केही लेख्नु थियो, लेखूँ भन्दै थिएँ । आज केही लेख्छु,  अब लेख्छु,  आनन्दले लेख्छु तर यसरी लेख्न प्रेरित गर्नेहरूलाई सम्झेर लेख्छु । मेरो लेख्ने विषय पूर्वको यात्रा र त्यहाँ उठेका प्रश्नहरू हुन् । अनुभूति वा अन्तरङ्गका धेरै कुरा छन् मसँग तर आज लेख्नुअघि सुनसरीको इटहरी,  मोरङको विराटचोक,  ताप्लेजुङको फुङलिङ बजार र खोटाङको दिक्तेलमा कही साथीहरूले सोधेका प्रश्नहरूको सूची तयार पारेपछि मात्रै केही बोल्छु ।

ती प्रत्येक प्रश्नहरू आफैँमा बहसको एउटा एउटा महत्वपूर्ण विषय हुन् । धेरै बोल्यौँ हामीले राजधानीबाट र बाहिर गएर पनि तत्तत् क्षेत्रका स्रष्टालाई सुन्नुअघि आफैँ हावी भयौँ, आफैँले धेरै बोल्यौँ शायद । आज म एउटा कविलाई सार्वजनिक रूपमा सोधिएका केही प्रश्नहरू उठाउन चाहन्छु । कतिको उत्तर छ, कतिको छैन होला शायद् । कति उत्तर दिन उपयुक्त होला कतिको  जरुरी नहोला पनि । आफूसँग सम्बन्धित कुरा आफूले भन्नु राम्रो तर एकै प्रश्नमा फरक फरक व्यक्तिबाट फरकफरक उत्तर आउन पनि सक्छ ।

मलाई लाग्छ प्रश्न मात्र जीवित सत्य हो । उत्तर सापेक्षित हुन्छ । समयअनुरूप उत्तर मर्दै जान्छ तर प्रश्न बाँचिरहन्छ । बाँचिरहने प्रश्न र प्रश्नसत्तामाथि मेरो ठूलो विश्वास छ ।

सबैभन्दा पहिले म आफैँलाई मञ्चमा उभ्याएर मेरा सुधीजनले इटहरी सुनसरीको एक भव्य हलमा मलाई नै सोधेका प्रश्नहरू हेरौँ ।

१. प्रा. गुणराज नेपाल : लेख्ने बेला बौद्धिकता र कवि अनुभूतिको संयोजन कसरी हुन्छ ?

२. प्रा. वद्री विशाल पोखरेल : स्रष्टाहरूबाट विकृतिमाथि सशक्त हस्तक्षेप किन हुन नसकेको ?

३. श्रीप्रसाद पोखरेल : लेखनमा सुन्दरता र तथ्यबीच कति फरक छ ?

५. युवराज काफ्ले : यति मीठो भाषिक सामर्थ्य हुने नवराज लम्साल किन उपन्यास लेख्दैन ?

६. उमेश भण्डारी : नवराज लम्सालको पुस्तापछि मानक रेडियोकर्मी जन्मन्छ कि जन्मन्न ?

७. डिसी चौधरी : देशको बहुलता र आजको साहित्यबीच कत्तिको तादात्म्य छ ?

८. माधव न्यौपाने : गैरसाहित्यिक दुनियाँलाई साहित्यकारले कसरी हेर्छ ?

९. चेतन धमला : कवि नवराज सञ्चारमा हावी छ कि सञ्चारकर्मी नवराज कवितामा ?

१०. केशव भट्टराई : स्कुल तहका भाइबहिनीलाई स्तरीय लेखनतर्फ कसरी आकर्षित गर्ने ?

