बहुप्रतिष्ठित मदन पुरस्कार यो वर्ष लोकप्रिय कवि, गीतकार तथा सञ्चारकर्मी डा. नवराज लम्सालको पोल्टामा परेको छ । गत भदौ ११ गते शनिबार बसेको मदन पुरस्कार गुठीको बैठकले डा. लम्सालको महाकाव्य ‘अग्नि’ लाई सो पुरस्कार दिने घोषणा गरेको हो । पुरस्कार राशी चार लाख रुपैयाँ रहेको छ । अग्निसँगै अन्य सात कृति पुरस्कारको प्रतिस्पर्धामा थिए । जसमा डा. दामोदर पुडासैनीको ‘ग्रीष्मको नीलो बतास’, वसन्त बस्नेतको ‘महाभारा’, दीपा मेवाहाङ राईको ‘यादको सन्दुक’, डा. नयनाथ पौडेलको ‘लिच्छवि लिपि’, प्राध्यापक नीलमणि ढुङ्गानाको ‘व्युत्पत्तिमूलक संस्कृति-नेपाली शब्दकोष’, सुजित मैनालीको ‘सती : इतिहास र मीमांस’ र पद्मसुन्दर जोशीको ‘हिति प्रणाली’ रहेका थिए । २०७८ सालभरि प्रकाशित कृतिहरुमध्ये गुठीलाई २ सय ९९ कृतिको आवेदन परेको थियो पुरस्कारका लागि । यी मध्ये उत्कृष्ट ८ को सूची गुठीले गत साउन २३ गते सोमबार सार्वजनिक गरेको थियो । २०७२ सालभन्दा पहिले यसरी उत्कृष्ट पुस्तकहरुको सूची सार्वजनिक हुने गरेको थिएन । गुठीलाई प्राप्त कृतिहरुमध्येबाट एउटा कृतिलाई सिधै पुरस्कार दिने घोषणा गरिन्थ्यो । तर २०७२ साल चैत्र १८ गते बसेको मदन पुरस्कार गुठीको ६६ औँ साधरण सभाले हरेक वर्ष पुरस्कारका लागि दर्ता हुने पुस्तकहरुमध्येबाट बेसीमा १० वटा पुस्तकको ‘श्रेष्ठ सूची’ सार्वजनिक गर्ने निर्णय गरेको थियो । त्यहाँदेखि यता हरेक वर्ष उत्कृष्ट सूची सार्वजनिक हुँदै आएको छ । मदन शमशेर राणाको नाममा जगदम्बा कुमारीदेवी राणाले वि.सं. २०१२ साल असोज १० गते स्थापना गरेको मदन पुरस्कार २०१३ सालदेखि प्रदान गर्न थालिएको हो ।

डा. नवराज लम्साल

२०७८ सालको सर्वश्रेष्ठ सूची सार्वजनिक भएसँगै सम्बन्धित स्रष्टालाई बधाई र शुभकामना दिनेको घुइँचो एकातिर थियो भने अर्कातिर उत्कृष्ट सूचीमा परेका कृतिको छनौटलाई लिएर विवाद र गुनासाहरु पनि थुप्रै देखिए । नेपाली साहित्यमा यो परम्परा नै बनिसकेको छ । ठुला पुरस्कारहरु विवादरहित बनाउन मुस्किल हुँदै गइरहेको छ । कम्तिमा नेपाली साहित्यमा यो सम्भव देखिन्न पनि । आफू र आफ्नाले पाउँदा सबै कुरा ठिक लाग्ने तर त्यही पुरस्कार अर्कोले पाउँदा सबै प्रक्रिया गलत देख्ने परिपाटी मौलाउँदै गएको छ । तर डा. लम्सालको महाकाव्य अग्निलाई मदन पुरस्कार दिने घोषणा भएपछि यसको विपक्षमा असन्तुष्टिहरु भने देखिएनन् । असन्तुष्टिहरु बाहिर सहतमा नआएको पनि हुन सक्छ अथवा आएर पनि मैले थाहा नपाएको हुनसक्छ । जे होस् त्यतातिर नजाऊँ अहिले । यो लेख पुरस्कारको विवादमा केन्द्रित होइन पनि ।

