्प शब्द आफैं वेद–पौराणीक समय–चक्र र सृष्टि–संहारको प्रतीक हो । काव्यले मानिसको जीवनलाई जन्म–मृत्यु, सिर्जना–विनाश र युग–परिवर्तनको अनन्त चक्रमा राख्छ । यस अर्थमा, कल्प पूर्वीय आध्यात्मिक दृष्टिकोणसँग गाँसिएको छ । दोस्रो, अस्तित्ववादी चिन्ताले ग्रस्त महाकाव्य हो कल्प । सात्र्रले आफ्नो कोर्षमा युरोपेली अस्तित्ववादले व्यक्तिको स्वतन्त्रता, चिन्ता र निरर्थकताको प्रश्नलाई केन्द्रमा राख्छ भनेका छन् । कल्प पनि आधुनिक सभ्यताको अस्थिरता, युद्ध, उपभोगवादी जीवनशैली र मानव एकाकीपनलाई चित्रित गर्दै अस्तित्ववादी बेचैनीसँग विरह गाउन पुगेको छ । र तेस्रो मैले भन्छु, द्वन्द्वात्मक भौतिकवादलाई यहाँ किन नजोड्ने ? सभ्यताको इतिहास निरन्तर द्वन्द्व र संघर्षबाट अगाडि बढ्छ भन्ने मार्क्सवादी दृष्टि कल्पमा स्पष्ट छैन भनेर कसले भन्छ ? यहाँ युद्ध, शक्ति–संघर्ष, आर्थिक असमानता र सामाजिक असन्तुलनलाई सभ्यताको गतिशील तर हिंसात्मक आधारका रूपमा चित्रण गरिएको छ ।

मृत्युको पाठशालामा

मृत्यु पनि छ, जीवन पनि छ

मृत्युसँग नजिस्क

मृत्युलाई नजिस्काउ !

र मान्छे हो

ऋकाल मृत्युका लागि मृत्यु नडाक ! (चैतन्य, अपरा)

कल्पले पूर्वीय आध्यात्मिकता, पश्चिमी अस्तित्ववाद र द्वन्द्वात्मक भौतिकवादलाई एउटै काव्य–संरचनामा संवाद गराउँछ । विचारहरूको भिडन्त जस्तो पनि लाग्ने यो महाकाव्यले दार्शनिक गहिराइ त छुन्छ, तर पढ्ने क्रममा एकरूपता सिर्जना गरेको अनुभव हुन्छ ।

अन्तर्राष्ट्रिय दृष्टिकोण

कल्प नेपाली साहित्यको सीमित भूगोलभित्र मात्र सीमित छैन; यसले निर्माण गर्न खोजेको बहस र त्यसको परिधि नेपाली भाषा, साहित्य र जनजीवनसँग मात्र सम्भव छैन, यसले अन्तर्राष्ट्रिय चेतना र सभ्यताको साझा समस्याहरूसँग प्रत्यक्ष संवाद गर्ने भएकाले वैश्चिक व्यवस्थापनबाट अवधारणा निर्माण गर्न जरुरी छ  ।

महाकाव्यको मूल स्वर मानव सभ्यताको संकट हो । त्यसले निर्माण गरेको व्यापक असन्तुलन हो, र हो भविष्य अनिश्चय धराप । जुन मुद्धाहरू आजको विश्वका हरेक समाजले भोगिरहेको छ ।

मलाई यतिबेला टी.एस. इलियटको द वेस्ट ल्याण्डको स्मरण भइरहेको छ । युद्धपश्चात् सभ्यताको विखण्डन र आध्यात्मिक रिक्तताको भावलाई कल्पमा नयाँ स्वरूपमा सान्दर्भिक बनाइएको छ र झन प्रतिध्वनित गराइएको छ । इलियटले देखाएको वेस्ट ल्याण्डजस्तै लम्सालले आधुनिक सभ्यतालाई आत्मीक दिशाविहीन भ्रमले भरिएको भूमिको रूपमा चित्रित गरेका छन् ।