रोटरी क्लब अफ इटहरीले आयोजना गरेको कार्यक्रमका सहभागीहरूले उठाएका यी प्रश्नहरू कति मैसँग सम्बन्धितजस्ता छन्, कति साहित्य र सञ्चारका मूल प्रवाहकै मूल भँगालो जस्ता छन् । यी प्रत्येकका उत्तर एक एक आलेख हुन सक्छन् । अब विराटचोकमा उठेका प्रश्नहरू पनि भेला गरौँ ।

१. जीवन कुमार राई : साहित्यकारहरू नयाँ पुस्तालाई कस्तो जीवन र कस्तो देश सिकाउँदै छन् ?

२. दुर्गा खरेल : गद्य, पद्य र गीत सबै लेख्नेको मूल परिचय कवि, गीतकार मात्रै कि अरू पनि छ ?

३. ज्ञाननाथ ढकाल : आजको साहित्यले नयाँ पुस्तालाई कस्तो संस्कार सिकाउँदै छ ?

४. टंक दाहाल : अग्नि महाकाव्य विषय विद्रोह, काव्यिक प्रयोग वा लेखनको नयाँ स्वरूप, के हो ?

५. खेमचन्द्र अधिकारी : एउटा अन्तरवार्तामा दुई घन्टा सुतेँ भन्नुहुन्थ्यो । निर्देशक तहको जागिर ५ वर्ष बाँकी हुँदै छोड्नु भयो । पुरानो निद्रा पुर्याउन कि नयाँ केही लेख्न ?

६. छवि वैरागी घिमिरे : तपाईँमा छन्दको बेजोड प्रवाह छ । धराको पहिलो सर्ग, अग्निको अन्तिम सर्ग लेखेझैँ नवराज लम्सालले पद्यमा दमदार महाकाव्य लेख्छ कि लेख्दैन ?

७. केपी घिमिरे : २०५२, ५३ तिरै रामकृष्ण ढकालको स्वरमा रहेको मलाई सुख चाहिँदैन सुख भन्या छोटो हुन्छ भन्ने गीतको भाव कसरी आयो ? कसरी आयो त्यो दार्शनिकता ?

८. पुरन राई : ६० कटेपछि बल्ल जीवन बुझेँ । तपाईँको भनाइमा जीवन रहस्य रहेछ, म समस्या ठानिरहेको थिएँ । अब यो रहस्यको खोज कसरी गरूँ ?

९. गीताप्रसाद श्रेष्ठ : बहुलता, परिवर्तन र रूपान्तरण छोडेर जे पायो त्यही लेख्दै हिँड्नेलाई तपाईँको भन्नु के छ ?

१०. वृषिका राई : साहित्यमा जातीय संवेदना र मानव मूल्यलाई कसरी उठाइएको छ अचेल ? तपाईँ आफ्नै मूल्यांकन कसरी गर्नुहुन्छ ?

सुन्दर हरैँचा विराटचोकमा साँझ उपस्थित सुधीजन सज्जनमध्ये केहीले सोधेका केही प्रश्न हुन् यी । त्यसो त विराटचोकमा नझरेका फूलहरूको ब्यानरमा भएको यो कार्यक्रम पहिलो भने होइन । देशका बडेबडे कवि, कलाकारलाई विराटचोक झारेर केपी घिमिरे र छवि वैरागी घिमिरेहरू यस्ता बहस चलाइरहन्छन् । यस पटक कठघरामा म पुगेँ ।

धेरै भएको थियो पूर्वतिर यसरी बहसको निम्तो आएको । यस पटक धेरै साथीहरू भेट्ने र बहसमा सरिक हुने मौका मिल्यो । ‘नवराज लम्साललाई सुनौँ’ भन्ने नारा बनाएर गरिएको यो आमन्त्रण मेरा लागि निकै गहिरो अर्थ बोकेर आएको थियो ।