मदन पुरस्कार पाउन सफल “अग्नि” डा. लम्सालको तेस्रो महाकाव्य तथा आठौँ कृति हो । यसअघि उहाँका दुई महाकाव्य “कर्ण” – २०६६ र “धरा” – २०७३ प्रकाशित भइसकेका छन् । यसका अलवा तीन कवितासङ्ग्रह “पाइलैपिच्छे सगरमाथा” -२०६१, “आगो छोपेर कतिञ्जेल” – २०६२ र “क्रमश : एक्लै एक्लै” – २०७४ प्रकाशित छन । त्यसैगरी दुई गीतसङ्ग्रह “धुनभित्र धुन बाहिर” – २०६२ र “उँडुउँडु लाग्छ” -२०७२ बजारमा आइसकेका छन् । उँडुउँडु लाग्छ उहाँको बाल-गीत सङ्ग्रह हो । पहिलो महाकाव्य कर्ण र दोस्रो महाकाव्य धरा प्रकाशित गरेपछि डा. लम्साललाई मदन पुरस्कार पाइएला कि भन्ने आश थियो उतिबेला । तर ती दुबै महाकाव्यले पाएनन् । २०६६ मा नरबहादुर साउदको “नेपालका बालीनाली र तिनको दिगो खेती” नामक पुस्तक र २०७३ मा घनश्याम कँडेलको “धृतराष्ट्र” लाई दिइयो ।

त्यतिबेला आफू अल्लारे अवस्थामै रहेको, आफू कति परिपक्क हुनुपर्छ अथवा काव्य र समय कति परिपक्क हुनुपर्छ भन्ने कुराको ज्ञान नभएकोले पनि त्यस्तो आश पलाएको हुन सक्ने उहाँको बुझाइ छ ।

डिजी शर्मा (युएई)

उमेरको परिपक्कतासँगै अथवा लेखनमा आफूले केही गरियो कि ? भन्ने लागेर पनि हुन सक्छ यो पटक त्यति धेरै आशा अपेक्षा थिएन उहाँमा । पुरस्कारको दृष्टिकोणबाट सोचिएन पनि । तर अग्नि प्रकाशनपछि जुन किसिमको जनसमर्थन जुटिरहेको थियो, नयाँ पुस्ताका सर्जक र पाठकहरुले जसरी पढिरहनुभएको थियो, उहाँहरुबाट जुन किसिमको समीक्षा समालोचनाहरु आइरहेका थिए र जुन रुपमा कृतिको प्रचार भइरहेको थियो, त्यसले डा. लम्साललाई उत्साही बनाइरहेको थियो ।

मदन पुरस्कार घोषणा हुनुभन्दा पहिल्यै देशका विभिन्न ठाउँबाट प्रदान गरिने चार पुरस्कार अग्निलाई दिने निर्णय भइसकेको थियो । चितवनाबाट प्रदान गरिँदै आएको चिसाप राजकृष्ण मायादेवी साहित्य पुरस्कार, सर्लाहीबाट प्रदान गरिने लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार, धनगढीबाट दिइने जसुन्धरा राष्ट्रिय छन्द पुरस्कार र सुदूर पश्चिम साहित्य समाजले प्रदान गर्ने वर्षको उत्कृष्ट कृति पुरस्कार घोषणा गरिसकेका थिए । मदन पुरस्कार गुठीले घोषणा गर्नुभन्दा पहिल्यै आफूहरुले अग्निलाई पुरस्कार दिने निर्णय गरेकोमा अन्य पुरस्कार दाताहरु पनि खुसी हुनुहुन्छ आफ्नो छनौटप्रति । माथि उल्लेखित चार पुरस्कारसँगै पद्मश्री पुरस्कारको उत्कृष्ट १५ हुँदै उत्कृष्ट सूचीको पाँचमा आइपुग्नु, मदन पुरस्कारको पनि उत्कृष्ट ८ को सूचीमा परिसकेपछि भने डा. लम्साललाई अब चाहिँ केही हुन लागेको हो कि ? भन्ने लागिसकेको थियो । नभन्दै भयो पनि त्यस्तै ।