यस्तै, पाब्लो नेरुदाको क्यान्टो जनरलले पनि ल्याटिन अमेरिकाको इतिहासलाई कवितामार्फत सार्वभौम स्वर दिन खोजेको जस्तै कल्प महाकाव्यले दक्षिण एसियाली समाजको अनेक मिथक र नेपाली अनुभवलाई आधार बनाएर विश्व सभ्यताको साझा घाउको विषयमा प्रश्न उजागर गरेको छ । लगभग १५ हजार भन्दा बढी पद्यहरू भएको क्यान्टो जनरलले लाटिन अमेरिकाको सम्पूर्ण भूगोल, इतिहास, संस्कृति, उपनिवेशवाद, प्रतिरोध, क्रान्ति र जनताको संघर्षलाई चित्रण गरेको छ । यसरी कल्पले स्थानीय र वैश्विक आवाजलाई मिश्रित गर्ने काव्य–रणनीति अवलम्बन गरेको देखिन्छ ।

लाशैलाशको खप्पर फुकेर

युक्रेन र रुसले बजाएको उत्तरआधुनिक युद्ध आर्तनाद

सीमानाको धुन हो कि मान्छे ? (चिन्ता, शब्द १)

यसले वैश्विक संकट र दार्शनिक प्रश्नलाई केन्द्रमा राख्दा, कतिपय ठाउँमा नेपाली माटोको गन्ध र सांस्कृतिक आत्मीयता पातलो भएको देखिन सक्छ । कवि अन्तर्राष्ट्रिय विमर्श, प्रश्न र दर्शनमा गहिरिए जाँदा कहिलेकाहीँ स्थानीय रंग, प्रतीक र मिथकहरू हराए कि भन्न सकिन्छ । तर कल्पले नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय साहित्यिक परम्परासँग जोड्दै नेपाली महाकाव्य पनि वैश्विक चेतनाको हिस्सा बन्न सक्छ भन्ने प्रमाणित गरेको छ ।

र, निष्कर्षमा

डा. नवराज लम्सालको कल्प प्रशंसा र प्रयोगको लागि मात्र बनेको महाकाव्य होइन, यो आलोचनात्मक दृष्टिले पनि गहिरो विश्लेषणको योग्य छ । महाकाव्यमाथि गम्भीर रूपमा अध्ययन गरिरहेका अध्ययताहरूले यसलाई कुन सङ्केत गर्छन्, त्यो हेर्न बाँकी छ, तर यसलाई परम्परागत ढाँचा र शैलीमा हेरेर यसको महत्त्व पर्गेल्न सकिँदैन । यस महाकाव्यले उठाएका प्रश्न, प्रयोग गरिएको संरचना र भाषा र दार्शनिक गहिराइले पाठकमा मिश्रित प्रभाव उत्पन्न भने जरुर गर्नेछ । किनकि यसले नेपाली महाकाव्यलाई परम्परागत मान्यतालाई भत्काएर नयाँ प्रयोग, दार्शनिक गहिराइ र वैश्विक विमर्शमा प्रवेश गराएको छ । यसको गहनता र प्रयोगात्मक संरचनाले कतिपय पाठकलाई चुनौती दिने भएकाले यो महाकाव्य केवल प्रशंसनीय मात्र नभई बहुपरत आलोचनात्मक विश्लेषणको लागि पनि उपयुक्त छ भनिएको हो ।

डा. नवराज लम्साल र उनको कल्प नेपाली महाकाव्य परम्पराको एक निर्णायक मोडमा उभिएको छ । यसले कथा वा अलंकार प्रस्तुत गर्ने काम मात्र गरेको छैन; यो मानवीय चेतना, सभ्यताको द्वन्द्व र समयको निरन्तर रूपान्तरणलाई दार्शनिक र वैश्विक दृष्टिले उद्घाटित गर्ने साहस गरेको छ ।

महाकाव्य एउटा लामो काव्यात्मक रचना हो । यसले कथा, पात्र, युद्ध, प्रकृति र मानवीय मूल्यहरूलाई उच्च भाषाशैली र अलंकारपूर्ण प्रस्तुति दिन्छ । साहसिक कर्म, महान् व्यक्तित्व र राष्ट्र वा समाजसँग सम्बन्धित महत्त्वपूर्ण घटनाहरूलाई वर्णन गर्दछ । आधुनिक महाकाव्य युद्ध वा मिथकको कथाबाट उठेर यो समय, मानव चेतना, संघर्ष र सभ्यताको दार्शनिक तथा प्रतीकात्मक प्रस्तुतिमा समाहित हुन आइपुगेको छ, तर यसको अभिभारा डा. लम्सालले बोकेर हिँडेका छन् ।