युगकवि सिद्धिचरण श्रेष्ठका केही कविताहरू (जस्तै: मेरो प्यारो ओखलढुङ्गा, नेपाल, युगको उर्दी र खण्ड काव्य उर्वशी) पढेको याद छ । उनका केही प्रतिनिधि कविताहरूको सङ्ग्रह नि आएको याद छ, नेपाल प्रज्ञा प्रतिष्ठानबाट । लगभग छ दशक लामो काव्य-साधना गरेका श्रेष्ठले राणा शासनमा विभिन्न क्रान्तिकारी र राणा विरोधी कविता लेखेको बताइन्छ । भलै, उनका केही कविताहरू राणा शासकले मकैको खेतीको गलत अर्थ लगाए झैँ फरक बुझेका थिए । कविता लेखेर आम मानिसलाई राणाविरुद्ध भड्काएको भन्दै झोछेंबाट वि.सं.१९९७ कार्तिक २ का दिन पक्राउ परेका श्रेष्ठलाई केही समयपछि सर्वस्वहरणसहित १८ वर्ष जेल सजाय तोकिएको थियो । एउटा युगको निर्माण, बोध र आम नागरिक (युवाहरू) लाई आफ्नो देशकाल र समय स्थिति गहन बुझ्न साहित्यको उपयोग गर्न माहिर थिए सिद्धिचरण ।
वि.सं. २०५२ मा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको यस संस्मरणको दोस्रो संस्करण हालै बुक-हिल प्रकाशन गृहबाट प्रकाशित भएको छ । यसमा उनको ५ वर्षे जेल जीवन (वि.स. १९९७ – २००१) का क्रममा लेखिएका ३६ वटा टिप्पणी स्मरण समाहित भएका छन्, जसमा पक्राउ परेर जेल गएपछिको अनुभव, दैनिक पर्खाइ, भावनात्मक अनुभूति, जेल परेका अरू व्यक्तिहरूको परिचय, राणा शासकहरूको गतिविधि, केरकार, दमन, र चार शहीदहरूलाई गरिएको कुटपिट आदि छन् । पक्राउ पर्दा यस कारण पक्रेको हो नबताइएको कारण कवि असमञ्जसमा परेको नि भान हुन्छ ।
मृत्युपछिका अभिव्यञ्जना (expression after death) नेपाली साहित्यमा कमै लेखिएको सरुभक्तको स्पष्टीकरण छ । ७६ वर्ष ८ महीनाको उमेर पुगेपछि सिद्धिचरण श्रेष्ठले थप राम्रा कृति सिर्जना गर्ने आकाङ्क्षा र अपूर्ण रहेका इच्छाहरू पूर्ति गर्ने तकाजामा नअलमलिई आफ्ना इच्छाहरूको मुख थुन्ने चाह राखेका रहेछन् । हुन पनि हामी पनि त आफ्नो उमेर ढल्कँदै आउँदा, मृत्युबोध गर्दा वा स्वास्थ्य सोचेको जस्तो नहुँदा सारा लोभ, लालसा त्यागेर बरु बाँचौँ न भन्दछौँ ।
किताबको शुरुवातदेखि नै अन्तिम पृष्ठसम्म पाठकको ध्यान एकाग्रता तान्न, श्रेष्ठसँगै जेलजीवन भोग्न र त्यहाँ हुने काम-गतिविधि सम्झिन तथा दिमागमा तस्बीर निर्माण गर्न यो संस्मरण सफल छ । नेपाली इतिहासमा जनता जाग्राम र जागरूक हुन प्रेरणा मिलेको चार अमर शहीद : गङ्गालाल श्रेष्ठ, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र दशरथ चन्द, गणेशमान सिंह आदि सम्बन्धी केही किस्सा पढ्न पनि पाइन्छ । यी वीर शहीदहरूको सहादत, देश र जनताका सुखदायी भविष्यप्रतिको चिन्ता र बलिदान सम्झना आउँदछ । उनीहरूको मृत्युको मुखमा पुगेको बखत र मिति पुर्याउने भए शासकले भन्ने लाग्दा पनि हाँसी हाँसी मृत्यु अँगाल्ने हिम्मत पहाड झैँ उँचो छ ।