एउटा लेखकको लागि सामाजिक स्वीकृति, जनसमर्थन र पाठकको माया नै ठुलो हुने भएकोले मदन पुरस्कारजस्तो नेपाली साहित्यकै बहुप्रतिष्ठित पुरस्कारले त्यो सामाजिक स्वीकृति दिलाएकोमा डा. लम्साल निक्कै खुसी हुनुहुन्छ । त्यसमाथि महाकाव्यमा पाउनु झन ठुलो गर्वको विषय भएको उहाँ बताउनु हुन्छ । समग्र साहित्यिक बजार र पाठक आख्यानमा केन्द्रित भइरहेको अवस्थामा डा. लम्साल भने कविता, त्यसमा पनि महाकाव्यमा केन्द्रित हुनुहुन्छ । उल्टो धारमा हिँडेको भनेर कतिपयले भन्छन् पनि उहाँलाई । उहाँप्रतिको प्रेमले पनि त्यसो भनिएको हुन सक्छ ।

आफ्नो कृतिले मदन पुरस्कार पाए पनि पुरस्कारको उत्कृष्ट सूचीमा परेका अन्य सबै कृति उत्तिकै अब्बल रहेको डा. लम्साल बताउनु हुन्छ । कुनै पनि कृति आफैँमा सबै कुराले भरिपूर्ण हुन्छ भन्ने हुँदैन । पुरस्कार पाएको कृति मात्रै महान् र बाँकी कृति कमसल भन्ने पनि हुँदैन । हरेक कृतिले कुनै न कुनै महत्त्व बोकेका हुन्छन् । हरेक कृतिका सर्जकले उत्तिकै मेहनतकासाथ लेखका हुन्छन् । अग्निले पुरस्कार प्राप्त गरे पनि पुरस्कार प्राप्त नगरेका अरु कृतिहरुको मानक, अरु कृतिहरुको सामर्थ्य, अरु कृतिका लेखकहरुको क्षमता र उहाँहरुले गर्नुभएको मेहनत कम नभएको डा. लम्साल बताउनु हुन्छ । तसर्थ ती सबै कृति र सर्जकप्रति डा. लम्सालको उच्च सम्मान छ । पुरस्कारको नियम र मापदण्डअनुसार अग्नि महाकाव्यले पुरस्कार पायो । त्यसमा आफूलाई भाग्यमानी सम्झिनु हुन्छ र गौरव पनि गर्नुहुन्छ । भाषिक शिल्प, भाषाको निरन्तर प्रवाह, भूगोल, संस्कृति र इतिहास छोएर बगेको अग्निको मूल प्रवाह, यी मध्ये केका आधारमा पुरस्कार दिइयो भन्ने कुरा सम्बन्धित छनौट कर्ताहरुमै निर्भर रहने उहाँको धारणा छ ।

डा. नवराज लम्साल भन्ने बित्तिकै आफैँमा एउटा स्थापित स्रष्टा, नाम चलेको लेखक, लोकप्रिय सञ्चारकर्मी, रेडियोको माध्यमबाट होस, अथवा गीत र कविता लेखनको माध्यमबाट होस एउटा अग्लो पहिचान बनिसकेको छ । त्यसका लागि के कति दुख र सङ्घर्ष गर्नुपर्यो त्यसको हिसाब आफ्नो ठाउँमा छ । तर साहित्य, सङ्गीत र रेडियो प्रेमीहरुका लागि डा. लम्साल चिनाइरहनु पर्ने नाम पक्कै होइन । यति उचाइमा पुगिसकेको, स्थापित भइसकेको सर्जकलाई कुनै पनि किसिमको पुरस्कार पाउनु र नपाउनुले खास त्यस्तो केही फरक पर्दैन होला भन्ने हामीलाई लाग्न सक्छ । सञ्चारकर्म र साहित्य लेखनबाट पाएको माया आफ्नो ठाउँमा यथावत् छँदै छ । तर यस किसिमका सम्मान र पुरस्कारले खुसी तुल्याउनुका साथै जिम्मेवारी बोध गराउने उहाँको अनुभव छ । त्यसैले सम्मान/पुरस्कार आफैँमा खुसीको एउटा ठुलो अनुभूति हो भन्नुहुन्छ उहाँ । पुरस्कारलाई उहाँ दुई किसिमले व्याख्या गर्नुहुन्छ । कसैलाई पुरस्कारको भारी बोकाइदिएर पुरस्कार दाताको नाम स्थापित र अमर बनाउन पनि केही पुरस्कार स्थापना भएका छ्न् । त्यस्ता पुरस्कार पाउनेलाईभन्दा दिनेलाई बेसी लाभ हुन जान्छ । तर नेपाली साहित्यका धेरैजसो पुरस्कारहरु स्रष्टालाई स्थापित गर्ने खालका छन् । यस्ता पुरस्कारले विशुद्ध रुपमा स्रष्टालाई माथि उठाउने काम गर्छन् । पछिल्लो समयमा पाएका सम्मान र पुरस्कारहरु आफूलाई स्थापित र उत्प्रेरित गर्ने खालको नै भएको उहाँको ठम्याइ छ ।