विराटनगर एअरपोर्ट झर्दा नझर्दै केशव भट्टराई र चेतन धमलाले भनेका थिए, आज भीड जम्मा हुने छैन तर एकएक व्यक्ति एकएक आमसभाजस्ता हुनेछन् । कार्यक्रम सकेर सँगै डिनर खानेछौँ । २७ वर्ष भयो इटहरीमा रोटरी स्थापना भएको । धेरै कार्यक्रम गरिए तर आज तपाईँमात्रै बोल्नुहुन्छ । हामी सुन्छौ मात्रै र प्रश्न गर्छौँ । मैले भने, म त इटहरी सुन्छु । केशवले भने, दाइ कार्यक्रमको उद्देश्य नै ‘नवराज लम्साललाई सुनौँ’ भन्ने हो । म हाँसेँ मात्रै ।

माथिका प्रश्नहरूको उत्तर खोज्नु भएको होला, पर्खनुस् । धेरै बोल्यौँ हामीले । अब पाठकका कुरा सुनौँ । पाठककै प्रश्न र संवेदनासहित राष्ट्रिय दायित्वबोध गरेर लेखूँ पनि र बोलूँ पनि ।

माथिका दुई कार्यक्रमका बीचमा केही दिनको अन्तर छ । भूगोल नजिकै छ । जिल्लामात्र मोरङ र सुनसरी । पूर्व त्यसै पूर्व होइन । शिक्षामा पूर्व । राजनीतिमा पूर्व । साहित्यमा पूर्व । सञ्चारमा पूर्व । उद्योगधन्दामा पूर्व । व्यापार व्यवसायमा पूर्व । तर अपूर्व हुने एउटा काम भने बाँकी छ । पौरखजस्तो पुस्तक लेखेका चेतनले पौरखका ती सबै जीवन्त पात्र भेला पारेर जीवन्त साहित्यमा तिनको योगदान के भनेर व्याख्या किन नगराएको होला ? तिनलाई भेला पारेर कुनै प्रतिष्ठित गायकबाट जीवनको गीत गाउन किन नलगाएको होला ? रोटरीबाट मन्थन र चिन्तन शृङ्खला शुरू भएको छ, शायद त्यो काम पनि होला भनूँ । नभए केपी र चेतन मिलेर नयाँ केही त गर्लान् कि ? यसो पनि भनूँ, यसरी पनि सोचूँ ।

* * * *

म ताप्लेजुङ पुगेँ । पाथीभरा पनि पुगेँ । वाह ! पाथीभरा ! वाह !  हिमयात्रा !  जीवनको एउटा रोमाञ्चक यात्रा सकेर फुङलिङ बजार फर्केँ । फर्केको सुइँको पाएपछि पत्रकार बहिनी माला पालुङ्वाले केही साथीहरूलाई खबर गरिछिन् र मीठो भेट जु¥यो । त्यो अनौपचारिक तर पुरै साहित्य र सञ्चारको बहस । शिक्षा, सञ्चार र साहित्य । तरूण भारती, कृष्ण पुरूम्बा, गणेश सिग्देल, सन्तोष पुर्कुटी र राजन गौतमहरूका प्रश्नहरू पनि उस्तै थिए, इटहरीका जस्तै, विराटचोकका जस्तै र अझ केही फरक पनि । प्रश्न व्यक्तिगत नाममा एक्लै र एउटै थिएन । सामुहिकजस्तो ! समग्रताको खोजीजस्तो । यस्ता थिए, बहसका विषय ।

१. विद्युतीय सञ्चार माध्यम र साहित्य

२. पत्रकार र साहित्यकार बीचको अन्तर सम्बन्ध

५. आजको स्कुले पुस्ता, नयाँ लेखक र स्थापित साहित्यकारहरूको पुस्तान्तरण

६. दुर्गमका स्रष्टा, सिर्जना, संवेदना र राजधानीको चेतना ।

७. अर्को अग्नि कहिले आउँछ ?

८. कर्ण, धरा र अग्निमध्ये कुन प्रिय ?

९. नयाँ लेखकले राष्ट्रिय पहिचान बनाउन कति कठिन छ ?