सिद्धिचरण श्रेष्ठबारे आफ्नो संस्मरणमा गणेशमान सिंहले लेखेका छन् – “यो गणेशमानलाई गणेशमान बनाउनमा सिद्धिचरण दाइको सबभन्दा ठूलो हात छ । राणाहरूको काल कोठरीमा सिद्धिचरण दाइले मलाई मानसिक रूपले भाँचिनबाट नरोकेको भए सायद म त्यति बेलै खत्तम भइसकेको थिएँ । सिद्धिचरण म जस्ता युवाका लागि एउटा आदर्श हुनुहुन्थ्यो । जस्तो उहाँको कविताका कारण म पनि राजनीतितिर तानिएको थिएँ र राणा विरोधी आन्दोलनमा समर्पित भएको थिएँ ।” (मोहन लोहनी, गोरखापत्र, २०८० चैत ८)
त्यस्तै, सिद्धिचरणबारे केदारमान व्यथित लेख्छन् – “युगकविबाट नै मैले कविता कोर्ने प्रेरणा पाएको हुँ । छन्दोबद्ध काव्य सिर्जना गर्न उहाँले जेलमा मलाई सिकाउनुभएको हो । मैले कवि सिद्धिचरणलाई कसैसँग वादविवाद नगरी छुट्टै आफ्नो अस्तित्व सिर्जना गर्ने कविको रूपमा लिएको छु ।” (मोहन लोहनी, गोरखापत्र, २०८० चैत ८)
आफ्नो रचनामा प्रगतिवाद, स्वच्छन्दतावाद लगायत बहु-आयामिकताका लागि सदा स्मरणीय नाम हो सिद्धिचरण श्रेष्ठ । उनका केही कवितामा अन्याय, अत्याचार, गरीबी, शोषण र दमनका विरोधमा कदम चाल्नुपर्ने, युग र समाज रूपान्तरणका निम्ति कार्य गर्नुपर्ने तथा मानव अधिकार, करुणा र न्यायोचित व्यवहार सशक्त रूपमा कायम गर्ने, जोगाउने उद्घोष पाइन्छ ।
“साथै, पुस्तकमा गणेशमान सिंह, खड्गमान सिंह बस्नेत, चित्तधर ‘हृदय’, कप्तान बालकृष्ण शमशेर जबरा, चिनियालाल सिंह, गोपी च्यामे, धर्मरत्न यमीदेखि जेलमा सरसफाइ गर्ने राममाया च्यामिनीसम्मका संस्मरणहरू समावेश गरिएका छन् । साथै, शुक्रराज शास्त्री र पं. मुरलीधरले गर्नुभएको उपद्रवका बारेमा श्री ३ महाराजबाट बक्सेको स्पीचसमेत पुस्तकमा समावेश भएको छ ।” (साहित्यपोस्ट, २०८२)
यस जेल-संस्मरणको लिपिबद्ध गर्ने कार्य वि.सं. २०४५ तिर शुरु गरिएको र उनका जेल संस्मरण, व्यक्ति संस्मरण, साहित्यिक र यात्रा संस्मरण भन्दै ठूलै ग्रन्थ बनाउने योजना बनाइए पनि पछि जेल संस्मरण मात्र तयार पारिएको रहेछ । पुस्तकमा सिद्धिचरण वि.सं. १९९७ तिर पक्राउ पर्दाको बयान, उनको झोछेंस्थित घरमा गरिएको खानतलासी, खाना खाँदा पनि सिपाही नजिक निगरानीमा बसेका, ९ महीने गर्भवती पत्नी, छोराछोरी र वृद्ध भएका मातापिताको अवस्था, घर वरपर राखिएका सेना प्रहरीको घेराबन्दी, सङ्ग्रह गरिएका किताबसहित अन्य सामान जफत र परिवारमा परेको दुःख, ट्रमा आदिको बखान छ ।