नेपाली साहित्य हुनका लागि नेपाली इतिहास, नेपाली भूगोल र नेपाली संस्कृतिको जग टेकेर लेखिनु पर्छ भनेर डा. लम्सालले लामो समयदेखि बहस गर्दै आउनु भएको छ । बहस मात्रै होइन आफू पनि त्यही धारमा उभिएर लेखिरहनु भएको छ । त्यसको एउटा उदाहरण “अग्नि” पनि हो । एउटा लेखक त्यो देशको लेखक हुनको निम्ति त्यो देशको भाषामा लेखेर मात्रै हुँदैन । कुनै देशको भाषामा लेखिँदैमा त्यो साहित्य त्यो देशको हुँदैन । तसर्थ नेपाली भाषामा लेखिँदैमा त्यो नेपाली साहित्य हुँदैन भन्ने उहाँलाई लाग्छ । त्यसका लागि इतिहास, भूगोल र संस्कृतिको जगमा टेकेर आफू बाँचिरहेको समय, सम्वेदना र समाज लेखिनु पर्छ र नयाँ पुस्तालाई पनि उहाँको यही आग्रह छ । एउटा कवि/लेखकले चिन्ताभन्दा माथि उठेर चिन्तन र चैतन्यको तहमा बसेर लेख्नुपर्छ । चिन्ताको तहमा बसेर चिन्ता मात्रै लेखिरहेको खण्डमा अथवा चिन्तामा मात्रै सिमित रहेको खण्डमा एउटा कवि/लेखकले आफ्नो समय, सम्वेदना र समाजको प्रतिनिधित्व गर्न सक्दैन । चिन्ताहरुको रिपोर्टिङ गर्ने जिम्मा अखबारहरुलाई दिनु पर्छ भन्ने डा. लम्सालको सुझाब छ । चिन्ताबाट माथि उठेर चिन्तनमा गैसकेपछि समस्याहरुको अगाडि समाधानका बाटाहरु देखिन सक्छन । निराशाका अगाडि आशाहरु हुन सक्छन् । सहज बाटोहरु देखाउन सकिन्छ । फेरि त्यही चिन्तन सघन र बाक्लो हुँदै गएपछि चैतन्यको बाटोमा पुगिने र त्यसले विराट चेतनाको बाटोमा कवि लेखकहरुलाई डोर्याउँछ । यिनै दुई कुरामा टेकेर लेखिनु पर्छ भन्ने उहाँको धारण छ । उमेरले ५४ छोइसकेको र मदन पुरस्कार पाइसकेको अवस्थामा डा. लम्सालको अबको साहित्य लेखन कस्तो रहला ? भन्ने चासो हुनु स्वभाविक हो । लेखनप्रतिको हिजोको आफ्नो अडानमा झन बेसी अडिग भएर लाग्ने उहाँ विश्वास दिलाउनु हुन्छ । इतिहास, भूगोल र संस्कृतिको जग बिर्सेर चिन्ताहरु मात्रै जाहेर गरेर नबस्ने उहाँ दाबी गर्नुहुन्छ । चिन्तन र चिन्तनको उपल्लो बाटोमा जाने गरी अभ्यास, कोसिस र सक्रियता निरन्तर रहने छ । साथै आफूसँग सहकार्य गर्ने र सँगै हिँड्न चाहने तन्नेरीहरुलाई औँला समातेर सँगै लिएर हिँड्ने डा. लम्साल वाचा गर्नुहुन्छ ।