१०. लेखकहरूको जीवन लेखेजस्तै आदर्श किन देखिँदैन ?

यी प्रश्नहरू केवल प्रश्नमात्रै होइनन् कि ? प्रश्न गर्नेहरू पत्रकार पनि हुन् । पत्रकारका नेता पनि हुन् । शिक्षा र राजनीतिमा पनि यिनीहरूको योगदान छ । यिनलाई भन्नका लागि भनिने उत्तरले केही छुन्न । प्रेमपूर्वक बहस चले । धेरै उत्तर त मैले हाँसोमा मिसाएर सहज रूपमा सहजीकरण गरिदिएँ ।

लेख्नुको सार लेखिनुको अर्थमा निर्भर गर्दछ । लेख्ने प्रत्येकले लेखाइमै आफूलाई खोज्ने हो । कसैको आदेश वा उपदेश लेखनको विषय हुनसक्तैन । बाँचेको समय र समयको संवेदनामा वाणी भरिन्न भने लेख्नुको पनि अर्थ छैन । विचारको विचार, समयको समय र जीवनको जीवन हो साहित्य । तर हामी स्वत्वको उचाइमा छौँ कि कुनै आदेश वा विचारको सीमामा छौँ ? लेखनको वैचारिकी कति गहिरो छ ? लेखक कति दृढ छ विषय प्रतिपादन र समय उत्खननप्रति ? लेखक कति जिम्मेवार छ लेखनप्रति र मान्छेप्रति ? मान्छेभन्दा माथि मान्छे मात्रै छ । मान्छेको परिचय मान्छे मात्रै हो र मान्छेको सीमाभन्दा बाहिर सृष्टिको कुनै हिस्सा छैन ।

यो लोकबाहेक अन्यत्र पनि लोक छ । अन्यत्र पनि अस्तित्व छ । यो हिजैदेखिको निरन्तरता हो । चिन्तनको एक पाटो हो । यसलाई मैले अस्तित्वको स्वीकारोक्तिको रूपमा लिएको छु । अन्तरविरोध र असमर्थनका बीच पनि अस्तित्वको स्वीकारोक्ति जीवनको सत्य हो । विभाजन र एकलवाद होइन, प्रेम र बहुलता जीवनको पनि र साहित्यको पनि पहिलो शर्त हो ।

म लेख्दा लेख्दै अलि पर त पुगिनँ ? कुरो त छलिएन ? पख्नुस् । कुरा धेरै छन् र जीवन पनि धेरै बाँकी छ । जीवन छ्याङ्ग भएन भने लेखनमा कब्जियत हुन्छ ।

ताप्लेजुङमा तोङ्वा खाने मेसो नपरे पनि कफी कम्ता मिठो थिएन । प्रेमको रस सबैभन्दा उत्तम । कफीसँग प्रेम थियो वा कफी खाने समयसँग । चिसो चिसो साँझ र अस्ताउँदो घाम । छोटो समय, थोरै साथी तर गहिरो अन्तरङ्ग । एउटा समूह निस्कियो, अनि अर्को । त्यो निस्कियो, अनि अर्को । लगातार लगातार कति मजा भेट । राती अबेरसम्म पनि हामी गफिँदै थियौँ । मालासहितको टिमले भने : दाइ रेडियो नेपाल किन छोड्यौ ? उनीहरूले उत्तर मागिरहे, दिइरहेँ पनि तर उत्तरले कोही सन्तुष्ट भएनन् । ३ महाकाव्यसहित ८ पुस्तक लेख्न, बीबीसीमा काम गर्न समय पुग्ने तर अहिले नयाँ पुस्तक लेख्न समय नपुग्ने कसरी हुन्छ ? मलाई प्रश्नले घाँटी नै समाएझैँ लाग्यो । प्रेमले भनेँ, अग्नि लेख्न बीस वर्ष लाग्यो । अब अर्को महाकाव्य लेख्न बीस वर्ष कुर्ने समय मसँग छैन । चाँडै सक्नु छ र बजारमा आउनु छ अग्नि नै जस्तो भएर । उनीहरू बल्ल चुप लागे । म हलुका भएँ ।

