कालो बादल मडारिएको ९० सालको महाभूकम्पको बेला म २१ वर्षको थिएँ । भारतको तीनधाम यात्रा गरेर फर्केको दोस्रो दिन मात्रै थियो, कुनै आफन्तलाई भेटेर घर पुग्नै लागेको थिएँ । चारैतिर हाऽहाऽ र हुऽहुऽ भयो । मानिसहरू घरबाट निस्के, ‘भुइँचालोऽ भुइँचालोऽ’ भन्दै कराउन थाले ।
म के गरूँ, कसो गरूँ भएर नजिकैको एउटा चैत्य समाउन पुगें । हडबडाएर घरबाट निस्केका मानिसहरूले पनि मैले गरेको जस्तै गर्न थाले । चैत्य हल्लायो । जमिन हल्लायो । यताउता घरहरू भड्किन थाले । धूलो उडेर केही पनि नदेखिने भयो । हामी सबै अवाक रह्यौं । के भइरहेछ, कसो भइरहेछ, केही थाहा नै भएन । कोही रुन लागिरहेछन् । कोही आफन्तहरूको नाम काढेर बोलाइरहेछन् । घर भत्केर कति त पुरिइरहेका छन् ।
चार–पाँच मिनेटसम्म त कसैलाई होसहवास नै भएन । म घरबाट पचास कदमजतिको बाटोमा थिएँ । घरतर्फ जान खोज्छु त अगाडिको घर भत्केर टुक्राटुक्रा छ । बल्लतल्ल घर पुगें । आमा, मेरी जहान र अरू पाहुनाहरू बारीमा रहेछन् । टोलका अरू मानिसहरू पनि त्यहीँ जम्मा भएका रहेछन् । सबैको सातोपुत्लो उडेको थियो ।
आफ्नो परिवार सबुत छ कि छैन भन्नेतिर नै सबै जनाको पहिलो चासो थियो । पिताजी आफ्नो अफिसमा हुनुहुन्थ्यो । सबैभन्दा पहिले उहाँले हामी सबुत छौं कि छैनौं भन्ने सोध्न मान्छे पठाउनुभयो ।
कोही मानिसहरू आफ्ना पुरिएका आफन्त खोज्न इँटा र दलिनहरू पन्छाउनतिर लागे । कोही चोट परेकालाई बिस्तारै सम्हाल्नतिर लागे ।
कति मरे कति । काठमाडौंभरि नै ठूलो तमासा थियो । कहाँ केके भइरहेछ, कति घर भत्के, कसैलाई थाहा थिएन । सुन्थें— फलानाको घर भत्कियो, फलाना मन्दिर भत्कियो, धरहरा, घन्टाघर छैन आदिआदि । वसन्तपुरको एउटा अड्डा भत्कनाले त्यसमा १०० जनाजति मानिसहरूको एकै चिहान भयो भनेको पनि सुनें । जीवन र मृत्युसँग जुध्दै पार पाउन मानिसहरूको कोलाहलको रूपमा सहर रूपान्तरित भएको थियो ।
हाम्रो बारीमा दुई–चार जना पुरिएका मानिस पनि ल्याइए । सुन्दै गएँ— फलानो त पुरिएर मरेछ । फलानाको त आजसम्म पत्ता लागेको नै छैन । त्यो दिनको भयावहता सम्झनु पनि गार्हो हुन्छ । नभत्केका घरमा पनि फेरि केके हुने हो भन्ने त्रासले मानिसहरू जानै सकेनन् । येन केन प्रकारेण मानिसहरू घरबाहिर बस्थे ।
टुँडिखेल धेरै मानिसहरूले भरिएको थियो । अस्थायी अस्पताल नै बनाइएको थियो त्यहाँ । बाटोको ठाउँठाउँ घर भत्किएर पूरै बन्द थियो । आफ्नो घरमा माथि गएर भाँडाकुँडा ल्याउन पनि मानिसहरू असमर्थ थिए, घर नभत्के पनि । हामी पनि टुँडिखेलमै गएर बस्यौं, पाल टाँगेर ।
भूकम्पले धनजनको क्षति त गर्यो नै, नेपाली संस्कृतिका बहुमूल्य कृतिहरू, प्राचीन कलापूर्ण मन्दिर र भवनहरू पनि भत्के । त्यसको पुनर्निर्माणमा सस्तो र सजिलो खालको प्रक्रिया अपनाइयो । वसन्तपुरमा कुमारी चोकभित्रको कलापूर्ण भवन भत्कियो । त्यसको पुनर्निर्माण आधुनिक ढंगले गर्यौं हामीले । मखनटोलको महादेवको मन्दिर, भेडासिंको ढुंगाको मन्दिर अहिले पनि सम्झिन्छु । त्यस्तै अनेक मन्दिरहरूको पुनर्निर्माणमा पुरानो कलाशैलीको अपहेलना गरिएको छ । काठमाडौंको रूप यसबाट विकृत हुन गएको छ ।
त्यस बेला हामीले कला र संस्कृतिको महत्त्व सम्झेर महत्त्वपूर्ण ठाउँको पुनर्निर्माणमा ध्यान दिएनौं । यसबाट राष्ट्रिय संस्कृतिको र्हास भएको महसुस गरेको छु । काठमाडौं, वसन्तपुरको एउटा दृष्टान्त लिऊँ । त्यस बेला यो यस्तो थिएन । अनेक प्राचीन कलापूर्ण भवन र मन्दिरले सुशोभित यो ठाउँ आज अर्कै देखिन्छ । कतिपय भवनका पुराना झ्यालढोका र कलापूर्ण त्वानासींहरू दाउराको सट्टामा बालेको कुरा पनि मैले सुनेको थिएँ । ती सबै ‘भिल्लको हातमा मणि’ भएर गए ।
भूकम्पलगत्तै जर्णेल ब्रह्मशमशेर जबराको अध्यक्षतामा एउटा भूकम्प स्वयंसेवक संघ खडा भएको थियो । त्यस संस्थाले कहाँकहाँ कति मानिस मरेका छन् र कहाँकहाँ आश्रयविहीन मानिसहरू बसिरहेका छन् र कहाँ के सहायता गर्न सकिन्छ भनी रिपोर्ट पनि गर्नु थियो । मेरै नेतृत्वमा धेरै साथीहरू त्यो समितिमा सक्रिय बने । वास्तवमा त्यो समितिमा काम गर्नु निकै ठूलो गौरवको कुरो थियो । सायद त्यो नेपालकै पहिलो सामाजिक संस्था थियो ।
मैले र मेरा साथी शेषराज दली लगायतले स्वयंसेवक भएर काम गरेकोमा तक्मा पनि पाएका थियौं । मेरो नाम घोषणा हुनासाथ जुद्धशमशेरले त्यो तक्मा आफूले नदिई मलाई दिन लाए । यसको कारण भने आजसम्म मैले बुझ्न सकेको छैन ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।