महाकाव्य अग्नि र डा. लम्सालको लेखन शैलीमाथि समीक्षा गर्दै अर्का कवि तथा समालोचक महेश पौड्याल २०७८ साल फागुन ७ गतेको नयाँ पत्रिकामा लेख्नुहुन्छ, “गीत, कविता र बृहत्तर आयामका महाकाव्यमा समर्पित साहित्यकार नवराज लम्सालको काव्यलेखनका केही विशिष्टता छन् । विषयका रुपमा कि उनी देश लेख्छन्, कि मिथक वा इतिहासको विपठन गर्छन् र सामाजिक-सांस्कृतिक पुनरावलोकनको बिगुल फुक्छन् । उनका महाकाव्य कर्ण, धरा र अग्नि जुन पनि उठाएर हेरौँ- उनी आफूले बनाएको यही विषयगत व्योमभन्दा बाहिर कतै पनि बरालिएका भेटिँदैनन् । नेपाली लेखक हुनु भनेको सारमा नेपाली भूगोल, मिथक वा इतिहासकै सेरोफेरोमा विमर्श गर्नु हो भन्ने उनको लेखकीय बुझाइ रहेको सजिलै प्रतीत हुन्छ ।
काव्यको संरचनामा पनि उनी पारम्परिक छैनन् । काव्यको जटिल शास्त्रीयतालाई युगसापेक्ष बनाउँदै उनी काव्यमा गद्य शैली अपनाउने, धीरुदात्त नायकको ठाउँमा आममान्छे, विशेष गरी पछाडि पारिएका पात्रलाई उभ्याउने तथा अतिशयोक्तिपूर्ण वर्णनभन्दा सटिक र यथार्थवादी वर्णनलाई अपनाउने आधुनिक काव्यकार हुन् । पछिल्लो महाकाव्य अग्नि पनि यी तमाम मूल्यांकनहरुको कसीमा निकै खरो उत्रने सामर्थ्य राख्ने ग्रन्थ हो । यसले धेरै कुरालाई सामाजिक बहसका निम्ति सतहमा ल्याएको छ ।”

अग्नि महाकाव्यले तत्कालीन मकवानपुरका राजा हेमकर्ण सेनले बनाउन लगाएको “जेठी तरबार” अर्थात शक्तिशाली तरबार, त्यो तरबार बनाउने ठुले कामी र उनका ६ जनाको कालिगढको टिम, १ सय ६० धार्नीको फलामलाई पिटेर बनाइएको दुई जेठी तरबार, त्यसको शक्ति र महिमा, आफूलाई ठुले कामीकै सन्तान दाबी गर्ने छेलाङी विश्वकर्मा, उनको आरन र सङ्घर्षको कथालाई काव्यिक रुपमा प्रस्तुत गरेको छ । कलिलो र जवान हुँदै गरेको मस्तिष्कका लागि यो महाकाव्य इतिहास बुझ्ने एउटा कथा हुनसक्छ । त्योभन्दा माथि जाने हो भने एउटा समाज शास्त्रीय आँखाले यो समाजलाई हेर्ने दृष्टिकोणको तहमा व्याख्या गर्न सकिन्छ । किन भने यसमा जातका कुरा छन् । सामाजिक विभेदका कुरा छन् । जात व्यवस्था र समाज शास्त्रीय चिजसँग जोडिएका केही जबर्जस्त प्रश्नहरु छन् यसमा । योभन्दा पनि अझ उपल्लो तह, उच्च चेतना भएकाहरुका लागि अग्निले सढ्चक्रको तेस्रो तहबाट हेर्न सकिने ठाउँ खुल्ला गरिदिएको छ । बाँकी सबै कथा थाहा पाउन त पुरै किताब नै पढ्नु पर्ने हुन्छ । यसअघिका आफ्ना दुई महाकाव्यभन्दा अग्निमा तुलनात्मक रुपमा अलिक सरल र सम्प्रेष्य भाषाको प्रयोग गर्ने कोसिस गरेको डा. लम्साल दाबी गर्नुहुन्छ ।