* * * *

यात्रा रहेछ जिन्दगी । यात्रा हलेसी पुग्यो, म खोटाङ पुगेँ । हलेसीमा चुप बस्ने । मौन बस्ने । मन्दिर दर्शन गर्ने । गुम्वा छेउमा बसेर लामा गुरूका मीठा गायन सुन्ने र फर्कने तयारीमा थिएँ । सिन्धुलीको कुनै अपरिचित भाइ त्यहाँ होटल गर्दा रहेछन् । निकै भोकाएर त्यहाँ पसेको मात्र के थिएँ, उनले भने दाइ नमस्ते । अचेल सुरसंगम नसुनेको कति भयो, भयो । मधुवन बन्द भएपछि त मैले रेडियो सुन्नै छोडेँ । यो त प्रेम हो ती भाइको तर पत्याइन भन्न मिलेन, भन्न सकिनँ । कुरा मोडेर भनेँ : भाइ सुखा रोटी खान पाइन्छ ? ऊ अलमलियो । म आफैँले कुरा बुझेर भनेँ : भात कति खानूँ यार । पेट डोको जत्रो भइसक्यो रोटी खुवाउन, हुन्छ ? किन नहुनु ? अकबरे खुर्सानीको अचारमा रोटी ।

हलेसी । साँझको आरती । शान्ति । आनन्द । सन्तोष । सङ्गीताको मुहारको हेर्न लायक खुसी । उनी पहिलो पटक पूर्व गएकी । उनको खुसी पनि मेरा लागि एउटा प्राप्ति हो । म पनि त्यही खुसीमा मिसिँदै गएँ । सम्झेँ पुराना दिन । २०५६ मा हलेसी पुग्दाको हलेसीजस्तो हलेसी रहेनछ अचेल । धेरैधेरै परिवर्तन भएछ । त्यतिखेर रेडियो नेपालका सुरेन्द्र पौडेल र बलराम कोइराला साथैमा थिए । ३ भाइ भएर त्यतिखेर १० दिनसम्म हरेक दिन बिहान लगातार टेलिफोन लाइभ गरेथ्यौँ । आज हलेसी फेरिएछ । यो निकै सन्तोषको विषय हो । यो गौरवका आँगन भव्य भएछ । निकै सन्तोष लाग्यो ।

साँझ पर्दै गयो । सम्पर्क बढ्दै गयो । सबैभन्दा पहिले राई नवीनसँग सम्वाद भयो । उसले फेसबुकमा देखेर स्वागतम् भन्न कल गरेको रहेछ । नवीन राम्रो गायक, राम्रो सङ्गीतकार भाइ । त्यो पुस्ताको अत्यन्तै शालीन मध्ये एक  । वरिष्ठ गायक, सङ्गीतकार  मित्र राजेश पायल राई, दिक्तेलका मेयर तीर्थ भट्टराई, मेरा पुराना मित्र माननीय विशाल भट्टराई, विष्णु आभूषण, मणि पौडेल, लेख कार्कीजस्ता मित्रहरूसँगको दूरसम्वादले साँझ सुखमय भयो । तीर्थ संगम राईसँग भने कुनै संवाद हुन पाएन । मणि र लेखसँगको सम्वादमै मन बुझाएँ । उनीहरू भन्दै थिए, हामीलाई नै तीर्थ सम्झनू । मैले भनेँ, तीर्थ त हलेसी छँदैछ नि । कम्ता हाँसिएन ।