जेल जीवनको अनुभवले उनलाई झन् निखार्ने तिखार्ने र लेखन शिल्प सुधार गरेर झन् बलियो बनाउन सहायता गरेको लाग्दछ । भलै कति कति खेर चार शहीद र अन्य माथि भएका अत्याचारले मुटु जिरिङ्ग बनाउँछ पाठकको (र, शायद सिद्धिचरणको पनि थोरै भए पनि) । त्यस बखत सिंहदरबार हाताभित्र रहेको स्कूलघर भन्ने भवनलाई जेल बनाएर पक्राउ परेकालाई राख्ने, कडा निगरानीमा राख्ने, बासी ढुसी आएका खाना दिने, बन्दी रहेकालाई घरबाट खाना ल्याउन दिए पनि भेटघाट गर्नै नदिने आदि परिपाटी रहेछ ।
यसमा जेल जीवनका अनुभव, राणा-विरोधी आवाज दबाउन लुकाउन गरिने अनेकौँ तौरतरिका, नेपाल प्रजा परिषद्का सम्भावित सदस्य र पर्चा छर्नेहरूलाई हुने दण्ड-सजाय र श्रेष्ठका मनमा आएका के कारणले म पक्राउ परे हुँला भन्ने संशय, घण्टैपिच्छे हुने सिपाही गार्डको फेर-बदली, रातदिन हुने कैदी गणना, कडा पहरेदारी, साँघुरो जेलकोठामा हुने अमानवीय व्यवहार, आततायी यातना, शौचालयको दुरावस्था र प्रत्येक दिन राणा भाइ भारदार र जर्नेलका अगाडि हुने पेसी-कुराकानी-कारबाहीको वर्णन छ। एउटा संस्मरण चैँ गोरखापत्रमा प्रकाशन गरिएको रहेछ । प्रजा परिषद् सम्बद्ध प्रमाणका रूपमा धर्मभक्तको घरमा जफत गरिएका सदस्य नामावली, तत्कालीन श्री ५ महाराजाधिराजलाई लेखिएको बिन्तीपत्र, कलिला उमेरका नव-युवक गङ्गालालमाथि भएका केरकार, यातना र थप्पड हानेको कुरा, जस्तै कठीन परिस्थिति आए तापनि श्रीमद्भागवत गीताका केही श्लोक मन्त्र जसरी जप्ने सिद्धिचरणको आनीबानी आदिबारे लेखेका छन् ।
उनले जेल लगिएकालाई भारी नेल-सिक्रीमा कैद गरेर हिँडडुल पनि असहज हुने, दैनिक हुने जसो केरकार, प्रजा परिषद्कालाई एकअर्का विरुद्ध नाम बताउन यातना दिने र लोभलालच जगाउने हर्कत, लेखिएका लेख-रचनाको जर्नेल कर्नेलले उल्टो अर्थ लगाउने, महावीर स्कुलको स्थापना, चोक चोकमा हुने राणा-विरोधी कामको बहिखाता चर्चा र राणा-राजा सम्बन्धको शक्तिको गतिशीलता (power dynamics) बारे प्रकाश पनि पारेका छन्।
संस्मरणमा उनले जेल परेकाहरू पण्डित दुर्गाप्रसाद भट्टराई, गोरखापत्रका सम्पादक प्रेमराज शर्मा, पण्डित मुरलीधर (जसले नाम लिएकाले श्रेष्ठ पक्राउ परेका थिए), खरिदार जगतमान, महावीर इन्स्टिच्युटका संस्थापक चिनियालाल सिं, कविप्रसाद गौतम, केशव हलुवाई आदिका परिचय, श्री ३ जुद्ध शमशेरले उनीहरूलाई जेलमा दिएको परिचय र गरेको केरकार, तोक-निर्देश, सिद्धिचरणका पिता साहित्यकार विष्णुचरण श्रेष्ठको पक्राउ प्रसङ्ग, पिताको अन्तिम दर्शन गर्न मिलेपछि लेखेको कविता र मृत्यु-वरणपछि दाह-संस्कार गर्न पनि नदिएको तितो अनुभूति लेखेका छन् । पक्राउ परेका प्रजा परिषद् सदस्यहरूलाई दिइएको दण्ड, कसै कसैलाई दिइएको सफाइ, राणाहरूको विलासी जीवनशैली र आर्थिक तहल्का, अहङ्कार, कसैले प्रगति गरेमा वा राम्रो जीवनशैली यापन गरे सम्पत्ति हरण र देशद्रोही राजद्रोही मुद्दा-मामिलामा पेल्ने बदनियत, बीच बीचमा आउने साहित्य प्रसङ्ग, गङ्गालालले बालाई लेखेको पत्र, बाबुलाई अन्तिमपल्ट दर्शन हुँदा भन्न नसकिएका भावना कवितामा लिप्यांतरण गर्ने कार्यले हृदय स्पर्श गर्ने र भावुक बनाउँछ ।