नेपाली साहित्यमा गीतकार र कविको रुपमा अलग-अलग परिचय बनाएर स्थापित हुनुभएका थुप्रै सर्जक हुनुहुन्छ । तर एउटै व्यक्ति कवि र गीतकारको रुपमा परिचय बनाउन सफल स्रष्टाको सूची अलिक कम्ति नै देखिन्छ । त्यो सूचीमा एउटा नाम डा. लम्सालको पनि आउँछ । उहाँ गीत र कविता दुबैमा बराबर कलम चलाएर समान रुपमा परिचित हुन सफल हुनुभएको छ । प्रकाशनको हिसाबले गीत पहिलो हो उहाँको । स्कुले जीवनबाटै साहित्यप्रति रुचि देखाउँदै आउनु भएका डा. लम्सालको “वन्दना” शीर्षकको कविता संस्कृत छात्रबास काठमाण्डौबाट निस्किने “अरुणोदय” पत्रिकामा २०४१ मा पहिलो पटक प्रकाशित भएको थियो । तर त्यसअघि नै सोही पत्रिकामा उहाँको गीत प्रकाशित भइसकेको थियो । लेखनको सुरुवाती चरणबाटै गीत र कवितामा समान्तर रुपमा कलम चलाउनु भएका डा. लम्सालका ३ सयभन्दा धेरै गीत रेकर्ड भइसकेका छन् । त्यसमा एक सयभन्दा धेरै गीत उहाँले नेपाली चलचित्रको लागि लेख्नुभएको छ । नातिकाजी, फत्तेमान जस्ता अग्रज पुस्तादेखि अहिलेका नयाँ पुस्ताका थुप्रै गायक गायिकाहरुसँग उहाँले साङ्गीतिक सहकार्य गर्नुभएको छ । २०५१ सालमा “विकासको सन्देश बोकी” बोलको गीत रेडियो नेपालमा रेकर्ड गराएर डा. लम्सालले नेपाली साङ्गीतिक आकाशमा पहिलो पाइला राख्नुभएको थियो ।

हरेक पटक केही नयाँ दिने कोसिस गरेका कारण गीत र कविता दुबैमा आफूलाई पाठक/श्रोताहरुले रुचाइदिनुभएको हो भन्ने उहाँलाई लाग्छ । सुन्दा अलिक आदर्शजस्तो लाग्न सक्छ तर जहिले पनि आफूले आफ्नो दृष्टिकोण प्रष्ट पारेर मात्र लेखेको, त्यसैमा अडिग रहेको र आफ्नो दृष्टिकोणभन्दा बाहिर गएर कहिल्यै सिर्जना नगरेको उहाँ दाबी गर्नुहुन्छ । हिजो कसैले भनिसकेको कुरालाई आफ्नो शब्द र भाषामा जतिसुकै सिङ्गारेर चिटिक्क पारेर भने पनि त्यो हिजोकै निरन्तरता हुन जान्छ र ऊ निरन्तर स्रष्टा मात्र बन्छ । तर आफू बाँचेको युगको लेखक हुनु छ भने त्यसका निम्ति कम्तिमा केही नयाँपन दिने कोसिस गर्नु, नयाँ कथ्य र नयाँ शैली निर्माण गर्नु जरुरी देख्नुहुन्छ डा. लम्साल । यसका साथै २१ औँ शताब्दीमा आएर पनि हामी अझै दयनीय अवस्थामामै छौँ । यस्तो देशको कवि/लेखक भएर रोमानी कुरा लेखेर मात्र देशको लागि काम लाग्दैन कि भन्ने उहाँको धारणा छ । नयाँ पुस्ताले यी कुरालाई मनन् गर्छन भन्ने उहाँलाई विश्वास पनि छ । अहिलेका नव कविहरु एकदमै उर्वर भएर आइरहेका छन् । केही नयाँ लेखौँ, केही नयाँ गरौँ भन्ने हुटहुटीका साथ आएका छन् । उनीहरुमा नयाँ चेतना र जाँगर छ । तर उनीहरुलाई सही बाटो देखाइदिने, नेपाली माटो टेकेर यस्तो लेख भनेर आग्रहका साथ सम्झाइदिने, मार्ग निर्देशन गर्ने, प्रशिक्षण दिने मान्छेको कमी छ । अगाडि राम्रो छ भनेर मख्ख पारिदिने र पछाडिबाट कुरा काट्ने बानीले गर्दा पनि नव पुस्ता बिग्रिरहेका छन् । उनीहरुलाई देश पढ्ने बाटो देखाइदिनु जरुरी छ । अन्तरक्रिया र सम्वाद हुनु जरुरी छ । साहित्यिक जमातमा आफ्ना कुरा खुलेर भन्न जरुरी छ । त्यसो गर्न सकिएको खण्डमा नेपाली साहित्यको आगामी बाटो सहज, सुकिलो र उज्यालो देख्नुहुन्छ उहाँ ।