मौसमी चिसोले चिसो खोटाङ तर न्यानो आतमीयता । सम्पर्क सम्वाद । गहिरो हार्दिकता । राजेशजीले मजस्तै मेरा मित्र भेट्ने भए त्यहाँ त्यहाँ जाऊ भनेर पठाएको सूची निकै लामो थियो तर क्षमा पाऊँ राजेशजी ती ठाउँमा कतै नगएर एकान्तमा बसेँ, बस्यौँ । काठमाडौँ फर्कने टिकट गरेँ सुटुक्क ।

* * * *

तर भोलिपल्ट हुँदा नहुँदै ओमप्रकाश घिमिरेले दिक्तेलाट कडा ह्विप जारी गरे । दिक्तेलमा हामी प्रतीक्षारत छौँ दाइ । हामी तयार छौँ । मेयर साप, माननीय र मिडिया सबैको इच्छा छ, तपाईँ दिक्तेल आउनुस् । यहाँ सबैको दिलमा साहित्य छ, सङ्गीत छ । छोटो समय भए पनि हामी तपाईँलाई सुन्छौँ ।

त्यहाँ पुग्दा त अर्कै रमाइलो । मीठो बहस । ओमजीसँगै चित्र सुवेदीजीको मिठो स्वागत । भाइ पुस्ताका पत्रकारहरूसँगको अन्तरङ्ग । ओमजीले धेरै जनासँग सम्पर्क गराउनु भयो । ओमजीलाई मैले भनेँ ६५, ६६ मै खण्डकाव्य लेखेको मान्छे यसरी सुस्ताउने हो ? उनले वचन दिए यसै वर्ष नयाँ सङ्ग्रह ल्याउँछु ।

दमन राईको शालीनता र पुराना कुरा । दिनराज कार्कीको उत्साह । चिसाङ शेर्पा पुर्वेलीको सिर्जनशीलता र सक्रियता । सानो तर सारपूर्ण बसाइ । त्यहीँबाट धेरै स्रष्टाहरूसँग फोन सम्वाद । जसराज किराँतीसँगको प्रेमिल सम्वाद । त्यतै बसेर बनेको उहाँको राष्ट्रिय पहिचान लोभ लाग्दो छ । पार्वती राईले धेरै पहिले धादिङको वर्णन गरिएको एउटा गीत गाएकी थिइन्, राजेशजीले खुर्पेटोमा खुर्पा राखी बोलको गीत गाएझैँ । पार्वतीको स्वरमा वसन्त मुकारूङको सङ्गीत थियो भने राजेशजीको स्वरमा गणेश गुरूङको सङ्गीत । मुकारूङ भोजपुरे हुन् र गुरूङ पाँचथरका । उतिखेरै हामीले सङ्गीतले यसरी देश जोडेका थियौँ । यी कलाकार मात्र होइनन्, यी मेरा प्रिय मित्रहरू पनि हुन् । खोटाङले यस्ता धेरै उच्चस्तरका स्रष्टा तथा कलाकार दिएको छ देशलाई ।

संवादमा यिनै र यस्तै कुरा पनि उठे । केही कुरा त्यहीँ अन्तर्वार्तामा पनि भनेको छु । भिडियो तथा प्रिन्ट खबर पनि छ । तर त्यहाँ मूलतः केही यस्ता प्रश्नहरू उठे ।

१. साहित्य, सङ्गीत र स्थानीय रङ

२. राज्यको निकाय र स्थानीय स्रष्टा

३. राजनीति र साहित्य

४. लेखनका लागि विचारको बन्धन कि उन्मुक्ति र स्वतन्त्रता ?

५. नयाँ पुराना पुस्ताबीचको सहकार्य

६. स्थानीय निकाय र साहित्य, संस्कृति

७. स्रष्टाको मूल परिचयमा स्रष्टा आफैँ कति र परिवेश कति जिम्मेवार ?

८. नयाँ पुस्ताप्रति वरिष्ठ साहित्यकार तथा संस्कृतिकर्मीको जिम्मेवारी के र कति ?