पक्राउ परेकाहरूलाई विजुलीगारद/गारथ (विजुलीघर), तबेलाघर, बरफबाग, स्कुलघर लगायत जेलमा कोच्ने गरिन्थ्यो । जेलमा राख्दा पनि एउटा कोठामा दुई दुई जना कैदी बन्दी र सिपाही राखेर ती दुईबीच कुराकानी नहुने माहौल बनाइन्थ्यो । एकाध जेलमा रहेका सिपाहीले भने कैदीसँग अलिअलि भए पनि कुराकानी गरेर समय व्यतीत गर्ने, नत्र धेरैजसो सिपाहीले कडा निगरानीका साथ हल न चल गर्न नदिने उर्दी अनुकरण गर्दथे । पक्राउ गरिएकाहरूको घर डेराबाट सबै चोटा-कोठा, बाकस, दराज र र्याक छानबिन गरेर बोराका बोरा कागजपत्र सबै उठाएर जफत गरिने र एक एक गरी केलाइने, भारतबाट लुकेर हुने गरिने राणा-विरोधी साहित्य लेखन, पर्चा छपाइ र वितरण र सानोतिनो भीड जम्मा गरेर जनतालाई उक्साउने कामबारे यसमा लेखिएको छ ।
किताब सकिँदासम्म वीर अमर शहीदहरूको बलिदान, राष्ट्र-हितभन्दा जहानियाँ पारिवारिक हित चिताउने र विलासी जीवनमा मदमस्त रहने, आफ्नो विरोधमा उठेको आवाजलाई लुकाउने, दबाउने राणा शासकको नालीबेली अनि जेल परेकाहरूको जेलजीवन फिल्म-डकुमेन्ट्री झैँ दृश्य बन्छन् । अतः जेल परेकाहरूको मानसिक स्थिति, दैनिक यातनाले पैदा हुने डर, कतै आफू फसिन्छ कि भन्ने आशङ्का, मरिने बाँचिने ठेगान नहुनुको बोध, जेलको पर्खाल बन्धन तोडेर भाग्ने योजना (अधिक त असफल हुने) र विश्वासिलो लागेका पात्रहरूले गर्ने धोकाधडी र सुराकी गर्नेको चित्रण छ ।
सिद्धिचरणले लेखेका केही कविताहरू तथा श्री ३ महाराजको स्पीच छानेर परिशिष्ट खण्डमा राखिएका छन् । बालकृष्ण सम, धर्मरत्न यमी, चित्तधर हृदय आदिसँगका सङ्गत, चिनारी एवम् अवलोकन गरेको आनीबानी र कार्यको बयानका साथै केही कविको कविताबारे पनि आफ्नो प्रतिक्रिया लेखेका छन् ।
समय खेर फालेको महसूस हुँदैन न त लेखकले नै ज्यादा महिमा-गान गरेको भान हुन्छ । अनि बुकहिल संस्करणमा सिद्धिचरण श्रेष्ठका पुत्र रविचरण श्रेष्ठले आफ्नो भूमिका लेखेका पनि छन् । इतिहास-सम्बद्ध किताब अध्ययन गर्ने पाठकका निम्ति सुन्दर सौगात हुनेछ यो किताब । जेलजीवनमा गाह्रो साह्रो भए तापनि लुकिछिपी कलम कागजको जोहो गर्दै यसका केही बुँदा टिपोट लेखिएको रहेछ । रोचक कुरा चैँ श्रेष्ठसँगै जेल परेका अरूहरूले पनि आफ्नो हृदयका गुम्फन, विचार र चिन्तन-मनन प्रकट गर्नलाई कलम कागजको साहारा लिएको प्रसङ्ग हो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२० माघ २०८२, मंगलवार 