साहित्य दुई उद्देश्यले लेखिँदै आएको डा. लम्सालको भनाइ छ । साहित्यमा टेकेर आफूलाई माथि उठाउन र समग्र साहित्यलाई नै माथि उठाउन, यी दुई उदेश्यले सिर्जना भइरहेका छन् । “साहित्यमा म पनि छु है” भनेर साहित्यलाई आफ्नो पहिचानको केन्द्र बनाउन खोज्ने र त्यसमा आफ्नो सक्रियता देखाउनेहरुको जमात एउटा छ । यसमा तन्नेरी पुस्ता र पाको उमेर दुबै समूहका सर्जकहरुलाई भेट्न सकिन्छ । उनीहरुबाट उच्च कोटीको चिन्तन लेखिनु पर्छ भन्ने जरुरी छैन । बरु उनीहरुलाई साहित्यमा हार्दिकताका साथ स्वागत गर्दै प्रोत्साहन गर्नु आवश्यक छ । किन भने उनीहरु साहित्यमार्फत आफ्नो परिचय खोजिरहेका छन । यता नेपाली साहित्यका मूलधारका लेखक जसले थुप्रै पुस्तक लेखिसकेका छन, चिन्तन र चैतन्यका कुरा गर्दै आइरहेका छन्, उनीहरुबाट भने समग्र साहित्यलाई नै माथि उठाउने खालको सिर्जना हुनु आवश्यक छ । यसरी दुई पाटो भएर जानू पर्छ र यी सबै कुरा गर्ने जिम्मा समालोचकहरु हो । यी तमाम कुराहरु समालोचकहरुले भन्नुपर्थ्यो तर भनिरहनु भएको छैन । उहाँहरु किन मौन हुनुहुन्छ थाहा छैन । नेपाली साहित्यमा समालोचकहरुको खडेरी परेको डा. लम्साल बताउनु हुन्छ । यहीँनिर हाम्रो समस्या छ ।

समयक्रमसँगै सूचना र प्रविधिमा हुँदै गएको तीव्र विकासले हरेक सूचना र मनोरञ्जन हातमा भएको मोबाइलमा सिमित बन्दै गइरहेको छ । यस्तो अवस्थामा अबका दिनमा मान्छेले रेडियो किन सुन्ने ? भनेर मैले डा. लम्साललाई जिज्ञासा राखेँ । जवाफमा उहाँ भन्नुहुन्छ, “अब रेडियोका समाग्रीहरु अनुभुतिको तहमा झर्नु जरुरी छ। एउटा प्रस्तोताले अनुभुतिको नयाँ ढङ्गबाट सम्वेदनाको तहबाट प्रस्तुत गरेर ल्याउने नयाँ खालको बाटो खोज्नुपर्छ । ठाडो सूचनाका लागि मात्रै अब कसैले रेडियो सुन्दैन । त्यो सूचना मनोरञ्जनको माध्यम भएर आउनु पर्छ । त्यो सूचना मौलिक भएर आउनु पर्छ । प्रस्तुतिको तहमा यसरी आउनु पर्छ । रेडियोको भविश्य छ तर रेडियोकर्मीहरुले गम्भीर रुपमा सोचेर अघि बढ्नु पर्छ ।”

विगत चार दशकदेखि साहित्य लेखन र करिब तीन दशकदेखि सञ्चार कर्ममा सक्रिय रहँदै आउनु भएका डा. लम्सालको जन्म धादिङको तत्कालीन ज्यामरुङ र हालको
नीलकण्ठ नगरपालिका ११ मा भएको थियो । २०२६ साल श्रावण ८ गते बुधबारका दिन जन्मनु भएका डा. लम्साल माता हेमकुमारी लम्साल र पिता टङ्कप्रसाद लम्सालका ८ सन्तानमध्ये जेठो सन्तान हुनुहुन्छ ।