कुराको विषय राजेश पायल राईजीको पनि, आफू काठमाडौँ भएर पनि लगातार सम्पर्कमा रहने मेयर तीर्थ भट्टराईको पनि र साथीलाई खोटाङमा स्वागत छ भनेर गहिरो आत्मीयता देखाउने माननीय विशाल भट्टराईको पनि । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव धनप्रसाद सुवेदीको कुरा नहुने कुरै भएन । उहाँको दम्पतिकै कुरा भयो, दुवै प्राध्यापक । तर यी सबै सन्दर्भको उठान साहित्यसँगै जोडेर । साहित्यको मर्मसँगै जोडेर ।

सौन्दर्यको कुरा । लामीडाँडाको कुरा । लामी डाँडाको सुन्तला । बुइपाको कुरा । कुनै दिन अर्खौलेमा गोपाल दाइको होटलमा भात खाएको कुरा र पाण्डव सुनुवार दाइसँगै बसेर अर्खौलेमा चौतारी कार्यक्रम रेकर्ड गरेको कुरा । त्यो रेकर्ड गर्ने बेला रेडियोका पुराना प्राविधिक दाजु सुदन खत्री थिए । उनको पनि कुरा । जीवनमा यी र यस्ता प्रसङ्गलाई सप्रसङ्ग बोध गरेपछि मात्र साहित्यले स्थानीय सुगन्ध भेट्छ भन्ने लाग्छ । कोठाको कसरत र पुस्तकको चाङमा भन्दा बढी पाखा पखेरामा, जनताको झुपडीमा र वस्तीको बास्नामा साहित्यको जरा गाडिएको हुन्छ ।

किन साहित्य ? किन लेखन ? लेखनको मर्म र समाजको संवदेना कति नजिक छ, कति टाढा हुँदै गएको छ ? यी सवालको जवाफ आजै र अहिल्यै पाउने र पाइने कुरा होइन । आफ्नो निजी वैचारिकी नभएको लेखक शब्दको भरिया हुन सक्छ, लेखक हुनसक्तैन । जीवनको सुकिलो त कर्मको आँगनमा छ । जीवनलाई जीवन बनाउन जीवनै बाँच्नुपर्छ, जीवनै लेख्नुपर्छ ।

आफ्नो शरीरमा आफ्नै रङ बोकेर हिँड्ने कि अरूको रङले आफू छोपिएर हिँड्ने ? प्रश्न यही हो । प्रत्येक लेखकसँग आफ्नै रङ र आफ्नै वैचारिकी हुनुपर्छ । विचारहीन लेखन मूर्दा लेखन हो तर विचारमात्रै लेख्नु पनि कलाको हत्या गर्नु हो । यही बीचको शिल्प र सन्तुलन लेखक हुनुको बिउ हो तर यो बिउ कसले कति कसरी हुर्काउँछ, कति बढाउँछ, त्यो त व्यक्तिको क्षमता र साधनामा निर्भर गर्दछ ।

मलाई लाग्छ यत्ति एउटा लेखाइमा माथिका सबै प्रश्नहरूको समुच्च उत्तर आउने छैन र दिने कोशिश गरेको छु भनेँ भने त्यो पनि ठसठसे ढोँग हुनेछ । कलाको उत्तर सोझो र सरल हुँदैन । यो अनुभूति र अन्तरको बाछिटा हो । यी सबैका लागि जीवन त अपुरो हुन्छ, एउटा लेख त के हो र ?

* * * *

मान्छे पढ्नु लेख्नुको पहिलो शर्त हो । मान्छे कस्ता हुन्छन् समाजमा अन्त्यमा केही उदारण राख्न मन लाग्यो । गत साउन ८ गते मेरो जन्म दिनकै दिन एउटा दुखद घटना घट्यो । अघिल्लो दिन खाइपिई सुतेको सालो केटो सुतेको सुत्यै भयो । ६१ वर्षका जेठानको एक मात्र छोरो । २५ वर्षकी बुहारी छिन् र वर्षवर्ष दिन फरकका सानासाना दुई छोरी । पहिले पोष्टमार्टमका लागि टिचिङ थिएँ, पछि अन्त्येष्टिका लागि आर्यघाट । फोनहरू आए कुरा भए । म सकेसम्म कसैप्रति आक्रामक हुन्न । तत्काल जवाफ फर्काउन्न तर मलाई रिस उठ्दैन र आवेग छैन भन्ने होइन । संयमित हुनु मेरो शक्ति पनि हो र कमजोरी पनि । फोन आउने सबैलाई म कहाँ छु, कुन अवस्थामा छु भनेर सबै कुरा बताएकै छु तर सबै आआफ्नै कुरा लादिरहन्थे । म सुन्थेँ र टार्थेँ ।

यस्तो दुखद घटना सुनाएपछि त ए यस्तो दुखद घटना भएछ, पछि कुरा गरौँला भन्नु नि । तर एकजनाले त्यो भीडबाट अलि पर जानु त एउटा कुरा भन्नु छ भने । उनको कुरा रहेछ कता हो कुन्नि कसको सालिक राखेको रे । पैसा पुगेन रे । कसैलाई भनेर चन्दा उठाइदिनु प¥यो रे । अर्कोले भने लामो समयपछि फेरि रेडियो प्रसारणमा फर्केँ । कस्तो कार्यक्रम चलायो भने राम्रो हुन्छ, सुझाव पाऊँ न । तेस्रोले भने मेरो किताब निकाल्न लागेको लाष्ट पेजमा राख्न मोबाइलमै टाइप गरेर भए पनि अहिल्यै ४ हरफ तुरून्त पठाइदिनु न । चौथोको तर्क थियो, लास जलुन्जेल बस्नु पर्दैन होला नि त, म काठमाडौँबाट भोलि नै फर्कन्छु, गौशालामा बसेर चिया खाऊँ न आउनुस् । यी चार जनाको कुरा सुनेपछि मै आर्यघाटमा ढल्छु कि जस्तो भयो । मान्छेमा करूणा र संवेदना मरेछ अब । सबैलाई आफू र आफैँमात्रको पीर छ । हो, यही क्रुरता र संवेदनहीनताबाट माथि नउठेसम्म कुनै प्रश्नको उत्तरमा ज्यान बाँकी रहन्न । लेख्नु नाममा लेखेर मात्रै के गर्नु ? किताब नामको किताब छापेर के गर्नु ?

समाज ढुङ्गा हुँदै गयो भने काव्यमा लेखिँदै गएको मुस्कान र आँसु कसका लागि ? म किन गाउँ गाउँतिर गइरन्छु थाहा पाउनु भयो ? त्यहाँ अझै बाँकी छ आँखामा आँसु र ओठमा मुस्कान । ती देखेर भेटेर आएपछि मेरो संवेदना रिचार्ज हुन्छ । यसपाली मुलुकको पूर्वी माटोले मलाई रिचार्ज गरेर पठाएको छ ।

मलाई थाहा छ, माथिका प्रश्नहरू ठाउँका ठाउँ थाती रहे । आज यत्ति भन्छु : पहिले रोएजस्तै रुन र हाँसेजस्तै हाँस्न सिकौँ, अनि हरप्रश्नको उत्तर आफैँभित्र उम्रने छ । साधुवाद इटहरी, साधुवाद विराटचोक, साधुवाद फुङलिङ, हलेसी र दिक्तेल । तपाईँहरू जिउँदो हुनुहुन्छ र त तपाईँहरूसँग यी प्रश्नहरू जिउँदा छन् । प्रश्नहरू जिउँदा छन् र त तपाईँकै बस्तीमा पुगेर तपाईँसँगै सम्वाद गर्न पाइरहन्छु । यसरी सम्वाद हुन्छ र त म पनि जिउँदै छु र लेखिरहेछु ।

भवतु सब्ब सङ्गलम् ।