२०४८ सालमा रेयुकाईले आयोजना गरेको राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगितामा प्रथम भएर उहाँ फ्रान्स पुग्नु भएको थियो । २०५८ सालमा रेडियो नेपालले आयोजना गरेको राष्ट्रव्यापी बाल गीत प्रतियोगितामा प्रथम हुनु भएका डा. लम्साल २०५९ सालमा प्रज्ञा प्रतिष्ठानको राष्ट्रिय कविता महोत्सवमा प्रथम हुनुभयो । २०५१ साल बैशाख २१ गते रेडियो नेपालको सुर्खेत प्रसारण केन्द्रबाट उहाँले रेडियोको यात्रा सुरु गर्नुभएको थियो । सुर्खेतमा बसेर जम्मा ३ वर्ष काम गर्नुभएका डा. लम्साल त्यसपछि रेडियो नेपालको केन्द्रीय प्रसारण केन्द्र सिंहदरबार छिर्नुभएको थियो । रेडियो नेपालको विभिन्न पदमा रहेर उहाँले काम गरिसक्नुभएको छ । यसअघि तीन वर्ष रेडियो नेपालको समाचार महाशाखा प्रमुखको रुपमा काम गर्नुभएका डा. लम्साल हाल कार्यक्रम महाशाखा निर्देशक हुनुहुन्छ । रेडियो नेपालको धार्मिक कार्यक्रमदेखि लिएर घटना र विचार, परिवेश, जनतासँग प्रधानमन्त्री (जो दक्षिण एसियाकै पहिलो कार्यक्रम बन्न पुग्यो), २०५४ सालदेखि प्रसारण हुँदै आएको मधुवनजस्ता लोकप्रिय कार्यक्रमका प्रस्तोता हुनुहुन्छ डा. लम्साल ।

त्यसैगरी सन् २००८ देखि २०१६ सम्म बिबिसी नेपाली सेवाको कला संवाददाताको रुपमा समेत रहेर उहाँले सेवा पुर्याइसक्नुभएको छ । बिबिसी नेपाली सेवाको उहाँ पहिलो कला संवाददाता पनि हुनुहुन्छ । रेडियोमा प्रवेश गर्नुभन्दा पहिले केही समय शिक्षण पेशामा समेत आवद्ध रहेर उहाँले काम गर्नुभयो । यसअघि धादिङमै छँदा लम्सालले जजमानी पनि गर्नुभयो । पण्डित परिवारमा जन्मिएका कारण उहाँको यो रहर पनि हुनसक्छ, कर्तव्य पनि हुनसक्छ अथवा बाध्यता पनि । तर उहाँले धेरैको बिवाह, व्रतबन्ध, श्राद्द आदिमा पण्डित्याइँ गर्नुभएको छ । सङ्घर्षको यो तहबाट उठेर जिन्दगीको ५३ औँ वसन्त पार गर्दैगर्दा मदन पुरस्कार प्राप्त गर्नु आफैँमा एउटा गर्वको विषय हो । धेरैको लागि यो प्रेरणाको स्रोत पनि हुनसक्छ ।

संस्कृतमा आचार्य र नेपालीमा स्नातकोत्तरसम्मको औपचारिक अध्यन पूरा गर्नुभएका लम्सालले आफ्नो गृहजिल्ला धादिङको नेपाली लोकगीतको रसविधानमाथि विद्यावारिधी गर्नुभएको छ । रेडियो र साहित्य कर्मको सिलसिलामा देशका ७४ जिल्लामा उहाँ पुगिसक्नुभएको छ । यसका अतिरिक्त डा. लम्सालले अमेरिका, फ्रान्स, स्वीडेन, थाइल्यान्ड, पाकिस्तान, चीन, भारत, पिलिपिन्स लगायत देशको भ्रमण पनि गर्नुभएको छ । नेपाली लेखक सङ्घका अध्यक्ष र नेपाल प्रेस युनियनका उपाध्यक्ष भएर काम गरिसक्नुभएका डा. लम्साल हाल चन्द्रागिरि नगरपालिका १५, काठमाडौँमा श्रीमती सङ्गीता लम्सालका साथमा बस्दै आउनुभएको छ । २०६५ सालको माघ/फागुनमा झापाको बिर्तामोडमा रहेको कञ्चनजङ्घा एफएमले आयोजना गरेको २१ दिने रेडियो तालिममा मैले पनि डा. लम्सालबाट प्रशिक्षण लिने अवसर पाएको थिएँ । त्यसको १४ वर्षपछि आज यसरी उहाँको बारेमा लेख्न पाउनुलाई मैले संयोग मात्रै नभएर सौभाग्य पनि ठानेको छु ।

(साहित्यपोस्टको फेसबुक पेज तथा युट्युब च्यानलमार्फत हरेक शनिबार प्रसारण हुँदै आएको कार्यक्रम “साहित्यवार्ता : स्रष्टा र सिर्जना” मा गरिएको कुराकानीमा आधारित ।)